डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च « Khabarhub

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या एक सय २० पुगेको छ ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्र र डिभिजन वन कार्यालको क्षेत्रमा गरी हिउँ चितुवाको सङ्ख्या एक सय २० पुगेको हो ।

निकुञ्जको संरक्षण क्षेत्रबाहिर वन क्षेत्रमा पहिलोपटक अत्याधुनिक प्रविधि क्यामेरा ‘ट्र्याप’ विधिबाट हिउँ चितुवाको गणना गर्दा देशमै सबैभन्दा बढी डोल्पामा हिउँ चितुवा भेटिएको हो ।

पाँच महिना लगाएर गरिएको सर्वेक्षणबाट वन क्षेत्रमा मात्रै ३० वटा हिउँ चितुवा फेला परेको डिभिजन वन अधिकृत मुनबहादुर रावतले जानकारी दिए ।

सर्वेक्षणअनुसार निकुञ्ज क्षेत्रबाहिर पर्ने डोल्पोबुद्ध, काइके र छार्काताङ्सोङ् गाउँपालिकाको वन क्षेत्रमा प्रतिएक सय वर्ग किलोमिटर क्षेत्रफलमा हिउँ चितुवाको घनत्व १ दशमलव ५ रहेको छ ।

डिभिजन वन अधिकृत रावतका अनुसार तीनवटा गाउँपालिकामा रहेको वन क्षेत्रमा पर्ने दुई हजार वर्ग किलोमिटर क्षेत्रफलमा अध्ययन गरिएको थियो ।

डिभिजन वन कार्यालयको नेतृत्वमा कर्मचारी, विद्यार्थी र विश्व वन्यजन्तु कोषका अनुसन्धानकर्ताले हिउँ चितुवाको सङ्ख्या गणना गरेका थिए । गणनाका लागि वन क्षेत्रका ६६ स्थानमा क्यामेरा जडान गरिएको थियो ।

विश्वमै दुर्लभ वन्यजन्तु हिउँ चितुवा एसियाका १२ वटा राष्ट्रमा मात्र पाइने र त्यसमा पनि नेपालमै सबैभन्दा धेरै डोल्पामा रहेका शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिए ।

चार वर्षअघि क्यामेरा ट्र्याप विधिबाट हिउँ चितुवाको सर्वेक्षण गर्दा शे–फोक्सुण्डो निकुञ्जको संरक्षित क्षेत्रमा ९० वटा फेला परेको थियो ।

प्राप्त तथ्याङ्कअनुसार निकुञ्जको संरक्षण क्षेत्रमा प्रतिएक सय वर्ग किलोमिटर क्षेत्रफलमा हिउँ चितुवाको घनत्व २ दशमलव २ रहेको छ ।

“निकुञ्ज र वन क्षेत्र गरेर कूल सङ्ख्या एक सय २० पुगेकाले यो संरक्षण गर्ने निकाय र संरक्षणकर्मीका लागि खुसीको कुरा हो,” प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने, “हिउँ चितुवाका लागि आवश्यक आहार मानिने नावरको सङ्ख्या वृद्धि हुनाले पनि सङ्ख्या बढेको हुनसक्छ ।”

मानव वन्यजन्तु द्वन्द्व घटाउने उपाय अपनाउन सम्बन्धित निकायले जनचेतनामूलक र राहतका कार्यक्रम प्रभावकारी ढङ्गबाट लागू गर्नुपर्ने उनको भनाइ छ । हिउँ चितुवाको सङ्ख्या वृद्धि हुनुले पर्यापर्यटन र आयआर्जनमा समेत टेवा पुग्ने बताइएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायको अध्यक्षतामा वन तथा भूसंरक्षण विभाग र विश्व वन्यजन्तु कोषका प्रतिनिधि, गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, सञ्चारकर्मीको भौतिक तथा भर्चुअल उपस्थितिमा हिउँ चितुवाको तथ्याङ्क सार्वजनिक गरिएको हो ।

हिउँ चितुवा गणनाका लागि शे(फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा गरिएको सर्वेक्षणमा ८० लाख र डिभिजन वन कार्यालयको सर्वेक्षणमा ४८ लाख खर्च भएको विश्व वन्यजन्तु कोषका प्रतिनिधि चन्द्रजङ्ग हमालले बताए । दुवै निकायले गरेको सर्वेक्षणको प्राविधिक तथा आर्थिक सहयोग विश्व वन्यजन्तु कोषले गरेको हो ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ९ : ५७ बजे

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी