चौथो पटक विश्वासको मत पाउँदा दबाबमा देखिए प्रचण्ड | Khabarhub Khabarhub

चौथो पटक विश्वासको मत पाउँदा दबाबमा देखिए प्रचण्ड


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार चौथो पटक विश्वासको मत लिँदा पक्षमा १५७ मत परेको छ । १६ महिनामा चौथो पटक विश्वासको परीक्षण हुँदा उनको विपक्षमा एक मत पनि नपर्दा दिन्न भन्ने पक्षमा एकजना सांसद उभिए ।

सभामुख देवराज घिमिरेका अनुसार सोमबारको संसद् बैठकमा १५८ जना सांसद् उपस्थित थिए । जसमा कांग्रेसका सबै सांसदले संसद् बैठकमा विरोध जनाउँदै वेल घेराउ गरेका थिए ।

यसअघि उनले २०७९ पुस २६ मा पहिलोपटक संसदको झण्डै ९७ प्रतिशत मत प्राप्त गरेका थिए । त्यसबेला नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरू पनि प्रचण्डको पक्षमा थिए ।

तर अहिले प्रचण्ड कांग्रेसको घेराबन्दीमा छन् । कांग्रेसका प्रमुख सचेतक लेखकले प्रधानमन्त्री प्रचण्डले तीन साता बाँकी रहँदा-रहँदै हतारमा विश्वासको मत लिनुको कारणबारे संसद्‍ भवनमै प्रश्न उठाए ।

कुनै बेलाको सत्ता सहयात्रीले संसद्मा घेराबन्दी गरिरहँदा कुनै बेला संसद्को करिब शतप्रतिशत मत पाएका प्रचण्ड सोमबार विश्वासको मत लिइरहँदा तनावमा देखिन्थे ।

उनले पुरानो सहयात्रीलाई रोस्ट्रममा उक्लिएर संसद्‍मा गरेको यो अवरोधको चर्को मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिए । २०७९ को चुनावमा गठबन्धन गरेको सहयात्रीले एकातिर संसद्‍मा नारा लगाइरहेको थियो भने अर्कातिर प्रचण्ड उसैलाई इतिहासमै कलंकित हुने काम गरेको भन्दै चेतावनीको भाषा प्रयोग गरिरहेका थिए ।

यस्तोमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिपक्षलाई बोल्न नदिएर प्रधानमन्त्रीले संसद्‍मा मनपरी गरेको बताए । उनले सभामुख देवराज घिमिरेलाई सरकारको मतियारको संज्ञा पनि दिए ।

‘एक महिना बाँकी छ, आज सात दिन भएको छ । यतिका दिन बाँकी छँदाछँदै प्रतिपक्षीको कुरा नसुनेर सहकारी पीडितलाई न्याय दिने कुरा नगरेर, सहकारी ठगहरुको छानबिन गर्नका लागि समिति बनाउने तर्फ नगएर हतार–हतारमा प्रधानमन्त्रीले विश्वासको मत आजै दिनुपर्ने कारण के पर्यो‍ ? त्यो पनि प्रतिपक्षलाई बोल्न नदिएर, संसदमा स्पेस नदिएर,’ उनले भने ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई अहिले एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपाको समर्थन छ । तर कुनै बेला शतप्रतिशत विश्वास पाएका प्रचण्ड वैशाख २३ मा जसपाको विभाजन र कांग्रेसको निरन्तर घेराबन्दीका कारण दबाबमा छन् । उनले त्यही दबाबलाई सोमबार संसद् बैठकमा प्रकट गरे ।

प्रचण्डले यस पटक तेस्रो पटकको जनमत बचाइरहे पनि उनीमाथि दबाब भने बढेको छ । सहकारी ठगी प्रकरणमा २० सिटसहितका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेमाथि कांग्रेसले कारबाही माग गर्दा प्रचण्डमाथि त्यसको दबाब बढेको छ ।

रविबारेको छानबिन अझै अघि बढ्न नसक्दा सत्तापक्ष र प्रतिपक्षको द्वन्द्व झन् झन् चुलिँदै गएको छ । त्यहीकारण चौथो पटक विश्वासको मत पाउँदै गर्दा पनि प्रचण्डमा चर्को दबाब देखिएको संसद्‍मा उनको मन्तब्यबाट पनि झल्किएको थियो ।

यसअघि प्रचण्डले २०७९ वर्ष चैत ६ मा दोस्रोपटक संसदको सामना गरेका थिए। जुनबेला पहिलो पटक पाएको करिब शतप्रतिशत विश्वास घटेर ६३ प्रतिशतमा झरेको थियो । यस्तै २०७९ फागुन ३० मा प्रधानमन्त्रीप्रतिको संसदको विश्वास ५७ प्रतिशतमा झर्‍यो । अहिले त्यही विश्वास कायम भए पनि प्रचण्डमाथि दबाब भने बढ्दै गएको छ ।

२०७९ को निर्वाचनमा नेपाली कांग्रेससँग गरेको गठबन्धन तोडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड २०७९ पुस १० मा संसदको दोस्रो ठूलो दल नेकपा एमालेसहितका दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका थिए ।

उनले त्यसपछि २०७९ पुस २६ मा पहिलो पटक विश्वासको मत लिँदा कांग्रेससहित १० दलको विश्वास प्राप्त गरेका थिए । २७५ सदस्यीय प्रतिनिधि सभाका २६८ सांसदले प्रधानमन्त्री प्रचण्डलाई तत्कालीन समयमा विश्वासको मत दिएका थिए ।

एमाले सरकारबाट बाहिरिएपछि २०७९ चैत ६ दोस्रोपटक विश्वासको मत लिँदा प्रधानमन्त्री प्रचण्डले १७२ मत प्राप्त गरेका थिए । उनको विपक्षमा ८९ मत मात्र खसेको थियो ।

२०८० फागुन २१ मा एमाले नेतृत्वको गठबन्धनमा फर्किएर विश्वासको मत लिँदा प्रचण्डप्रति संसदको समर्थन झनै खस्किएको थियो । तत्कालीन समयमा संसद बैठकमा उपस्थित २६८ सांसदमध्ये प्रधानमन्त्रीको विश्वासको मत प्रस्तावको पक्षमा १५७ र विपक्षमा ११० मत परेको थियो ।

किन लिनुपर्‍यो विश्वास?

प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिएका हुन् ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

जनता समाजवादी पार्टी नेपालले २०८१ वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिम गठन भएको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

२०७९ साल पुस १० गते प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री बनेका थिए । यो कार्यकालमा उनले चौथो पटक विश्वासको मत लिएका हुन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल वैशाख २३ गते विभाजित भएको थियो । जसपाका नेता अशोक राईले ७ सांसदसहित नयाँ दल बनाएपछिको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  १ : ३५ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि