बाबुरामको विश्लेषण : ८४ को प्रधानमन्त्री नयाँ दलबाट | Khabarhub Khabarhub

बाबुरामको विश्लेषण : ८४ को प्रधानमन्त्री नयाँ दलबाट

‘प्रचण्ड आफ्नो धर्म निभाइरहेका छन्, म आफ्नो काम गर्दैछु’


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 12 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आजभन्दा ८ वर्ष पहिल्यै नयाँ शक्ति बनाउने भन्दै माओवादी केन्द्रबाट अलग भएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अहिले आन्तरिक समस्यामा फसेका छन् । उनको दल नेपाल समाजवादी पार्टीका एक मात्र सांसद महीन्द्र राय यादव र वागमती प्रदेशका गृहमन्त्री गंगानारायण श्रेष्ठले प्रचण्डसँग पार्टी एकता गर्ने सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । डा. भट्टराईसहित बहुमत सदस्यहरु भने माओवादीका नमिसिने अडानमा छन् ।

यही दुई लाइन संघर्षका कारण डा. भट्टराईको पार्टी पुनः फुटको सँघारमा आइपुगेको छ । उपेन्द्र यादवसँग फुटेको दुई वर्ष नपुग्दै भट्टराईले अर्को विभाजनको सामना गर्न लागेका हुन् ।

यसै सन्दर्भमा नेपाल समाजवादी पार्टीबाट खबर आयो, ‘नेपाल समाजवादी पार्टीका महाधिवशेन आयोज समिति संयोजक डा. बाबुराम भट्टराईले समसामयिक विषयमा पत्रकार भेटघाट कार्यक्रम गर्न लाग्नुभएको छ, आउनुहोला ।’

बुधबार अपरान्ह सिमसिम पानी परिरहेका बेला हामीले पूर्वप्रधानमन्त्री डा.भट्टराईका कुराहरु अद्योपान्त सुन्यौं । उनले सुरुमा केही कुराहरु राखे । त्यसपछि पत्रकारले तीतामिठा प्रश्नहरु सोधे, जसमा केहीबेर सवाल जवाफ भयो । पूर्वप्रधानमन्त्री डा. भट्टराईले पत्रकारसँग बिताएको ३० मिनेटको क्षणलाई हामीले पाठकसमक्ष पस्केका छौं ।

शुरुमा डा. भट्टराईका कुरा उनकै शब्दमा–

एउटा भनाइ छ, जंगलमा हिँड्दा बाटो बिराइयो भने जहाँबाट बिराएको हो, त्यहीँ गएर फेरि सुरु गर्नु भनिन्छ । १० वर्ष अगाडि देशमा नयाँ शक्तिको खाँचो भनेर मैले नेपाल साप्ताहिक मार्फत विमर्श सुरु गरेको थिएँ । त्यसै क्रममा नै संविधानसभाबाट संविधान जारी भएपछि नेपालमा नयाँ शक्ति अभियान हामीले शुरु गर्‍यौं ।

विवेकशील साझा लगायतका अन्य स्वतन्त्र अभियानहरु हुँदै पुराना शक्तिहरुको विकल्पमा नयाँ शक्ति निर्माण गर्ने क्रम अगाडि बढिराखेको छ । तर, हामी यसका सुरुवाती पहलकर्ता थियौं ।

हामीले सुविचारित ढंगले नै विचार, राजनीति, संगठन, नेतृत्व, शैली राष्ट्रिय–अन्तरराष्ट्रिय परिस्थिति सबैको मूल्यांकन गरेर स्पष्ट खाकासहित अभियान सुरु गरेका थियौं । त्यो कता हरायो, नयाँ हो कि पुरानो हो भनेजस्तो पर्न गयो । हो, यही विषयमा हामीले गत जेठ २५ र २६ गते विहंगम समीक्षा गरेर आफ्ना कमीकमजोरी आत्मसाथ गरेर अगाडि बढ्दै आएका थियौं ।

यसै क्रममा केही समययता हाम्रा केही साथीहरुलाई स्वतः आन्दोलनका क्रममा थकाइ लाग्छ । गलिन्छ । त्यसले गर्दा यात्रामा हिँड्नुभन्दा बरु चौतारीमा बास बसौं, छिमेकीको घरमा गएर मीठो खाना खाऔं भन्ने यात्रीलाई अनुभूत हुन्छ । त्यस्तै केही साथीहरुलाई भयो र उहाँहरुले त्यसो गर्न खोज्नुभयो । त्यसलाई हामीले अन्यथा मान्ने कुरा हुँदैन । राजनीतिक क्रान्ति र परिवर्तनको यात्रामा यो निरन्तर चल्छ ।

यद्यपि विडम्वनापूर्णचाहिँ के भैदियो भने देशको प्रधानमन्त्री, जो एउटा पार्टीको अध्यक्ष पनि हुनुहुन्छ, उहाँकै उपस्थितिमा केही मान्छेहरुले उहाँको पार्टीमा प्रवेश गरेको कुरालाई पार्टी नै मर्ज भएको भन्ने ढंगको जुन वक्तव्य आयो, त्यसबाट हामी अलि आशंकित भयौं ।

चैत ३ गतेकै कुरा गर्दा म पार्टीको अध्यक्ष छु । निर्वाचन आयोगको सबै अभिलेखले त्यो देखाउँछ । सबैसँग वार्ता गर्नका निम्ति हामीले वार्ता समिति बनाएका थियौं, त्यसको संयोजक म आफैं हुँ । फेरि, अस्ति ५ गते हाम्रो केन्द्रीय समितिको बैठक बस्यौं । हामी ७० प्रतिशत केन्द्रीय समिति र हामी दुई तिहाई कार्यकारिणी समिति उपस्थित भएर हामीले निर्णय पनि गरेका छौं । यस्तो अवस्थामा त्यस्तो प्रकारको एउटा जालसाजीपूर्ण, भ्रमपूर्ण प्रचारबाजी गरियो ।

देशमा राजनीतिक संकट छ । देशभित्रको राष्ट्रिय एकताको संकट छ । सुशासनका विषयमा गम्भीर भ्रष्टाचारका प्रश्नहरु उठेका छन् । मुख्यरुपमा देशको अत्यन्त आर्थिक दुरावस्थाका कारणले हाम्रो लाखौं जनशक्ति विदेश पलायन हुनुपर्ने अवस्था जुन छ, यसैको समाधान खोज्नका निम्ति नै हामीले नयाँ वैकल्पिक राजनीतिक शक्ति हुँदै नेपाल समाजवादी पार्टीसम्म हामी आएका हौं ।

राजनीतिक यात्राका क्रममा यस्ता बांगाटिंगा यात्राहरु हुन्छन्, यसलाई अन्यथा मान्ने कुरा हुँदैन । फेरि पनि मैले नयाँ ठाउँमा फर्केर यात्रा गर्नुपर्छ भन्नुको अर्थ के थियो भने बीचमा यस्ता गतिविधिका कारणले गर्दा हामी पनि पुराना शक्तिभन्दा के फरक भयौं भन्ने जनतामा पर्न पनि गयो ।

फेरि हामी हिजोको जनयुद्धको पृष्ठभूमिबाट आएको हुनाले शान्ति प्रक्रिया लगायतका कतिपय कार्यभारहरु बाँकी छन् । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेका छन् । यसलाई रक्षा गर्ने लगायतका कुराहरुमा हामीले पुराना शक्तिहरुसँग पनि सहकार्य गर्नुपर्छ । तर, अब उहाँहरुबाट मात्रै त्यसकोे रक्षा हुँदैन, अगाडि बढेर मात्रै रक्षा हुन्छ भनेर हिँडिसकेको हुनाले हामी उहाँहरुसँग मिसिने कुनै मनसाय पनि होइन र आवश्यकता पनि छैन । हामीले त्यो गर्ने कुरा पनि थिएन । तर, कहिलेकाहिँ सहकार्य त गर्नुपर्छ । चुनावी तालमेल गर्ने कुरा, खास–खास मुद्दामा सहकार्य गर्ने कुरा एउटा हो, तर हाम्रो सिंगो अभियानलाई नै छाडेर पुरानै पार्टीतिर फर्कने भन्ने हामीले सोचेको, कल्पना गरेको कुरा होइन । यो विषयमा आम जनसमुदायमा कुनै भ्रम नरहोस् ।

 मेरो आग्रह के हो भने पुराना राजनीतिक शक्तिहरुबाट यो देशको अग्रगामी निकास हुन सक्दैन

अब हामी प्रष्ट ढंगले जुन वैकल्पिक शक्ति, लोकतन्त्रमा आधारित समाजवादको पक्षपोषण गर्दै अगाडि बढेका छौं, त्यही बाटोमा दृढ छौं भन्ने हाम्रो पछिल्लो बैठकले पनि निर्णय गरेका छौं । यसअर्थमा हामी देशमा जुन राजनीतिक, आर्थिक, सामाजिक, भूराजनीतिक संकट छ, त्यसको समाधान गर्नका निम्ति बनेको शक्ति हुनाले कुनै पनि हालतमा पछाडि फर्कने कुरा हुँदैन ।

बेलाबेलामा साथीहरु जानुहुन्छ, त्यसमा हामीलाई आपत्ति छैन । हामीले नयाँ संस्कारै बसालौं भनेर कोही साथीहरु अर्को पार्टीमा जान चाहनुहुन्छ भने फूलमाला लगाएर विदा गरौं भन्ने पद्दतिजस्तै बसाल्न पनि खोजिराखेका थियौं । त्यसो भएको हुनाले यसलाई हामीले ठूलो विषय मानेको छैन ।

फेरि पनि म के आग्रह गर्न चाहन्छु भने राजनीतिप्रति जनतामा जुन वितृष्णा छ, हाम्रो युवा पंक्तिले देशमा नै आश मारेर विदेश पलायन हुने जुन अवस्था छ, त्यसलाई चिर्नका निम्ति अन्ततः देशको नेतृत्व गर्ने राजनीतिले नै हो । अग्रगामी र सफा राजनीतिले नै हो । भ्रष्टाचारमुक्त राजनीतिले नै हो । त्यसको निम्ति हामी लागेको हुनाले आफ्नो कर्तव्यवोध गर्दै फेरि एकचोटि यो यात्रामा हामी अगाडि बढेका छौं । यसका लागि हामीले छिटै नै पार्टी निर्माण तथा विस्तार अभियान सुरु गर्ने र हाम्रो पार्टी कसरी अरुभन्दा फरक छ भन्ने ढंगबाट पनि योजनाहरु बनाएका छौं ।

मुख्यरुपमा हामी के चाहन्छौं भने चुनावको निम्ति चुनावको पार्टी मात्रै भन्दा पनि जनताका मुद्दालाई लिएर लड्ने, संघर्ष गर्ने र यो संविधानका अपूर्णतालाई पूर्ण गर्ने गरी संविधान संशोधन गर्ने र सुशासनको दिशामा लिएर जाने शक्ति भएको हुनाले हाम्रा आगामी दिनका कार्यक्रम व्यापक रुपले जनताका मुद्दामा केन्द्रित हुनेछ ।

पहिलो कुरा त राजनीतिक स्थिरताविना देशमा सुशासन हुँदैन । त्यसका निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदको व्यवस्था हुनैपर्छ । त्यसो नभएसम्म यो देशमा स्थायित्व हुँदैन भन्ने हाम्रो दृढ मत हो । विगत एक वर्षको घटनाले पनि देखाइसक्यो । एक वर्षमा तीनचोटि सरकार परिवर्तन भयो । यो तरिकाले त आउँदो चार वर्षभित्र १२ चोटि परिवर्तन हुन्छ । यस्तो अस्थिरतामा देश विकास हुँदैन । त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्यमन्त्रीको निर्वाचन र पूर्ण समानुपातिक प्रतिनिधिसभा र प्रदेशसभा, यसका निम्ति एउटा अभियान नै सञ्चालन गर्ने हाम्रो सोच छ ।

त्यसैगरी भ्रष्टाचारका जुन प्रकरणहरु अहिले भइराखेका छन्, अंश-अंशमा यसको हल हुँदैन । कांग्रेस सरकारमा भएका बेलामा कम्युनिष्टहरुलाई भ्रष्टाचारी भन्ने, कम्युनिष्टहरु सरकारमा भएका बेलामा कांग्रेसलाई भ्रष्टाचारी भन्ने अनि आफू मिलेका बेला चोचोमोचो मिलाएर सबै साखुल्ले हुने जुन प्रवृत्ति छ, यसरी भ्रष्टाचारको निवारण हुँदैन ।

यसको निम्ति एउटा अधिकारसम्पन्न जन लोकपालको व्यवस्था गरेर पूर्वप्रधानमन्त्रीदेखि लिएर सबैको सम्पत्ति र गतिविधिको छानविन गर्न सक्ने र कारवाही गर्न सक्ने शक्तिसम्पन्न जन लोकपाल हुनुपर्छ भन्ने हाम्रो भनाइ हो । त्यसरी मात्रै भ्रष्टाचार निवारण हुन्छ, नत्रचाहिँ आफू सत्तामा भएका बेला अर्कालाई आरोपित गर्ने अनि आफ्नो ढाकछोप गर्ने जुन प्रवृत्ति छ, यसले भ्रष्टाचार झन् मौलाउँछ । यो विषयलाई लिएर पनि हामी जनताको बीचमा जान्छौं ।

मुख्यरुपमा अहिले देशको आर्थिक दुरावस्था छ । व्यापक बेरोजगारी र वित्तीय, बैंकिङ क्षेत्रमा जुनखालको विकृति र विसंगति छ, त्यसबाट व्यवसायीहरुले ठीक ढंगले कर्जा प्राप्त गर्न नसक्ने र केही मानिसहरुले दुरुपयोग गर्ने समस्या आइराखेको छ । सहकारीदेखि लिएर अहिले विभिन्न प्रकरणहरु भइराखेका छन् । यसमा पनि व्यापक ढंगले सुधार गर्ने र संरचनागत ढंगले नै सुधार गर्दै तीव्र आर्थिक विकासको मार्गचित्र बनाएर अगाडि बढ्ने हाम्रो कार्ययोजना छ । यसबारे पनि हामी जनअभियान सञ्चालन गर्छौं ।

त्यसैगरी राष्ट्रिय स्वाधीनताको प्रश्न छ । नेपाली इतिहासको एउटा गम्भीर मोडमा हामी पुगेका छौं । हामी भारत, चीन र अमेरिकाको त्रिपक्षीय खिचातानीको अवस्थामा छौं । हिजो राजाका पालामा त गरे–गरे, अहिले लोकतन्त्र र पछिल्लो चरणमा समेत हाम्रो देशका शासक वर्गमा आफ्नो सत्ता स्वार्थका निम्ति राष्ट्रिय हितलाई तिलाञ्जली दिने प्रवृत्ति छ, यसलाई अन्त्य गरेर भारतसँगको सम्बन्धलाई ईपीजीको प्रतिवेदनमार्फत पुनरावलोकन गरेर हल गर्नुपर्छ, ताकि छिमेकीसँग राम्रो सम्बन्ध कायम राखेर देशको छिटो विकास गर्न सकियोस् र स्वाधीनताको रक्षा होस् । यी तमाम विषयमा हामीले जनजागरण गराउँदै अगाडि बढ्ने हाम्रो सोच छ ।

फेरि पनि मेरो आग्रह के हो भने पुराना राजनीतिक शक्तिहरुबाट यो देशको अग्रगामी निकास हुन सक्दैन । अहिले प्राप्त जुन उपलब्धी छ, यो पनि अन्य राजनीतिक शक्तिका कारणले गर्दा होइन, यिनै सत्तामा बसेका शक्तिहरुबाट नै खतरा भइराखेको स्थिति छ । यसलाई समेत ध्यानमा राख्दै एउटा वृहत अग्रगामी वैकल्पिक शक्ति निर्माण गर्ने नै हाम्रो लक्ष छ । यो दिशामा हामी निरन्तर लाग्ने छौं ।

अब पत्रकारसँगका केही प्रश्नोत्तर–

कृष्णबहादुर महरा पक्राउ परेको विषयमा तपाईको प्रतिक्रिया के छ ?

व्यक्तिमा भन्दा पनि मेरो आग्रह के हो भने एउटा उच्चस्तरीय यस्तो अंग बन्नुपर्छ, जसले सबैमाथि छानविन गरेर स्वतन्त्र र निष्पक्ष ढंगले कारवाही गर्ने हैसियत राख्नुपर्छ र गरिनुपर्छ भन्ने हो । यहाँ त के भयो भने एउटा सत्तामा आएको छ, अर्कोलाई आरोप लगाएको छ । आफ्नालाई चोख्याउने, अर्कालाई फसाउने गरेर त के हुन्छ, ठेगान छैन । फेरि साना माछा, ठूला माछा भन्ने कुरा पनि छन् । ठूला माछाको संरक्षणमा साना माछालाई फसाएको मात्रै पनि हुन सक्छ ।

अहिले महरा प्रकरणमा पनि आफैंले पालेकै खसी काटेर चोखिन खोजेका  त होइनन् ? भन्ने आशंका जनतामा जन्मिएको छ

मलाई यतिबेला के सम्झना आउँछ भने पञ्चायतकालमा एकचोटि राजाका एडीसी र तत्कालीन प्रहरी प्रमुख नै समातिएका थिए । म अलिकति पत्रकारितामा पनि रुची राख्थें । त्यही क्रममा राजेश्वर देवकोटा पञ्चायतका ठूलै नेता हुनुहुन्थ्यो, मैले उहाँको अन्तरवार्ता लिन जाँदा यसबारे के भन्नुहुन्छ ? भनेर सोधें ।

हामी त एउटै गाउँ (गोरखा) का भयौं । उहाँले मलाई भन्नुभयो, ‘ए बाबु, अब आफूले पालेको खसी काट्नु कुन ठूलो कुरा हो ?’

राजाको शासनकालमा त्योभन्दा धेरै बोल्नु त भएन । त्यसो भएको हुनाले अहिले यी सबै प्रकरणमा पनि आफैंले पालेकै खसी काटेर चोखिन खोजेका  त होइनन् ? भन्ने आशंका चाहिँ जनतामा जन्मिएको छ ।

अहिलेका गृहमन्त्रीबाट केही अपेक्षा गर्न सकिन्छ ? ठूला माछा कोही नछुट्ने भन्नेखालका अभिव्यक्ति दिइरहनुभएको छ, उहाँबाट केही अपेक्षा गर्न सकिन्छ ?

उहाँहरु पनि वैकल्पिक शक्तिका रुपमा उदय भइराख्नुभएको छ । सुशासनको नारा दिइराख्नुभएको छ । अपेक्षा निश्चितै गरिएको छ । रविजी मेरो एउटा मित्र पनि हो । उहाँले गर्न सक्नुहोस् भन्ने चाहना त छ ।

तर, मेरो उहाँलाई सुझाव चाहिँ के हो भने अब त्यो फाहोरको थुप्रोमाथि बसेर त्यसैलाई सफा गर्छु भन्दाखेरि आफैं फोहोरमा फस्ने खतरा पनि हुन्छ । त्यसबाट उहाँ सतर्क रहनुपर्‍यो, उहाँलाई मेरो शुभेच्छा छ ।

तपाई अहिले संसदमा त हुनहुन्न, तर एउटा जिम्मेवार दलको संयोजक हुनुहुन्छ र पूर्वप्रधानमन्त्री हुनुहुन्छ । अहिले प्रमुख प्रतिपक्षी दलले गृहमन्त्रीको राजीनामा र उहाँमाथि छानविनको माग गरिरहेको छ । नयाँ दल भए पनि उहाँमाथि थुप्रै प्रश्नहरु छन् । कतिपय त अदालतमै मुद्दा छ । सहकारीपीडितहरुले उहाँको विरुद्ध आवाज उठाइरहेका छन् । पहिले उहाँ गृहमन्त्री भएर नागरिकताको विषय सेटलमेन्ट गर्नुभयो, अहिले उहाँले आफूमाथि उठेका प्रश्नहरुलाई मिलाउनका लागि गृहमन्त्री हुन हतारिनुभयो भनेर प्रतिपक्षी दलले प्रश्न गरिराखेको छ, यसमा चाहिँ तपाई के भन्नुहुन्छ ? गृहमन्त्रीलाई तपाईको भनाइ के छ ? प्रतिपक्षी दललाई तपाईको सुझाव के छ ?

विधिको शासन त हामी सबैले पालना गर्नैपर्छ । कानुन नियमहरु बनाउने, अरुलाई लागु गर्ने, मलाई लागु नहुने भन्नु त हुँदैन । यो त सबैले पालना गर्नैपर्छ । अब जहाँसम्म यो संसदीय छानविन आदिको कुरा छ, यो चाहिँ त्यति ठूलो विषय नहुनुपर्ने । संसदले नै छानविन गर्न चाहन्छ भने म भएको भए त खुला रुपले छानविन गरियोस् भनेर भन्थें जस्तो मलाई लाग्छ ।

प्रधानमन्त्रीले पनि उहाँलाई क्लिन चिट दिनुभयो नि रवि लामिछाने निर्दोष हुनुहुन्छ भनेर ? पदीय हिसाबले र अदालतमा समेत विचाराधीन रहेको विषयमा यसरी बोल्न मिल्छ ? हुन सक्छ, अंकणितमा प्रधानमन्त्रीलाई रविजीको आवश्यकता होला । उहाँ नभए प्रचण्डजीको पनि पद जाने सम्भावना देखिन्छ, त्यसैले प्रधानमन्त्रीले बचाऊ गर्नु एउटा विषय भयो, तर नैतिकताको हिसाबमा प्रधानमन्त्रीले सार्वजनिक रुपमा त्यस्तो टिप्पणी गर्दाखेरि कानुनी राज्य कहाँ पुग्छ ? अनि अनुसन्धान प्रभधावित हुन्छ कि हुँदैन ?

यस्ता कुरामा राजनीतिक रुपमा आफ्ना मित्र र सहयात्रीहरुको संरक्षण गर्ने पक्ष एउटा होला, तर कानुनी नै विषयहरु उठिसकेपछि चाहिँ यस्तो विषयमा विधिसम्मत ढंगले त्यसलाई अघि बढ्न दिनुपर्छ । जिम्मेवारी बोकेको ठाउँमा भएको भएका मानिसहरुले यस्ता विषयमा नबोल्नु नै राम्रो हुन्छ ।

यहाँले यसअघि प्रचण्डबाट धोका पाएँ भन्नुभएको छ….

मैले धोका पाएँ भनेको छैन । उहाँले आफ्नो धर्म निर्वाह गर्नुभएको छ, हामीले आफ्नो काम गरेका छौं । धोका भनेको छैन ।

गत निर्वाचनमा यहाँले प्रचण्डलाई आफ्नै निर्वाचन क्षेत्र दिनुभयो । एकता गर्नका लागि कमिटी बनाउनुभएको थियो । त्यो किन गठन गर्नुभएको थियो ? अनि चुनाव चिन्ह माओवादीको लिएर उठ्दा पछि उनीहरु माओवादीकै रुपमा रहन्छन् भन्ने यहाँलाई थाहा थिएन कि ? या एकता भइहाल्छ भनेर तपाईमा आत्मविश्वास थियो र त्यो गर्नुभएको थियो कि ?

पहिलो कुरा त माओवादीसँग मात्रै एकता भनेर हाम्रो वार्ता कमिटी बनेको होइन । हामीले बृहत समाजवादी ध्रुवीकरण भनेका छौं । उहाँले कम्युनिष्ट पार्टीलाई विघटन गरेर नयाँ ढंगको समाजवादी ध्रुवीकरण गर्न तयार हुनुहुन्छ भने त्यो बेलामा सोच्न सकिन्छ भन्ने हो । हामीले दस्तावेजमा समाजवादी ध्रुवीकरण भनेका छौं, पार्टी एकता भनेको छैन । यो दस्तावेजीरकण नै छ, त्यसबाट बुझ्नुहोला ।

जहाँसम्म साझा चुनावचिन्हको कुरा छ, त्यो त राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९ ले दुईभन्दा बढी दलले एउटै साझा चुनावचिन्ह लिएर चुनाव लड्न सक्छन् भन्ने प्रावधान छ । हामीले माओवादीको चुनाव चिन्ह लिएको होइन, त्यो दुई दलको साझा चुनावचिन्ह हो । त्यसैले हाम्रो स्वतन्त्रै अस्थित्व छ । तर, त्यहाँ अलिकति संविधान र कानूनको कतिपय प्रावधान बाझिएको बुझिन्छ । त्यसबारे न्यायिक निरुपण पनि होला । तर, हामीले माओवादीको चुनाव चिन्ह लिएर मर्ज भएको भन्ने कुरा कहिल्यै पनि होइन । हामी स्वतन्त्र छौं । स्वतन्त्र हौंं । स्वतन्त्र रहनेछौं र हामी वैकल्पिक बाटोमा अगाडि बढ्छौं ।

तपाईहरुबाट छुटेर जानुभएकाहरुले अध्यक्षबाट तपाईलाई हटाउने भनेर हस्ताक्षर अभियान चलाइराख्नुभएको छ नि ?

उहाँहरुलाई जान त हामीले रोकेकै छैनौं । उहाँहरु सिधै अर्काको पार्टीमा जाने भन्नुहुन्छ । सम्झौता गरिसक्नुभएको छ । अब फेरि यहाँ हस्ताक्षर किन गर्नु ? यो पार्टीलाई नै किन लानुप¥यो उहाँहरुले ? उहाँहरु आफू गए त भइहाल्यो नि ।

अहिलेसम्म हिसाब गर्दा ७० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्य हामीसँग हुनुहुन्छ । उहाँहरुलाई समस्या कहाँ परेको हो भने ४० प्रतिशत उहाँहरुको पुगिराखेको छैन, त्यो कानुन पनि अहिले छैन । त्यसैले लिङरिङ गरेर उहाँहरुले थकाउने गलाउने गर्न खोज्नुभएको छ, त्यसो नगर्नोस् भन्ने हाम्रो आग्रह हो । मैले साथीहरुलाई पनि भनेको छु, साथी हो, त्यसो नगर्नोस्, तपाईहरु जानोस्, तपाईहरुको सांसद पद खोस्ने मुद्दा मामिला हामी गर्दैनौं ।

मैले प्रचण्डजीलाई पनि मेसेज पठाएको छु, उहाँहरुले त्यत्रो मरिहत्ते गरिसकेपछि भित्र्याउनोस्, किन यस्तो रडाको गरेको ?

मैले त प्रचण्डजीलाई पनि मेसेज पठाएको छु, उहाँहरुले त्यत्रो मरिहत्ते गरिसकेपछि भित्र्याउनोस् उहाँहरुलाई । किन यस्तो रडाको गरेको ? भन्याछु उहाँलाई । त्यसैले मेरा मित्रहरुलाई आग्रह के छ भने उहाँहरुले स–सम्मान जाँदा हुन्छ । सक्नुहुन्छ भने हामीलाई साथ दिनोस्, सक्नुहुन्न, थाक्नुभयो भने तपाईहरु जानोस्, यसरी राजनीतिमा रडाको गर्नु हुँदैन, हामी त्यो पक्षमा छैनौं । उहाँहरुसँग दन्त बझान गरेर, मुद्दा मामिला गरेर बस्ने पक्षमा हामी छैनौं । शायद पार्टी प्रवेश गर्दा उहाँहरुलाई सांसद पद जान्छ भनेर डर लाग्यो होला । हामी खोस्दैनौं भनिराखेका छौं त गए भयो नि ।

नयाँ शक्ति बनाउने क्रममा तपाईले पटक–पटक धोका पाउनुभएको छ । फेरि पनि एक्लिनुभयो नि हैन ?

एक्लिने दोक्लिने भन्ने हुँदैन । सत्य र न्यायको पक्षमा हो कि हैन भन्ने प्रमुख हो । कहिलेकाहीँ सत्य र न्याय सानो संख्यषमा देखिन्छ । तर अन्ततः फेरि जित त्यसैको हुन्छ । हामीले जुन राष्ट्रिय मुद्दा उठाएका छौं, जनताका मुद्दा उठाएका छौं, ती चाहिँ सही छन् र तिनको पक्षमा दृढतापूर्वक उभिएर जनताको सेवा गर्ने, देशको उन्नयन गर्ने बाहेक हाम्रो अर्को स्वार्थ छैन । यस अर्थमा पनि हामी निरुत्साहित छैनौं । बरु हाम्रो काँधमा ठूलो जिम्मेवारी आएको बोध पो भइराखेको छ ।

तपाईले अघि हाम्रो पार्टी वीचमा अल्मिलियो अब पहिलेकै बिन्दुबाट अगाडि बढ्छौं भन्नुभयो, अब कसरी अगाडि बढ्नुहुन्छ ? तपाईको योजना के छे ? अरु दलहरु पनि थुप्रै नयाँ भएर आएका छन्, रास्वपा स्वयं पनि नयाँ हो । अरुसँग कसरी सहकार्य गर्नुहुन्छ ?

हामी नयाँ अग्रगामी वैकल्पिक शक्ति हौं भन्न चाहन्छु । कतिपयले नयाँका नाममा फेरि पुरानोतिर फर्कने कुरा पनि गर्छन्, त्यो त नयाँ हुन सक्दैन । हामीचाहिँ संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर नेपालको संविधानले जुन लोकतन्त्रमा आधारित समाजवाद र समाजवाद उन्मुख स्वतन्त्र र उन्नत अर्थतन्त्र भनेर निर्देशित गरेको छ, यी वाक्यलाई नै आत्मसाथ गर्दै त्यसलाई कार्यान्वयन गर्ने शक्ति हामीले निर्माण गर्न खोजेको हो । यो अहिलेको आवश्यकता हो, हामी यही दिशामा जान्छौं । वीचमा मैले अघि पनि संकेत गरें, यो उपलब्धिको रक्षा गर्न खास गरी शान्ति प्रक्रिया टुंगोमा पु¥याउनुपर्छ भनेर उहाँहरुलाई सघाएको मात्रै हो । तर उहाँहरुसँगै फर्किएर मर्ज गर्ने, एकता गर्ने कहिल्यै मनसाय छैन । न लिखत छ, न केही छ । त्यो सत्य थिएन ।
तर, जनतामा त भ्रम पर्‍यो । ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल बिक्दैन’ भनेजस्तै, ‘बडाले जो गर्‍यो काम, हुन्छ त्यो सर्वसम्मत, छैन शंकरको नंगा मगन्ते भेष निन्दित’ भनेजस्तो उहाँ ठूला दलहरुले भनेको चाहिँ सबै क्षम्य हुने, हाम्रा कुराचाहिँ लुक्ने जुन भयो, त्यसले गर्दा भ्रम पर्न गयो । त्यसैले अब चाहिँ हामी उहाँहरुको संसर्गबाट अलग रहनुपर्छ र आफ्नै बाटोमा अगाडि जानुपर्छ ।

जो नयाँ वैकल्पिक उदीयमान नयाँ शक्तिहरु छन्, तिनीहरुलाई पनि वैचारिक ढंगले दिशावोध गर्ने, सहकार्य गर्ने कोशिस गर्नुपर्छ । उहाँहरुमा कतिपय अस्पष्टताहरु पनि देखिन्छन् । सँगसँगै हामी आफैंले एउटा चुम्बकीय केन्द्र बनाउनुपर्छ र त्यसको वरिपरि अन्य नयाँ शक्तिहरुलाई गोलबन्द गरेर त्यसलाई विकल्प दिनुपर्छ भन्ने हाम्रो सोच हो । आगामी दिनमा हामी त्यसरी नै अगाडि बढ्छौं ।

तपाईको विचारमा नयाँ वैकल्पिक शक्तिको आधार के हो ?

वैकल्पिक शक्ति भनेको पुराना दलहरुसँग जोडिएर बन्ने शक्ति होइन । यो ठूलो भ्रम छ । हामीले जनताका वीचमा गएर, जनतालाई संगठित गरेर हाम्रो एजेण्डामा उहाँहरुलाई ल्याएर, जनताको अभिमत लिएर कार्यान्वयन गर्ने हाम्रो कार्यदिशा हो । त्यसो भएको हुनाले हामीले पुराना शक्तिहरुसँग भागवण्डा गर्ने कहिल्यै भनेकै छैनौं ।

तर, बेलाबखतमा हामीले जुन चुनावी तालमेल गर्‍यौं, त्यसले गर्दाखेरि हामी बैकल्पिक हो कि हैनौं भन्ने भ्रम पर्न गयो । त्यो समीक्षा गरेर अब हामीले पुराना शक्तिहरुसँग संसर्ग गर्ने होइन, हामीले हाम्रै एजेण्डा तय गरेका छौं ।

त्यो भनेको कांग्रेस र कम्युनिस्ट भन्दा अघि बढेको विचार हो । हाम्रो संविधानले भनेको उदारवादी लोकतन्त्र पनि होइन र साम्यवादी प्रणाली पनि होइन । व्यक्तिको निजी स्वतन्त्रता र सामुहिकताको संयोजन भएको समुन्नत समाजवाद भनेर हामीले भनेका छौं । त्यसैले, यो तेस्रो अगाडि बढेको धार हो । यसैका आधारमा हामी वैचारिक ढंगले अगाडि बढ्छौं ।

व्यवहारिक ढंगले आम जनताका समस्या केही पनि हल भएका छैनन् । किसान प्रधान देश छ, वैज्ञानिक भूमिसुधार संविधानमा लेखिएको छ । पटक–पटक कम्युनिस्टहरुको सरकार बनेको छ, वैज्ञानिक भूमिसुधार कहीँ पनि छैन । साना व्यवसायीहरुका, मिटरब्याज पीडितहरुका वर्षौंदेखिका समस्या त्यत्तिकै चुलिएर बसेका छन् । साना उद्यमी व्यवसायीका व्यवसायहरु धरासायी भएका छन् । पहिले उद्योग धन्दा त चौपट भए भए, अहिले कृषिजन्य पदार्थसमेत हामीले आयात गर्नुपरिराखेको छ । रोजगारीको अवस्था हेर्दा प्रत्येक वर्ष वैदेशिक रोजगारीमा जान मानिसहरु बाध्य भएका छन् । यी समस्या हल गर्नका निम्ति हामीले संस्थागत ढंगले नै परिवर्तन गर्नुपर्छ । मान्छे वा दलमात्रै परिवर्तन गरेर हुँदैन ।

मैले फेरि पनि दोहोर्‍याउन चाहन्छु– राजनीतिक स्थिरतताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानैपर्छ । त्यसका निम्ति व्यापक जनदवबाव सिर्जना गरेर संविधान संशोधन गर्नुपर्छ । अर्को, भ्रष्टाचारलाई अंश–अंश गरेर होइन संस्थागत ढंगले नै भ्रष्टाचार निर्मूल गर्नुपर्छ । र, हाम्रो अर्थतन्त्रको रक्षाको निम्ति हामीले आफ्नो स्वदेशी पुँजी परिचालन गर्ने र बजार सुरक्षित गर्नका लागि भारतसँग खुला सीमा लगायतका जुन समस्याहरु छन्, इपीजी मार्फत त्यसको सम्वोधन गरेर राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्छ ।

यी जुन आधारभूत कुराहरु हामीले भनिराखेका छौं, कुनै पार्टीले यो गरेका छैनन् । यसै आधारमा हामी अरुभन्दा फरक छौं र आगामी दिनमा यिनै मुद्दालाई लिएर हामी जनतामा जान्छौं र स्थापित हुन्छौं । वैकल्पिक शक्ति बन्छ भन्ने हामीलाई पूरा विश्वास छ । विगतका केही कमी कमजोरीबाट हामीले सिकेका छौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीको वार्षिकउत्सवमा गएर तपाईले अब नयाँ दलबाट प्रधानमन्त्री बन्छ भन्नुभएको थियो । ०८४ सालमा तपाईलाई प्रधानमन्त्री देख्न सकिन्छ ?

मेरो अनुमान पनि कस्तो हो भने ०८४ सालसम्म जान अझै तीन वर्ष बाँकी छ । पुराना शक्तिहरु यस्तै भ्रष्टाचार काण्डमा मुछिइराख्ने, पुराना गल्तीबाट नसिक्ने अनि देशबाट युवा पलायन हुँदै जाने र आर्थिक अवस्था झन् जर्जर हुने भइराख्यो भने जनताले विकल्प खोज्छ । त्यो भनेको नयाँ शक्ति नै हो । अब यो नै हुन्छ मैले भनेको छैन । तर, पुराना शक्तिचाहिँ हुँदैनन्, नयाँ शक्ति उदय हुन्छन् । त्यो ठाउँ लिने प्रयत्न स्वतः हाम्रो हुन्छ । किनभने हाम्रो सुविचारित नीति र कार्यक्रम छ । त्यसको वरिपरि अरु सबै शक्तिहरुलाई गोलबन्द गरेर वृहत बैकल्पिक मोर्चा बनाएर हामी जान सक्छौं । त्यसअर्थमा त्यो स्थानमा पुग्न सक्छौं भन्ने हाम्रो आकलन र विश्वास छ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १० : १२ बजे

नीति तथा कार्यक्रममा महत्वाकांक्षी सरकारसामू कार्यान्वयन चुनौती

काठमाडौं – सरकारले आज संघीय संसद्‌को संयुक्त सदनमा आगामी आर्थिक

प्रधानमन्त्री छोरी आत्मनिर्भर : एमालेको कार्यक्रम, प्रचण्डलाई व्यंग्य !

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम

तनहुँको व्यास नगरपालिका निर्वाचनको पुनःमतगणना गर्न उच्च अदालतको आदेश

काठमाडौं – स्थानीय तह निर्वाचन भएको दुई वर्षपछि उच्च अदालत

नेपाल प्रहरीका ६४ सईको बढुवा सिफारिस

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले ६४ प्रहरी नायव निरीक्षक

पाथीभरा केबलकार निर्माण विरोधमा भोलि र पर्सी तमोर कोरिडोर बन्द घोषणा

काठमाडौं – पाथीभरा केबलकार निर्माण विरोध गर्दै भोलि र पर्सी