देशकै पुरानो पार्टी नेपाली कांग्रेसमा रहँदै अर्थ विज्ञको परिचय बनाएका डा. स्वर्णिम वाग्ले अहिले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति छन् । कांग्रेसमा सभापति शेरबहादुर देउवा र नेतृ डा. आरजु राणा देउवाको एकाधिकार रहेको भन्दै ०७९ चैत २६ गते उनी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका थिए । त्यसपछि वाग्ले तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा कांग्रेसकै डा. गोविन्दराज भट्टराईलाई हराएर प्रतिनिधिसभामा छन् । ०७९ असार ७ गते स्थापित रास्वपाले दुई वर्ष पूरा गरेको अवसरमा खबरहबले उनै डा. स्वर्णिम वाग्लेसँग संक्षिप्त संवाद गरेको छ ।
कांग्रेस छाडेर रास्वपाको राजनीतिमा होमिनु भयो । काम गर्न कहाँ सहज छ ?
विल्कुल रास्वपामा सहज छ । उता त बिगार गरेका कामलाई पनि मन नमानी टुलुटुलु हेरिबस्नु परेको थियो । रास्वपा नयाँ भिजन र सम्पूर्ण कार्यकर्ताको भावना र विचार समेट्ने पार्टी हो ।
कांग्रेस र रास्वापको कार्यशैलीमा के फरक पाउनु भयो ?
यो पार्टीबाट राजनीतिलाई दूषित बनाउने काम हुँदैन । राजनीतिमा पुगेर विचौलियाको काम गर्दैनौँ । पैसा लुट्ने, भष्टचारमा सामेल हुने आदि कुरामा हाम्रो शून्य सहनशीलता छ । केही विवाद आएका छन् । ती हाम्रो राजनीतिक यात्राका क्रममा आएका होइनन्, अगाडिकै कुरा हुन्। अरू पार्टीमा त्यो छैन । अरुले राजनीतिमा लागेर त्यसैलाई राज्य दोहनको माध्यम बनाउने गरेका छन् । त्यो कुरामा हामी सचेत छौँ ।
पुराना पार्टीमा जस्तो हाम्रोमा विकृति आउन नदिन चनाखो छौँ । राजनीतिलाई हामी साँच्चिकै परिवर्तनको संवाहक बनाउने अभियानमा छौँ । राजनीतिलाई व्यक्तिगत लाभको माध्मय र औजार बनाउनु हुँदैन भन्नेमा सचेत छौँ । त्यही हाम्रो सबैभन्दा ठूलो मान्यता हो । नीति र साङ्गठनिक कुरामा समानता हुनसक्छ । केही कुरामा फरक पनि हुनसक्छ ।
सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा हामी विश्वास गर्छौँ । अरू पार्टीमा यस्तो छैन । हाम्रो कार्यशैली पनि फरक होस् । नीति पनि फरक होस, संस्कार पनि फरक होस् । हामी सबै नेता मञ्चमा बस्दैनौँ । आसन ग्रहण गराउँदैनौँ । समयमा कार्यक्रम सक्छौँ । सानो शैलीबाट ठूलो संस्कारगत कुरा परिवर्तन ल्याउने कोसिसमा छौँ । नयाँ पार्टी भएकाले कमजोरीलाई सकेसम्म तुरुन्तै सच्याएर जाने गरेका छौँ ।
रास्वपासँगको करिब दुई वर्षको यात्रालाई कसरी लिनुभएको छ ?
हामी एउटा ‘मोमेन्ट’बाट आएका हौँ । वैकल्पिक राजनीतिलाई अगाडि बढान आएका हौँ । वैकल्पिक राजनीतिका अन्य प्रयोगभन्दा रास्वपाले चाँडै सफलता हाँसिल गरेको छ । पाँच महिनाको तयारीले मुलुकको चौथो ठूलो दल बन्न सफल भएका छौँ । यसबीचमा अनुभव पनि लिएका छौँ । उज्ज्वल थापाले थालेको वैकल्पिक राजनीतिलाई निरन्तरता दिएका छौँ । र, एउटा उचाइमा पनि पुगेका छौँ । उचाइमा पुग्दाखेरि उतार-चढाव पनि आइहाल्छन् ।
हामीलाई पुराना दलका साथीहरूले एउटा खतराका रूपमा लिएको देखेका छौँ । हामीमाथि अवाञ्छित प्रहार नभएको होइन । यहाँहरूले देख्नु भएकै छ । हामी मिसनमा क्लियर छौँ । हामी यो देशलाई नयाँ राजनीतिक धारमा लैजाने पक्षमा छौँ । सु-संस्कृत राजनीतिको अभ्यास गरेर छोटो समयमा मुलुकलाई समृद्ध गर्नुपर्छ भन्ने हुटहुटी भएका साथी धेरै जोडिनु भएको छ । यो पार्टीमा रवि लामिछाने र स्वर्णिम वाग्ले मात्रै होइन, दसौँ हजार विदेशमा रहेका नेपालीमा पनि विशेष आशा र अपेक्षा छ । त्यसैले यो हुटहुटी, आशा र विश्वासलाई सम्हालेर राजनीतिलाई अगाडि लानुपर्ने छ ।
यहाँहरू जस्ता बौद्धिक नेता जोडिनु भएको छ, नयाँ के काम गर्दै हुनुहुन्छ ?
हामीले मुख्यतया तीन कुरामा ध्यान दिएका छौँ । एउटा नेतृत्व निर्माण । ‘लिडरसिप एकेडेमी क्याडिडेट क्लब’ भनेर हामी जोड्दै छौँ । दोस्रो, महोत्तरीको जलेश्वरमा मंसिरमा बसेको बैठकले रास्वपा कुन राजनीति, आर्थिक र सामाजिक लाइनको हो भन्ने स्पष्ट पारेको छ । जलेश्वरको प्रस्तावना पास भएको छ । त्यसले हाम्रो पार्टीलाई क्लियर र विश्वासनीय बनाएको छ । अन्य पार्टीका नेताले पनि त्यसको प्रशंसा गर्नुहुन्छ ।
सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने पार्टी हो हाम्रो । सामाजिक न्याय र लोकतन्त्रमा विश्वास गर्ने पार्टी हामी हौँ । र, संरचनात्मक विभेदमा पनि लड्नुपर्छ भन्ने समावेशी बहुलावादी पार्टीका रुपमा हामीलाई चिनाउँछौँ । यी कुरा हामीले स्पष्ट उल्लेख गरेका छौँ । यसलाई व्याख्या र थप सुदृढीकरण गरेर आमकार्यकर्ता पंक्तिलाई प्रशिक्षण गर्नुपर्ने चुनौती छ । २०८० देखि ०८२ सालसम्म हामी त्यही काममा लाग्छौँ ।
तेस्रो साङ्गठनिक स्वरूप हो । यसमा बहस चलिरहेका छन् । साङ्गठनिक स्वरूप कस्तो बनाउने ? पुराना पार्टीको जस्तै बनाउन हामीलाई मन छैन । भद्दा संरचना बनाउने ? भद्दा साङ्गठनिक स्वरूपले गुट जन्माउँछ । जति ठूलो संरचाना बनायो त्यति समस्या हुने रहेछ । बिचौलियाको अखडा जस्तो हुने रहेछ । हामीलाई सानो र चुस्त संरचना चाहिएको छ । गाउँ टोलमा सूचना लानु पर्यो । आमजनता माझ र राजनीति तहमा सूचना लैजान संरचना चाहिने रहेछ । पातलो र चुस्त संरचना बनाउन लागेका छौँ । हामी गुट-उपगुटको खेतीमा लाग्दैनौँ ।
पार्टीको संरचना कस्तो बनाउने योजना छ ?
समाज र देशले पत्याएका मान्छे थपेर सानो संख्याको चुस्त संगठन बनाउने योजना छ । अरूको जिल्ला कमिटी नै १५० र २०० जनाको छ । हामी वडा र पालिकामा १०-११ जनाको कमिटी बनाउँदै जान्छौँ । त्यहीअनुसार संगठनलाई माथिसम्म लाने तयारीमा छौँ । त्यसमा पनि छलफल बाँकी छ । त्यसरी हामी नीति, नेतृत्व र संगठन बनाउन काम गर्दैछौँ । असार ७ मा हामीले दोस्रो वार्षिकोत्सव मनाएर अर्को हप्ता सांसद रोकिएपछि केन्द्रीय समिति बैठक बसेर गम्भीर छलफल गर्छौँ । अब पार्टी सुदृढ हुँदै बढ्छ । क्षणिक प्रहार र प्रतिकूलता रोक्दै रास्वपा ठूलो शक्ति बनेको छ । यो एउटा निरन्तर चलिरहने अभियान हो । सुरुमा ठूलो जोखिम मोलेर बनाएको पार्टी हो । अब यो नेपाली जनताका लागि आमअभियान नै बनोस् भन्ने हाम्रो चाहाना छ ।
पार्टी स्थापना भएकाे दुई वर्षको पुगेको छ । यहाँहरूले देखेका कमजोरी चाहिँ के के हुन् नि ?
हाम्रो नयाँ पार्टी हो । अनुभवको कमी देखिन्छ । राजनीतिक परिपक्वता हाँसिल गर्न बाँकी छ । यहाँ जोडिनु भएका साथीहरु अगाडि केही मात्रै पार्टीमा संलग्न हुनु भएको थियो । धेरै मानिसहरू राजनीतिमा संलग्न नभएका छन् । तर, हामीसँग मुलुकको बेथिति र विरक्तलाग्दो अवस्थाले चिन्तित साथीहरू पनि आउनु भएको छ । त्यस मानेमा हामीले अझै राजनीतिक प्रशिक्षण र परिपक्वता हाँसिल गर्न बाँकी छ । अरू दल ३०-४० वर्षदेखि यो अभ्यासमा छन् ।
हामी आएको दुई वर्ष मात्र भएकाले परिपक्व अभ्यासको अभाव कहिलेकाहीँ खड्केको छ । त्यसलाई हामीले बलका रूपमा लिएका छौँ । राजनीति भनेको उनीहरुले बुझे जसरी मात्रै गर्ने बुझाइ ठूला पार्टीमा छ । त्यो परम्परागत अभ्यासलाई पनि हामी चुनौती दिन्छौँ । जनतासँग जोडिने जे-जस्तो शैली भए पनि उनीहरुका मुद्दा उठाउने कुरामा हामी पछि बस्दैनौँ । जनातासँग जोडिने र सकारात्मक परिवर्तन गर्ने प्रयासमा हामी छौँ । पुराना पार्टीले नै गरेको राजनीति सही हो भन्ने समाजको बुझाइलाई हामी परिवर्तन गर्न चाहन्छौँ । अपरिपक्व र अनुभवहीन जस्तो देखिए पनि हामी त्यसलाई सुधारेर अगाडि बढ्छौँ ।
२०८४ मा कस्तो रहला त यहाँहरूको पोजिसन ?
यसरी नै अगाडि बढ्यौँ हामी निश्चित गन्तव्यमा पुग्छौँ, हाम्रो लक्ष ठूलो छ । एउटै दलको बहुमत त यो निर्वाचन प्रणालीबाट नआउला तर हामी ०८४ मा पहिलो दल भएर आउँछौँ ।
प्रतिक्रिया