संविधान संशोधन होइन, नेताको मति सुध्रिनुपर्छ : सुशीला कार्की | Khabarhub Khabarhub

संविधान संशोधन होइन, नेताको मति सुध्रिनुपर्छ : सुशीला कार्की

ब्रम्हा–विष्णुले लेखेर दिए पनि राम्ररी चलाउँदैनन्



सुशीला कार्की सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश हुन् । उनी सर्वोच्चबाट बिदा भएपछि स्वतन्त्र नागरिकका रूपमा जनताका आवाज उठाइरहेकी छन् । देशको पहिलो महिला प्रधानन्यायाधीश कार्की अहिले स्वतन्त्र रूपमा आफ्ना विचारहरू प्रस्तुत गर्छिन् ।

संविधान जारी भएको ९ वर्ष पूरा भएको छ । संविधान जारी हुँदा कार्की त्यसको साक्षी थिइन् । संविधान जारी भएपछि २०७३ असार २७ गते पूर्व प्रधानन्यायाधीश भएकी कार्की राजनीतिक दलका कारण संविधान धरापमा परेको । खास जनताले संविधान आएको आभाष गर्न नपाएको बताउँछिन् । उनी नेताको आडमा केही सीमित व्यक्तिले मात्रै फाइदा लिएको उल्लेख गर्छिन् ।

दलहरूले घुमाई घुमाई राजाको जस्तै शासन चलाइरहेको उनी बताउँछिन् । त्यस्ता दललाई विष्णु भगवान् र ब्रम्हाले नै संविधान लेखेर दिए पनि चलाउन नसक्ने उनको तर्क छ । संविधान संशोधनमा दलहरू नै क्लियर नभएको तर्क उनको छ । सर्वोच्चकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग खबरहबले संविधान दिवसका अवसरमा गरेको संवादको सम्पादित अंशः

अहिले के विषयमा संविधान संशोधन गर्ने भन्ने नै प्रस्ट छैन । नेताहरू त ढाँट्न माहिर छन् हेर्नुस् । संविधान लचिलो भयो भने राम्रो हुँदैन । धेरै कठोर र अपरिवर्तनीय पनि राम्रो हुँदैन । संविधान संशोधन हुनुपर्छ । तर स्वार्थमा होइन । अहिले दलहरू आफ्नो स्वार्थमा हिँडे ।

संविधान जारी भएको ९ वर्ष पूरा भएको छ । ठूलादेखि साना दलसमेत संविधान संशोधन गर्ने भन्दै गठबन्धनमा जोडिएका छन् । अहिले नै संविधान संशोधन आवश्यक भइसकेको हो र ?

अहिले के कुरा प्रष्ट छैन भने के विषयमा संविधान संशोधन गर्ने ? विषय नै प्रस्ट छैन । संशोधन भनेर हिँडेको छ । विषय के हो थाहा छैन । विषय क्लियर नभएपछि के बोल्ने ? फेरि नेताहरू त ढाँट्न माहिर छन् हेर्नुस् ? संविधान लचिलो भयो भने पनि राम्रो हुँदैन । धेरै कठोर र अपरिवर्तनीय पनि राम्रो हुँदैन । फेक्जिबल र रिजर्भ दुवै राम्रो हुँदैन । संविधान संशोधन हुनुपर्छ । तर स्वार्थमा होइन । अहिले दलहरू आफ्नो स्वार्थमा हिँडे ।

भारत, अमेरिकाको संविधान पनि चाँडोचाँडो संशोधन भएको छैन । एक दुई दललाई मन लागेर संशोधन गर्ने कुरा हुँदैन । संशोधन गर्दा आमजनताको राय बुझ्नु आवश्यक छ । कुन विषयमा संशोधन गर्ने छलफल हुनुपर्छ । दुई पार्टी सत्तामा भएका बेला संशोधन गर्ने, पछि त्यसले बाधा ल्याए फेरि अर्को दल मिलेर संशोधन गर्ने कुरा राम्रो हुँदैन । छलफल, सहमति र सल्लाह हुनुपर्छ । संशोधन गर्ने भए कति कुरामा गर्ने, त्यसलाई छलफलमा ल्याउनु पर्छ । छलफलले के गर्ने के नगर्ने निष्कर्ष निकाल्छ ।

तपाईंले त संविधानको व्याख्या गर्ने ठाउँको नेतृत्व पनि गर्नुभयो । खास संविधान संशोधन गर्न आवश्यक भएको हो कि ? दलको स्वार्थ देखिएको हो ?

पहिला त के कुरामा आवश्यक परेको छ, मूल कुरा नै लुकाइएको छ । झ्वाँक चल्यो, मेरो बहुमत आएन भनेर संविधान संशोधन गर्ने होइन । अहिले मुलुकको विकास, स्थायित्व, संविधान कार्यान्वयन र आमजनताका समस्या बुझ्ने काम प्राथमिकतामा राख्नु पर्छ । यी कुरालाई प्राथमिकता दिनुपर्ने थियो तर त्यसो भएको देखिँदैन । संविधानको कुन कुराले काम गर्न अवरोध भएको हो ? त्यो पनि प्रष्ट छैन । ०७३ सालबाट बन्न थालेको संविधान लागू भएपछि कार्यान्वयन सरासर हुनुपर्ने हो । मुलुकको आर्थिक र सामाजिक विकास हुनुपर्ने थियो, आमजनतालाई रोजगारीका कुरा हुनुपर्ने, जनताको हैसियत वृद्धि गर्नुपर्ने । यो काम त भएकै छैन । जरुरी त त्यो कुरा थियो । संविधान संशोधन जरुरी होइन । के कुराले अवरोध भएको हो । त्यो प्रष्ट छैन । भोलिपर्सि छलफल होला, त्यो अलग हो । सीमित मान्छेको स्वार्थका लागि संशोधन गराउनु ठिक होइन । मुलुकको हितमा संशोधन गर्ने हो भने ठिकै छ । संविधानका केही मौलिक कुरा असंशोधित हुन्छन् । संरचना जे छ, त्यो परिवर्तन हुँदैन ।

संविधान संशोधनका लागि दलहरूले के गर्दा ठिक होला ?

पहिले कुन कुन कुरामा अवरोध छ भनेर उठाउनुपर्छ । हाउसमा छलफल हुनुपर्छ । मौलिक कुरामा संशोधन गर्ने हो भने त जनताको राय लिनुपर्छ । त्यो अवस्थामा मात्रै संशोधन हुन्छ । कुन विषमा संशोधन हुने हो पोलिटिक पार्टीबारे हो कि ? शासन शैलीमा हो कि के मा हो ? प्रष्ट छैन । संविधानमा कमजोरी भएको छ, छैन भनेर उहाँहरूले छलफल गराउनुपर्छ । त्यसपछि हाउसमा छलफल भएर संशोधनमा जानुपर्छ । अहिले नै ठ्याक्कै भन्न गाह्रो छ । तर दलहरूले खेलाँची गर्न पाउँदैनन् ।

थेस्रोहोल्डका कारण पनि राजनीतिक अस्थिरता आयो । यसलाई परिवर्तन गर्ने । ३ प्रतिशतबाट बढाएर १० पुर्‍याउने, निर्वाचन प्रणाली पनि फेर्ने भन्छन् नि !

समस्या थेस्रहोल्डमा छैन । मानसिकतामा छ । सरकार नचलेको भनेको, गिरेको, खसेको मानसिकता हो । जो कुर्सीमा आयो त्यो व्यक्ति नै सर्वेसर्वा मै हुँ । मैले भनेको कुरा नै सबैले मान्नुपर्छ । मैले गरेको कुरा हुनुपर्छ, म लामो समय पदमा टिकिरहनुपर्छ, मैले भ्रष्टाचार र अनियमितता गर्न पाउनुपर्छ । मैले अकुत कमाउन सक्नुपर्छ भन्यो भने कसरी शासन चल्छ ? त्यसरी त शासन चल्दैन । अहिले कांग्रेस–एमाले पनि चोखा छैनन् । देशको मै हुँ भन्ने रास्वपा पनि सहकारीमा आमजनताका पैसा लुटमा जोडिएका छन् । यो सरकार हो त ? संविधानले त्यो भनेको छैन । सहकारीबाट सबै पैसा लुट त भनेको छैन नि । भ्रष्टाचार अन्त्य हुनुप-यो । आर्थिक अनियमितता हुन दिनु भएन । जनताले जिताएपछि एक पार्टीले अर्को पार्टीलाई गालीगलौज गरिरहेका छन् । आफ्ना कुरामा तीनथरी एक ठाउँमा बसेर गला मिलाउने भइरहेको छ । त्यो हामीले चाहेको शासन थिएन र भएन । भ्रममा कति टिक्ला र ? जनताले कुरा बुझेका छन् नि । सरकार ढाल्ने र बनाउने खेल खेलेको जनताले हेरेका छैनन त ? निर्वाचन प्रणाली सुधार गर्नु होइन, मति सुधानु प-यो  । मति सुधारी देश विकास गरे जनताले ठूलो अपेक्षा राखेका छैनन् । तर मति ठिक भएन ।

संविधानको पालना बिलकुल ठूला मान्छेले नगर्ने अनि परिणाम असल कसरी पाउन सकिन्छ । भ्रष्टाचार, दुराचार, पापाचार हटाएर राम्रोसँग काम गरौँ भने पो एउटा परिणाम आउँछ । संविधान पालना नगरी संशोधन कसरी हुन्छ ?

दलहरूले जनतालाई भ्रममा पारेका हुन ?

देशमा स्थिरता हुन सक्दैन । स्थिरता भएन भनेर भ्रम छरेका हुन् । जबसम्म विधिको शासन र शासनको लोकतान्त्रिक, गणतान्त्रिक शैली र नियमको पालना गरेर हिँडिदैन । रुल र विधि पालना गरिँदैन । तबसम्म सुधार हुँदैन, यसरी त चल्दै चल्दैन । यहाँ त विष्णु भगवान् र ब्रम्हाले संविधान लेखेर दिए पनि चल्दैन । देखिरहनु भएको छ । मुलुकको स्थिति कहाँबाट कहाँ पुगेको छ । कसरी चल्छ देश ? संविधान कागजमा लेखेर मात्रै हुँदैन । पालना गरेर देखाउनुपर्छ । संविधानको पालना बिलकुल ठूला मान्छेले नगर्ने अनि परिणाम असल कसरी पाउन सकिन्छ । भ्रष्टाचार, दुराचार, पापाचार हटाएर राम्रोसँग काम गरौँ भने पो एउटा परिणाम आउँछ । संविधान पालना नगरी संशोधन कसरी हुन्छ ? संशोधन पनि हुनसक्छ । तीन खण्ड जनता, राज्य र अन्तर्राष्ट्रिय कानुनले समर्थन गरेको मान्य हुनुपर्छ । दुई खण्डले गरेको हुनुपर्छ । राज्यका सबै दलको सहमति चाहिन्छ । यहाँ त एउटा दलको नेताले बोलेपछि अरूले मुखमा टेप लगाएर बस्छन् । दुई पार्टीका बलिया नेता बोलेपछि अरू चुप हुने अभ्यास छ । यो बिलकुल गलत छ । दुई नेताको भाषणका आधारमा संशोधन हुँदैन । देशको अहितमा भयो भने जनताले मान्दैनन् ।

दुई ठूला दलले चाहिँ संविधानमै समस्या देखे । यहाँहरू जस्ता विज्ञले केमा समस्या देख्नुभयो ?

यहाँ समस्या भनेको कानुन नमान्ने । गैरआचरण हुने नेताहरूको प्रवृत्ति देखिहाल्नु भयो । पार्टीको टप लिडर र शुद्ध छविका भनिएका नेताको त कर्म त्यस्तो रहेछ । हामीले कमजोरी त्यही देखेका छौँ । आँखा चिम्लेर भ्रष्टाचार गर्ने र आमजनताको पैसा लुटेर बस्ने सबैभन्दा ठूलो गल्ती त्यही हो । विकास बजेट नलगाउने, पैसा भाग लगाएर खाने । हामीले देखेकै त्यही छ नि । भाग नमिले झगडा गर्ने ।

नयाँ संविधान जारी भएको दशक भयो । नागरिकलाई अझै आशावादी देख्न सकिन्छ ?

जो सत्ताको वरिपरि घुमेर खाएर, मोटाएर हरियो भएका छन् । तिनका लागि यो देश स्वर्ग छ । आमजनता जो छन्, उनीहरू कुनै कुराले खुसी र सुखी छैनन् । यो व्यवस्था खराब होइन । तर यसलाई सरकारमा बस्ने मानिसको दुराचारले बदनामा गरे । शाककको गैरआचरणका कारण आमजनतामा पीडा छ । यिनीहरू बाध्य भएर बाँच्नुपर्ने अवस्था छ । आमजनता महंगीको मारमा दुखी छन् । अस्पताल जान आयश्रोत छैन । जनताका छोराछोरीले पढ्नुपर्थ्यो भने सम्भव छैन । विदेश पठाएपछि छोराछोरीलाई राम्रो हुन्छ भन्ने पक्का छैन । उदाहरण देखिरहनुभएको छ । झुन्डिएर मरिरहेका छन् । गरिबले जम्मा गरेको पैसा सहकारीबाट दलकै नाममा लुटेर खानु सानो अपराध हो ? अनि आमजनताका लागि संविधान आयो भनेर हर्ष मान्नुपर्ने कुरै छैन । आमजनतालाई संविधान के हो र संविधानले कति लाभ दिएको छ भन्ने कुराको अनुभूति गराउन सकेका छैनन् दलका नेताले । ०४७ सालमा दुई चार वर्ष केही क्षणिक विकास देखिएको थियो । हुँदाहुँदै भ्रष्टाचार र लुटतन्त्र बढेर गयो ।

गरिबले जम्मा गरेको पैसा सहकारीबाट दलकै नाममा लुटेर खानु सानो अपराध हो ? अनि आमजनताका लागि संविधान आयो भनेर हर्ष मान्नुपर्ने कुरै छैन । आमजनतालाई संविधान के हो र संविधानले कति लाभ दिएको छ भन्ने कुराको अनुभूति गराउन सकेका छैनन् दलका नेताले ।

उसो भए संविधान आएको आभाष भएको छैन जनतालाई ?
म कतै सुन्दै सुन्दिनँ । संविधान आएर के महसुस भयो जनतालाई कतै श्वास फेरेको देखिँदैन । कार्यकर्ताले मात्रै श्वास फेरेको देख्छु । जनताले खोई फेरेको ? संविधान आयो, राम्रो भयो भनेर सरकारमा भएका व्यक्तिले उत्सव मनाऊ भनेर हुन्छ ? जनताको मनमा लाग्नु पर्दैन ? कुनै एउटा नेताले राम्रोसँग काम गरे जनता खुसी हुन्छन् । व्यवस्था परिवर्तनपछि संविधान अनुसार राम्रो काम भए पब्लिक त उत्सव मनाउन आउँछ नि । यहाँ स्वःस्फूर्त पब्लिक आएको देख्नु हुन्छ ? लाभान्वित पार्टीका कार्यकर्ताबाहेक कोही आएको छैन । जसले लाभ लिएको छ, व्यवस्थाको गैरकानुनी लाभ लिएका मात्र आएका छन् । खोई जनता आएको ? खोई जनताका दुःख सम्बोधन भएको ? व्यवस्था खराब होइन, व्यक्ति खराब हो ।

यहाँले वितृष्णा त भन्नुभयो ? सुनिएको पनि छ ? यो समस्या समाधान गर्न के गर्नुपर्ला ? के सुझाव दिनुहुन्छ ?

३०, ३५ वर्षसम्म लगातार सरकार र नेतृत्वमा रहनेले अब केही गर्छन् जस्तो मलाई लाग्दैन । यिनीहरूको रिप्लेसमेन्ट हुनुपर्छ । नयाँ मान्छे, गर्न सक्छु भन्नेहरू आउनुपर्छ । अब निर्वाचनमा पुराना दलविरुद्ध नयाँ विचार र इछा भएका व्यक्तिलाई भोट गर्नुपर्छ । जनतालाई दुःख दिने र तर्साउनेलाई जनताले दण्ड–सजाय दिनुपर्छ । यिनीहरूलाई हटाएपछि मात्रै नयाँ र विज्ञ आउँछन् । दलभित्र पनि इमानदार अगाडि आउनुपर्छ । पुराना नेता–कार्यकर्ता पोस्ने विचारले जनतालाई झन् गाह्रो भएको छ । मुलुकको भलो चिताउने प्रवृत्ति आउनुपर्छ । कतिपय मुलुकमा भ्रष्टाचार छ, तर उन्नति पनि भएको छ । अफ्रिका र एसियाका मुलुकमा भ्रष्टाचार देखिएको छ । तर विकास पनि भएको छ । यहाँ त यति सिस्टम र शासन शैली खस्किएर गएको छ, म त दलका नेताहरू हिजो राजाकै शैलीमा गएको देखिरहेकी छु । जे पनि मैले गरेको राम्रो हुने । राज्यको स्रोत र सम्पत्तिबाट काम गरे पनि गोजीबाट लगानी गरेको जस्तै भ्रम छर्ने काम भइरहेको छ ।

संविधानको कार्यान्वनयन नगर्नेलाई जोगाउनु हुँदैन भन्ने सोच्नुपर्छ । सिस्टम ठिक हो, मान्छे ठिक भएनन्, अहिलेकालाई परिवर्तन गरेर, त्यो ठाउँमा गतिला मान्छे ल्याएर तिनीहरूबाट मुलुकको शासन शैली सुदृढ बनाउन भन्ने कुरा जनताले सोच्नुपर्छ

यहाँले भनेको जस्तो नयाँ नेता र पार्टी पनि त नआएका होइनन् नि ?

उनीहरू मात्रै नयाँ होइनन् । अहिले प्रवृत्ति के देखियो भने उहाँहरू जो ३०–३५ वर्षदेखि सत्तामा हालीमुहाली गरेर बस्नु भएको छ । उहाँहरूकै छोराछोरी र सन्तान हाम्रा पछाडि राजाको शैलीमा बस्नु भन्नु हुन्छ । नयाँलाई पनि बदनाम गरेर बाटो रोक्ने काम भएको छ । तर नयाँ पनि चोखो हुन्छन् भन्ने होइन । जनताले पनि अब विचार गरेर भोट गर्नुपर्छ । यसरी चल्दैन, कोही न कोही त आउँछ नि । युवामा जोश छ । २०८४ मा जनताले विकल्प दिन सक्नुपर्छ । जनता सोझा भएर हेपेका हुन् । तर जनता अब शिक्षित भएका छन् । शासन परिवर्तन गर्नुपर्छ । यो कुरा बुझेर जनताले ०८४ मा सही मान्छे चुन्न सक्नुपर्छ ।

शासनमा बस्नेले संविधान कानुन बिर्सिएर जे गरे पनि हुन्छ भन्ने सोच राखे पनि आम जनतामा के चेतना आओस् भने मेरो संविधान हो यसको संरक्षण मैले गर्नुपर्छ । संविधानको कार्यान्वनयन नगर्नेलाई जोगाउनु हुँदैन भन्ने सोच्नुपर्छ । सिस्टम ठिक हो, मान्छे ठिक भएनन्, अहिलेकालाई परिवर्तन गरेर, त्यो ठाउँमा गतिला मान्छे ल्याएर तिनीहरूबाट मुलुकको शासन शैली सुदृढ बनाउन भन्ने कुरा जनताले सोच्नुपर्छ, त्यही कुरा जनताले मान्नुपर्छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ८ : ३० बजे

जङगली हात्तीको आक्रमणबाट मृत्यु

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२

भारतको हरियाणा विधानसभा निर्वाचन, कांग्रेसको सुरुवाती अग्रता 

काठमाडौं– भारतको हरियाणा राज्यको विधान सभामा भारतीय नेशनल कांग्रेसले सुरुवाती

तीनमन्त्री खुर्कोटसहित बाढी प्रभावित क्षेत्रको अवलोकनमा

सिन्धुली– संघीय तीन मन्त्रीले सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा

उखुको समर्थन मूल्य छिटो तोक्न सांसद चौधरीको माग 

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य  एवं प्रतिनिधिसभाका सांसद विनोद चौधरीले

भारतद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

बाँके– भारतले नेपालका बाढीपीडितका लागि सामग्री हस्तान्तरण गरेको छ ।