७० वर्षअघि संसदमा महाकवि देवकोटाको प्रश्न– हामी कहिले मान्छे बनौँला ?  | Khabarhub Khabarhub

७० वर्षअघि संसदमा महाकवि देवकोटाको प्रश्न– हामी कहिले मान्छे बनौँला ? 

बीपी, सम र सोमनाथको त्यो दौडाहा



राणाकालमै पूर्वी नेपालका धेरै दुर्गम ठाउँमा रात्रि स्कुल थिए । दिनभर घरखेतको काम भ्याएर स्थानीय बेलुकाको समय पठनपाठनमा उपयोग गर्थे । सरकारी सेवामा रहेकाहरू रात्रि स्कुल पढेर लोकसेवामार्फत वृत्ति विकासको नयाँ खुड्किलो पहिल्याउँथे । रात्रि त के अहिले सरकारी स्वामित्वका धेरै स्कुल दिवा चल्न नै हम्मे हम्मेको अवस्था छ । राजनीतिक नेतृत्व शिक्षा प्रणालीप्रति यति बेखबर छ कि उसले आफ्ना दलको वर्गीय संगठनका रूपमा शिक्षक र सभा सम्मेलनमा ताली पड्काउने सामर्थ्यका रूपमा मात्र विद्यार्थीलाई चिन्छ ।

बहुदल हुँदै गणतान्त्रिक व्यवस्थामा संख्यात्मक रूपले पाइला शिक्षालय खुले । निजी स्कुलको प्रभुत्व बढ्यो नै । तर शिक्षा र स्वास्थ्यमा जनताको पहुँच स्थापित गर्न राजनीतिक नेतृत्व यसरी चुक्यो कि ०७ सालको क्रान्तिपछि मोहन शमशेर नेतृत्वको सरकारले ७३ वर्षअघि गरेको सत्प्रयास स्मरण गर्नुपर्ने अवस्था आयो ।

क्रान्तिपछि बनेको सरकारका गृहमन्त्री बीपी कोइराला सिद्धहस्त साहित्यकार बालकृष्ण सम र सोमनाथ सिग्द्याललाई लिएर पूर्वी पहाडको एक महिने पैदलयात्रामा निस्किए । यस क्रममा उनीहरूले सरकारी स्कुल पुगेर तत्कालीन वस्तुस्थितिको मूल्याङ्कन गरे । क्रान्तिपछि शिक्षाको विकासमा देशव्यापी अभियान घोषणा गरे । राजनीतिक परिवर्तनपछि शैक्षिक जागरणमा प्रतिबद्ध उसबेलाको इच्छाशक्ति वर्तमान राजनीति नेतृत्वमा पुनरावृत्ति हुन जरुरी छ ।

बीपीका पिता कृष्णप्रसाद कोइरालाले जुद्धशमशेर राणाकै पालामा विराटनगरको आफ्नै घर कम्पाउण्डमा आदर्श विद्यालय खोलेका थिए । दरबार स्कुलपछि निजी स्तरबाट खोलिएको यो पहिलो विद्यालय थियो । राणाको निरंकुश शासनकालमा खुलेको यस स्कुलमा विद्यार्थीलाई अक्षर चिनाउने काम सँगसँगै शिक्षालाई कसरी जनताका घरआँगनमा पुर्‍याउने भन्ने विषयमा दिनहुँ प्रवचन हुन्थ्यो । हुनेखानेहरूले काठमाडौंबाट समेत आफ्ना सन्तान त्यहाँ पढाउन पठाउँथे ।

भारतबाट विद्वान शिक्षकहरू ल्याइएकाले पढाइको गुणस्तर अब्बल थियो । विद्यार्थीहरूलाई शिशु कक्षादेखि नै राष्ट्रप्रेमका ज्ञान दिइन्थ्यो । नेपालको झण्डा नागरिकका घरमा राख्न मनाही थियो । यद्यपि त्यहाँ झण्डाको प्रतीक बनाएर विद्यार्थीहरू भजन शैलीमा देशभक्ति गीत गाउँथे । यही संस्कारमा हुर्किएका बीपीले आफ्नो राजनीतिक जीवनमा पहिलो प्राथमिकता शिक्षालाई दिए ।

जेलमा बस्दा समेत पढ्ने, पढाउने, लेख्ने, लेखाउने संस्कृतिको विकास गरे । २००७ सालको सफल जनक्रान्तिपछि बनेको सरकारमा बीपी गृहमन्त्री भए । २३ वर्षको उमेरमा मन्त्री बनाइएका भरतमणि शर्माले थप काम नयाँ नयाँ पुस्तक पढेर बीपीलाई सुनाउनु पर्थ्यो रे !

पहिलोपल्ट मन्त्री भएका बीपीले हप्तौँ लगाएर पूर्वी पहाडी भेगको पैदल भ्रमण गरे । यस क्रममा उनले गाउँ गाउँमा जातजाति, भाषाभाषी, संस्कृतिका समुदायबीच शिक्षालाई कसरी समतामूलक बनाउन सकिन्छ भनेर बहस पैरवी चलाए । सबैभन्दा रमाइलो त के छ भने आफ्नो अभियानमा उनले देशका विख्यात साहित्यिक मित्रहरूलाई पनि सहभागी गराए ।

बीपीसँगै नाट्यसम्राट बालकृष्ण सम र कवि सोमनाथ सिग्द्याल पनि महिना दिन बढी पैदलै हिँडे । ०७ सालको क्रान्तिसँगै पूर्वी पहाडको भोजपुरमा जन्मिएको विद्योदय माध्यमिक विद्यालयको अवलोकन भ्रमणपछि आगन्तुक पुस्तिकामा बीपी, बालकृष्ण सम र सोमनाथ सिग्द्यालले शिक्षाको महत्वका विषयमा लिखित मन्तव्य प्रकट गरे । स्कुलमा पढ्ने तरुण र पढाउने शिक्षकहरूलाई ज्ञानको ज्योति फैल्याउन हौस्याए । आर्जित ज्ञानलाई देश हितमा उपयोग गर्न सल्लाह दिए ।

त्यसो त बीपीले जेल जीवनदेखिनै शिक्षालाई अधिकारको रूपमा स्थापित गर्न चाहेका थिए । जेल जर्नलको एउटा प्रसंगमा भनेका छन्– ‘प्रकाश, श्रीहर्ष, शशांक र चेतनाका लागि म ४ किताब लेख्न चाहन्छु । प्रकाशका लागि दर्शन, इतिहास, साहित्य सम्बन्धी– श्रीहर्षका लागि कला सम्बन्धित– शशांकका लागि इतिहासका महापुरुषका जीवनी र चेतनाका लागि साधारण ज्ञान विज्ञानका कुराहरू । चिठ्ठीको रूपमा बोलचालको भाषामा यी किताबहरूलाई लेख्ने विचार छ । आजकल मैले ४ पुस्तकमा हात हालिसकेको छु ।’

बीपी आफैँ अध्ययनशील थिए । कथा, उपन्यास, कविता, आख्यान, जीवनी सवैतिर कलम चलाए । राजनीति गरे, तर साहित्यको मर्ममा राजनीतिको छायाँ पर्न दिएनन् । गीताजस्तो जटिल वैदिक ग्रन्थको चिरफार गरेर कलम चलाए । दर्जनौँ किताब लेखे । उनी आफैँले भनेका छन्– सूर्यप्रसाद उपाध्यायले त झन् दश ट्रक किताब पढेका छन् । आफूलाई मन परेको पुस्तक पढ्नु छ भने बीपी प्रधानमन्त्री हुँदा पनि कार्यालय नै नगएर किताब पढ्ने गरेको उनका सहयोगीहरूले उल्लेख गरेका छन् ।

जीवनमा किताबको महत्वलाई बीपीले यसरी अर्थ्याएका छन्– ‘घरबाट आएका किताबहरूलाई सुमसुम्याए , नयाँ किताब तरुणी हुन, तिनमा आफूलाई चुर्लुम्म पार्नुभन्दा पहिले तिनीहरूलाई सुमसुम्याउनुपर्छ, यताउति उल्टाई पल्टाई हेर्नुपर्छ, एउटा आशा र उत्कण्ठाको सरसरी नजर माथिदेखि तलसम्म हाल्नुपर्छ, यसो सुँघ्नुपर्छ ।’

महाकवि लक्ष्मीप्रसाद देवकोटाको किस्सा नै अलग छ । प्रजातन्त्रको प्राप्तिको आव्हान गर्न बनारससम्म पुगेका उनी २०११ सालमा सल्लाहकार सभाको सदस्य बनाइए । बैठक भएका बेला उनी सिंहदरबारस्थित संसद् भवन जान्थे । जाडोको समय थियो । उनी ओभरकोट लगाएर संसद् जान्थे । संसद् पस्नुअघि हाजिरी गरेपछि त्यहीँको कोठामा ओभरकोट झुन्ड्याउँथे । एक दिन झुण्ड्याएकै ठाउँबाट देवकोटाको ओभरकोट हरायो । त्यत्रो सुरक्षा प्रबन्ध भएको ठाउँमा गरिमामय व्यक्तित्वको कोट हराएको घटनाले सनसनी मच्चियो । देवकोटालाई धेरैले प्रश्न गरे– ‘कोट कति पैसा परेको थियो ?’

देवकोटा हाँस्दै उत्तर दिन्थे– ‘कोटको मूल्य छोडिदिनुस् न । प्रश्न त यहाँ नैतिक मूल्यको हो । देशको विधायिकाको सदनबाट एउटा साधारण कुरा चोरी भयो । यो नेपालीका निम्ति निक्कै लज्जास्पद कुरा हो । म कोटको पीरले होइन, नेपालीको नैतिक बल गिरेकोमा पिरोलिएको छु । हामी कहिले मान्छे बनौँला ?’

देवकोटासँग जोडिएको अर्को प्रसंग पनि उल्लेखनीय छ । पण्डित सोमनाथ घिमिरे व्यास उनका विद्वत मित्र थिए । घिमिरे नेपाली र अंग्रेजी साहित्यका धुरन्धर विद्वान थिए । आफूले लेखेका धार्मिक लेखोट उनी देवकोटालाई देखाउँथे ।

देवकोटाको प्रतिक्रिया हुन्थ्यो– ‘पण्डितजी, तपाईँको चस्माको गलास कहाँको हो ? इन्डियन गलास हो कि युरोपियन ?’ । घिमिरेले भन्नुभएछ– ‘इन्डियन’ । त्यसपछि देवकोटाको प्रतिक्रिया थियो– ‘इन्डियाको गलासको काम छैन, युरोपियन चस्मा लगाउनुपर्छ । तपाईँको लेखन रुढीवादी भयो । त्यो इन्डियन क्लासकै प्रभाव हो त्यसैले युरोपियन गलास लगाउनुस् तपाईँले अनि मात्र लेखहरू लेख्नुस् ।’

धरणीधर कोइरालाको जाग न जागजस्ता कविताले त्यसवेलाका क्रान्तिवीरहरूलाई यसरी जगायो, बन्दुकको नालमाथि विजय पाउन युवाहरू रणमैदानमा ओर्लिए । गोपालप्रसाद रिमालको आमा कविताको भावभूमि त विचित्रैको छ । जुन अहिले पनि आलै छ ।

राजनीतिक क्रान्ति भलै नहोस्, भानुभक्तले कविताबाटै घुस्याहा डिट्ठा, विचारीहरूको उछितो काढे । आफ्नै साथी गजाधर सोतीकी श्रीमतीको असभ्य र अशिष्ट व्यवहारलाई उनले कलमबाट बाहिर ल्याएर अरूलाई असभ्य हुनबाट जोगाए ।

कवि भूपि शेरचनले ‘घुम्ने मेचमाथि अन्धो मान्छे’को व्यंग्यले सत्ता र शक्तिको उछितो काढिरहे । सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, केशवराज पिँडाली, कृष्णचन्द्र प्रधान, फणिन्द्रराज खेताला, श्यामप्रसादजस्ता सर्जकहरूका कलमले युगअनुकूल प्रजातन्त्रका पक्षमा खबरदारी गरिरहे । यता लेखनाथ पौड्याल, माधवप्रसाद घिमिरे, शम्भुप्रसाद ढुंगेलका छन्दधाराले राष्ट्रप्रेमको बाँसुरी बजाइ रह्यो । सर्जकले मार्गनिर्देश गरेको राजनीतिमा जनताको हिस्सेदारी र जिम्मेदारी समान हुनेमा दुई मत छैन ।  अहिलेको राजनीति सहिष्णु नबन्नुमा यो पनि एउटा कारण हो ।

भोजपुरको विद्योदय स्कुलमा बीपी, बालकृष्ण सम र सोमनाथ सिग्द्यालले लेखेको मन्तव्य :

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  १ : ५३ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको