नेपालले ऐतिहासिक जित निकाल्दा चम्किएकी सम्झना « Khabarhub

नेपालले ऐतिहासिक जित निकाल्दा चम्किएकी सम्झना


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली महिला टोलीले यूएईविरुद्ध ऐतिहासिक जित हात पार्दा ओपनर सम्झना खड्काले शुक्रबार अविष्मरणीय प्रदर्शन गरिन् ।

अन्य ब्याटरहरू फ्लप सावित हुँदा नेपालले ओपनर सम्झनाकै बलमा एसीसी वुमन्स एसिया कप क्रिकेट प्रतियगितामा यूएईविरुद्ध ६ विकेटको शानदार जित निकाल्यो

सम्झनाकै प्रेरणमा नेपालले महिला एसिया कप क्रिकेटको इतिहासमा पहिलो पटक जित दर्ता गराउन सफल भएको हो ।

अविजित रहेकी सम्झनाले अर्धशतकसहित ७२ रन बनाइन् । उनले आफ्नो पारीमा ४५ बलको सामना गर्दै ११ चौकासमेत हानिन् ।

नेपाललाई ऐतिहासिक जितको हकदार बनाउँदा सम्झनाको प्रशंसा सुरु भएको छ । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले शानदार प्रदर्शन गरेकोमा सम्झनाको खुलेर प्रशंसा गरेका छन् ।

उनले यो ऐतिहासिक जितका लागि नेपाली महिला टोलीका अन्य सदस्यलाई पनि धन्यवाद दिएका छन् ।

सम्झनाको प्रदर्शन यस अर्थमा पनि अविस्मरीणय बन्न पुग्यो, सन् २०१२ र २०१६ को एसिया कपमा सहभागी नेपालले कुनै खेलमा जित निकालेको थिएन। तर अब त्यो हारको श्रृंखला तोड्दै नेपालले जित निकालेको छ ।

सम्झनाले सर्वाधिक ७२ रन बनाएसँगै यूएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेट गुमाएर भेट्टायो । सम्झनाले शानदार पारी खेल्दा अरुको प्रदर्शन भने बिर्सनलायक थियो । रुविना क्षेत्री १० रनमा आउट भइन् भने पूजा महतो ७ रनमा अविजित रहिन्।

राष्ट्रिय टोलीको यात्रा

क्यानले सम्झनालाई २०८० जेठमा मलेसियाविरुद्धको टी-ट्वेन्टी क्रिकेट शृंखलाका लागि पहिलो पटक नेपाली राष्ट्रिय महिला टोलीमा राखेको थियो । त्यसबेला उनीसहित नेपाली टोलीमा ३ नयाँ अनुहारले अवसर पाएका थिए ।

राष्ट्रिय टोलीमा पहिलो पटक सम्झना खड्का, कृतिका मरासिनी र ईश्वरी बिष्टले स्थान बनाएका थिए । सम्झना ब्याट्सउमन, कृतिका स्पिन बलर र ईश्वरी तीव्र गतिका बलर थिए । त्यसअघि सुदूरपश्चिमबाट खेल्दै सम्झनाले घरेलु क्रिकेटमा उत्कृष्ट ब्याटिङ गरिरहेकी थिइन् ।

यूएईविरुद्ध नेपाललाई जिताएपछि उनले खुसी व्यक्त गरेकी छन् । ‘देशले गर्व गर्ने अवसर पाएको खुशी लागेको छ, सबैलाई धन्यवाद !’, उनले खेलपछि भनिन् ।

उता नेपाली कप्तान इन्दु बर्माले ऐतिहासिक प्रदर्शनका लागि बधाई अनि धन्यवाद दिएकी छन् । ओपनिङमा पठाउने आफूहरूको निर्णयलाई सम्झनाले सही सावित गरेकोमा इन्दु खुसी छिन् ।

निराशापछिको सफलता

सुदूरपश्चिममा लोभलाग्दो प्रदर्शन गरेपछि राष्ट्रिय टोलीको यात्रा तय गरेकी उनको पछिल्लो प्रदर्शन भने निराशाजनक थियो । उनले ६ खेलमा रनको खाता नै खोल्न सकेकी थिइनन् ।

टोलीमा परेर पनि उनले तीन खेलमा ब्याटिङको मौका पाइनन् । बाँकी तीनमा पनि रन बटुल्न नसकेपछि उनी निराश थिइन् । उनले सन् २०२३ नोभेम्बरमा हङकङविरुद्ध ब्याटिङ गर्दा १ रन मात्रै जोडेकी थिइन् ।

त्यसपछि सन् २०२४ फेब्रुअरीमा हङकङविरुद्धको खेलमा उनले ब्याटिङ अवसर पाइनन् । खराब लयबाट गुज्रिए पनि राष्ट्रिय टोलीले उनलाई एसीसी वुमन्स एसिया कपको टोलीमा राखेर पठाएको थियो ।

यसअघिका खेलमा मध्यक्रममा आउने उनी टिक्न सकेकी थिइनन् । तर यसपटक यूएईविरुद्धको खेलमा उनले ओपनिङमा उत्रिएर आफूलाई सावित गरिन् । यसका साथै यसअघिका निराशा र कयौँ आरोपलाई पनि उनले एकै खेलबाट उत्तर दिने गरी ऐतिहासिक प्रदर्शन गरिन् ।

सन् २०२३ मेमा मलेसियाविरुद्ध उत्रिँदै उनले टी–२० अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी थिइन् । तर यसबीचमा महिला टोलीले खेलेका १६ प्रतिस्पर्धामध्ये ११ वटामा ब्याटिङका लागि उत्रिँदा निराशा सहनु पर्‍यो । उनले केबल २ खेलमा मात्रै १० भन्दा बढी रन बनाइन् ।

सम्झनाले वुमन्स एसिया कपमा जानुअघि आफूलाई प्रमाणित गर्न सकेकी थिइनन् । एसियाकप खेल्न जानुअघि उनले नेपालले खेलेका दशवटा टी-ट्वेन्टी प्रतियोगितामध्ये चारवटामा ब्याटिङ गरिन् । उनले ब्याटिङ अवसर पाउँदा पनि सर्वाधिक २ रन बनाएकी थिइन् । तर पनि कोच र कप्तानले निरन्तर गरेको विश्वासलाई उनले शुक्रबार प्रमाणित गरेकी छन् ।

बझाङबाट उदाएको प्रतिभा

सम्झनाको जन्मथलो बझाङ हो । जहाँ क्रिकेट खेल्नका लागि गतिलो चौरसमेत भेटिँदैन । पहाडी र जटिल हिमाली भूगोल भएको बझाङमा क्रिकेट मैदान हुने त कुरै भएन ।

क्रिकेट मैदान या चौर भए नै पनि किशोरीहरूले क्रिकेट खेल्ने साथी पाउन मुस्किल छ । क्रिकेट खेल्ने एउटा राम्रो चौरसमेत भेट्टाउन मु्स्किल पर्ने जिल्लाबाट उदाएकी सम्झनाले शुक्रबार देशका लागि ऐतिहासिक जित दिलाएकी छन् ।

सम्झनाको यो प्रदर्शनलाई लिएर उनका जिल्लाबासीले खुसी व्यक्त गरिरहेका छन् । बझाङकै एमाले नेता ऐन महरले क्रिकेट खेल्ने चौरसमेत भेट्न मुस्किल पर्ने अवस्थाबाट उठेर देशका लागि ऐतिहासिक प्रदर्शन गरेकोमा खुसी व्यक्त गरेका छन् ।

‘एसिया कपजस्तो प्रतिष्ठित खेलमा बलियो टिम यूएईविरुद्धको ऐतिहासिक प्रदर्शन स्मरणीय छ । टोलीका अन्य खेलाडीहरूले ११ रन जोड्न नसकिरहेका बेला ११ चौकासहित ७२ रन जोड्दै देशलाई जिताएकोमा सलाम !’, उनले भनेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ७ : ०४ बजे

हान्टाभाइरस प्रभावित सबै यात्रुको उद्धार, एक अमेरिकीमा संक्रमण पुष्टि

वासिङ्टन – प्राणघातक ‘हान्टाभाइरस’ को चपेटामा परेको क्रुज पानीजहाज ‘एमभी

व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दीर्घरोगीलाई ३९ लाख रुपैयाँ भत्ताबापत सहयोग

समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने

काठमाडौँ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा

सेनाबाट च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

सङ्खुवासभा– सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न भएको छ

स्कटल्यान्डविरुद्ध ओपन कुशल भुर्तेल आउट : विनोद र अर्जुनलाई निरन्तर अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले