खबपु : ती विद्रोही, यी व्यङ्ग्यकर्मी ! | Khabarhub Khabarhub

कला

खबपु : ती विद्रोही, यी व्यङ्ग्यकर्मी !

‘कलाकारिता छाड्न नैतिकताले दिएन’


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 11 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खड्गबहादुर पुन ‘खबपु’ टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट उदाएका हास्य कलाकार हुन् । उनका प्रस्तुतिमा भुइँमानिस भेटिइन्छन्, गाउँको माटोको सुगन्ध फैलन्छ, गाउँ र शहर दुबैतिरका मानिसले भोगिरहेका सुखदुःखका तरेली देखिन्छन्‌ । जीवन भोगाइका यी सबै अवयवहरूलाई जोड्न खबपुसँग मीठासयुक्त प्राङ्गारिक व्यङ्ग्यचेत छँदैछ ।

रोल्पाको दुर्गम गाउँ खिवाङ खबपुको जन्मथलो हो । उसै पनि राप्ती भेगको दुर्गम पहाडी जिल्ला रोल्पा अनि खिवाङ गाउँ ! तत्कालीन सत्ताको दमन र १० वर्षे सशस्त्र संघर्षको उद्गमभूमि ! अनि गरिबी र अभावले निचोरिएका रोल्पाबासी ! त्यस्तो कहर छिचोलेर राष्ट्रिय कलाकारका रूपमा स्थापित खबपुले हालसम्म भोगेका उतारचढाव पीडा र प्रेरणादायी दुबै छन् ।

उनी सानै छँदा रोजगारीका लागि भारततर्फ लागेकाा बुवा लामो समय बेखबर बसे । खबपु आफैँले दैनिक ज्यालादारी गर्दै पढाइखर्च जुटाए । गरिबीले पछिसम्म लखेटिरह्यो । रैथाने अन्न बेच्न भारी खेपेर सुलीचौरबजार पुग्थे । स्नातक पढ्न दाङ झरेका उनी आर्थिक अभावकै कारण रोल्पा फर्किए ।

हुने बिरुवाको चिल्लो पात ! दुःखका अनेक पहरोमा खस्दै, फेरि उठ्दै उनी आज नेपाली हास्यव्यङ्ग्य प्रस्तुतिका क्षेत्रमा ‘अर्गानिक कमेडियन’ बनिसकेका छन् ।

धेरै मानिसहरूले उनलाई काठमाडौं आएर कमेडी च्याम्पियनमा मौलिक प्रस्तुति दिएपछि चिने । तर, काठमाडौं आउनुअघि नै स्थानीय कलाकारका रूपमा खबपुले रोल्पामै नाम र दाम दुवै कमाएका थिए । तर, विविध कारणले वि.सं. २०७४ को स्थानीय निर्वाचनअघि जिल्ला छोड्नुपर्ने बाध्यता आइलाग्यो ।

काठमाडौं आएपछि शून्यबाट संघर्ष सुरु गर्नुपर्ने भयो । दोहोरी साँझमा काम गरे । नृत्य प्रशिक्षक भएर स्कूलमा जागिर गरे । अनि मात्रै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा ‘फाइनलिस्ट’ बने । यो सामग्री उनै खबपुमा केन्द्रित छ ।

बाल्यकाल

बाबु भारत छिरेपछि उनको हुर्काइ हजुरबुबा, हजुरआमा र आमाको संरक्षणमा भयो ।

बाबुको अनुपस्थितिबारे खबपु भन्छन्, ‘म सानै छँदा बुवा काम गर्न भारत जानुभएको रहेछ । सुरुका धेरै वर्ष त कहाँ हुनुहुन्छ नै थाहा भएन । पछि गाउँलेले भारतमा रहेको खबर ल्याए । १० वर्षसम्म बेखबर बुवालाई पछि काकाहरूले फर्काउनुभएको हो ।’

बाबु हराएपनि माइला काका प्रवेशिका (एसएलसी) उत्तीर्ण गरेका गाउँकै पहिला व्यक्ति थिए । काकाकै शैक्षिक पृष्ठभूमिका कारण पढ्ने वातावरण मिल्यो ।

‘बुवा घरमा नहुनु एउटा परिस्थिति छँदैथियो, तर घरको एक्लो नाति म ! फुपूहरूको एक्लो भदा, मामाहरूको एक्लो भाञ्जा भएकाले मैले सबैबाट माया पाएँ,’ खबपुले सुनाए, ‘काकाले पनि पढ्नुपर्छ भन्ने, फुपूहरूको घर र मामाघर नजिकै भएकाले उहाँहरूले पनि कापीकलम किन्न पैसा दिने गर्नुहुन्थ्यो । सबैको माया थियो मलाई ।’

घरपायकको स्कूल भएकाले खबपुलाई कक्षा तीनसम्म पढ्न समस्या भएन । चारदेखि सात कक्षासम्म पढ्न स्कूल बदल्नुपर्‍यो । दुई घण्टा उकालो-ओह्रालो पैदल गर्दै अध्ययन अघि बढाए ।

‘त्यो स्कूल ठूलागाउँमा थियो । गाउँ वरपरका बालबालिका त्यहीँ पढ्न जान्थे । मेरो मात्रै होइन, सबै साथीहरूको दैनिकी त्यही थियो,’ खबपुले सुनाए ।

खिवाङ ब्लुज

खिवाङमा सबैथोक थियो, किनकी खबपु त्यहीँ जन्मिए/हुर्किए । तर, खिवाङका खास केही थिएन । किनकी त्यो साविक राप्ती अञ्चलकै अति दुर्गम गाउँहरूको लहरमा थियो । खिवाङले पनि नेपालका अन्य पहाडहरूले झैँ विकास वञ्चितीकरणको ब्लूज (उदासी) भोगेको थियो ।

शिक्षाका लागि स्कूल भन्नु तीन कक्षासम्मको ! स्वास्थ्यचौकी छ छँदैथिएन । एक–दुई घरमा रेडियो पुगेको थियो, त्यो पनि भारतबाट फर्किएका लाहुरेहरूले पुर्‍याएका ! बिजुली र सडकको कल्पना त निकै परको कुरा ! घरबाट सबैभन्दा नजिकको बजार सुलीचौर पुग्न एकदिन पैदल हिँड्नुपर्थ्यो।

‘टाढा भएकाले साना केटाकेटीले सितिमिति बजार देख्न पाउँदैनथे । ठूला मान्छेलाई पनि सुलीचौर बजारसम्मको बाटो छिचोल्न एकदिन नै लाग्थ्यो,’ उनी स्मरण गर्छन्, ‘म पनि सानोतिनो भारी बोक्न सक्ने भएपछि घरकै अभिभावकसँग बजार गएको हुँ नि !’

गाउँमा धान उब्जनी नहुने भएकाले अन्य नगदेबालीसँग चामल साट्नुपर्ने खिवाङबासीको बाध्यता थियो । चामलको भात खान गाउँमा उत्पादित मकै, कोदो, तोरी दिएर मोटा चामल लिनुपर्थ्यो ।

बजार पसेपछि खबपुले थाहा पाए – मोटा चामललाई त शहरका मानिसले चामल नै नमान्ने रहेछन् ।’

द्वन्द्वको चपेटामा

वि.सं. २०५२ मा तत्कालीन विद्रोही नेकपा (माओवादी) ले सशस्त्र संघर्ष थाल्दा खबपु पाँच वर्षका थिए । गाउँ–गाउँलाई तरङ्गित पारेको सो संघर्षको सुरुवाती गतिविधि उनलाई टड्कारो याद छ ।

सुरुमा माओवादी लडाकुहरू रातका बेला बन्दुक बोकेर आउँथे, खाना पकाउन लगाउँथे । माओवादीलाई खाना खुवाएको भनेर सेना र प्रहरी घरमै आएर हजुरबालाई रुखो शैलीमा थर्काउँथे ।

हजुरबाले खप्की खानुपरेको देख्दा खबपु आत्तिन्थे, ननिको लाग्थ्यो । माओवादी लडाकुले गाउँबाट सेना–प्रहरीलाई लखेटेको सुन्दा उनी खुशी हुन्थे । किनकी सेना–प्रहरीले हजुरबा र गाउँलेहरूलाई बारम्बार दुःख दिइरहन्थे ।

‘माओवादीहरू चाहिँ हामी सरह भएर बस्थे, बोली पनि मीठो, हामीसँगै घरको काम गर्ने,’ उनी भन्छन्, ‘आर्मी र प्रहरीले चाहिँ थर्काइहाल्ने ! गाउँमा दुःख दिइरहने उनीहरू सदरमुकाम गएको सुन्दा आनन्द लाग्थ्यो ।’

माओवादीले जनयुद्ध भन्ने गरेको सो सशस्त्र संघर्ष छेडिएको केही समयमै गाउँमा छापामार लडाकुहरू हाबी भए । अब सेना–प्रहरी खिवाङ छिर्नै नसक्ने अवस्था बन्यो । खबपु सम्झन्छन्, ‘माओवादीले सेना–प्रहरीलाई गाउँमा छिर्नै दिँदैनथे । आक्रमण गरी बीचबाटै फर्काइदिन्थे ।’

माओवादी, बन्दागोभी र कलाकारिता

खिवाङबासीलाई बन्दागोभी र टमाटर लगायत नयाँ सागसब्जी चखाउने जस उनी माओवादीलाई नै दिन्छन् ।

भन्छन्, ‘हाम्रोमा सागमात्रै उत्पादन गर्ने चलन थियो । पछि माओवादीहरूले आफ्नो सीपअनुसार बन्दागोभी, काउली र टमाटर लगायत तरकारी उत्पादन गर्न लागे । हाम्रो गाउँमा त तरकारी त्यसरी पुगेको हो नि !’

आफूमा कलाकारिताको चाख जगाउने जस पनि उनी माओवादीको जनसांस्कृतिक टोलीलाई दिन्छन् । गितार, किबोर्ड र सारङ्गीजस्ता बाजा माओवादीको जनसांस्कृतिक टोलीका तिनै कार्यक्रममा देखे । ती बाजाको चित्र कोर्न थाले ।

‘माओवादी लडाकुले तामिल गर्ने सेल्टर घरनजिकै थियो, हामी साना केटाकेटी राति सेल्टरमा गएर जनसांस्कृतिक टोलीको प्रस्तुति हेर्थ्यौं,’ उनी सम्झन्छन्, ‘नाचगान हेर्दाहेर्दै कहिले त्यहीँ निदाइन्थ्यो, बिहान निद्रा खुलेपछि घर गइन्थ्यो ।’

आम मानिसहरूलाई सम्मोहन नै गराउने विद्रोहीहरूको क्रान्तिकारी जोसिला गीतसङ्गीत, नृत्य र प्रस्तुतिहरूले खबपुमा कलाचेत जगाउन थाल्यो । अब विद्रोही सांस्कृतिककर्मी झैँ नाच्न–गाउन मन लाग्यो । गाउँकै मानिसहरू जनसांस्कृतिक टोलीका पोशाक लगाएर नाच्थे । उनी चाख मानेर हेरिरहन्थे । नाचगान गर्न त्यही टोलीसँग जान पाए हुने भन्ने लागिरहन्थ्यो ।

सुलीचौरको पढाइ र भाषाको तगारो

खिवाङमा त तीन कक्षासम्म मात्रै पढ्न पाइन्थ्यो । त्यसपछि नजिक पर्ने ठूलागाउँको स्कूलमा पनि सात कक्षासम्म मात्रै पढाइ हुन्थ्यो ।

तुलनात्मक सम्पन्न अभिभावकले आफ्ना छोराछोरीलाई आठ कक्षामाथि अध्ययन गराउन दाङ या शहर पठाउँथे । निम्नवर्गीय परिवारका बालक खबपुलाई आर्थिक कारणले शहरमा पढ्न सकिँदैन भन्ने थाहा थियो ।

विकल्प – उही एक दिन हिँडेर पुगिने सुलीचौर बजार ! उनले त्यहीँ पढ्न पठाइदिन भने । तर, हजुरबुवा उनलाई थप कक्षा पढाउन राजी भएनन् ।

हजुरबाको तर्क थियो, ‘काकाले पढेर केही गरेन । नपढेकै मान्छे मजदूरी गर्न जाने ठाउँ भारत पुथ्यो । तँलाई पढाएर पनि त्यस्तै हो ।’

यहाँनेर खबपुलाई अध्ययन अघि बढाउन आफ्नै एउटा स्वभावले सहयोग गर्‍यो । ठूलाले ‘नगर’ भनेको काम गरिहाल्नुपर्थ्यो । हजुरबाले रोकेपछि उनले जसरी पनि सुलीचौर जाने ढिपी गर्न थाले । सुनाए, ‘ओशोको भनाइ छ नि ! यहाँ नहेर्नु भनेको ठाउँमा मान्छेले हेर्छ भन्ने, हो ! त्यही भएछ मलाई ।’

एकोहोरो ढिपी गरेपछि खबपु सुलीबजार पढ्न गए । त्यहाँ भने उनले भाषाको समस्या खेप्नुपर्‍यो । कारण थियो– उनलाई मगर बाहेक अरू भाषा बोल्न आउँदैन थियो ।

‘खिवाङमा ५५/६० घर मगरकै मात्रै थिए । बाहिरका सरहरू आएर पढाए पनि उहाँहरूले मगर भाषा बुझ्नुहुन्थ्यो । त्यसकारण मलाई मातृभाषा मात्रै बोल्न आउँथ्यो,’ खबपुले भने, ‘सुलीचौर आएपछि त मगर साथी भएनन् । मगर भाषामा बोल्ने कोही नभएपछि नेपाली बोल्नुपर्ने भयो, निकै गाह्रो भयो ।’

भाषाका कारण खेपेका धेरै असहजता बिर्सिए पनि उनले कक्षा ८ को सुरुवाती दिनमा सबैलाई ‘तँ’ भनेर बोलाएको सायदै बिर्सन्छन् । भन्छन्, ‘अहिले सम्झँदा पनि हाँसो लाग्छ ।’

सुलीचौरमा नयाँ भएकाले साथीहरूबाट माया नै पाएको उनलाई महसुस हुन्छ । ‘आफ्नै गाउँलेसँग झगडा गरे पनि मसँग राम्रो व्यवहार गर्थे । टाढाबाट आएको भनेर माया गर्थे,’ उनी सम्झन्छन् ।

खिवाङबाट झर्दा सोझो आफू सुलीचौरका ब्राह्मण–क्षेत्री साथीहरूको संगतले टाठो भएको उनले बताए । भाषा त आउँदैन थियो । त्यहाँ गएपछि भाषा जाने । हेर्ने, बुझ्ने र जान्ने दायरा फराकिलो भयो । आफूभन्दा टाठा साथीहरूको सङ्गत भयो ।

आफूलाई गाउँमा हुँदा माओवादी जनसांस्कृतिक टोलीले जगाएको रहर सुलीचौरको स्कूलले केही हदसम्म पूरा गर्न अवसर दिएकाले पनि उनी त्यहाँको बसाइ फलदायी मान्छन् ।

‘भर्खरै स्कूलमा स्काउट आएको रहेछ, स्काउटमा बसेँ । स्काउटबाटै विभिन्न कार्यक्रमहरू हुन्थ्यो, त्यहाँ सहभागिता जनाउन लागेँ,’ उनी भन्छन्, ‘सन्देशमूलक सडक नाटक हुन्थ्यो, नाचगान हुन्थ्यो । सबैमा मैले भाग लिन थालेँ ।’

गाउँमै मादल बजाउन जानेका थिए । घरमा गीत गुन्गुनाउँथे । सुलीचौरमा त मान्छेकै अघि प्रस्तुति दिन थाले ।

क्याम्पस पढ्न सदरमुकाम

खबपुले वि.सं. ०६४ मा एसएलसी दोस्रो श्रेणीमा पास गरे । प्रवीणता प्रमाणपत्र तह (प्लसटु) पढ्न जिल्ला सदरमुकाम लिवाङ पुगे । डेरा लिए, क्याम्पस भर्ना भए ।

लिवाङमा कलाकारितालाई थप गति दिन पाए । त्यो मौका उनलाई राप्ती सांस्कृतिक समाज र सुसेली साङ्गीतिक समूहले दिलाएको थियो ।

देशमा शान्ति प्रक्रियामा सुरु भएपछि लिवाङमा सांस्कृतिक समूह दर्ता भएको रहेछ । पढ्ने साथीहरू ती संस्थामा गएर अभ्यास र कार्यक्रममा सहभागी हुँदा रहेछन् । तिनै साथीमार्फत् उनी पनि ती कार्यक्रममा जान थाले ।

मादल बजाउने जिम्मेवारीमा ती संस्थामा जोडिए । पछि आफ्नो रुचिअनुसार नृत्य, लोक दोहोरी गायन र अभिनयसम्म गर्ने अवसर मिल्यो । सांस्कृतिक कार्यक्रममा जे आवश्यक पर्छ– त्यही गर्न थाले ।

संस्थामा जोडिँदा नै हास्यव्यङ्ग्यतर्फ रुचि जागेको थियो । प्यारोडी नाच्ने र संन्देशमूलक नाटक गर्दा पनि खबपुको भूमिका चाहिँ हँसाउने नै हुन्थ्यो । तीनै संस्थामार्फत् क्यारिकेचरमा पोख्त साथी लोकेन्द्रसिंह ठकुरीसँग मिलेर मेला मोहत्सवमा प्रहसनसमेत गर्न थाले ।

‘विस्तारै हामीलाई संस्थाले कार्यक्रममा जोड्दै लग्यो । प्रहसन गर्दा आफ्ने स्क्रिप्ट आफैँले लेख्ने गरियो । विस्तारै सडक नाटकको कथा पनि लेख्न थालेँ,’ खबपुले सुनाए, ‘गायन र वाद्यवादनतर्फ पनि अभ्यास भइरह्यो । सिकाइको राम्रो माहोल थियो । त्यहाँ मेरा लागि कलाकारिताको बलियो जग निर्माण भयो ।’

यता; पढाइ खर्च जुटाउन जीवनमा पहिलो जागिर पनि उनले लिवाङमै खाए । रेडक्रस आइसीआरसीअन्तर्गतको लघुउद्यमी शीर्षकको कार्यक्रममा ज्यालादारीमा काम गरे ।

‘शहीद परिवारहरूको अवस्था बुझेर उनीहरूले चाहेको उद्यमका लागि १० हजार रुपैयाँ बराबरको जिन्सी सहयोग गर्ने कार्यक्रम थियो,’ उनी भन्छन्, ‘घरघर पुगेर अवस्था बुझ्नुपर्ने मेरो काम थियो । मेरो दैनिक भत्ता ६०० रुपैयाँ थियो ।’

दाङ झरेर लिवाङ फिर्ती

सदरमुकामबाट प्लसटु गरेका खबपुलाई स्नातक पढ्न दाङ झर्न मन लाग्यो । सदमुकाममै क्याम्पस थियो, तर शहर पस्ने रहरले उनी दाङ आए ।

खर्च ठूलो भएकाले दाङमा एक वर्षभन्दा बढी टिक्न सकेनन् । यद्यपि दाङ बसाइका क्रममा उनले आफ्नो कलाकारिता क्षमता थप तिर्खान पाए ।

दाङको बीपीएल कला केन्द्रमा नृत्य सिके । त्यहाँको सिकाइ अलि व्यवसायिक थियो । रुचि र पहिले पनि अभ्यास भएकाले थप निखारिए । सदरमुकाम लिवाङ फर्किएर नृत्य प्रशिक्षण केन्द्र खोल्ने हिम्मत सोही तालिमले दियो । उनको कलाकारिता यात्राले थप गति लियो ।

उनी अब नृत्य कम्पोज गर्नसक्ने भए । मेला महोत्सवहरूमा स्थानीय कलाकारका रूपमा सहभागी हुन थाले । प्यारोडी डान्स पनि गर्थे । लोक दोहरी प्रतिष्ठानको शाखा रोल्पामा विस्तार गर्न पनि भूमिका खेले । सदमुकाममा कलाकारको पहिचान बन्नेगरी संस्थापक अध्यक्ष भएर काम गरे ।

दोहोरी प्रतियोगिता गरियो । टीम बनाएर सहभागी हुने क्रम बढ्यो । महोत्सवतिर आफ्नै कम्पोजमा प्यारोडी डान्स गर्थे । अरूका लागि कम्पोज गरिदिने काम पनि गरे । त्यही समय लोकदोहोरीका अधिकांश केन्द्रीय कलाकारसँग स्थानीय कलाकारका रूपमाा स्टेज शेयर गर्न पाए ।

त्यत्ति गर्दा पनि खर्चका लागि अन्य जागिर गर्नुपर्ने बाध्यता यथावत्‌ नै थियो । एलजीसीडीपीमा मासिक सात हजार रुपैयाँ लिएर सामाजिक परिचालकको काम गरे । गाविस सचिवलाई सहयोग गर्ने काम थियो । जागिर बाहेकको समयमा कलाकारिता गर्ने काम त छँदैथियो ।

केही वर्षपछि खबपुले एलजीसीडीपीको काम पनि छाडे । त्यसपछि भने व्यवसाय गर्ने सोचले ०७१ सालमा स्टेशनरी पसल खोले । स्टेशनरी, नृत्य प्रशिक्षण र लोकदोहोरी प्रतिष्ठानको काम एकसाथ गर्दा निकै व्यस्त हुन थाले । तीन/चार समूहलाई नृत्य सिकाउँथे ।

सोही बेला रेडियोमा कार्यक्रममा पनि हात हालेको खबपुले बताए । मालाश्री रेडियोमा साहित्यिक कार्यक्रम चलाउन थालेका थिए । विज्ञापन पनि खोज्न हिँड्थे ।

विद्रोही माओवादी पार्टी संसदीय मूलधारमा आएर टुटफुट हुँदैथियो । खबपुले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीबाट सक्रिय राजनीतिको अभ्यास थाले ।

‘खर्चका लागि व्यवसाय थियो । कलाकारका रूपमा राम्रै पहिचान थियो । राजनीति पनि गर्नुपर्छ भन्ने सल्लाह आयो,’ उनी भन्छन्, ‘त्यसपछि राजनीति गर्न थालियो, तर मैले कलाकारिताको पाटोलाई भने रोकिनँ ।’

चुनाव बहिष्कार र काठमाडौं यात्रा

खबपु वि.सं. ०७४ सालमा काठमाडौं छिरेका हुन् । काठमाडौं छिर्नुअघि नै सदरमुकाममा कलाकारको पहिचान बनाएका थिए ।

उनले सुनाए, ‘केही भाइ–बहिनीको प्रेरणासम्म बनिएको थियो । दुई–चार संस्थाको अध्यक्ष भइसकेको थिएँ । रेडियोमा काम थियो, व्यवसाय थियो । राजनीतिक रूपले पनि सबैले चिन्थे । एक किसिमले नाम र दाम दुवै थियो ।’

तर, उनलाई राजनीतिक कारणले काठमाडौं छिर्नुपर्ने बाध्यता आइलाग्यो । पार्टीले २०७४ मा भएको स्थानीय तह निर्वाचन बहिष्कार घोषणा गर्‍यो । विप्लवका कार्यकर्ताविरुद्ध पक्राउपूर्जी जारी हुन थाल्यो । खबपुले आफूलाई पनि पक्राउ गर्ने तयारी भइरहेको सूचना पाए । अनि लिवाङबाट काठमाडौं बत्तिए ।

उजुरीको जानकारी भने उनलाई प्रहरीले नै दिएको थियो । त्यसबेला उनलाई एक प्रहरीले भनेका थिए रे, ‘उजुरी परिसक्यो ! चुनावसम्म मैले समातेर राख्नुपर्ने हुन्छ । तपाईं नेताभन्दा बढी कलाकार हो । हिरासतमा बस्नुभन्दा काठमाडौं या जिल्लाबाहिर गएर बस्नू !’

प्रहरीकै सल्लाहअनुसार आफू काठमाडौं आउने निष्कर्षमा पुगेको उनी सुनाउँछन् । भन्छन्, ‘प्रहरीले सल्लाह दिएपछि घरमा गएर सोचेँ । श्रीमतीसँग सल्लाह गरेर काठमाडौं हिडेँ । त्यसबेला छोरी एक वर्षकी थिइन् ।’

काठमाडौंमा संघर्ष

काठमाडौं आएपछि खबपुको संघर्ष शून्यबाट सुरु भयो । केही दिन बस्नकै लागि भए पनि काम गर्नुको विकल्प उनीसँग थिएन । सोहीकारण गोँगबुमा साथीसँग कोठा साझा गरेर बसे । गोँगबुकै दोहोरी साँझमा काम गर्न थाले ।

सेनाका एक जना मानिस चिनेका थिए । उनलाई फोन गरेर काम लगाइदिन भने । गायन, नृत्य र केही बाजा बजाउने सीप भएकाले काम पाउन सहज भयो । तलब सात हजार रुपैयाँ तय भयो ।

त्यसरी पाएको कामको पहिलो दिन पाएको १०० रुपैयाँ टिप्सलाई उनले अझै सुरक्षित राखेका छन् । भन्छन्, ‘यो १०० रुपैयाँलाई मैले करोड बनाउनुपर्छ भनेर सुरक्षित राखेको हुँ । करोड कमाएपछि त्यो नोट फ्रेममा हालेर सजाउँछु ।’

काठमाडौंमा संघर्षसँगै अवसरहरू पनि धेरै थिए । दोहोरीमै काम गर्छु भन्दा पनि धेरै स्थान थिए । उनले अवसर सदुपयोग गरे । दोहोरी साँझ परिवर्तन गर्दा दुई हजार रुपैयाँ तलब बढ्थ्यो । तलब बढ्ने लोभले धेरै दोहोरो साँझ परिवर्तन गरिरहे ।

जति यताउता गरे पनि दोहोरीको थोरै तलब र टिप्सको भरमा परिवारको जीवननिर्वाह हुन गाह्रो थियो । त्यसैले श्रीमती र छोरीलाई काठमाडौं ल्याउन सकेनन् । रोल्पामा त्यसरी नाम बनाएको मान्छे, काठमाडौंमा ‘के गर्दैछु’ भनी आफैँलाई प्रतिप्रश्न गर्थे ।

स्कूलमा नृत्य प्रशिक्षणको काम पाएपछि आम्दानी बढ्यो । मासिक ३५–४० हजार रुपैयाँ कमाउन थाले । अब परिवारको गुजारा चलाउनसक्ने भए । अनि श्रीमती र बच्चालाई यतै ल्याए ।

कमेडी च्याम्पियनको यात्रा

खबपु पहिलो रियालिटी शो कमेडी च्याम्पियनको फाइनलिस्ट हुन् । उनलाई सोही मञ्चले केन्द्रीय कलाकारको पहिचान दियो । सो प्रतियोगितामा जान उनलाई दाङको साथीले सुझाएका थिए ।

‘एउटा साथीले शो आउन लागेको थाहा पाएछ । उसैले जानू भनेको हो,’ खबपुले सुनाए, ‘दाङमा मैले प्यारोडी नाचेकाले उसले सुझाएको हो ।’

आफूले काम गर्ने दोहोरीबाटै उनले डिजिटल अडिसनका लागि भिडियो खिचेर पठाए । स्ट्याण्डअप कमेडीबारे केही थाहा थिएन । ‘प्रयास गरौं, भए हुन्छ – नभए हुँदैन’ भनेर भिडियो पठाएका थिए ।

फिजिकल अडिसनमा जाँदा युट्यूब र टेलिभिजनमा देखेका सुमन कार्की, साजन श्रेष्ठ र हिमेश पन्तहरू देख्दा ‘प्रतिस्पर्धामा स्थान पाउँछु’ भन्ने आश ओइलाएको उनले सुनाए ।

‘आउन त आएँ, प्रयास नगरी के फर्कनु भनेर मैले अडिसन दिएको हुँ । फाइनलिस्ट बन्छु भन्ने त आश छँदै थिएन,’ उनले भने ।

यद्यपि उनले फाइनलसम्मको यात्रा तय गर्दै केन्द्रीय कलाकारको पहिचान बनाएर कमेडी च्याम्पियनको यात्रा टुङ्ग्याए ।

च्याम्पियनपछिको यात्रा

कमेडी च्याम्पियनले आफ्नो जीवनमा तात्विक फरक नपारेको खबपुको बुझाइ छ । भन्छन्, ‘नाम पाइयो, अरू केही पाइएन । फाइनलिस्ट हुँदा कुनै पुरस्कार राशी पाइएन ।’

च्याम्पियनबाट बाहिरिँदा उल्टो ऋणमा फसेको उनले खुलाए । भन्छन्, ‘जित्छु कि भन्ने आश थियो । क्याम्पेनका लागि पैसा दिने मान्छेहरू आए, खर्च गरियो, बाहिरिएपछि माग्न थाले ।’

च्याम्पियन सकिएको दुई साता नबित्दै लकडाउन भएकाले आर्थिक रूपमाा थप संकटमा परेको उनी बताउँछन् । भन्छन्, ‘च्याम्पियनबाट तय भएको शो पनि रोकियो । मेला महोत्सवको कार्यक्रम पनि रद्द भए । क्याम्पेनका लागि पैसा दिने पनि माग्न थाले ।’

सो बेला कमजोर मन गरेको भए डिप्रिसनको सिकार हुनेसम्मको अवस्था आफूले भोगेको उनले बताए । भन्छन्, ‘त्यो बेला ऋण गरेरै म काठमाडौंमा टिकेको हुँ ।’ तेस्रो चरणको लकडाउनताका भने उनी बेलायत जान पाए । त्यहीँबाट जुटेको आम्दानीले ऋण तिरे ।

‘बेलायतको भिसा आयो । तर त्यहाँ कोरोनाले कार्यक्रम नहुने भयो,’ उनी भन्छन्, ‘मगर समुदायकै दाइहरूले कार्यक्रम नभए पनि घुम्न आऊ भन्नुभयो । त्यहाँ उहाँहरूबाट आर्थिक सहयोग भयो । कार्यक्रम नभए पनि ऋण तिर्न पुग्ने पैसा संकलन भयो ।’

बेलायत भ्रमणले उनलाई आर्थिक बोझबाट निकाल्न सहयोग गर्‍यो । यता विस्तारै मेला–महोत्सवबाट प्रस्ताव आउन लाग्यो । त्यसपछि भने केही सहज भएको उनी बताउँछन् ।

खबपुको व्यस्तता अहिले फिल्मतिर पनि बढ्दो छ । उनले नौवटा फिल्ममा अभिनय गरिसकेका छन् । पछिल्लो समय प्रदर्शनमा आएको उनी अभिनीत फिल्म ‘खुस्मा’ हो ।

उनी अहिले पनि दोहोरी साँझमा काम गर्छन् । त्यहाँ विशेष व्यवहार हुने भएकाले काम गरेको उनी बताउँछन् । ‘मलाई जानैपर्छ भन्ने बाध्यता छैन । फिल्म, महोत्सव र अन्य कामबाट फुर्सद मिल्दा दोहोरीमा काम गर्न जान्छु,’ उनी भन्छन्, ‘कामभन्दा पनि त्यो मेरो शुभचिन्तक भेट्ने थलो बनेको छ, आम्दानी पनि राम्रै छ ।’

‘विदेश पलायन हुन्नँ’

काठमाडौं आएर कमाएको पहिलो १०० रुपैयाँ अझै खबपुको डायरीमा सुरक्षित छ । लक्ष्यअनुसार त्यसमा ९९ लाख ९ हजार ९०० रुपैयाँ थप्नुछ ।

लकडाउनले घर खर्च चलाउन सकस भएको अवस्था देखेका निकटका साथीहरूले भन्ने गर्छन् रे, ‘विदेशको भिसा पाउँछस् । किन उतै बस्दैनस् ?’

आर्थिक प्रगति गरोस् भनी साथीहरूले उक्त सुझाव दिएको खबपुलाई थाहा छ । तर उनी विदेश पलायन नहुने अडानमा छन् । उनले सो निर्णय लिनुको कारण कारण हो– च्याम्पियनमा पाएको भोट !

‘रियालिटी सो पछि म आफूमात्रै रहिनँ । मसँग मेरो जिल्ला छ, समुदाय छ, यसले केही गर्छ है भनेर आफूले दुःख गरेर कमाएको रकम मेरो लागि भोटमा खर्च गर्नुभयो,’ उनले भने, ‘उहाँहरूको योगदानले मेरो आजको पहिचान बनेको हो, मैले कर्म त छोड्नुभएन नि ! म हरेक कुरामा संघर्ष गर्छु, पहिचान बनाइदिने दर्शकको भवानासँग खेल्दिनँ ।’

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ३ : २१ बजे

हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र

बनियानी– झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक कालोपत्र

फुलहामसँग चेल्सी पराजित

लन्डन – इङ्लिस प्रिमियर सिपको बिहीबार राति भएको खेलमा दोस्रो

रवि लामिछानेको बयान आज पनि

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद

संघीय संसद्का दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद्का दुई वटा समितिको बैठक बस्दै छ ।

कोशीमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु

झापा–कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना