नेपालमा पार्टी बनाउने, चुनावमा दुईचार सिट हात पार्ने, त्यसको व्याज असुल्दै समानुपातिक प्रणालीमार्फत थप ५, ७ सिट थपिएपछि मोलतोल गरी अन्ततः मालदार मन्त्रालय हात पार्ने अघोषित परम्परा नै बसिसकेको छ । अनि कसलाई चित्त बुझ्दैन पार्टी टुक्र्याएर स्वार्थको रोटी सेक्ने खेलो फड्को चल्न थाल्छ । प्रकारान्तरले समाजवादी पार्टीलाई त्यही कित्तामा पुर्याएको छ । जसपा के का लागि गठन भयो ? पहिचानको मुद्दा उठाउँदै गठन भएको पार्टीका शीर्ष नेतृत्वका लागि एक दुई थान सरकारी पदको स्वार्थमा पुगेर त्यो यात्रा विसर्जित भयो ? जसपा संघीय परिषद्का अध्यक्ष राजेन्द्र श्रेष्ठसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुटाएर जसपा नामको पार्टी गठन गरेर पूर्व एमाले पृष्ठभूमि भएका नेताहरू अब एमाले जान लागेका हुन् ?
यसमा द्विविधा राख्नुपर्ने कुनै कारण नै छैन । किनकि यसमा जुन माग, मुद्दा, विचार र सिद्धान्त लिएर एमाले विभाजित भयो, त्यसको कुनै विषय परिवर्तन भएका छैनन् । एमाले र हाम्रो दुवै नेतृत्वमा त्यो सोच छैन ।
समाज विकास क्रममा यदि उहाँहरूले हाम्रो एजेण्डा गम्भीरतापूर्वक लिनु भयो वा हाम्रो मुद्दा नीतिगत रूपमै निकट भयो भने त्यो बेला निकटताको अवस्था आउने हो । अहिले त्यो अवस्था छैन । त्यसैले एकीकरणको विषय धेरै टाढा छ । यो विभाजनसँग एमाले एकीकरणको साइनो गोरु बेच्दा जति पनि छैन ।
त्यसो भए पार्टी विभाजन शक्ति हत्याउने उन्माद हो कि आवश्यकता ?
अहिले माग र मुद्दाको सन्दर्भमा कुरा उठायौँ । उपेन्द्रजीले पनि अधिकार र पहिचानका मुद्दा नउठाएको त हैन । तर उहाँहरूसँग यही माग र मुद्दामा समानता हुन सक्ने सम्भावना देखेर एकीकृत भएको हो । त्यसमा समावेशी राष्ट्रिय पार्टीसँग पनि एकीकृत भयौँ । तत्कालीन स्थितिमा संघीय समाजवादी गठन भयो । त्यो पनि नयाँ शक्ति र राष्ट्रिय जनता पार्टीसँग समेत एकीकरण भएपछि जनता समाजवादी पार्टी बनेको हो ।
अहिले हामीसँग उहाँहरूको वैचारिक मत भिन्नता कसरी विकास भयो भन्ने सन्दर्भमा हामीले एकीकरणका बेलादेखि केही विषय पार्टीको मार्गदर्शक चित्रको रूपमा संघीय समाजवादलाई अपनायौँ ।
लोकतान्त्रिक विकेन्द्रीकरण हाम्रो संगठनात्मक सिद्धान्त हो । यसरी स्पष्टताका साथ हाम्रो घोषणापत्र विधान सबैमा लेख्दै गयौँ । यसमा उपेन्द्र यादवको प्रत्यक्षता केही मत भिन्नता थिएन । जब कार्यक्रम चल्छ, आमसभा हुन्छ त्यस्तोमा कहिल्यै वकालत गर्नु भएन । पार्टीको सिद्धान्त संघीय समाजवाद र त्यसको आधार माक्सवाद, वैज्ञानिक समाजवाद र त्यसको दर्शन द्वन्द्वात्मक तथा भौतिकवाद भनेर पार्टीको घोषणापत्र, विधानमा लेखियो । तर उहाँले सधैँ आफूलाई सोसियल डेमोक्रयाट भनेर चिनाउनुभयो । यही अन्तर द्वन्द्व चिर्न हामी अलग हुनुपरेको हो ।
सरकारको प्रतिनिधि भएर उपेन्द्र यादव विदेशमा भएका बेला रातारात तपाईंहरुलाई किन पार्टी फुटाउने बाध्यता आइपर्यो ?
उहाँ यहाँ भएको भए पनि त्यो लाञ्छना त लाग्थ्यो । व्यक्तिहरूले आआफ्नो स्वार्थगत विश्लेषण गरेर दोष थोपर्नु प्रवृत्तिगत कुरा हो । नेपालको राजनीतिमा यो भइरहन्छ । यतिसम्म कि सत्ता समीकरण हेरफेर भयो भने पनि कि चीन, कि भारत, कि अमेरिका भनेर टीकाटिप्पणी गरिन्छ । तर हाम्रो पार्टी विभाजन आन्तरिक आवश्यकता हो ।
तपाईँलाई पार्टी चलाउनुहोस् भनेर सुम्पेर गएको आउँदा अर्कै रूप पो धारण गरिदिनुभयो । यो त धोखाघडी भएन र ?
म कार्यवाहक नै हो । उहाँ यो भन्दा अगाडि पनि स्वास्थ्यमन्त्री अरु मन्त्री हुनुभयो । म सधैँ कार्यवाहक भएँ । उहाँ परराष्ट्र मन्त्री रहँदा हप्तै पिच्छे बाहिर जाँदा पार्टीको दायित्व स्वतः मेरो काँधमा आउँथ्यो ।
कार्यवाहक भनेको उहाँ नहुँदा मैले गर्ने भनेको हो । यस पटकको कार्यवाहकको काममा अमेरिका जाँदा पनि यहाँ यस्तो गरौँ भनेर भन्न सक्नुपर्थ्यो तर मलाई थाहा नै नदिई उतैबाट विभिन्न जिल्लामा निर्वाचन समितिहरू गठन गर्नुभयो । कार्यवाहक दिने चलन यही हो त ?
अर्को, उहाँ विदेश जानुअघि एउटा बैठक राखौँ भनियो । मेरो पनि काम विशेषले बाहिर जानुपर्ने थियो । अशोकजी, राज किशोर यादवलगायत पनि उपस्थित हुन नसक्ने भन्ने पहिल्यै थाहा हुँदाहुँदै अपर्झट बैठक राखेर १८ जनाको कमिटीमा ८ जना बसेर मनलाग्दी निर्णय गरी सर्कुलर गरियो ।
विदेश जानुअघि सर्कुलर गरेर जाने र विदेशबाटै निर्वाचन समितिहरू गठन गर्ने त्यो कार्यवाहक भो ? यो ढङ्गको स्वेच्छाचारिता अपनाएपछि उहाँ विदेशमा छ, आकाशमा छ कि पातालमा छ भनेर हेर्न जरुरी भएन र त्यही भएर मैले साथीहरूसँग कुरा गरेर व्यवस्थापन मिलाएर अलग भएको हो ।
पार्टी सिद्धान्तका लागि फुटेको भए त रातारात हामीलाई यति मन्त्रालय चाहिन्छ भनेर बालुवाटार धाउनु त पर्दैनथ्यो होला नि ?
हामी पहिल्यै सरकारमा थियौँ । सरकारलाई समर्थन गर्ने कुरामा पनि पहिल्यै सहमत भएका थियौँ । समाजवादी मोर्चामा पनि हाम्रो बलले नै उहाँहरू जानु भएको हो । हामीले जनता समाजवादी पार्टी नेपाल सहित त्यसमा माओवादी केन्द्र, विप्लव माओवादी, एकीकृत समाजवादी मिलेर समाजवादी मोर्चा पनि गठन गरिराखेकै छौँ । त्यो समाजवादी मोर्चाप्रति पनि उहाँहरूको रुचि थिएन ।
मोर्चा भनेको नीति सिद्धान्त विचार सबै मिलेर बन्ने हो । त्यसको गन्तव्य भोलि कुराहरू मिल्दै गए, एउटै चुनाव चिन्ह दिएर पनि जान सकिन्छ । समाजवादी मोर्चालाई पनि अगाडि बढाउन खोजेका छौँ । लुम्बिनी प्रदेशको अध्यक्षलाई राजीनामा गर भने तर त्यसमा हामीले सम्झाएर बुझाएर राजीनामा अस्वीकृत गरिदियौँ । मधेश प्रदेशमा पनि आफैँले बनाएको अध्यक्षलाई भनेको मानिदिएन भनेर अर्को मान्छे ल्याउने स्वेच्छाचारी काम भयो ।
विगतमा सत्ता समीकरणको सन्दर्भमा चुनावकै बेला ओलीसँग गोप्य वार्ता गर्नुभयो । चुनाव त हारियो तर फेरि पद बिना बस्नै नसक्ने माओवादी कांग्रेससँग फर्किएर उपराष्ट्रपति आफ्नो भागमा पारे ।
राजनीतिक सहकार्य कसरी सम्भव भयो त ?
उहाँको कार्यशैली अत्यन्तै अपारदर्शी, स्वेच्छाचारी मात्रै हैन कि रहस्यमय पनि देखिन्छ । उहाँले वैचारिक कार्यशैली, संगठनात्मक र कार्यशैलीका कारण हामी छुट्टियौँ ।
निर्वाचन आयोगले कानूनी शून्यता भएको समयमा पार्टीलाई कि मान्यता दियो, के मा टेकेर दल दर्ता भयो ?
कानूनी शून्यता मुद्दा हाल्ने बेलामा झगडियाहरूले लगाउने आरोप हो । कहीँ छैन । निर्वाचन आयोगका पदाधिकारीहरू पनि विवेक शून्य बस्ने त हैन होला । धेरै मान्छेसँग तुलना गर्नु उचित हुँदैन ।
मधेश प्रदेशका सरकार वा क्रियाशील राजनीतिक भूमिका देखिएका प्रदेशहरूमा के हुन्छ ?
सत्ता समीकरण लेनदेनको कुरामा केन्द्रको हकमा पहिला नै हामी सरकारमा थियौँ र छौँ । यादव सत्ताबाट बाहिरिएपछि त्यो स्थानमा परिपूर्ति भएको छ । त्यसकारण कुनै बार्गेनिङ भयो भन्ने हैन । उपेन्द्रजी र उहाँलाई समर्थन गर्ने व्यक्तिहरू पहिला आफ्नो आङको भैँसी हेर्नुहोला । अर्काको भन्दा आफूले गरेका गल्तीहरूको आत्मसमीक्षा गर्नुहोला भन्न चाहन्छु । मैले ६ महिना अगाडि नै यही प्रवृत्तिबाट पार्टी अगाडि बढ्ने हो भने पार्टी विभाजन हुन्छ भनेर भनेको थिएँ ।
प्रतिक्रिया