गगन–विश्व सहकार्यमा तगारो, शर्माले रोजे देउवाको छहारी | Khabarhub Khabarhub

गगन–विश्व सहकार्यमा तगारो, शर्माले रोजे देउवाको छहारी



काठमाडौं–कांग्रेस शुद्धीकरण अभियानमा कडा रूपमा प्रस्तुत हुँदै आएका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको जोडीमा मतभेद प्रकट भएको छ ।

विद्यार्थी राजनीतिबाट उदाएका उनीहरु अधिकांश मुद्दामा सँगै देखिने गरेको भएपनि महासमिति बैठकमा भने उनीहरूको सहकार्यको डोरी खिइन सुरु भएको छ । पार्टी शुद्धीकरण र नेतृत्व हस्तान्तरणको मुद्दामा ‘पब्लिक अडिट’ दह्रो बनाएका दुई महामन्त्री नै नीति महाधिवेशनमा दुईधारमा उभिए । यसले नेतृत्वका लागि नै दुई महामन्त्रीको लडाइ हुने हो कि भन्ने प्रश्न कार्यकर्ता तहमा फैलिएको छ ।

कांग्रेस महामन्त्री गगन थापा संस्थापन इतर शेखर कोइराला समर्थक नेता हुन् । उनी सो समूहका शीर्ष नेता कोइरालाको कार्यशैलीप्रति नै बेला–बेला प्रश्न उठाउँदै आएका छन् । महामन्त्री थापाले पार्टीभित्र स्पष्ट रूपमा कांग्रेस नेतृत्व हस्तान्तरणका पक्षमा तीखो रूपमा आफ्नो अडान राख्दै आएका छन् ।

तर अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने १४ औँ महाधिवेशनमा नेता प्रकाशमान सिंहको प्यानलबाट निर्वाचन लडेर महामन्त्री जितेका नेता हुन् । हाल सिंह संस्थापन पक्ष शेरबहादुर देउवाको नजिक रहेर काम गर्दै आएका छन् ।

यसले गर्दा उनी निकट नेता शर्मा भने सभापतिको सहानुभूति बटुलेर गगनसँग पनि सम्बन्ध राम्रो बनाउने र देउवालाई पनि नराम्रो नभन्ने अभियानमा लागेको कांग्रेसका महासमिति सदस्यको आरोप छ । यसो हुँदा शर्माले बीचमा बसेर लाभ लिने अवस्था बनाइरहेको नाम नभन्ने सर्तमा कांग्रेसका एक पदाधिकारी बताउँछन् । शर्मा ‘सर्प पनि मार्ने र लट्ठी पनि नभाँच्ने’ रणनीतिमा तल्लिन रहेको देखिन्छ ।

कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावारीमा जारी छ । बैठकमा प्रस्तुत दुई महामन्त्रीको प्रतिवेदनको आलोचनात्मक टिप्पणी भइरहेको छ । थापाले पेस गरेको प्रतिवेदनमा भविष्यमा हुने आवधिक निर्वाचन आफ्नै तागतमा एक्लै लड्ने सुनिश्चिततासहितको सांगठनिक प्रतिवेदन प्रस्तुत पेस भएको छ ।

तर अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदनमा महामन्त्री शर्माले अहिलेको गठबन्धनबाट उपलब्धि हासिल भएको बताएका छन् । उनले भनेका छन् , ‘पटक पटकको संसद् विघटन र संविधानको रक्षाका लागि मुख्य दलहरू गत निर्वाचनमा एक भएर मैदानमा होमिएका थिए । त्यो गठबन्धनबाट छ तर, पनि असन्तुष्ट र चुनौतीहरू बढ्दै गएको देखिन्छ ।’

प्रतिवेदनमा महामन्त्री शर्माले हालको गठबन्धन आगतको सम्झौता नभई विगतले बोकाएको अभिभारा भएको उल्लेख गरेका छन् । एकल बहुमत कसैको नभएको संसदमा गठबन्धनलाई कायम राखेर नै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभारा कांग्रेसको रहेको बताएका छन् ।

उनले गठबन्धन आजको आवश्यकता भएको स्पष्ट रूपमा उल्लेख गरिएको छ । शर्माले भनेका छन्– संयम र परिपक्वताको मार्गबाट पुन गठबन्धन ब्युँतिएको छ । फेरि पनि जोखिमको अवस्था आउन नदिन ठूलो दल भइएको नाताले विशेष सतर्कता र सजग जिम्मेवारी हामीले प्रस्तुत गर्न जरुरी छ भनिएको छ ।

थापाले पेस गरेको प्रतिवेदनमा आगामी निर्वाचन आफ्नै तागतमा एक्लै लड्ने र आफ्ना मतदातालाई कांग्रेसको चुनाव चिह्न ’रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने उल्लेख गरिएको छ । उनको प्रतिवेदनमा निर्वाचन पूर्व गठबन्धन गर्दा पार्टीले एक्लै चुनाव लड्दाजस्तो कार्यकर्तामा विजयको भाव र उत्साह नआउने अनुभव सिकाएको उल्लेख गरेका छन् ।

पार्टीको आफ्नो उम्मेदवार नहुँदा सङ्गठनभित्र आकांक्षीको व्यवस्थापन कठिन भएको पार्टीभित्रको ऊर्जामा समेत गिरावट आएको तथा निर्वाचनमा संख्यात्मक रूपमा पार्टी पहिलो दल भए पनि लोकप्रिय मत घट्ने अवस्था आएको थापाको ठम्याइ छ ।

महामन्त्री थापाको प्रतिवेदनमा बहुमत भएकोले फरकमत राख्नेलाई बेवास्ता गर्ने, पराजितले जितेकोलाई असहयोग गर्ने प्रवृत्तिले अन्ततः संगठनलाई नै कमजोर बनाएको र विधानसम्मत थिति र विधिमा पार्टी सञ्चालन कसरी गर्ने भन्ने विषय आजको ठुलो चुनौतीको रूपमा रहेको उल्लेख छ ।

यता शर्माले जनताको विश्वासलाई पुनर्जागृत गर्ने प्रश्न उठाएका छन् तर त्यसको विकल्पको बारेमा गठबन्धन छोड्नुपर्ने विषय किटान गरेका छैनन् ।

आ-आफ्नो डम्फू !

महामन्त्रीद्वय मध्ये को नेतृत्वमा पुग्ने भन्नेमा नै तीब्र प्रतिस्पर्धा भइरहेको राजनीतिक विश्लेषक प्रा.डा.गोविन्दमानसिंह कार्की बताउँछन् । उनी भन्छन्, ‘गगनले पब्लिकको मन जितेका छन् जो पब्लिकले चाहेका छन् ,उनले त्यो बोलेको देखिन्छ । तर विश्वबीचमा बसेर देउवातिर नरम भएको देखिन्छ । विश्वको विचारमा स्पष्टता छैन । गगन त देउवा विरुद्ध उत्रिएकै हुन् ।’

विश्वले दुवैतर्फको सहानुभूति समाएर नेतृत्वको लागि माथि जाने दाउमा रहेको कतिपयको बुझाइ छ । यसरी हेर्दा १५ औँ महाधिवेशनमा गगन नेतृत्वको लागि उठे पनि विश्वलगायतले साथ दिने अवस्था नरहेको कांग्रेस उच्च स्रोतको भनाइ छ ।

स्रोतले भन्यो, ‘विश्वले आफैं माहोल बनाउँदै छन् । सभापति देउवाप्रति उनी लचिलो छन् । तर गगन कार्यकर्तामाझ लोकप्रिय छन् । यसो हुँदा हुँदै पनि कांग्रेसमा संस्थापन पक्षको बर्चस्व छ । त्यो कारण देउवाले कसलाई रुचाउँछन् हेर्नुपर्छ ।’

गगन आफ्नो मुद्दामा कठोर भएर अगाडि बढेकाले उनले कायकर्ताको मन जितेको तर पार्टीका नेताहरू भने उनको पक्षमा नदेखिएको कांग्रेस कार्यसम्पादन समितिका एक नेताले बताए ।

उसो त देउवाले आफू पछि उपसभापति पूर्णबहादुर खड्का र आफ्नी पत्नी आरजु राणा देउवालाई पनि नेतृत्व दिन चाहेको बहस पनि सुनिदै आएको छ । उनले हरेक मामलामा खड्का र राणालाई अगाडि सारेको स्पष्ट छ ।

आजसम्म कुनै महत्वपूर्ण पद नपाएकाले अन्ततः देउवा शेखरप्रति नरम हुने कतिपयको बुझाइ छ । देउवाले कतिपय सन्दर्भमा कोइरालाले बनाएको पार्टी उनैका सन्तानलाई जिम्मा लगाउने अभिव्यक्ति दिँदै आएका छन् ।

यता शेखर कोइराला भने नीति महाधिवेशन पछि कांग्रेसमा देखिएको गुट अन्त्य भएर जाने र १५ औँ महाधिवेशन पछि कांग्रेस नयाँ रुपमा अगाडि बढ्ने बताउँछन् । उनी भन्छन्, ‘कांग्रेस कार्यकर्ताको मर्म अनुरूप जान्छ । ढुक्क भए हुन्छ ।’

कार्यकर्तामा संशय

नेपाली कांग्रेसका अधिकांश महासमिति सदस्यहरू गगनले उठाएको एजेन्डामा सहमत देखिएका छन् । उनीहरूले खबरहबसँगको कुराकानीमा कांग्रेसले कांग्रेसलाई नै भोट हाल्ने वातावरण बनाउन माग गरेका छन् ।

पाँचथरबाट महासमिति प्रतिनिधि भएर आएका नरेन्द्रकुमार केरुङले कांग्रेस रुपातरण हुनुपर्नेमा जोड दिए । नयाँ पुस्तामा पार्टी हाँक्ने बाटो बनाउनुपर्ने उनको माग छ ।

यस्तै जुम्लाबाट आएकी पुन्नकल्ली महतारा पनि कांग्रेसले आफ्नो निर्वाचन चिन्हमा भोट हाल्न पाउने वातावरण हुनुपर्ने माग गर्छिन् । उनी नयाँ पुस्ता युवाले पार्टी हाँक्न सक्नुपर्ने बताउँछिन् ।

उनीहरू दुवै जना आगामी निर्वाचनमा पनि रुखमा भोट हाल्न नपाए पार्टीको आकार घट्ने दाबी गर्छन् । यस्तै अन्जु दहितले पनि कांग्रेसमा अपेक्षा गरेका दुई महामन्त्रीको चरित्रले आस गरेको पार्टीको नेतृत्वमा टकरावका कारण गलत नेतृत्व आउन सक्ने टिप्पणी गरिन ।

उनले भनिन्, ‘दुई महामन्त्रीको प्रतिवेदन फरक–फरक आउँदा आगामी निर्वाचनमा रुखमा भोट हाल्न नपाइने हो कि भन्ने डर पैदा भएको छ । यस्तै, १५ औँ महाधिवेशनमा पनि नयाँ जागरण आएन भने कांग्रेस प्राणविहीन हुनपुग्छ ।’

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ६ : १३ बजे

मेस्सीले पेरिस ओलम्पिक नखेल्ने, अल्भारेजले खेल्ने

ब्यूनस आयर्स – लियोनेल मेस्सीले यसै महिनाको अन्तिममा फ्रान्सको पेरिसमा

इटहरी उपमहानगरको ‘उज्यालो इटहरी’अभियान सुरु 

इटहरी– इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी ’अभियान सुरु गरेको छ। अभियान

माओवादी महासचिव गुरुङको आरोप : कांग्रेस-एमालेले देशलाई प्रतिगमनतिर लैजान खोजे

काठमाडौं- नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नयाँ गठबन्धनका नाममा

आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

एजेन्सी– भारी बर्षापछि आसाममा आएको बाढीको कारण अहिलेसम्म ३८ जनाको

राष्ट्रियसभामा कृषि र शिक्षा मन्त्रालयको खर्च कटौती प्रस्ताव

काठमाडौँ– सांसदद्वय पदमबहादुर परियार र आनन्दप्रसाद ढुंगानाले दुई मन्त्रालयको खर्च