कान्तिपुरका अध्यक्ष सिरोहियाको गिरफ्तारीले उब्जाएको प्रश्न | Khabarhub Khabarhub

कान्तिपुरका अध्यक्ष सिरोहियाको गिरफ्तारीले उब्जाएको प्रश्न

गिरफ्तारीमा गृहमन्त्री लामिछानेको पूर्वाग्रह मिसिएको आशंका


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मंगलबार अपराह्न थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयभित्रै पसेर प्रहरीले गिरफ्तार गरेको छ । धनुषा जिल्ला प्रहरी कार्यालयले जारी गरेको पक्राउ पूर्जीका आधारमा सिरोहिया पक्राउ परेका हुन् ।

सिरोहियाको गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघका सभापति, नेपाल मिडिया सोसाइटी, मानवअधिकारकर्मी र राजनीतिक दलका नेताहरुले समेत आपत्ति जनाएका छन् ।

गृहमन्त्री रवि लामिछानेले आफूमाथि पूर्वाग्रह साँधेको र यो नवअधिनायकवादको नमूना भएको सिरोहियाले बताएका छन् ।

सिरोहियालाई पक्राऊ गर्न मंगलबार नै धनुषा जिल्ला अदालतबाट धनुषा जिल्ला प्रहरी कार्यालयले अनुमति लिई पक्राउ पूर्जी जारी गरेको थियो ।

पक्राउ पूर्जी जारी गरिएपछि दिउँसो काठमाडौंको थापाथलीस्थित कान्तिपुरको प्रधान कार्यालयमा प्रहरीले घेरा हालेको थियो । प्रहरीको टोली सिरोहियाको कार्यकक्षमै पुगेको थियो ।

सिरोहियालाई प्ररहीले गिरफ्तार गर्न लागेको खबर सुनेपछि पत्रकार महासंघका प्रतिनिधि, बरिष्ठ पत्रकार तथा कानून व्यवसायीहरु कान्तिपुरको कार्यालयमा भेला भएका थिए । प्रहरीले केहीबेरको प्रक्रियागत प्रयासपछि सिरोहियालाई गाडीमा हालेर लैजाँदा त्यहाँ भेला भएका कान्तिपुरकर्मीहरुले गृहमन्त्री रवि लामिछानेविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

गिरफ्तारीअघि सञ्चार माध्यममा बोल्दै कान्तिपुरका अध्यक्ष सिरोहियाले दुईवटा पासपोर्टको मुद्दा लागेका गृहमन्त्री रवि लामिछानेलाई पनि पक्राउ गरिनुपर्ने भन्दै आफ्नो गिरफ्तारी सरकारको अधिनायकवादी शैली भएको बताए ।

प्रहरीले सिरोहियालाई उनीविरुद्ध जाहेरी परेको धनुषा जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराउनका लागि थापाथलीबाट पक्राऊ गरेको हो ।

कैलाश सिरोहियालाई प्रहरीले किन पक्राउ गर्‍यो ? यसबारे चर्चा गर्नुअघि केही प्रतिक्रियाहरु पढौं–

गृहमन्त्रीलाई तुरुन्त पदमुक्त गर्न आवश्यक छ

युवराज घिमिरे, बरिष्ठ पत्रकार

म रवि लामिछाने मात्रै भन्दिनँ, यो यो सरकारका तर्फबाट नियोजित तरिकाले निशाना बनाइएको अवस्था हो । गृहमन्त्रीको विशेष रुचि यसमा देखियो । जुन व्यक्तिको मातहतमा गृह मन्त्रालय छ, उसकै नागरिकता र पासपोर्ट संदिग्ध छ । यसबाट एउटा त उहाँको नैतिक हैसियत छैन यो दिनलाई ।

अर्को, बदलाको भावनाले कुनै सरकार चल्छ भने त्यो सरकारको पतन निश्चित छ र पतन हुनुपर्छ । किनभने, डेमोक्रेसीको नम्र्सलाई पनि फलो भएको छैन ।

अर्को, त्यो भन्दा गम्भीर विषय– नेपालको नागरिकता त्यागिसकेको व्यक्ति गृहमन्त्री छन् । उनले आफूलाई बचाउनलाई महान्यायाधिवक्ताको पनि दुरुपयोग गरिराखेका छन् । त्यसबाट मलाई के लाग्छ भने प्रचण्ड अथवा केपी ओली अथवा सत्तामा कुनै पनि डेमोक्रेटिक चरित्र छ भने उनलाई त्यो पदबाट तुरुन्तै मुक्त गर्न आवश्यक छ । किनभने उनी त्यहाँ हुँदाखेरि उनले आफ्नो हैसियत र सत्ताको दुरुपयोग गर्ने खतरा बढ्दो छ ।

सिरोहियाको गिरफ्तारी अत्यन्त निन्दनीय छ

विपुल पोखरेल
अध्यक्ष, नेपाल पत्रकार महासंघ

खासगरी राज्यले कोही पनि नागरिकमाथि अनुसन्धान गर्न पाउँछ । त्यसमा कुनै बहस गर्नु आवश्यक छैन । तर, अनुसन्धानका पनि निश्चित विधि छन्, तौरतरिका छन् । एउटा मिडिया हाउस, त्यो पनि प्रतिष्ठित मिडिया हाउसको अध्यक्षलाई कार्यालय समयभित्र कार्यकक्षमा पुगेर बलजफ्ती गिरफ्तार गर्नु अत्यन्त निन्दनीय छ । यसले सिंगो मिडिया क्षेत्रलाई नै आतंकित गरेको छ ।

संसारभरि नै मिडिया हाउसभित्र प्रहरीको प्रवेशलाई राम्रो अभ्यास मानिँदैन । किनकि, हामीले स्रोतको संरक्षणको कुरा गर्‍छौं । सूचनाको सुरक्षाको कुरा गर्छौँ । त्यसकारण मिडिया हाउसलाई आतंकित गर्ने, जो पनि प्रवेश गर्ने, राज्यको होस कि गैरराज्य होस्, पस्न सक्ने अभ्यासलाई सही भन्न सक्दैनौँ ।

आज जुन ढंगले कान्तिपुरमा प्रहरीको प्रवेश भएको छ, यसले शंका गर्ने ठाउँ छ । फेरि यत्तिको प्रतिष्ठित मान्छेलाई, राज्यले पनि चिन्ने मान्छेलाई अनुसन्धानका लागि बोलाउँदा उहाँ आफैं पनि जानुहुन्थ्यो होला ।
तर, कार्यालय समयमा, कार्यालयमै प्रवेश गरेर जसरी गिरफ्तार गरेको छ, राज्यले सही चरित्र देखाउन सकेन । यसबाट राज्य आतंक भनेर ब्याख्या गर्ने ठाउँ दिएको छ । राज्यले असल अभ्यास गरोस् भन्ने चाहन्छौँ । यो घटनाले राज्यले असल अभ्यास गरोस् भन्ने चाहनेहरु निराश भएका छौँ ।

प्रचण्डले नै ज्ञानेन्द्रपथ अनुसरण गरेको देख्दा लज्जित छु

डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री

अंग्रेजीमा एउटा भनाइ छ- ‘You should not only be good, you should appear to be good.’ जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन।

झन् बिडम्बनाको कुरा त के भने माओवादी जनयुद्धका बेला २०५८ जेठमा दरबार हत्याकाण्ड सम्बन्धी मेरो लेख छापे बापत् तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहिया लगायतका कान्तिपुरकर्मीहरूलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमाण्डर प्रचण्ड लगायत हामीले त्यसको तीब्र विरोध गरेका थियौं ! आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउॅमा हुँदा उनले नै ज्ञानेन्द्रपथ अनुसरण गरेको देख्दा म अत्यन्त लज्जित छु !

पक्राउ स्वीकार्य छैन

डा. शेखर कोइराला, कांग्रेस नेता

आफू दोहोरो पासपोर्ट लिंदै हिँड्ने र सहकारी ठगीको आरोप विरुद्ध छानविन हुन नदिने तर ३ दशकदेखि सुचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन । प्रहरीले सही र गलत छुट्याउनेमा विश्वस्त छु ।

किन पक्राउ परे कैलाश ?

सिरोहियालाई प्रहरीले थमाएको पक्राउ पूर्जीमा उनलाई गिरफ्तार गर्नुपर्ने कारण उल्लेख गर्दै भनिएको छ, ‘श्री कैलाश प्रसाद सिरोहिया, तपाईलाई प्रहरीले नागरिकतासम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा पक्राऊ गर्नुपर्ने भएकाले धनुषा जिल्ला अदालतको मिति ०८१ जेठ ८ गतेको अनुमति बमोजिम यो पक्राउ पूर्जी जारी गरिएको छ । यो पक्राउ पूर्जी लिई आउने प्रहरी कर्मचारीको साथ लागि तुरुन्तै यस कार्यालयमा आउनुहोला । अन्यथा प्रहरीले पक्राउ गरी ल्याउने छ ।’

गत बैशाख १७ गते धनुषा जिल्ला प्रहरी कार्यालयमा कैलाश सिरोहियाविरुद्ध एउटा जाहेरी दर्ता भयो । धनुषाबाट नागरिकता लिएका सिरोहियाले सरकारी कार्यालयमा पेश गरेको नागरिकताको फोटोकपी विवरणमा नम्बर फरक परेकाले दोहोरो नागरिकता लिएको उक्त जाहेरीमा दाबी गरिएको थियो ।

राष्ट्रिय परिचयपत्रमा सिरोहियाको नागरिकता नम्बर ३९६९ उल्लेख भएको र हिमायलय रि इन्सुरेन्सको सेयर लागत पुस्तिकामा नागरिकता नम्बर २८३९ रहेको देखिएपछि सिरोहियालाई पक्राउ गरिएको हो । ०३३/०३४ सालमा गृहजिल्ला धनुषाबाट जन्मसिद्ध नागरिकता लिएका सिरोहियाले ०५७ सालमा प्रतिलिपि निकालेका थिए ।

सिरोहियाले यो विषयमा राज्यले गर्ने छानविन र अनुसन्धानमा आफूले सघाउने बताएका छन् । तर, दुईवटा पासपोर्ट लिएको आरोपमा गृहमन्त्री रवि लामिछानेलाई पनि पक्राउ गर्न सिरोहियाको माग छ ।

बाहना नागरिकता, वास्तविकता प्रतिशोध ?

कैलाश सिरोहियाको गिरफ्तारी फगत नागरिकता प्रकरणसँग मात्र नजोडिएको र यसमा गृहमन्त्री रवि लामिछानेले पूर्वाग्रह साँधेको आशंका प्रकट भएको छ ।

कान्तिपुरले रवि लामिछानेलाई जोडेर सहकारी ठगीको विषयमा निरन्तर समाचार प्रकाशित गरेका कारण लामिछानेले गृहमन्त्री पदको दुरुपयोग गरी आफैं जाहेरी दिन लगाएर आफूलाई पक्राउ गरेको अध्यक्ष सिरोहियाको दाबी छ ।

सरकारले कानूनको प्रयोग आफूलाई रिस उठेको मानिससँग बदला लिनका लागि मात्र प्रयोग गर्ने हो या सबैका लागि समान रुपमा प्रयोग हुने हो ? गृहमन्त्रीले आफू मातहतका प्रहरीलाई जुन तरिकाले मिडिया हाउसभित्रै प्रवेश गराए, सरकारको यो कार्यशैलीप्रति भने गम्भीर प्रश्न उठेको छ

के गृहमन्त्री रवि लामिछानेले कैलाश सिरोहियामाथि पूर्वाग्रह नै साँधेका हुन् ? मिडियाको कार्यालयमै प्रहरीले प्रवेश गर्न जरुरी थियो या उनलाई हाजिर हुनका लागि प्रहरीले धनुषा बोलाउन सक्थ्यो ? यो अहिलेको अहम प्रश्न हो ।

गिरफ्तारीको पक्षमा तर्क

कान्तिपुर ग्रुप र कैलाश सिरोहियाप्रति विगतदेखि विरोध गर्दै आएको पंक्तिले यो गिरफ्तारीप्रति खुशी प्रकट गरेको छ । सिरोहिया समाचार लेखेका आधारमा नभएर नागरिकता दुरुपयोग गरेका कारण समातिएको उनीहरुको तर्क छ । कानून उल्लंघन गर्ने कसैलाई पनि छाड्न नमिल्ने तर्क पनि समाजिक सञ्जालमा प्रशस्त आइरहेका छन् ।

तर, सरकारले कानूनको प्रयोग आफूलाई रिस उठेको मानिससँग बदला लिनका लागि मात्र प्रयोग गर्ने हो या सबैका लागि समान रुपमा प्रयोग हुने हो ? गृहमन्त्रीले आफू मातहतका प्रहरीलाई जुन तरिकाले मिडिया हाउसभित्रै प्रवेश गराए, सरकारको यो कार्यशैलीप्रति भने गम्भीर प्रश्न उठेको छ ।

जहाँसम्म सिरोहियामाथिको छानविन र अनुसन्धानको प्रश्न छ, ठूलो, सानो सबै व्यक्तिहरु कानूनको दायरामा आउनैपर्छ । तर, त्यस्तो छानविन र अनुसन्धान निष्पक्ष एवं पूर्वाग्रहरहित हुनैपर्छ ।

यो पनि-

पक्राउ परे कैलाश सिरोहिया (तस्बिरहरू)

गृहमन्त्रीलाई सिरोहियाको चुनौती : तपाईंविरूद्ध पनि दुई राहदानीको मुद्दा छ

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ९ : १३ बजे

अमेरिकी राष्ट्रपतिमा ह्यारिसको उम्मेदवारी घोषणा, ओबामाले पनि गरे समर्थन

काठमाडौँ– अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ