महिलाको २५ लाख लगानीमा ‘धामको सर्फ’- भारतीय उत्पादनलाई च्यालेञ्ज ! | Khabarhub Khabarhub

उद्यम

महिलाको २५ लाख लगानीमा ‘धामको सर्फ’- भारतीय उत्पादनलाई च्यालेञ्ज !

सहकारीबाट महिला सशक्तिकरणको उदाहरण


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


39.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्थाहरू विकराल अवस्थामा पुगेको बेलामा अहिले धापासी महिला बहुउद्देश्यीय सहकारी संस्थाले भने उदाहरणीय काम सुरु गरेको छ । काम गर्ने जागरुकता, उत्साह र आपसी सहयोगले गर्दा महिलाहरू एउटा उद्योग नै खडा गर्न सफल भएका छन् ।

आफैँले लगानी गरी ठूला उद्योग खोल्न नसक्ने र गृहिणी भएका कारण टाढा-टाढा काम गर्न जान सक्ने सम्भावना पनि थिएन । नजिकै केही काम गर्न पाए हुन्थ्यो भन्ने इच्छा भने सबैमा थियो । त्यसैले; सहकारीमा आबद्ध केही महिलाहरू सल्लाह गर्न थाले ।

आफ्नै सहकारी (धापासी महिला बहुउद्देश्यीय सहकारी संस्था) बाट केही गर्न पाए हुन्थ्यो भन्ने राय सबैको आयो । काम गर्ने इच्छा र चाहना हुँदाहुँदै पनि उनीहरूले के गर्ने भन्ने निर्णय लिन सकेका थिएनन् । सबै महिला दिदीबहिनीहरूले केही गर्न उत्सुकता देखाएपछि व्यवसाय गर्ने सोच बन्यो । केही समयको अध्ययन, अन्य संघसंस्थाबाट लिएको सल्लाह र काम गर्ने हुटहुटीले उनीहरूले अन्ततः उद्योग नै खडा गरे ।

सहकारीले बचत भेला पार्ने मात्रै हो, केही गर्दैन भन्ने आरोपलाई चिर्न र आबद्ध महिलाहरूलाई रोजगारीको बाटोमा लैजान वर्षौंदेखि गरेको संघर्ष बल्ल पूरा भएको बताउँछिन् धाम सर्फ उद्योगकी अध्यक्ष रेनुका कोइराला । सहकारीले उद्योग खोल्दा सबै महिलाहरूलाई नै संलग्न गराएको र आफूहरूलाई उद्यम गरेर खाने वातावरण सिर्जना गरेको उनको भनाइ छ ।

केही सहकारीका कारण सम्पूर्ण सहकारीको नै बदनाम र मानिसहरूमा त्रास फैलिरहेका बेला सबै सहकारी खराब छैनन् भन्ने उदाहरण धापासी महिला बहुउद्देश्यीय सहकारी संस्था बनेको उनको दाबी छ ।


एकजनाको आँटमा सुरु भएको उद्योग
सहकारीमा आबद्ध केही दिदीबहिनीबीच केही काम सुरु गरौँ भनी सल्लाह भयो । तर, के गर्ने भन्नेमा कौतूहल थियो । उनीहरूले विभिन्न संघसंस्थासँग अन्तरक्रिया गरे ।

पहिले सेनेटरी प्याड उद्योग खोल्ने भनी केही महिलाहरूलाई नगरपालिकाको सहयोगमा तालिम पनि प्रदान गरे । ती महिलाहरूले सहकारीबाट नभइ व्यक्तिगत रूपमा उद्योग सञ्‍चालन गरेपछि उनीहरू अलमलमा परेका थिए । पछि सहकारीमै आबद्ध एक महिलाले सर्फ बनाउन आफूलाई आउने बताएपछि उनीहरू सर्फ उद्योग नै खोल्ने निर्णयमा पुगे ।

उद्योग सञ्‍चालन गर्न आवश्यक सामाग्री खोजी गरे । भक्तपुरमा सर्फ बनाउन आवश्यक केमिकलहरू पाइने ठाउँ पत्ता लगाए । सर्फ बनाउन आवश्यक मेसिन पनि खोज्न थाले । नेपालमा किन्नुभन्दा भारतबाट ल्याउँदा ३० हजार रुपैयाँसम्म सस्तो पर्ने भएपछि भारतबाट नै मेसिन मगाए ।

बहुउद्देश्यीय काम गर्ने भनिएको सहकारीलाई निश्चित घेरामा मात्रै बाँधेर राख्नु हुँदैन भन्ने लक्ष्यलाई उनीहरूले सहकारीकै नामबाट ‘धामको सर्फ उद्योग’मा परिणत गरे । सुरुमा ७ लाख रुपैयाँ जतिमै सामाग्रीहरूको व्यवस्थापन गर्न सकिन्छ भनी आँट गरे पनि गुणस्तरीय उत्पादन दिन नसक्ने भएपछि लगानी बढेर २५ लाख रुपैयाँसम्म पुग्यो ।

नेपालमा उत्पादन भैरहेका सामान्य गुणस्तरका  सर्फ उत्पादन गर्न लगानी पनि सामान्य नै गरे पुग्थ्यो । तर, गुणस्तरीय सर्फ उत्पादन गर्ने लक्ष्यसाथ काम अघि बढाउँदा लगानी पनि धेरै गर्नुपरेको उद्योगकी अध्यक्ष कोइरालाले बताइन्‌ । अहिले धामको सर्फ भारतबाट आयात हुने एरियलभन्दा बढी गुणस्तरीय भएको उनको भनाइ छ ।

उनले भनिन्‌, ‘धामको सर्फको मुख्य योजना भनेकै भारतीय महङ्गा सर्फ नेपाली बजारबाट विस्थापन गर्नु हो । हामीले नेपालमै मेहनत गरी यत्तिको गुणस्तरीय सर्फ उत्पादन गर्न सक्छौ भने किन विदेशी सर्फ प्रयोग गर्ने ?’

आधुनिक जीवनयापनमा घरायसी सरसफाइका लागि सर्फ अत्यावश्यक जस्तै हो । क्रमशः ग्रामीण क्षेत्रमा समेत कपडा धुन र अन्य सरसफाइ गर्न सर्फ प्रयोग बढ्न थालेको छ । सोही कारण यो उद्योग उपलब्धिमूलक हुने निचोडसाथ गुणस्तरमा विशेष जोड दिएको कोइरालाले बताइन्‌ ।उद्योग २०८० साल जेठ १२ गते स्थापना भएको उनले जानकारी दिइन्‌ ।

उत्पादनमा आफैँ खटिइन्छन्‌ महिला
उद्योग खोल्नुअघि महिलाहरूले अन्य सर्फ उद्योग निरीक्षण गरेका थिए । ती उद्योगहरूमा उनीहरूले सर्फ कसरी बनाउने, कुन र कति सामग्री प्रयोग गर्ने भन्ने जाने ।

त्यसपछि सर्फ उद्योगमै काम गरिरहेका एक कामदारलाई आफ्नो उद्योगमा ल्याए । सबै महिलाहरूले सर्फ कसरी बनाउने भनी सिक्न थाले । पछि उनीहरू आफैँ दक्ष भए । सर्फ उत्पादनमा दिनरात आफैँले काम गर्न थाले ।

उद्योगमा अहिले उनीहरू आफैँ काम गर्छन् । कच्चा पदार्थको मात्रा मिलाउनेदेखि प्याकेजिङसम्मका सबै काम महिलाहरू आफैँले गरिरहेका छन्‌ । उद्योगमा अहिले दैनिक १०० केजी सर्फ उत्पादन हुन्छ ।

सहकारीमार्फत महिलाहरूको सीप र क्षमता विकास गर्न र रोजगारीमा प्रेरित गर्न यो उद्योग निकै लाभदायी भएको धामको सर्फ उद्योगकी उपाध्यक्ष जमुना गुरुङ बताउँछिन्‌ । ‘अहिलेसम्म हामीले आफैँ सर्फ उत्पादन गरिरहेका छौं । सुरुमा सिक्न केही दिन लाग्यो । अहिले त सबै जानकारी भइसक्यो । नेपालमा उत्पादन हुने अन्य सर्फभन्दा हामीले बनाएको सर्फ धेरै नै राम्रो छ,’ उनले भनिन् ।

भारतीय सर्फ विस्थापन गर्ने लक्ष्य
गुणस्तरीय सर्फ उत्पादन गर्न सक्षम भएका महिलाहरू आफ्नो उद्योगको मार्केटिङ (बजारीकरण) गर्ने मेलोमेसो चाहिँ नमिलेको नमिलेको बताउँछन् । प्रायः सबै सामान्य गृहिणी र प्रविधिबारे कम जानकारी भएका कारण मार्केटिङ गर्ने आइडिया नभएको उनीहरूको भनाइ छ ।

उत्पादनमा गुणस्तर कायम गर्दै प्रभावकारी ढङ्गले बजारीकरण गर्न सके भारतीय महङ्गो सर्फ नेपाली बजारबाट विस्थापन गर्न सकिने उद्योगी महिलाहरूको दाबी छ ।

उनीहरूले दिनरात पसल-पसलमा गएर त आफ्ना उत्पादनहरू त बेचिरहेका छन्, तर अनलाइनहरूमा कसरी व्यापार गर्ने भन्ने जानकारी छैन । ई–कमर्स कम्पनीहरूसँग सम्झौता गर्न नसकिएको उनीहरू बताउँछन् ।

मार्केटिङबारे तालिम लिन महिलाहरू नै संलग्न छन् । आ–आफ्नो क्षेत्रका महिलाहरूलाई त उनीहरूले धामको सर्फमा बानी पारिसकेका छन् । धाम सर्फ एकपटक प्रयोग गरेका मानिसहरू उद्योगमै आउने गरेको उनीहरूको भनाइ छ । अब केही प्रविधिक ज्ञान लिएर यसलाई अनलाइनमा पनि व्यापार गर्न खोजिरहेको उनीहरू बताउँछन् ।

विभिन्न सुपरमार्केटहरूमा पनि भारतीय सर्फको साटो यही सर्फ राख्न सम्झौता गरेको अध्यक्ष कोइरालाले जानकारी दिइन्‌ । केही बिगमार्टहरूले सर्फ राख्ने भने पनि मार्टहरूको नै व्यवसाय राम्रो नभएको, साथै समयमा भुक्तानी नदिने समस्याका कारण उनीहरूलाई सामान दिन नसकेको कोइरालाको भनाइ छ ।

‘हामीले यो उद्योगमा संलग्न ५० जना जति महिलाहरूलाई महिनाको ५ केजी जसरी भए पनि बिक्री गर्नुपर्ने नीति बनाएका छौं,’ कोइराला भन्छिन्, ‘हामी हाम्रा आफन्त वा छरछिमेकलाई त बानी नै पारिसक्यौँ । अहिले टोखा वरपरका सम्पूर्ण किराना पसलमा पनि धाम सर्फ उपलब्ध छ । अहिले त टाढा-टाढाका आफन्त पनि सर्फ राम्रो लागेको भन्दै उद्योगमै लिन आउँदा अत्यन्तै खुसी लाग्छ ।’

सस्तो र गुणस्तरीय
अहिले मुख्यतः भारतबाट आयात हुने एरियल सर्फले नै नेपाली बजारमा आधिपत्य जमाएको छ । गुणस्तरीय भनिएका वा मेसिनमा प्रयोग हुने अधिकांश सर्फ भारतीय नै हुन्‌ ।

नेपाली उत्पादन भन्ने थाहा हुनासाथ राम्रो नहुने भ्रम रहेको, तर आफूहरूले नेपालमा पनि केही मेहनत र लगानी गर्न सके अन्य देशबाट आयात हुने भन्दा पनि बढी गुणस्तरीय उत्पादन दिन सकिने उदाहरण फैलाउन खोजेको उद्योगमा आवद्ध महिलाहरू बताउँछन्‌ ।

बजारसम्म उत्पादन पुर्‍याउन निकै गर्नुपरेको धामको सर्फकी सचिव मीना डङ्गोलले बताइन् । ‘मानिसहरू नेपाली सर्फ भनेपछि राम्रो हुँदैन भन्दै मुख खुम्च्याउँछन् । हामीले एकपटक प्रयोग गर्नुहोस्‌, राम्रो भएन भने अर्कोपटक नगर्नुहोला भनी सर्फ बेच्छौँ । पछि उहाँहरू सर्फ राम्रो रहेछ, मलाई त्यही सर्फ दिनुहोस्‌ भन्दै आउनुहुन्छ,’ उनले भनिन्‌ ।

मीनाको कपडा पसल भए पनि आफ्नो उत्पादन भनेर पसलमै सर्फ पनि बेच्न राखेकी छिन् । धामको सर्फको गुणस्तर भारतीय एरियलको भन्दा राम्रो रहेको उनको दाबी छ ।

नियमित धामको सर्फ नै प्रयोग गर्ने गरेकी ग्राहक सविना श्रेष्ठ यस सर्फले छिट्टै मैलो जाने र लुगाको कलर पनि नजाने बताउँछिन् । अन्य सर्फ प्रयोग गरेर लुगा धुँदा हातमा घाउ आउने, फुट्ने जस्ता समस्या निम्तिने गरेको, तर धामको सर्फले त्यस्तो नभएको उनको भनाइ छ ।

भारतीय सर्फको तुलनामा धामको सर्फ सस्तो पनि रहेको छ । बजारमा एरियल सर्फको मूल्य प्रतिकेजी ४०० रुपैयाँ पर्छ । धामको सर्फको मूल्य प्रतिकेजी ८० रुपैयाँ सस्तो अर्थात्‌ ३२० रुपैयाँ मात्र पर्छ । यस्तै हातले कपडा धुँदा प्रयोग गरिने सर्फलाई भने २४० रुपैयाँमात्र पर्छ ।

१० वर्षमा नेपालभर !
स्थापना भएको एक वर्षमै राम्रो उत्पादन गर्न सफल यस उद्योगमा आवद्ध महिलाहरूले आउँदा दिनमा क्षमता अझै विस्तार गर्दै लैजाने लक्ष्य राखेका छन्‌ ।

मानिसहरूको दैनिक जीवनमा नभई नहुने सर्फ अब नेपालभर पुर्‍याउने लक्ष्य राखेको सर्फ उद्योगकी अध्यक्ष कोइराला बताउँछिन् । विभिन्न संघसंस्थाहरूसँग समन्वय गरी ठूला सुपर मार्केटहरूमा सर्फ उपलब्ध गराउने र विदेशी आयात रोक्न विभिन्न कार्यक्रमहरू गर्ने अध्यक्ष कोइरालाको भनाइ छ । अबको १० वर्षमा धामको सर्फले नेपालभर बजार लिने उनको दाबी छ ।

१८ वर्षदेखि सहज रूपमा चलिरहेको सहकारी
धापासी महिला बहुउद्देश्यीय सहकारी संस्था वि.सं. २०६३ सालमा स्थापना भएको हो । टोखा नगरपालिका-८ का निश्चित ठाउँका महिलाहरूले समूह बनाएर सुरु गरेको उक्त संस्थाले अहिले ५०० भन्दा बढी महिलाहरूलाई एकट्ठा गरिसकेको छ ।

सानो बचत सङ्कलनबाट सुरु गरिएको सहकारीले अहिले सामान्य ऋण कुनै हिचकिचाहट बिना उपलब्ध गराउने गरेको छ । सहकारीको पुँजी डेढ करोड रुपैयाँभन्दा बढी छ ।

अप्ठ्यारोका परेका महिला दिदीबहिनीहरूलाई सहयोग गर्न सहकारीमार्फत आफू सधैँ अग्रसर रहेको सहकारीकी पूर्वअध्यक्ष समेत रहेकी कोइरालाको भनाइ छ । सहकारीले सुरुवाती दिनदेखि महिलाहरूलाई हरेक क्षेत्रमा अग्रसर गराउने र आत्मनिर्भर बनाउने काम गर्दै आएको उनले जानकारी दिइन्‌ ।

महिलाहरू मात्र सदस्य रहेका यस सहकारीमा हालसम्म कुनै समस्या नआएको र कुनै पनि बचतकर्तालाई अप्ठ्यारोमा नपारेको सहकारीकी उनको भनाइ छ । कोइराला धापासी महिला बहुउद्देश्यीय सहकारीमा १२ वर्षसम्म अध्यक्ष थिइन् ।

सहकारीसँग ठूलो बचत नरहेको र अन्य क्षेत्रमा लगानी नभएका कारण हालसम्म अन्य ठूला सहकारीमा जस्तो समस्या नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ११ : ४८ बजे

पर्यटकको रोजाइमा कास्कीको कोरी (फोटो फिचर)

कास्की – एक सुन्दर ठाउँ, प्रकृतिको खानी, अझ भनौ स्वर्गको

बंगलादेशमा राष्ट्रव्यापी कर्फ्यु, मारिनेको संख्या ३५ पुग्यो

काठमाडौँ– आरक्षण विरोधी आन्दोलन भड्किएर हिंसात्मक बनेपछि बंगलादेशमा देशभर कर्फ्यु

कांग्रेस संसदीय दलको बैठक आह्वान

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक आह्वान

राजविराजको मुख्य बजारमा सीसी क्यामरा जडान

सप्तरी– उज्यालो र व्यवस्थित सहर निर्माण गर्न राजविराजको मुख्य बजार

सुरक्षा निकायसँग सम्बन्धित कानुन संशोधन आवश्यक : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायसँग सम्बन्धित कानुनलाई समयक्रमसँगै संशोधन