निसन्तान दम्पत्तीमा खुशी बढाउँदै आइभिएफ | Khabarhub Khabarhub

निसन्तान दम्पत्तीमा खुशी बढाउँदै आइभिएफ

‘दम्पत्तीको सन्तान सुखले हामीलाई पनि खुशी मिल्छ


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इनभिट्रो फर्टिलाइजेसन (आइभिएफ) यस्तो चिकित्सा विधि हो, जसको सहायताले बाँझोपनको समस्याबाट पीडित दम्पत्तीले अभिभावक बन्ने अवसर पाउँछन्। यो विधिको विकाससँगै वर्षौंदेखि पीडामा रहेका दम्पत्तीमा खुशी छाउन थालेको छ। पछिल्लो समय यस्ता समस्या लिएर अस्पताल पुग्ने दम्पत्तीका लागि उपचारमा ठूलो सफलता प्राप्त भइसकेको छ।

प्रविधिको विकाससँगै हाम्रो खानपान, रहनसहन, वातावरणीय प्रभावका कारण नेपालमा पनि यसको प्रयोग बढिरहेको चिकित्सक बताउँछन्। सामान्यतया आइभिएफको प्रयोगले सकारात्मक परिणाम दिन्छ तर कहिलेकाहीँ यसको परिणाम असफल हुने भएकोले दम्पत्तीहरु निराश हुन्छन्। आइभिएफ प्रविधि के हो ? कसरी बच्चा जन्मिन्छ ? कस्तो अवस्थाका दम्पत्तीलाई यसको आवश्यकता पर्छ ? पछिल्लो समय धेरै दम्पत्तीलाई आइभिएफको आवश्यकता किन बढ्दै गएको छ ? यी र यस्तै विषयमा खबरहबका लागि प्रजनन तथा स्त्रीरोग विशेषज्ञ डा. निजा राजभण्डारीसँग गरेको कुराकानीः

आइभिएफ प्रविधि के हो, बच्चा कसरी जन्माइन्छ ?
केटी मान्छेमा महिनावारीको बिचको समयमा एउटा अण्डा बन्छ। त्यो अण्डा डिम्बासयबाट निस्किएर ट्युबमा जान्छ। त्यही बेला शारीरिक सम्पर्क हुँदा योनीबाट विर्य पनि पाठेघर हुँदै ट्युबमा पुग्छ। यसरी ट्युबमा बनेको भ्रुण पछि आएर पाठेघरमा बस्छ। यो प्राकृतिक ढंगले बच्चा बन्ने एउटा सामान्य प्रक्रिया हो।

बच्चा बन्ने प्राकृतिक क्रियामा दम्पत्ती असफल भए कृत्रिम तरिकाले प्रयोगशालामा बच्चाको विकास गरिन्छ । यसलाई नै आइभिएफ पद्धति भनिन्छ ।

यदि डिम्बाशयमा अण्डा नबनेर ट्युबमा पुग्दैन वा ट्युब बन्द भएर विर्य र अण्डाको संयोजन हुन नसक्ने पनि हुनसक्छ। पाठेघरमा बच्चा बन्ने प्रक्रिया पुरा भएन भने आइभिएफ विधिको प्रयोग गरिन्छ। बच्चा बन्ने प्राकृतिक प्रक्रियामा दम्पत्ती असफल भए पनि कृत्रिम तरिकाले प्रयोगशालामा बच्चाको विकास गरिन्छ। त्यसलाई नै हामी इनभिट्रो फर्टिलाइजेशन (आइभिएफ) पद्धति भन्छौं। सामान्य भाषामा टेष्ट्युब बेबी भनेर बुझ्न सकिन्छ। सुरूआती समयमा कृत्रिम तरिकाले गर्भाधान गराएर भ्रुणलाई ट्युबमा विकास गरिने भएकाले त्यसलाई टेस्टट्युब बेबी भनिएको हो।

महिलाको अण्डामा समस्या भएको, बन्ने प्रक्रिया नभएको, अन्य कुनै महिलाको अण्डा लिनुपर्ने भए वा पुरुषको विर्यमा कुनै खराबी देखियो भने अण्डा र विर्य झिकेर संयोजन गराइन्छ। यसरी लिइएको अण्डा र विर्य प्रयोगशालामा हुने उपकरण (इन्कुबेटर) मा तीनदेखि पाँच दिनसम्म राखिन्छ। त्यसपछि विकास भएको भ्रुणलाई महिलाको पाठेघरमा राख्ने प्रक्रिया नै आइभिएफ पद्धति हो।

कस्तो अवस्थाका दम्पत्तीलाई यसको आवश्यकता पर्छ ?
सबै निसन्तान दम्पत्तीलाई आइभिएफको आवश्यकता पर्छ भन्ने छैन। यसको पनि विभिन्न प्रकार हुन्छन्। सामान्यतया धेरै उमेर भएका विवाह गरेको लामो समयसम्म पनि बच्च नभएका महिला तथा पुरुषमा यो प्रक्रिया अपनाइन्छ। जसमा दुवैतिरको अण्डानली बन्द भएको वा अण्डाको स्टोर एकदमै कम भएको हुन्छ। जति औषधि दिँदा पनि अण्डा बनाउन सकिएन भने आईभीएफ गर्नुपर्छ। पुरुषमा शुक्रकिट एकदमै कम भएको अवस्था वा सामान्य भएपनि फर्टिलाइज नभएको अवस्थामा आईभीएफ गर्नुपर्छ। महिलाको हकमा ३५ वर्षभन्दा माथि उमेर भइसक्यो झै अण्डा उत्पादन राम्रो भइरहेको छैन भने पनि आइभिएफ आवश्यक पर्नसक्छ।

पछिल्लो समय हाम्रो खानपान, जीवनशैली र वायु प्रदूषणका कारणले सम्पूर्ण स्वास्थ्यका साथै प्रजनन स्वास्थ्यमा पनि उत्तिकै असर गरिरहेको छ। त्यसैले गर्दा आज आइभिएफको आवश्यकता परेको हुनसक्छ।

५० देखि ५५ वर्ष उमेर पुगेकाले पनि यो प्रविधमार्फत बच्चा जन्माउन सक्छन् भनिन्छ। खासमा कति वर्षको उमेरमा आइभिएफ गर्नु राम्रो मानिन्छ ?
नेपालमा यति उमेरसम्मका महिलाले आइभिएफमार्फत बच्चा जन्माउन सक्छन् भनेर उमेर तोकिएको छैन। केही महिलाले ५० देखि ५५ वर्षको उमेरमा पनि आइभिएफ मार्फत बच्चा जन्माएका छन्। तर म प्रजनन डाक्टर भएको नाताले ४९ वर्षभन्दा माथि उमेर भएका महिलालाई आइभिएफ नगर्न सुझाव दिन्छु। जती धेरै उमेर बढ्दै गयो त्यति नै खतरा बढी हुन्छ। सुगर, प्रेसरलगायत अन्य समस्या पनि धेरै हुने भएकाले खतरा अलि बढी नै हुन्छ।

पछिल्लो समय धेरै दम्पत्तीलाई आइभिएफको आवश्यकता परिरहेको छ किन ?
हाम्रा आमा र हजुरआमाले धेरै सन्तान जन्माउनुभयो। बाँझोपनको समस्या धेरैलाई देखिएन। तर पछिल्लो समय प्रविधिको विकास सँगसँगै हाम्रो खानपान, जीवनशैली र वायु प्रदूषणका कारणले सम्पूर्ण स्वास्थ्यका साथै प्रजनन स्वास्थ्यमा पनि उत्तिकै असर गरिरहेको छ। त्यसैले पनि यसको आवश्यकता परेको हुनसक्छ।

आईभीएफ गर्भाधान एक पीडादायी प्रक्रिया हो भनिन्छ कत्तिको जटिल हुन्छ ?
आइभिएफ एउटा प्रक्रिया मात्रै हो। सामान्य गर्भावस्थामा जसरी गर्भको ख्याल गरिन्छ त्यसैगरी सचेत हुनुपर्छ। गर्भवतीले भारी काम नगर्ने, पर्याप्त मात्रामा आराम गर्ने गर्नुपर्छ। फरक भनेको आइभिएफमार्फत गर्भवती हुँदा औषधीको प्रयोग अलि धेरै हुन्छ। जसले गर्दा अधिकांश आमा डराउँछन्। नभए सामान्य गर्भावस्था जस्तै सुरुको तीन महिना अलि बढी ख्याल गर्नुपर्ने हुन्छ। तर आइभिएफ हो भन्दैमा छुट्टै स्याहार गर्नुपर्छ भन्ने छैन।

धेरैले आइभिएफ एक पटक गर्दा सफल हुन्छ भन्ने सोच्छन्। तर यो प्रक्रियामा पहिलो पटकमै सफल हुन्छ भन्ने हुँदैन। यदि यो प्रक्रिया पहिलो पटकमै सफल भयो र बच्चा गर्भमा हुँदा पनि केही जटिलता आएन भने तीनदेखि चार लाखसम्म खर्चले पुग्छ।

आइभिएफ मार्फत बच्चा जन्माउदा नर्मल पनि बच्चा जन्मिन्छ या शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ?
नर्मल पनि बच्चा जन्माउन सकिन्छ। नर्मल भन्दा आइभिएफमार्फत बच्चा जन्माउँदा मान्छेले धेरै लगानी गरेको छ। सन्तान नहुनुको पीडा धेरै भोगेको हुन्छ। नर्मल डेलिभरी गर्दा लामो समय लाग्ने हुँदा जोखिम हुनसक्छ। शिशुलाई बिना जोखिम निकाल्नका लागि शल्यक्रिया नै गर्ने धेरै हुन्छन्। यो अवस्थामा धेरै दम्पत्तीले सिएस नै रोज्छन्। तर नर्मल पाउनै सकिँदैन भन्ने होइन। यदि आमाले चाहेमा नर्मल पनि प्रयास गर्न सकिन्छ।

आईभीएफ प्रक्रियाबाट जन्मेका बच्चामा जन्मदोषको जोखिम हुन्छ भनिन्छ के कस्ता जोखिम हुन्छन् ?
यो एउटा भ्रम मात्रै हो। कहिलकाहीँ नर्मल जन्मेका बच्चामा पनि केही समस्या हुन्छ। यसमा पनि कहिलेकाहीँ कुनै बच्चामा हुनसक्छ। तर आइभिएफ गरेर नै बच्चामा समस्या भयो भन्ने हुँदैन। अझ म त के भन्छु भने आइभिएफ मार्फत जन्मेका बच्चा भ्रुणमा हुँदै जेनेटिक टेष्टहरु गरेर केही समस्या भए गर्भमै हुँदा उपचार गरेर नर्मल बनाउन सकिन्छ।

आईभिएफमार्फत बच्चा जन्माउन कति जति खर्च लाग्छ ?
धेरैले आइभिएफ एक पटक गर्दा सफल हुन्छ भन्ने सोच्छन्। तर यो प्रक्रियामा पहिलो पटकमै सफल हुन्छ भन्ने हुँदैन। यदि यो प्रक्रिया पहिलो पटकमै सफल भयो र बच्चा गर्भमा हुँदा पनि केही जटिलता आएन भने तीनदेखि चार लाखसम्म खर्चले पुग्छ। त्यो पनि आइभिएफ सेण्टर अनुसार फरक हुन्छ।

आर्थिक अवस्था कमजोर भएका दम्पत्तीका लागि सहुलियतको व्यवस्था छ कि छैन ?
सबै आइभिएफ सेण्टरको त म भन्न सक्दिन। तर वात्सल्य आइभिएफले बैंकसँग सम्झौता गरेर किस्ताबन्दीमा सेवा उपलब्ध गराएको छ।

आइभिएफ गर्ने नगर्ने दम्पत्तीले नै निर्णय गर्ने हो । तर सन्तान नभएमा एकपटक परामर्श गर्नु राम्रो हुन्छ ।

तपाईं लामो समयदेखि यो सेवामा लागि रहनुभएको छ आइभिएफमार्फत धेरै दम्पत्तीलाई सन्तान सुख दिन पाउँदा कस्तो अनुभूती हुन्छ ?
धेरै खुशी लाग्छ। कति दम्पत्ती त बिहे गरेको २५-२६ वर्षसम्म पनि सन्तान भएन भनेर आउँछन्। आइभिएफ मार्फत सन्तान प्राप्त गर्दा हामीलाई भगवानको दर्जा दिन्छन्। तर कतिपय दम्पत्तीलाई अनेक प्रयास गर्दा पनि हामीले सन्तान सुख दिन सक्दैनौ त्यस्तो अवस्थामा साह्रै दुःख लाग्छ।

अझै पनि धेरै दम्पत्तीले विभिन्न कारणले सन्तान सुख प्राप्त गर्न सकेका छैनन्, त्यस्ता दम्पत्तीलाई यहाँको सुझाव के छ ?
सहरी क्षेत्रमा त धेरै जनालाई यसबारे जानकारी छ। तर ग्रामीण भेगमा अझै पनि धेरैलाई थाहा छैन। उनीहरु भारत जाने गर्दछन्। कतिपय दम्पत्ती धेरै खर्चिलो हुन्छ भनेर पनि आउँदैनन्। अरु कुनै स्वास्थ्य समस्याका कारण पनि बच्चा नभएको हुनसक्छ। आइभिएफ गर्ने नगर्ने तपाईंको निर्णय हो तर सन्तान नभएमा एकपटक परामर्शमा जानु राम्रो हुन्छ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ७ : ३९ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि