काठमाडौं– सायद तपाईंले पनि शेयरको कारोबार या शेयर बजारबारे सुन्नुभएको होला । अहिले ५० लाख बढी नेपालीहरू शेयर बजारमा आवद्ध छन् । यद्यपि त्यसमा सबैले शेयर कारोबार भने नगरेका हुन सक्छन् । तर, कुनै न कुनै रूपमा शेयर बजारबारे धेरै नेपालीबीच चर्चा भने हुने गरेको छ ।
शेयर बजार प्रवेश गरेर कतिपयले राम्रो आम्दानी गरेका छन् । तर, कतिपयले गुमाएका पनि छन् । पुँजी आर्जन गर्ने विषय सामान्यतयाः सबैको चासो नै हो ।
संगठित संस्थाका लागि पुँजी संकलन गर्न तथा बिक्री गर्न, व्यक्तिले पुँजी आर्जन गर्न, श्रम तथा लगानी गर्न सकिने धेरै वैधानिक क्षेत्रहरू हुन्छन् । सोही मध्येको एउटा विस्तृत क्षेत्र हो- शेयर बजार ।
सूचना प्रविधिको विकाससँगै पछिल्लो केही दशकयता शेयर बजार विश्वव्यापी बनेको छ । शेयर बजारमा संगठित र व्यक्तिगत रूपमा कारोबार गर्न पाइने व्यवस्था छ । इन्टरनेट, मोबाइल तथा ल्यापटप कम्प्युटरको पहुँच भएको जोसुकै व्यक्ति पनि शेयर बजारमा प्रवेश गरेर कारोबार गर्न सक्ने अवस्था बनेको छ ।
परिभाषाको हिसाबले हेर्दा शेयर बजार भनेको कुनै कम्पनीको धितोपत्रको प्राथमिक र द्वितीय कारोबार गरिने बजार हो । यसलाई पुँजीबजार (स्टक मार्केट) पनि भनिन्छ । नेपालमा नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शेयर बजारको नियामक निकायको भूमिका निर्वाह गर्छ भने नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले यसको सञ्चालन गर्दै आएको छ ।
साथै, नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र खरिदकर्ता तथा बिक्रेतालाई एकै ठाउँमा ल्याई निरन्तररूपमा धितोपत्रको खरिद, बिक्री वा विनिमय कार्य सम्पन्न गर्ने बजार, स्थान वा सुविधा सम्झनु पर्छ’, भनेर परिभाषित गरेको छ ।
तर, नेप्से शेयर बजारको प्लेटफर्म मात्रै नभएर यहाँबाट संगठित संस्था, कृषि, उद्योग, व्यापार तथा सरकारका लागि आवश्यक हुने दीर्घकालीन तथा मध्यम समय यस बजारबाट पुँजीको आपूर्ति गर्न सकिन्छ । धितोपत्र ऐन, २०६३ ले शेयरबजारमा कारोबार हुनसक्ने धितोपत्रको विषयमा पनि स्पष्ट परिभाषा गरिदिएको छ ।
‘धितोपत्र भन्नाले संगठित संस्थाले जारी गरेको शेयर, स्टक, बण्ड, डिवेञ्चर, डिबेञ्चर स्टक वा सामूहिक लगानी योजनासम्बन्धी प्रमाणपत्र वा नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गरेको ऋणपत्र, बचतपत्र वा बण्ड सम्झनुपर्छ । सो शब्दले धितोपत्र बजारमार्फत् कारोबार हुनसक्ने वा हस्तान्तरण हुनसक्ने भनी बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो धितोपत्र खरिद, बिक्री वा विनिमय गर्नसक्ने अधिकारपत्र समेतलाई जनाउँछ’, धितोपत्र ऐन २०६३ मा उल्लेख छ ।
धितोपत्र बजारलाई प्राथमिक र दोस्रो बजारको रूपमा विभाजित गरेर बुझ्दा प्राथमिक बजारबाट संगठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक रूपमा धितोपत्र निष्काशन गरी आफूलाई आवश्यक परेको दीर्घकालीन पुँजी प्राप्त गर्न सक्छन् भने व्यक्ति तथा संगठित संस्थाहरूले सो बजारबाट प्राथमिक धितोपत्र खरिद गर्न सक्छन् । प्राथमिक बजारमा निष्काशन गरिने धितोपत्रहरू नेपाल धितोपत्र बोर्डमा दर्ता गराई निष्काशन अनुमति प्राप्त गर्नु पर्दछ ।
त्यस्तै, दोस्रो बजार भनेको प्राथमिक बजारमा खरिद गरिएका धितोपत्रहरूलाई पूनः खरिद–बिक्री गर्न सकिने संगठित तथा सरकारद्वारा जारी गरी सूचीकृत भैसकेको धितोपत्रको कारोबार गर्न सकिनेगरी स्थापित बजारको रूपमा बुझिन्छ । उक्त बजारमा धितोपत्रको खरिद बिक्री गर्न लगानीकर्तारूले बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र दलालमार्फत् कारोबार गर्नुपर्छ । जसको सञ्चालन नेप्सेले गर्दै आएको छ ।
खरिदकर्ता तथा बिक्रेतालाई एकै ठाउँमा ल्याई धितोपत्रको खरिद, बिक्री हुने ठाउँलाई शेयर बजार भनिने ‘नेपालको शेयर बजार’ नामक पुस्तकमा लेखक रविन्द्र भट्टराईले लेखेका छन्, ‘धितोपत्र खरिदकर्ता तथा बिक्रेतालाई एकै ठाउँमा ल्याई धितोपत्रको खरिद, बिक्री वा विनिमय कार्य सम्पन्न गर्ने स्थान वा प्रणालीलाई धितोपत्र बजार भनिन्छ’, भट्टराईको पुस्तकमा उल्लेख छ ।
सामान्य अर्थमा कसैलाई पैसा दिएको वा कसैबाट लिएको प्रमाणस्वरूप लिने/दिने कागजलाई धितोपत्र भनिने र त्यो बैंकमा पैसा राख्दा लिने भौचर, कम्पनीलाई सेयर बापत पैसा दिएपछि पाइने प्रमाणपत्र, पैसा लेनदेन गर्दा गरिने लिखितम धितोपत्रका केही उदाहरण जस्तै भएको भट्टराईले लेखेका छन् ।
त्यस्ता कागज किनबेच गर्न सकिने र नसकिने गरी दुई प्रकारका हुने भट्टराईले लेखेका छन् । ‘बैंकमा पैसा राख्दा पाइने भौचर किनबेच गर्न नसकिने धितोपत्र हो भने कम्पनी तथा सरकारले आफूलाई चाहिने रकम संकलन गर्दा लगानीकर्तालाई दिने प्रमाणपत्र किनबेच गर्न सकिने धितोपत्र हुन्’, भट्टराईले पुस्तकमा भनेका छन्, ‘कम्पनीले विभिन्न नाम र विशेषता भएका प्रमाणपत्र जारी गरी सर्वसाधारणबाट पैसा सङ्कलन गर्नसक्छ ।’
सामान्यतयाः शेयर बजारमा सस्तोमा किन्ने र महँगोमा बिक्री गरेर नाफा आर्जन गर्ने धेरैको लक्ष्य हुन्छ । तर, शेयर बजारमा माग र आपूर्तिमा आधारित रहेर स्वतन्त्र हिसाबले कायम हुने मूल्यको कारणले नाफा वा घाटाको निश्चितता भने हुँदैन ।
नेप्सेले सार्वजनिक विदाको दिन, शुक्रबार र शनिबार बाहेकका दिनमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म धितोपत्र बजारको सञ्चालन गर्दै आएको छ । जसमा हाल ९२ वटा ब्रोकर कम्पनी र २ वटा स्टक डिलर कम्पनीले दलालको रूपमा धितोपत्र बजारमा काम गर्दै आएका छन् ।
शेयर बजारमा प्रवेश गर्न चाहने व्यक्तिले डिम्याट खाता खोलेर मेरो शेयरको माध्यमबाट विभिन्न नामका शेयर खरिद गर्न सक्छन् भने अनुमतिप्राप्त ब्रोकरसँग आवद्ध भएर नेप्सेको शेयर बजारमा शेयर खरिद बिक्री गर्न सक्छन् ।
यो पनि-
प्रतिक्रिया