३० लाख पैदलयात्रीको सकस : हिँडे पोलमा ठोक्किने त्रास, नहिँडे धुलो धुवाँभित्र बास | Khabarhub Khabarhub

३० लाख पैदलयात्रीको सकस : हिँडे पोलमा ठोक्किने त्रास, नहिँडे धुलो धुवाँभित्र बास



काठमाडौंका सडक पेटी/फुटपाथ भन्ने बित्तिकै तपाईंको दिमागमा के आयो ? अवश्य पनि त्यही फुटेका टायल, बिजुली/टेलिफोनका पोल, भत्किएर पानी जमेको खाल्डो त्यसमा पनि बीचमा बनाइएका साना ठूला मठमन्दिर र सडकमा छरिएर हिँडेका पैदल यात्री नै होला । त्यसमाथि पैदलयात्रीलाई धकेल्दै आउने मोटरसाइकल र साइकल !

फुटपाथमा यी समस्या सदावहार छन्‌ । उही पुराना समस्या – टायल टाँसिएका पेटी (फुटपाथ) पनि पैदलमैत्री छैनन् । कति ठाउँमा त पेटीका टायल उप्किएर खाल्डो परेको छ ।

यो त भयो हामी सबैले देखेका समस्या ! तर हामीले भोगेर पनि अड्कल नगरेको फुटपाथमा अर्को समस्या हो– बिजुलीका पोल वा तेर्स्याइएका पाइप, कहीँ पार्किङमा राखिएका मोटरसाइकल त कतै व्यापारिक सामानको बिक्रीस्थल !

विदेशी पाहुना नेपालमा हाम्रा प्राकृतिक सम्पदाको सौन्दर्यलीला सुनेर हर्षोल्लासपूर्वक यहाँ आउने गर्छन् । तर विमानस्थलदेखि नै शुरु हुने उकुसमुकुसले जो कसैलाई अत्यास लाग्छ । प्राकृतिक वातावरण जोगाउन उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै विश्वमै पैदलयात्रीलाई पहिलो प्राथमिकता दिने गरिन्छ ।

काठमाडौंमा गाडीमा कुद्ने ल्याकत धेरैको छैन । राजधानीमा झन्डै ४० लाख जनसंख्या बसोबास गर्छन् । त्यसमा पनि ३० लाखले त फुटपाथकै प्रयोग गर्छन् । काठमाडौं केही घण्टा हिँडेरै छिचोल्न सकिने शहर हो । २० किलोमिटर हिँडे गन्तव्यमा पुगिन्छ ।

तर विडम्बना हिँड्नेहरू जति धेरै, बाटो उति कम, कम बाटो, बढी मिचाइ, जति मिचाइ, उति सवारीको किचाइ । ट्राफिक प्रहरीको रेकर्डमा पनि बढी दुर्घटना पैदल यात्रीका नै हुने गरेको पाइन्छ यसको कारण के होला त ?

यस्तै विभिन्न समस्याका कारण हाम्रा फुटपाथमा मान्छे विरलै हिँड्छन् । हिँड्न नचाहेर पनि हो । त्यो भन्दा पनि हिँड्न लायकै नभएर हुन सक्छ । काठमाडौं महानगरपालिका भित्र पूर्वाधार निर्माणका काम पनि बाह्रै महिना चलिरहेका हुन्छन् । कहिले सडक, कहिले ढल तथा खानेपानी र विद्युतका कामहरू । तर तीन चौथाइ मानिसले उपयोग गर्ने फुटपाथमा नीति निर्माताको ध्यान पुगेको देखिँदैन ।

फुटपाथ भत्काएको समयमै निर्माण सम्पन्न नगर्दा पैदल यात्रुले थप हैरानी व्यहोर्नु परिरहेको छ । अझ बागबजार लगायतका मुख्य सहरहरूमा ढल व्यवस्थापन, डिल्लीबजारमा विद्युत् प्राधिकरणका तार व्यवस्थापन जस्ता काम महिनौं वित्दा पनि सकिएका छैनन ।

उपत्यकाको सडकमा आमाबाबुका हात समातेका केटाकेटी सडकमै हुन्छन् । कतिपय आमाबुबा व्यस्त हुने हुँदा बालबालिका आफै स्कुल जाने र आउने समेत गर्छन् । बालबालिकामा पनि त्यही ठूलै मान्छेको देखावटी उनीहरू पनि सडकबाट नै हिँड्ने गर्छन । साथै सडकमै सामान बोकेका भरिया, साइकलमा फलफूल–तरकारी बोक्ने, वृद्ध र शारीरिक अपांगता भएकाहरू सबै मानिसहरू हुन्छन् । हिँडिरहँदा सधैँ एकनास भने हुँदैन कुनै बेला पछाडिबाट गाडीले छोइदेला ।

गाडी बाइक वा अन्यमा सवारहरू आँखा ठूला पार्दै हप्काउँदै भन्न थाल्छन्– ‘फुटपाथमा हिँड्नु पर्दैन, ठोकिदिउँ, मर्न मन छ देखि नाना थरीका बचन लगाउन थाल्छन् ? तिनलाई कसले सम्झाउने– थाहा नभएर होइन, फुटपाथको आकारअनुसार हामी अट्दैनौँ । लाइन कुरेर हिँड्दा स्कुल कलेज र कार्यालय समय हुन्छ । त्यसमा पनि दुवैतिरबाट आउने–जानेले पेलेर मान्छेको त्यो लाइन कहिले सर्नु ? यही हो पैदलयात्रीको समस्या !

भएकै फुटपाथमा पनि बीचमा गाडिएका बिजुलीका पोल, टेलिकम र निर्माण सामग्री छरपस्ट हुँदा झनै शारीरिक रूपमा नै सक्षम मानिसलाई त निकै समस्या परिरहेको छ भने दृष्टिविहीन वा शारीरिक अपांगता भएका मानिसलाई कति अप्ठयारो भएको होला भन्ने त हामीले अनुमान लगाउन नसकौँला ।

महानगरपालिकाले चालु आर्थिक वर्षमा २ अर्ब १५ करोड रुपैयाँको लागतमा पैदल मार्ग मर्मत तथा सुधार गर्ने योजना बनाएको थियो । के त्यो बजेट टायल फेर्न र ढलको लागि मात्रै हो त दीर्घकालीन सोच खै ? पैदल यात्रीका समस्या भने ज्युँका त्युँ छन् ।

महानगरले राम्रो काम त गरेको छ फुटपाथमा पसलहरू हटाएको छ, हिँड्न केही हदसम्म सजिलो भएको पद्मकन्या क्याम्पसमा अध्ययनरत छात्रा रचना बजगाईं भन्छिन् ।

उनी भन्छिन्, ‘फुटपाथका पसल मात्रै पैदल यात्रीका समस्या रहेनछन् । फुटपाथ निर्माण नै धेरै समस्या देखिन्छ ।’ उनी थप्छिन्, ‘उपत्यकाका फुटपाथ यति साँघुरा छन् कि दुई जना साथी पनि हात समातेर हिँड्न मिल्दैन । गफ गर्दै हिँड्दा हिँडेको थाहा हुँदैनथ्यो । तर मुख्य सडक फराकिलो पार्दा हिँड्ने बाटो मिचिएको छ । धेरैजसो एक मिटर चौडा छन् । कति त आधा मिटर । यस्तोमा फुटपाथ छ भनेर के गर्नु ? अफिस समयमा होस् या त स्कुल कलेजको समयमा होस् कुम जुध्छ ।’

रचनाकै साथी प्रतिमा कार्की भन्छिन्, ‘यो फुटपाथमा अटेसमटेस हिँड्नुभन्दा गाडीकै छेउ लागेर फटाफट हिँडौँ जस्तै हुन्छ । कतिपय अवस्थामा मोबाइल कामवश चलाएर हिँड्यो भने कुन पोलमा ठोकिने हो कि कुन खाल्डामा परिने हो ठेगान नै छैन ।’

अब घाममा छाता ओढेर हिँड्ने मन्छेले त झन् १० मिनेटमा पुग्ने ठाउँ २० मिनेटमा पनि नपुगिने, पुरै बाटो एउटा छाताले ढाकिने उनी बताउँछिन् ।

काठमाडौंको घट्टेकुलोमा १० वर्ष देखि किराना पसल गर्दै आएकी सरिता घिमिरेको पसल अगाडि दुई वटा बिजुलीका पोल छन् । त्यसैमाथि घर अलिक घुमाउरो ठाउँमा छ र दुवै तर्फबाट आएका सवारी साधनहरू महिनामा एक दुई पटक त लडेकै हुन्छन् । मानवीय ठूलो क्षति नभए पनि सवारी साधनमा भने केही क्षति हुने उनी बताउँछिन् । ती दुई पोल मात्रै हटाइदिए पनि निकै राहत मिल्ने घिमिरे बताउँछिन् ।

रामभजन शाह जो साइकलमा कवाडी बटुल्ने काम गर्छन्‌, उनको पनि गुनासो त्यही साइकल गुडाएर हिँड्ने ठाउँ नै छैन । उनी भन्छन्, ‘सडकमा साइकल चलाएर हिँड्दा अन्य सवारीचालकहरू रिसाउनु हुन्छ, फुटपाथमा बाटो सानो छ, त्यहाँ झन् गाली खानुपर्छ ।’

पैदल यात्रीलाई सहज होस् भनेर फुटपाथका पेटी सबै निर्माण भइसकेको र ब्लकहरू पनि छापेको काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धर बताउँछन् । फुटपाथमा भएका बिजुलीका पोलहरू तत्काल अरू स्थानमा सार्न नसक्ने बताउँदै उनी भन्छन्, ‘विद्युत प्राधिकरण र टेलिकमले ठोस समाधानको बाटो पहिल्याएर सार्नुपर्छ, त्यसको लागि जग्गा महानगरले नै दिनुपर्छ । त्यसमा हामी समाधान खोजेर सार्ने वातावरण मिलाउँछौँ ।’

महानगरमा पैदल यात्रीका धेरै गुनासाहरू आउँछन्, त्यसमा अर्को व्यवस्था नहुँदासम्म यो यथावत् रहने उनको भनाइ छ । बिजुलीका पोल र टेलिकमका सामग्री व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

महानगरले सुरक्षित ठाउँमा नै फुटपाथ बनाएको छ त्यसमा पार्किङहरू पनि गर्न नदिइएको उनको भनाइ छ ।

महानगरले सडक पेटी (फुटपाथ) तथा अन्य सार्वजनिक स्थलमा व्यापार व्यवसाय गर्न/गराउन र सवारी साधन पार्किङ गर्न पनि रोक लगाएको छ । तर त्यसको पुरै कार्यान्वयन भएको पाइएको छैन ।

व्यवसायी नअटेका उपत्यकाका फुटफाटमा प्राधिकरणका पोल र नेपाल टेलिकमका सामग्री बाधक देखिन्छन् । तर सरकारी निकायबीच तालमेल नमिल्दा वर्षौंदेखि समस्याले निकास पाएको छैन ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ११ : ५८ बजे

२ करोड लुटपाटको आरोपमा प्रहरी हवल्दारसहित ४ जना पक्राउ

काठमाडौं– २ करोड लुटपाटको आरोपमा प्रहरी हवल्दारसहित ४ जना पक्राउ

मुख्यमन्त्री सिंहले गराए प्रादेशिक अस्पतालमै शल्यक्रिया 

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले टाउकामा भएका सिस्टको शल्यक्रिया

सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट  

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल

प्रतिनिधिसभाबाट खर्च कटौतीका प्रस्ताव अस्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजित

बालविवाह न्यूनिकरण गर्न २० वर्षपछि विवाह गर्ने किशोरीलाई २० हजार

बोदेबरसाइन– बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई