उद्घाटन नहुँदै भासिएको कमला पुल अलपत्र, सर्वसाधारणलाई सास्ती « Khabarhub

उद्घाटन नहुँदै भासिएको कमला पुल अलपत्र, सर्वसाधारणलाई सास्ती


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

गोदार– धनुषा र सिरहालाई जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ । निर्माण सम्पन्न भएर उद्घाटन हुनुअगावै भासिएको उक्त पुल तीन वर्ष बितिसक्दा पनि निर्माण हुनसकेको छैन ।

गत चैत १८ गते पुलको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ठेकेदारलाई असार १५ गतेसम्म पुल निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए । उपप्रधानमन्त्रीसमेत रहेका महासेठले दिएको म्याद सकिन एक हप्ता बाँकी रहँदासम्म पुल निर्माणको प्रगति भने शून्य छ । 

‘करिब १३ वर्षदेखि निर्माणाधीन यो पुलको पुनःनिर्माण समयमै हुनुपर्यो । नभए निर्माण कम्पनीलाई कारबाही गरी नयाँ प्रक्रिया अगाडि बढाउनुस्’, पुलको निरीक्षण गर्दै उपप्रधानमन्त्री महासेठले भनेका थिए । 

वर्षा सुरु भएसँगै बाढीको जोखिम बढेकाले पुल निर्माण यस वर्ष सम्पन्न हुन नसक्ने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका निर्देशक कृष्णकुमार महतोले बताए । 

मधेस प्रदेशको ‘लाइफ लाइन’ मानिने कमला पुल चार सय ७० मिटर लामो छ । विसंं २०६८ जेठ ३१ मा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी पप्पु–लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो ।

सम्झौता भएको सात वर्षसम्म पनि पुल निर्माण नभएपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले उक्त निर्माण कम्पनीसँग ठेक्का तोडेर निर्माणको जिम्मा लुम्बिनी बिल्डर्सलाई दिएको थियो । 

बिल्डर्सको कमान्डमा निर्माण अन्तिम चरणमा पुगिसकेकाले विसं २०७८ साउनमा उद्घाटनको तयारी गरिसकेको अवस्थामा पुल भासिएको निर्देशक महतोले बताएका छन् । उनका अनुसार १३ पाया (पिलर) र १२ स्पान (स्ल्याब) रहेको पुलको सिरहातर्फको दोस्रो र धनुषातर्फको चौथो पाया भासिएको थियो ।

पुल भासिएपछि निर्माण कम्पनी र बीमा कम्पनीबीचको विवादले हालसम्म काम रोकिएको निर्देशक महतोको भनाइ छ ।

निर्माण कम्पनीका प्रबन्ध निर्देशक विष्णु शर्माले यो वर्ष पुल निर्माण सम्पन्न गर्न सम्भव नरहेको बताए । पुल पुनःनिर्माण गर्न हालसम्म डिजाइन पास नभएकाले निर्माण सम्भव नरहेको उल्लेख गरे।

यही असार मसान्तसम्म निर्माणको म्याद रहेको भन्दै प्रबन्ध निर्देशक शर्माले म्याद थप गरी सहजीकरण गर्नुपर्नेमा जोड दिए। उनले बीमा कम्पनीसँग उच्च अदालत काठमाडौँमा मुद्दा चलिरहेकाले निर्माणमा ढिलाइ भएको तर्क गरे।  

कमला नदीमा पुल नबन्दा धनुषा र सिरहाका नागरिकको जनजीवन प्रभावित हुँदै आएको सिरहा नगरपालिका–१७ का प्रवीन यादवले बताए।

‘पुलका कारण बर्खाको समयमा आफ्नै खेतबारीमा पुग्न पनि गाह्रो हुन्छ । आवागमनमा सास्ती हुनुका साथै यस क्षेत्रको आर्थिकस्तर, व्यापार–व्यावसायमा कमी हुँदै आएको छ’ उनले भने।

यहाँका सर्वसाधारणलाई प्रदेशको राजधानी जनकपुरधाम आवतजावत गर्न निकै सास्ती भोग्नु परिरहेको छ । बाढीले आवतजावत प्रभावित भएपछि सिरहाका नागरिक गम्भीर प्रकृतिको उपचार गराउन जनकपुरधाम वा कोशी प्रदेशको राजधानी विराटनगर पुग्न समस्या हुने गरेको यादवको भनाइ छ । 

सिरहाबाट जनकपुरधाम पुग्न हुलाकी राजमार्गबाट ३० किलोमिटर पर्दछ भने महेन्द्र राजमार्ग भएर जाँदा ९० किलोमिटर पर्दछ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ३ : ०१ बजे

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला