साना नानीबाबुको उपचार गर्ने अस्पतालमै छैन बालमैत्री शौचालय | Khabarhub Khabarhub

सन्दर्भ : विश्व शौचालय दिवस

साना नानीबाबुको उपचार गर्ने अस्पतालमै छैन बालमैत्री शौचालय


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज विश्व शौचालय दिवस ! विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइएको छ । शौचालयको महत्व सबैसामू उजागर गर्न हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाउने गरिन्छ ।

सन् २०३० सम्म कार्यान्वयन हुने दीर्घकालीन विकास लक्ष्य (सस्टेनेबल डेभलपमेन्ट गोल्स-एसडीजी)मा संसारका हरेक बासिन्दालाई सरसफाइका स्रोत र सुविधाका साथै पानी पुनःप्रयोग गर्ने स्रोत र संरचना सुलभ बनाउने लक्ष्यमा केन्द्रित भइ यो दिवस मनाइएको हो ।

दिवसको यस वर्षको नारा ‘ट्वाइलेट : अ प्लेस फर पिस राखिएको थियो । यसको अर्थ ‘शौचालय, शान्तिको लागि ठाउँ’ भन्ने हुन्छ ।

नेपालमा विस्तारै घरघरमा शौचालय प्रयोग वृद्धि हुन थालेको छ । तर, शहरीकरणबाट बनेका नमूना जिल्लाका नगरमा समेत सार्वजनिक शौचालय प्राथमिकतामा पर्ने गरेका छैनन्‌ । भएका शौचालयहरूको पनि उचित सरसफाइ र व्यवस्थापन भएको पाइँदैन ।

अझै पनि संसारभर करिब दुई करोड ५० लाख मानिसहरूले शौचालय प्रयोग नगर्ने गरेको तथ्याङ्क छ । विश्वमा १० जना एक जनाले शौचालयमा शौच गर्ने विकल्प नपाएको विश्व स्वास्थ्य सङ्गठनको सन् २०१५ को सर्वेक्षणले देखाएको थियो ।

नेपालमा शौचालयको अवस्था 

कुनै समय खोलाका किनार, खेतबारी या पोखरीका डिल लगायत खुला ठाउँमा शौच गर्ने हाम्रो समाजले विस्तारै शौचालयका रूपमा एउटा छुट्टै सानो कोठा प्रयोग गर्न थालेको छ। 

नेपालमा झाडापखाला, हैजा र मलमूत्रबाट फैलनसक्ने सङ्क्रामक रोगहरू रोक्न शौचालय प्रयोगको अवधारणा ल्याइएको थियो । हाम्रो समाजमा शौचालय उपयोगमा आएको धेरै लामो समय भएको छैन । तर, विकासका धेरै मापदण्ड परिवर्तन हुँदै गएका छन् । 

मान्छेले सभ्यताको विकाससँगै आफ्ना रहनसहन र सफाइका मापदण्ड दुरुस्त राख्न धेरै परिवर्तन र विकास गरेका छन् । आजसम्म हाम्रो दिनचर्यासँग आनीबानी, चालचलन र अभ्यासहरू थपिँदै आएका छन् । तीमध्येको एक शौचालय पनि हो । 

खुला शौच रोक्न सरकारले सार्वजनिक शौचालयको अवधारणा ल्यायो । त्यसपछि सार्वजनिक स्थानहरू विद्यालय, अस्पताल, लगायत गाउँदेखि शहरसम्म मानिसहरूको भिड हुने ठाउँमा पर्याप्त मात्रामा शौचालय बनेसँगै २०७६ असोज १३ गते नेपाललाई खुला दिशामुक्त घोषणा गरियो । 

तर, अहिलेसम्म पनि शौचालय भने व्यवस्थित छैनन् । अस्पतालदेखि सिनेमा घरसम्म अधिकांश शौचालय दुर्गन्धित हुने गरेका भेटिएका छन्। समावेशिताका हिसाबले सबैलाई उपयोगी शौचालय छैनन् । सबै ठाउँका शौचालयमा महिला, पुरुषका लागि व्यवस्था छ । तर, अपाङ्गमैत्री शौचालयमा बालबालिकाका लागि सुविधा छैनन् ।

विद्यालयबाहेक अन्य कुनै पनि सार्वजनिक स्थानमा बालमैत्री शौचालय छैनन् । बालबालिकाहरू विद्यालयमा मात्रै सीमित नभएर विभिन्न सपिङ मल, अस्पताल र सिनेमा हल लगायतमा अभिभावसँगै गइरहेका हुन्छन् । 

सहज तरिकाले शौच गर्न पाउनु सबैको अधिकार हो । त्यहाँका पुरुष शौचालयमा बालकले शौच गर्नसक्ने संरचनाहरू नहुँदा सास्ती खेप्नुपरेको छ । यतिसम्म कि बालबालिकाकै लागि बनाइएका पार्क र अस्पतालहरूमा पनि बालमैत्री शौचालय भेटिँदैनन् । 

कान्तिमै छैन बालमैत्री शौचालय 

काठमाडौंको कान्ति बाल अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको उपचार गरिन्छ । त्यहाँ पनि बालबालिकाले सहज रूपमा शौच गर्नसक्ने शौचालय छैनन् । 

अस्पतालका सूचना अधिकारी रमेश नरसिंह केसी भन्छन्, ‘अस्पतालमा शौचालय पर्याप्त मात्रामा छन् । बिरामी भर्ना कक्ष, आपतकालीन कक्ष र आईसीयू लगायत छुट्टाछुट्टै कक्षमा शौचालयको व्यवस्था छ । तर, बालबालिकाकै लागि शौचालय छैनन् ।’

पुरानै संरचनाअनुसार महिला पुरुषका लागि छुट्टाछुट्टै शौचालयहरू छन् । सफाइ कर्मचारीहरूले समय समयमा सफा गरे/नगरेको आफूले निगरानी गर्ने गरेको उनले बताए ।

कस्तो हुनुपर्छ बालमैत्री शौचालय ?

नेपालको संविधानले मौलिक हकअन्तर्गतको धारा ३९ मा बालबालिकाको अधिकारको व्यवस्था गरेको छ ।

जसमा ‘बालबालिका संसारको जुनसुकै ठाउँमा जन्मे/हुर्के पनि उनीहरूको आधारभूत आवश्यकताहरू माया, ममता, संरक्षण, स्वस्थ वातावरण, उचित पोषण, शिक्षा र विकासका अवसर पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो’ भनिएको छ ।

जसअन्तर्गत बालमैत्री संरचनाहरू पनि पर्दछन् । त्यसमध्येको एउटा हो बालमैत्री शौचालय ! एरोसान हव नेपालकी कार्यक्रम प्रबन्धक अर्चना श्रेष्ठ भन्छिन्, ‘शौचालय हाम्रा लागि अतिआवश्यक संरचना हो । महिला पुरुष, अपाङ्गता भएका र बालबालिका लगायत सबै वर्गको सहज पहुँचमा शौचालय हुनुपर्दछ ।’ 

खबरहबसँग कुरा गर्दै श्रेष्ठले थपिन्, ‘शौचालय निर्माण गर्दा महिला पुरुष छुट्याइएको हुन्छ । पुरुष शौचालयमा युरिनल अर्थात पिसाब गर्नका लागि बनाइएको संरचना अग्लो हुन्छ, जुन वयस्क पुरुषका लागि मात्रै काम लाग्छ । बालकले प्रयोग गर्ने संरचना हुँदैनन् । त्यसैले बालकबालिकालाई पनि सहज हुने होचो युरिनल बनाउनुपर्छ । त्यस्तै; हात धुने धारा बच्चाको पहुँचमा हुने बनाउनुपर्छ, जसमा उनीहरूले सजिलै हात धुन सकुन् ।’


उनका अनुसार एरोसान नेपालले निर्माण गरेका स्मार्ट शौचालयहरू महिलामैत्री, पुरुषमैत्री, अपाङ्गमैत्री र बालमैत्री छन् । जसमा हात धुने मेसिनहरू बालबालिकाको पहुँचमा हुने गरी राखिएको छ ।

पुरुष शौचालयमा युरिनल अर्थात पिसाब गर्नका लागि बनाइएको संरचना २ किसिमको बनाइएको छ – एउटा अग्लो र अर्को होचो ।  यसो हुँदा पुरुष बालकले पनि सजिलैसँग प्रयोग गर्न पाउँछन् । त्यस्तै बालबालिकाका लागि डाइपर फेर्ने ठाउँ पनि छुट्याइएको उनले बताइन् । 

एरोसान हब र स्थानीय तहको सहकार्यमा निर्माण गरिने यी शौचालय काठमाडौं महानगरपालिकाका त्रिपुरेश्वर, बानेश्वर, स्वयम्भू, डल्लु, परोपकार र राहदानी विभागसहित ६ वटा ठाउँमा छन् ।

उता पाटन ढोका, मंगलबजार र जावलाखेलसहित ललितपुरका तीन ठाउँमा यस्ता शौचालय निर्माण गरिएका छन् । यी शौचालयको संख्या अझै बढाउने संस्थाको योजना छ । तत्कालै काठमाडौं महानगरपालिकामा १० वटा शौचालय निर्माणका लागि गृहकार्य भइरहेको उनले बताइन् । 

अहिले उपत्यकाभित्र मात्रै भइरहेको यो कामलाई स्थानीय सरकारको सहयोग तथा समन्वय भए बाहिर पनि विस्तार गर्ने योजना संस्थाले बनाएको छ । 

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ९ : ०९ बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी – गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत