मालढुङ्गा–बेनी सडक आजदेखि दैनिक ६ घण्टा बन्द « Khabarhub

मालढुङ्गा–बेनी सडक आजदेखि दैनिक ६ घण्टा बन्द


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

पर्वत– उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गा–बेनी खण्ड दैनिक ६ घण्टा बन्द गरिने भएको छ । सडक कालोपत्र र स्तरोन्नतिका लागि आजदेखि मङ्सिर ११ गतेसम्म दैनिक ६ घण्टा उक्त खण्ड बन्द गरिने भएको हो ।

सडकको प्रवेश बिन्दुमा पर्ने पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा सडकको क्षेत्राधिकारमा पर्ने ढुङ्गा फुटाएर पन्छाउन र मालढुङ्गाबाट लस्तीसम्म कालोपत्र गर्न ‘प्राइमकोट’ बिछ्याउन सवारीसाधन बन्द गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको आयोजना, जनप्रतिनिधि, सुरक्षा अधिकारी र निर्माण कम्पनीका प्रतिनिधिको बैठकले आजदेखि आठ दिनसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म सवारीसाधन आवतजावत रोकेर निर्माण गर्ने निर्णय भएको जानकारी दिए ।

म्याग्दी र मुस्ताङ आवतजावत गर्ने सवारीसाधनको चापका कारण निर्माण प्रभावित भएकाले समय तालिका बनाइएको उनको भनाइ छ । सडक फराकिलो बनाउन किनारामा रहेको ठूलो ढुङ्गा फुटाउने, सबबेस, बेस राखेको मालढुङ्गा–लस्ती खण्डको चार किलोमिटर दूरीमा प्राइमकोट बिछ्याउने र कालोपत्र गर्ने तयारी भइरहेको चापागाईंले बताए ।

उक्त खण्ड अवरुद्ध हुँदा मालढुङ्गा–बागलुङ–बेनी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको सूचना अधिकारी चापागाईंले बताए । अन्य सवारीका लागि सडक अवरुद्ध भए पनि अत्यावश्यक एम्बुलेन्स, दमकल र शववाहन सञ्चालनमा भने सहजीकरण गरिने आयोजनाले जनाएको छ ।

कुश्मा–१ मालढुङ्गाबाट जलजला गाउँपालिका– ३, ४, ७ र ८ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको छ ।

१३ किमी दूरीको बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न बेनी–जोमसोम–कोरला सडक आयोजना र एपेक्स–खड्का–कृष्ण जेभीबीच विसं २०७७ चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

तीस महिनामा काम सम्पन्न गर्नेगरी सम्झौता भए पनि निर्माण व्यवसायीले विभिन्न कारण देखाउँदै ढिलाइ गरेको हो । यो सडक चालु आर्थिक वर्षभित्र पूर्ण रुपमा सम्पन्न गर्नेगरी काम गर्न निर्माण व्यवसायीलाई आयोजना कार्यालयले निर्देशनसमेत दिएको छ ।

उक्त सडक भएर म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनीअन्तर्गत बेनीतर्फ २०६८ सालमा कालोपत्र गरिएको थियो ।

मुस्ताङको कोरला नाकाबाट दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्र गर्न लागिएको हो ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ७ : २५ बजे

लागुऔषधसहित सात जना पक्राउ

काठमाडौँ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति

कैलाली– कैलालीको चुरे गाउँपालिकास्थित सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति सुरु भएको छ

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज– बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । अनौपाचारिक

सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– चितवनको कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको

मौसम खुल्दा ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

ताप्लेजुङ– दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे