शेयरबजार दशैँ अघिकै बिन्दुमा, सातामा ८५ अङ्कले घट्यो « Khabarhub

शेयरबजार दशैँ अघिकै बिन्दुमा, सातामा ८५ अङ्कले घट्यो


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको शेयरबजार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) पुस पहिलो साता ८५ अङ्कले घटेर दशैँ अघिकै बिन्दुमा झरेको छ ।

महिनाको पहिलो साताका चार कारोबार दिनमै ८५ अङ्कले घटेपछि नेप्से २५९७.४९ बिन्दुमा झरेको हो । दशैँ अघिको अन्तिम कारोबार दिन असोज २३ गते नेप्से २६६८.१७ बिन्दुमा झरेको थियो । हिजो बिहीबार सो दिन यताकै कम बिन्दुमा नेप्से झरेको हो ।

यो साताको पहिलो कारोबार दिन सोमबार ५१.३७ घटेको शेयरबजार मङ्गलबार २.९५ अङ्कले बढे पनि वृद्धि टिक्न सकेन । बुधबार ५.६० अङ्कले घटेको बजारमा बिहीबार ३१.४३ अङ्कको पहिरो चल्यो । यसरी साताभर शेयर लगानीकर्ताले ८५ अङ्कको गिरावट भोगे ।

असोज २७ गते २६८२.२९ बिन्दुमा रहेको नेप्से ८५.४ अङ्कले घटेर पुस ४ गतेसम्म आइपुग्दा २५९६.८२ बिन्दुमा झर्नेगरी तीन दिन बजार घट्यो भने एक दिन झिनो अङ्कले बढ्यो ।

यो साता कारोबारमा पनि सुस्तता देखियो । चार दिन अवधिमा १९ अर्ब एक करोड ६० लाख २० हजार रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक  औसतमा चार अर्ब ७५ करोड ४० लाख रुपैयाँ बराबरको मात्र शेयर कारोबार भयो ।

शेयरको कित्ता कारोबारमा पनि त्यस्तै सुस्तता देखिएको छ । साताभर तीन करोड ५८ लाख २८ हजार ७८६ कित्ता शेयर कारोबार हुँदा दैनिक ८९ लाख ५७ हजार १९६ कित्ता मात्र किनबेच भयो ।

कारोबार संख्याको पनि हालत उस्तै छ । चार दिनमा दुई लाख २४ हजार ३०४ पटकमात्र शेयर कारोबार भएको छ । दैनिक औसतमा ५६ हजार ७७ पटक मात्र कारोबार भएको देखिन्छ ।

‘शेयरबजार जुवा घरजस्तै देखियो’

पछिल्लो समय नेपालको शेयर बजार जुवा घर प्रकृतिको देखिएको बजारका जानकार राजु पौडेल बताउँछन् । पछिल्लो समय बजारमा चलखेल गर्ने लगानीकर्ताले अहिले शेयर बजारलाई जुवा घर जस्तो बनाएको र त्यही कारणले गर्दा बजार घटेको शेयर प्रशिक्षकसमेत रहेका पौडेलको तर्क छ ।

बजारका लगानीकर्ता अनुभवी नहुँदा र कारोबार नसिकेका कारण सामाजिक सञ्जाल तथा हल्लैहल्लाको भरमा लगानी कारोबार गर्दा बजार अस्थिर भएको पौडेलेको भनाइ छ । ‘अहिले बजार घट्नुपर्ने कुनै फण्डामेन्टल कारण छैन’, पौडेलले भने, ‘कम्पनीको फण्डामेन्टल मात्र नभएर राजनीति, वाह्य अर्थतन्त्र र कम्पनीकै रिपोर्ट पनि राम्रो दोस्रो त्रैमासमा सुधार भएर आउने आकलन छ, तै पनि शेयर बजार घटिरहेको छ, यो स्वाभाविक होइन ।’

यसो हुनुमा बजार हल्ला पनि कारक रहेको उनी बताउँछन्‌ । उनका अनुसार, अर्थतन्त्र थाम्न नसकिने ठाउँमा पुगेकाले अर्थमन्त्री विष्णु पौडेल फेर्ने वा सरकार नै बदलिने हल्ला फैलाइएकाले पनि शेयर बजार घटेको हो । त्यस्तो गिरोहले विभिन्न मिडिया प्रयोग गरेर भए पनि ‘चीनसँग बीआरआई सम्झौता गरेपछि भारतले सरकार ढाल्छ, भारतीय खुफिया एजेन्सीका प्रमुखले सरकार ढल्ने कुरा भने’ लगायतका भ्रम फैलाएको उनले उल्लेख गरे ।

नेप्सेमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता रहेको, तर ती कम्पनीले पछिल्लो समय राम्रो लाभांश दिन नसकेकाले पनि बजारमा रौनक घटेको पौडेल बताउँछन् ।

अहिले बजार घट्नुमा राजनीतिक हल्ला नै कारक रहेको शेयर बजारका जानकार मुक्ति अर्याल बताउँछन् । अर्थमन्त्री फेरिनेजस्ता हल्ला फैलाइएकाले शेयर बजारमा त्यसको असर देखिएको अर्यालको भनाइ छ ।

‘नेप्से तीन हजार बिन्दुबाट झरेपछि २७८० बिन्दुमा तीन पटकसम्म पुगेर फर्किएको देखिएको छ’, अर्यालले भने, ‘त्यो बिन्दु पार गर्ने नसकेका कारण पनि मनोवैज्ञानिक प्रभाव परेकाले बजार घटेको जस्तो देखिएको छ ।’

राष्ट्र बैंकले ल्याएको पहिलो त्रैमासको मौद्रिक नीतिको समिक्षामा पनि खासै त्यस्तो कुरा नआएका कारणले गर्दा पनि शेयर बजारमा उत्साह नदेखिएको अर्याल बताउँछन् ।

अर्थमन्त्रीले अर्थतन्त्र चलायमान बनाउन नसकेका कारणले गर्दा शेयर बजार नबढेको एक ब्रोकर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बताउँछन् ।

‘बैंकमा पैसा थुप्रिएको छ, बजारमा ल्याउने वातावरण अर्थमन्त्रीले तयार गरेका छैनन्’, ती सीईओले भने, ‘बाह्य सूचकमात्र राम्रो देखिएको छ, आन्तरिक सूचक डामाडोल छ ।’

अर्थमन्त्री पौडेलप्रति पछिल्लो समय शेयर लगानीकर्ताहरूले नै विश्वास गर्न छाडेको तर्क गर्दै उनले थपे, ‘अहिले लगानीकर्ताहरूले अर्थमन्त्री आएर शेयर बढेको भनेको त टुक्का हानेर रहेछ भन्न थालेका छन् ।’

सातामा कुन दिन कस्तो रह्यो बजार ?

यो साताको आइतबार उधौली पर्व परेकाले सार्वजनिक बिदाका कारण शेयर कारोबार भएन ।

भोलिपल्ट खुलेको नेप्सेमा पहिरो नै गयो । एकै दिन नेप्से ५१.३७ प्रतिशतले घटेर २६३०.९१ बिन्दुमा ओर्लियो । सोमबार नेप्से ५१.९१ प्रतिशतले घट्दा परिसूचक उच्चतम २६८४.३२ बिन्दुमा र न्यूनतम २६२२ बिन्दुमा पुगेको थियो ।

सोमबार नेप्से ओह्रालो लाग्दा कारोबारमा पनि सुस्तता छायो । उक्त दिन पाँच अर्ब ७९ करोड २१ लाख ८३ हजार रुपैयाँ बराबरको एक करोड ११ लाख ४७ हजार ९०९ कित्ता शेयर ६६ हजार ८८१ पटक किनबेच भएको थियो ।

सोमबार घटेको बजारमा मङ्गलबार भने झिनो अङ्कको सुधार देखिएको थियो । मङ्गलबार नेप्से २.९५ अङ्कले बढेर २६३३.८७ बिन्दुमा पुगेको थियो । उक्त दिने नेप्से ०.११ प्रतिशतले बढ्दा परिसूचक उच्चतम २६४८.५५ बिन्दु र न्यूनतम २६११.८९ बिन्दुसम्म पुगेको थियो ।

सोमबार बजारमा हरियाली देखिए पनि कारोबार भने घट्यो । उक्त दिन चार अर्ब २९ करोड ४१ लाख २३ हजार रुपैयाँ बराबरको ८० लाख ८९ हजार ८४४ कित्ता शेयर ५३ हजार २२२ पटक किनबेच भएको थियो ।

नेप्सेमा मङ्गलबार देखिएको हरियाली एक दिनमात्रै टिक्यो । बुधबार नेप्से पूरै राताम्य देखियो । उक्त दिन नेप्से ५.६० अङ्कले घटेर २६२८.२६ बिन्दुमा पुगेको थियो ।

बुधबार नेप्से ०.२१ प्रतिशतले घट्दा परिसूचक उच्चतम २६५६ बिन्दु र न्यूनतम २६२१ बिन्दुसम्म पुगेको थियो ।  बुधबार नेप्से घट्दा कारोबार पनि झनै घट्यो । उक्त दिने चार अर्ब २१ करोड ९७ लाख ५९ हजार रुपैयाँ बराबरको ७४ लाख ७९ हजार ७ कित्ता शेयर ४८ हजार ८३५ पटक किनबेच भयो ।

शेयर बजारको ओराले यात्रा साताको अन्तिम दिन पनि कायमै रह्यो । बिहीबार नेप्से ३१.४३ अंकले घटेर २५९६.८२ बिन्दुमा पुग्यो ।  उक्त दिन नेप्से १.१९ प्रतिशतले घट्दा परिसूचक उच्चतम २६३४.५७ बिन्दु र न्यूनतम २५९३.१८ बिन्दुमा पुगेको थियो ।

बुधबारको तुलनामा बिहीबार कारोबार केही बढेको जस्तो देखिए पनि खास रौनक भने कारोबारमा पनि देखिएन । बिहीबार चार अर्ब ७० करोड ९९ लाख ५४ हजार रुपैयाँ बराबरको ९१ लाख १२ हजार २६ कित्ता शेयर ५५ हजार ३६९ पटक किनबेच भयो ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ६ : १२ बजे

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

वडास्तरमै आधारभूत स्वास्थ्य सेवा केन्द्र भए पनि अस्पताल जानेको सङ्ख्या घटेन

रूपन्देही– नेपालको संविधान २०७२ ले स्वास्थ्य सेवालाई मौलिक हकअन्तर्गत समावेश

ट्रकको ठक्करबाट एक युवकको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी– आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल बढ्दै

आईसीसी टी–२० विश्वकप सुरु, नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फिल्डिङमा

काठमाडौं– आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको १०औँ संस्करण आजदेखि सुरु