‘रास्वपाले उथलपुथल गर्न सक्छ, ८४ मा पहिलो दल बन्छ’ | Khabarhub Khabarhub

‘रास्वपाले उथलपुथल गर्न सक्छ, ८४ मा पहिलो दल बन्छ’

भ्रातृ संगठनबारे छलफल हुँदैछ, संगठनात्मक अभियान चल्छ : सन्तोष परियार



काठमाडौं– संसारभरिकै संसद्‍लाई नेता उत्पादन गर्ने कारखानाका रुपमा समेत लिने गरिन्छ । संसदको फोरमबाट आफूलाई अब्बल सावित गर्नेहरु देश हाँक्ने नेतामा ‘अपग्रेड’ हुने गर्दछन् । नेपालको संसद्‍मा पनि पछिल्लो समय युवा पुस्ताको जबर्जस्त उपस्थिति देखिने गरेको छ । र, तीमध्ये एक हुन्– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रमुख सचेतक सन्तोष परियार ।

भक्तपुरको गुण्डुमा ०४० सालमा जन्मेका सांसद सन्तोष ५ कक्षासम्म निजी र त्यसपछि सरकारी स्कुलमा पढे । ०५७ मा एसएलसी दिएका उनले व्यवस्थापनमा १२ कक्षा र पत्रकारितामा स्नातक तह उत्तीर्ण गरेका छन् । श्रीलंकाबाट द्वन्द्व व्यवस्थापनसम्बन्धी विषयमा स्नातकोत्तर गरेका उनले राजनीतिमा लाग्नुअघि करिब ५ वर्ष कलेज पढाए ।

शुरुमा नेकपा एमालेसँग नजिक रहेका सांसद परियार केपी ओलीको संसद विघटनविरुद्धकाे आन्दोलनमा सडकमा उत्रिएका थिए । दुईवर्षअघि रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी खोलेपछि त्यहाँ जोडिएका परियार समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेका हुन् । प्रतिनिधिसभामा  उनले सक्रिय एवं प्रखर वक्ताको छवि बनाएका छन् ।

दलित समुदायको हक र हितका लागि निरन्तर काम गर्दै आएका परियार रास्वपामा स्थापना भएको दिनबाटै जोडिएका हुन् ।

रास्वपा पार्टी स्थापनाको २ वर्ष पूरा भएको अवसरमा रास्वपाको उपलब्धि, कमजोरी तथा आगामी रणनीतिको विषयमा खबरहबले प्रमुख सचेतक परियारसँग गरेको कुराकानी प्रस्तुत छ–

रास्वपा सरकारमा गएपछि नागरिकलाई डेलिभरी दिने कुरामा कुनै कसर रहँदैन भनेको सुनियाे । तर बजेटमा देखिएको भद्रगोल हेर्दा सरकार तदर्थवादमै चलेको देखियो नि ? रास्वपाले सरकारमा हस्तक्षेपकारी भूमिका खेल्न किन नसकेको ?

हामी आज जुन राजनीतिक व्यवस्थामा छौँ, आज संसदमा जुन किसिमका पार्टीहरूको उपस्थिति छ, यसलाई याद गर्नुपर्छ । हामी पनि विगतमा कतिपय अवस्थामा हौसियौँ होला । तर, कुरा के हो भने हामी आज दलीय व्यवस्थामा छौँ । दलीय व्यवस्थामा हाम्रो पार्लियामेन्टको अवस्था कस्तो छ ? एउटा वा दुईवटा पार्टीले मात्रै पनि सरकार बनाउन सक्ने अवस्था छैन । एकदम अपवादमा कांग्रेस र एमाले नभएसम्म सम्भव छैन ।

मलाई लाग्छ, राजनीति आफैंमा एउटा सम्झौता हो । धेरै अवधारणाको सम्झौता हो । हामीले जुन मन्त्रालय पाएका छौँ । त्यसको काम गर्ने कुरा एउटा भयो । सिङ्गो सरकारले काम गर्ने कुरा अर्को भयो । छुटिएर म मात्र गर्छु भनेर हुँदैन । यो त टिम वर्कमा गर्ने काम हो । अर्थ मन्त्रालय सबैसँग जोडिन्छ । अन्य मन्त्रालयको पनि एक अर्कोसँग सम्बन्ध छ । प्रधानमन्त्री सर्वेसर्वा हुनुहुन्छ । यी कुराले गर्दा यहाँले भनेजस्तो डेलिभरी प्रभावकारी हुन सकेन ।

हिजो भनेका कुरा पूरा गर्न हामी सुरुवाती काम गर्दैछौँ । कतिपय अवस्थामा रास्वपाले पनि खै त्यस्तो हस्तक्षेप गरेन भन्ने टीकाटिप्पणी भएको छ । म त्यसलाई स्वीकार गर्छु । हस्तक्षेप त गरेका छौँ, तर त्यो पुगेको छैन । पुग्ने बल पनि पाएको छैन । सदनको हामी चौथो दल हो । हामीले गर्ने कुरामा हामी स्पष्ट छौँ ।

सेवा प्रवाहमा भविष्यमा बनाएर कानुन, ऐन परिमार्जन गर्दै जान्छौँ । जनताको जीवन परिवर्तन गर्न हामी तयार छौँ । हामी स्पष्ट छौँ । अहिले राजनीति सहमति गर्नुपर्ने भएर धेरै कुरा हामीले भनेजस्तो नहुन सक्छ ।

काम गर्न सकेनौँ भनेर पन्छिन मिल्छ ?

मैले त पटक–पटक कुरा उठाएको छु । मुख्य कारण के हो भने आज हामीले जुन रीति, विधि, कार्यक्रम र बजेट बनाइरहेका छौँ, यो आफैंमा गलत छ । को प्रधानमन्त्री, को अरू मन्त्री भन्ने कुरा नै भएन । यो ढर्रामा हामीले बजेट बनाउँदै आउँदा जो आए पनि कुरा यही हो ।

कोही एकाध जानेका र समन्वय गर्ने फराकिलो मान्छे आए अलिक फरक होला तर यो तरिकाले हुने यही हो । अब यसलाई परिमार्जन गर्ने राजनीतिक सहमति पर्नुपर्छ । पार्टीहरू एक ठाउँमा बसेर सिस्टमै बनाएर व्यवस्थित गर्नुपर्छ ।

बजेट सम्बन्धी आर्थिक नियम, ऐन पनि हेर्नुपर्छ । निर्वाचन क्षेत्र, जनसंख्या र भौगोलिक क्षेत्रलाई आधार मानेर अगाडि बढ्न सकिन्छ । जातीय समुदायलाई आधार मानेर खास ठाउँमा बजेट लानुपर्छ । राज्यले बजेट बनाउँदा प्रत्येक ठाउँलाई हेर्नुपर्छ । विधि–विधानबिना मन्त्री भएको ठाउँमा मात्र बजेट गएको छ । त्यो पनि बजेट ल्याउने मन्त्री र उनका पार्टीका । संसदमा भएका छलफललाई बजेटमा पनि समेट्नु पर्छ । ऐन नियम परिमार्जन गर्न सुझाव दिन्छु ।

सन्तोष परियारलाई आफैँले चिनाउँदा को हो ? तपाईं किन रास्वपामा जानुभयो ?

म सामान्य मान्छे हो । पढ्दै, लेख्दै समाजलाई बुझ्ने प्रयास गरिरहेको थिएँ । विभिन्न मिडियामा लेखहरू लेख्दै समाजलाई परिवर्तन गर्न चाहन्थेँ । सामाजिक विभेद, दलित, महिला आदि विभेद र उत्पीडनमा पारिएकाहरुका मुद्दा लिएर हिँड्थेँ । रुकुम पश्चिममा नवराज विकहरू मारिएका घटनाबारे सबैभन्दा पहिले मैले लेख छपाएको थिएँ, दलितको देश कुन हो भनेर ।

यसरी सामाजिक चेतनालाई विस्तार गर्दै वृहत् नागरिक आन्दोलनमा नागरिकका हक अधिकार सुरक्षित गर्नुपर्छ भनेर लागेँ । मसँग राजनीतिक चेत थियो । म विश्वविद्यालयमा पढाउन पनि जान्थेँ । आरआर कलेज र अन्य केही कलेजमा थिएँ । राष्ट्रिय स्वतन्त्र पार्टीले हस्तक्षेप गर्ने अभियान लिएर आएपछि यो युवाको अभियानमा जोडिएँ ।

सभापति रवि लामिछाने, कवीन्द्र बुर्लाकोटी लगायतका साथीहरूसँग बसेर एकखालको संवाद भयो र म आएँ । उहाँहरूले मैले गरेको अभियानलाई राजनीतिक रूपमा गर्न पाए अझ सशक्त हुन्छ भन्ने हिसाबले जोडिदिनुभयो । म पनि परिवर्तन त राजनीतिबाट नै हुने हो भनेर रास्वपामा जोडिएँ ।

रास्वपामा सन्तोष परियारलाई नियाल्ने हो भने कम बोल्ने र सिद्धान्तमा रहने नेता भन्छन् नि ? यहाँको भिजन के हो ?

राजनीति अध्ययन, चिन्तन र समाधान हो । योबिना राजनीति हुँदैन । कसैले राजनीति गर्छ भने अध्ययन, चिन्तन र भिजन हुनुपर्छ । समस्या समाधानको उपाय पनि दिन सक्नु पर्छ ।

वैचारिक र सिद्धान्त भन्दा पर राजनीति हुन्छ भन्ने मलाई लाग्दैन । यहाँले भनेजस्तै पार्टीभित्र सन्ताेष वैचारिक हो भन्ने सबैको बुझाइ छ । तर, यो हुनु पनि पर्छ । प्लेटो, अरस्तु र जति पनि दार्शनिकहरु हेरौं, राजनीति भनेको विचार सिद्धान्त र दर्शनमा हुने हो ।

विचार कस्तो हो भने मान्छे विचारबिना मासुको डल्ला मात्र ठहरिन्छ । यसमा विचार थपिएपछि समाजशास्त्र हुन्छ । अब यसमा मानवशास्त्र थप्नुपर्छ ।

सिद्धान्त, विचार र दर्शनबिना पार्टी हुँदैन । पार्टीमा यो निरन्तर हुन्छ । यो बनाउन मैले मेहनत गरेको छु । मलाई कसैले वामपन्थी भन्छन्, म एस भन्छु । म पढ्छु लेख्छु, म भन्दा पर को भयो र ? यो पहिचान बनाएको हो । यहाँले भनेको कुरा एकदम ठिक हो । मैले अवसर धेरै पाए भन्ने चाहिँ लाग्दैन, देखिएको पनि होला । मेरो राजनीति मान्छेको लागि हो । मलाई जीवन दुख्छ । मान्छेको भोगाइ दुख्छ । संसारमा अचम्मकै विविधता छ । तर, त्यसलाई म सम्मान गर्छु । म सबै मान्छेलाई सम्मान गर्छु । सबैमा अथाह सम्भावना छ । त्यसलाई पनि म सम्मान गर्छु ।

राजनीतिमा लाग्दा केही स्वार्थ पनि राख्नुभएको थियो कि ? जे हुन्छ, हुन्छ भन्ने लागेको थियो ?

म जे गरिरहेको थिएँ, म भन्दा धेरै गरेका मान्छे पनि होलान् । तर केही न केही गर्ने आशा थियो । चाहाना थियो । भित्र देखियो । राज्यलाई नै केही गर्छु भन्ने थियो । तर, मैले मौका पाएको थिइनँ । यसलाई स्वार्थ भन्ने कि, हुटहुटी थियो । यस कारण पनि राजनीतिमा म तयारीका साथ आएको जस्तो देखिन्छ ।

आज रास्वपा स्थापना भएको २ वर्ष पुगेको छ । यो अवधिको यात्रालाई कसरी लिनुहुन्छ ?

रास्वपा दुई वर्ष अगाडि एउटा अभियानका रूपमा आएको हो । सामान्य समाजशास्त्र हिसाबमा भन्नु पर्दा पनि हरेक पुस्ताको जटिल समस्या हुन्छ । त्यो समस्या त्यही पुस्ताले समाधान गर्नुपर्छ । यो रास्वपालाई हामीजस्तो पुस्ताले जिम्मेवारी लिएको भन्छु म यसलाई । यो पछिल्लो पुस्ताको हस्तक्षेपकारी अभियान हो ।

हाम्रोमा सम्पत्ति बाहेक कुनै कुराको पुस्तान्तरण हुँदैन । ज्ञान, अनुभव र सभ्यता संस्कृतिको पुस्तान्तरण हुँदैन । राजनीतिक भूमिकाको पनि पुस्तान्तरण हुँदैन । तर, यो आवश्यक छ । समाजको पुस्तान्तरण भएन भने घर्षण नै हुँदैन । यो हाम्रो पछिल्लो पुस्ताको राष्ट्रिय अभियान हो । आलोचनात्मक राजनीतिक हस्तक्षेप हो ।

यो अभियानमा संयोगले रवि लामिछाने, सन्तोष परियारहरु परे । डा. तोसिमा परे । हामी कोही नभएको भए पनि अभियान आउँथ्यो । हामी नहुँदा पनि विवेकशील साझाका नाममा यो काम भएको थियो । हामी आयौँ । यो अगाडि जान्छ ।

रास्वपा अहिले परिपक्व राजनीतिक पार्टी भएको छ । दुई वर्षको स्थापना दिवस मनाइरहँदा दुईचोटि सरकारमा गयौँ । सरकार र प्रतिपक्षको पनि अनुभव छ । हन्डर, ठक्करको पनि अनुभव छ । लडेका पनि छौँ, उठेका पनि छौँ । सबैतिर चोट लागेको छ । यो स्वाभाविक छ । हामीले छोटो समयमा पार्टीका विभिन्न आरोप पनि सहेका छौँ ।

रास्वपा पछिल्लो समयको सबैभन्दा उन्नत र प्रगतिशील पार्टी हो । हामी सबैभन्दा पछिल्लो पार्टी हौं । उथलपुथल गरेर नेपालको राजनीतिक कोर्ष परिवर्तन गर्न सक्ने पार्टी हो रास्वपा ।

स्थापनाको ६ महिना नबित्दै संसदको यात्रा तय गरेको रास्वपालाई पुराना दलले अपरिपक्व पार्टी पनि भन्छन् नि ?

यो सधैँ एकखालको परीक्षण, संश्लेषण र विश्लेषण गरेर अगाडि जान्छ । ठ्याक्क आज के भयो, त्यो नै सर्वकालिक हुँदैन । म यस्तो कुरामा विश्वास गर्दिनँ । मैले बुझेको समाजशास्त्र, मानवशास्त्रका आधारमा हेर्दा यो परिष्कृत हुन्छ । हामीले जानेर, नजानेर गर्न नहुने कुरा गर्‍यौं होला । तर, हामीले राम्रो ढङ्गबाट काम गरेका छौँ । पार्टी जीवनको समीक्षा गरेका छौँ । कमजोरी पनि छन्, सक्षम पनि छौँ । विशेष क्षमता र दक्षता भएका साथीहरू हाम्रो पार्टीमा हुनुहुन्छ ।

उमेरलाई परिपक्वता मचाहिँ मान्दिनँ । तर, हाम्रो संस्कृतिले उमेरलाई परिपक्व देखाउँछ । अरू पार्टीको तुलनामा उमेरमा सबैभन्दा कम छौँ । हाम्रो पार्टीमा ५० भन्दा तल उमेर समूहका साथीहरू हुनुहुन्छ । हामीले छोटो समयमा धेरै कुरा सिकेका छौँ ।

तर, पार्टी अलिकति व्यवस्थित गर्न सक्नुभएन कि जस्तो देखियो नि ?

हो, अलिकति चापमा परियो । पार्टी जन्मेदेखि नै आक्रमण भयो । संगठन बनाउन नपाउँदै निर्वाचनमा गयौँ । जितेर आएपछि सरकारमा गयौँ । त्यसपछि सभापतिमाथि आक्रमण सुरु भयो । पुनः मतदान भयो । यी यावत कुराले गर्दा पार्टी व्यवस्थित गर्न नसकेको साँचो हो ।

आज दुई वर्षको स्थापना दिवस मनाइरहँदा असार ७ गतेदेखि हामी विशेष किसिमको पार्टी संगठन निर्माण र विस्तार अभियान चलाउँछौँ । एउटा अनौपचारिक छलफल भएको छ । स्थापना दिवस मनाएपछि संगठन विस्तार र राजनीतिक पार्टीले गर्नुपर्ने काम गर्छाैं । जलेश्वरको प्रस्तावना लागु गर्छौं । संगठन निर्माण गर्छाैं । एउटा गतिशील पार्टी बनाएर लान्छौँ ।

भ्रातृ संगठन पनि बनाउनुहुन्छ ?

सुरुमा भ्रातृ सङ्गठनहरू निर्माण नगर्ने प्रक्रियामा थियौँ । अहिले त्यसमा पनि छलफल चलेको छ । ठूलो, भद्दा र व्यवसायिक ठाउँमा भ्रातृ संगठन निर्माण नगर्ने भन्ने आज पनि हाम्रो बुझाइ छ ।

पार्टीमा नर्सरी त चाहिने रहेछ । हामीकहाँ लिडर बनाएर ल्याउने अरू पार्टीको जस्तो भ्रातृ संगठन छैन । यसबारे बहस चलेको छ । सानो बनाएर जाने कुरा छ । धेरै संरचना नबनाएर काम गर्ने संगठन बनाउँछौँ । पार्टी विस्तारमा ध्यान दिन्छौँ ।

यस्तै, हामी प्रदेश संरचना पनि भद्दा नराखेर प्रदेश प्रमुखले नै सबै काम गर्ने लाइनमा छौं । यसबारे व्यापक बहस नै गर्नुपर्ने छ । छलफल गरेर निर्णय लिन्छौं ।

पार्टी स्थापना भएको दुई वर्ष पुगेको छ । हामी चुक्यौँ र कमजोरी भयो भन्ने पनि केही महसुस छ कि ?

म ढुक्कसँग भन्छु, हामी धेरै ठाउँमा चुकेका छौँ । हामीले धेरै कुरा बुझेको छैन । समाजलाई गहिरो ढङ्गले अध्ययन नगरेर चुकेका छौँ । तर त्यहाँबाट सिकेका पनि छौँ । अब हामी फेरि गल्ती गर्दैनौँ । त्यो हामीले गरेका छौँ । समाजको विविधता र अन्तरद्वन्द्व बुझ्न छ ।

रास्वपामा पार्टी नेत्तृत्वलाई यहाँहरूले कतिको हस्तक्षेप गरिरहनुभएको छ ?

म नेताहरूसँग क्लोज भएर काम गर्छु । मेरो भूमिकाले पनि । अझ म त के गर्ने, के नगर्ने, के हुने, के नहुने भन्ने भूमिका भएको भएर हुन्न पनि भनेको छैन । पार्टी नेतृत्वले भनेका र चित्त नबुझेका कुराहरूमा औंला उठाएका छौँ ।

रास्वपाभित्र यस्तो उस्तो छ भन्ने गरिन्छ, तर त्यस्तो केही छैन । मेरो काम गराइमा पनि मैले बोलिरहेको छु, काम गरिरहेको छु । सभापतिज्यूले मलाई काम गर्न सजिलो होस भनेर शीर्ष नेताको बैठकमा प्रमुख सचेतकले जे भन्नुहुन्छ, त्यसमा मलाई चाहिँ फरक पर्दैन भन्नुहुन्छ । मलाई विश्वास पनि गर्नु भएको छ ।

बाहिरबाट भनेका कुरामा मेरो असमर्थ छ । मेरो अनुभवमा त्यो छैन । मैले भनेका सही कुरा र साथीहरूले भनेको सही कुरा भएको छ । नहुनु पर्ने कुरा त हुने भएन नि । यसर्थ नेतृत्वलाई पनि हस्तक्षेप गरेका छौँ । हामीले अर्को किसिमको पार्टी संस्कृति विकास गरेका छौँ ।

रास्वपामा पनि सभापति र अरूको गुट छ रे नि ?

मलाई गुट छ भन्ने लाग्दैन । विचारमा छलफल र बहस हुन्छ । विचारमा विविधता हुन्छ । जलेश्वर बैठकभन्दा अगाडि विभिन्न विचारबाट आएका थियौँ । जलेश्वरले पास गरेको प्रस्तावनाभित्र नै हामी छौँ । हिजो विभिन्न विचार थियो भने आज त्यो छैन । कोही कसैले चाँडो भेटे होला, विचार मिल्यो होला । तर, त्यो कुरा पार्टीमा हुन्छ । यो सामान्य हो । विचारका हिसाबमा फरक मत छैन ।

तर पुराना दलको साहारा लिएर रास्वपा सरकारमा जानुहुँदैन थियो भन्ने मत पनि छ नि पार्टीभित्र ? यसबारे बैठकमा पनि कुरा उठ्छ ?

रास्वपा भएन भने कुनै पनि तहको सरकार बन्दैन । न त्यो कम्युनिष्टको बन्छ, न त कांग्रेसको नै । त्यसैले हामीले उहाँहरूको सहारा लिएको होइन, उहाँहरूले हाम्रो सहारा लिएको पनि म भन्दिनँ । आज राष्ट्रिय स्वतन्त्र पार्टी भएन भने कुनै पनि इतरका सरकार बन्दैनन् । दायाँ बायाँ कुनैको बन्दैन । त्यही कारणले हामीले फेरो समात्नु पर्ने आवश्यकता नै छैन ।

हामी यो राजनीतिक प्रक्रियालाई अवरुद्ध गर्न चाहँदैनौँ । एक जिम्मेवार राजनीतिक पार्टीका हिसाबमा हामीले यो राजनीतिलाई बलियो बनाउन, संविधानलाई कार्यान्वयन गर्न, परिवर्तित व्यवस्था अनुसार जनताको जीवनमा परिवर्तन ल्याउन एक राजनीतिक पार्टीका हिसाबमा जे–जे गर्नु पर्छ, त्यो सबै गर्न तयार भएर आएका हौँ ।

यसको अर्थ, प्रतिपक्षमा बसेर सरकारको निगरानी गर्नुपर्छ । सरकारलाई हेर्नुपर्छ र सरकारको आलोचना गर्नु पर्छ, त्यो पनि गर्न तयार छौँ । आफैं सरकारमा गएर जनताको निरन्तर हितका लागि काम गर्नुपर्छ, त्यो पनि गर्न तयार छौँ ।

अर्को, हामी राजनीतिक पार्टीमा आइसकेपछि हाम्रो कारणले यो राजनीतिक प्रक्रियालाई अवरुद्ध गर्ने अधिकार हामीसँग छैन । त्यस कारण कहिले सरकारमा र कहिले प्रतिपक्षमा हामी बस्छौँ तर हाम्रो अपेक्षा भनेको यो सरकार सधैँ स्थिर होस् भन्ने हो ।

तपाईंका पार्टी सभापति सहकारी प्रकरणमा मुछिएको भन्ने कुरामा पार्टीभित्र तपाइहरूले कुरा नउठाएको हो ?

हाम्रो बीचमा यो विषयमा धेरै छलफल भएको छ । यसमा सभापतिले हाम्रो प्रश्नको जवाफ दिनु भएको छ । तथ्यका आधारमा हेर्दा जुन रूपमा उहाँलाई देखाइयो, त्यो हैन भन्ने थाहा पाएपछि हामीले त्यो कुरालाई त्यति बलै महत्त्व दिएनौँ । आजको दिनमा त संसदको समितिले नै काम गर्दैछ । त्यसैले यो विषयमा समितिले हेर्ला ।

पार्टी सभापति नै सहकारी प्रकरणमा मुछिएपछि इलामको उपनिर्वाचनमा त यहाँहरुको जमाना जफत नै भयो नि होइन ?

यसको असर यही कुराले भनेर कुनै तथ्यले प्रमाणित गर्दैन । किनकि हिजो भन्दा हाम्रो मत बढेको छ । अर्को कुरा, हाम्रो त कुनै सङ्गठन नै नभई चुनाव लड्दा पनि पछिल्लो निर्वाचनमा अगाडि भन्दा ५ हजार बढी मत पाएका छौँ । तर हाम्रो पार्टीका नेताहरूमाथि भएका आरोप प्रत्यारोपले अन्त असर नगर्ने भन्ने त छैन ।

गृहमन्त्री रवि लामिछानेले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने कांग्रेस र केही सांसदहरुले भनेका छन्, यसमा तपाईंहरूको धारणा के हो ?

समितिले काम गरिरहेको छ । त्यहाँ संलग्नता हो या हैन थाहा छैन । नैतिकताको आडमा जे पनि गर्दिने हाम्रो चलन छ त्यो खतरनाक छ । कसैले केही गरिदियो भने नैतिकताको प्रश्न गरिदिने र त्यो भाग्ने हुन्छ । त्यसैले समितिले प्रमाणित गरेर वैधानिक रूपमा नहुने काम भएको थियो भने हामी त्यहीअनुसार गर्छौँ । तर, आजकै दिनमा रवि लामिछानेलाई त्यो तरिकाको नैतिकताको हवाला दिएर हामीले गर्नु हुँदैन । त्यसले गलत संस्कारको विकास गर्छ ।

बाहिर हुँदा तपाईंहरू हामी सरकारमा गएर कायापलट नै गर्छौँ भन्नु हुन्थ्यो ? अहिले सरकारमा हुँदा र बाहिर बसेर बोल्दा के फरक रहेछ ?

यो पार्लियामेन्टभित्रको लोकतन्त्र भनेको सीमित लोकतन्त्र हो । सीमित समयभित्र बोल्नुपर्ने हुन्छ । गर्ने त यहीँबाट हो तर विधि र प्रक्रिया हुन्छ समय लाग्छ । जे पायो, त्यही गर्न पाइएन । त्यसैले केही समय लाग्छ । सबै मिलेपछि अनुभव गर्न पाइन्छ । प्रश्न गर्ने ठाउँबाट प्रश्न गर्नु र जवाफ दिने ठाउँबाट जवाफ दिनु फरक त भइहाल्छ ।

सरकारमा आफूले गरेका काममा सन्तुष्ट हुनु हुन्छ ?

यतिमै सन्तुष्ट भन्ने त भएन । तर, आज जुन किसिमको फराकिलो दायरा बोकेर म हिँडेको छु, यसले गर्दा आजको आज नै केही नभए पनि प्रकारान्तरले नेपाली समाजको रूपान्तरणमा नेपाली राजनीतिलाई जनता र सीमान्तकृत एवं उत्पीडितहरूको पक्षमा केही काम गर्न सकिन्छ भन्ने विश्वास बनाएको छु ।

अब मिसन ८४ मा रास्वपाले के गर्छ ?

०८४ सालसम्म जाँदा रास्वपाले अहिलेको यो संसदबाट धेरै कुरा सिक्छ । नेपाली समाजको अन्तद्वन्द्व र समस्यालाई गहिरोसँग पहिल्याउँछ । आफूलाई तिखार्छ । समाजलाई चाहिने आवश्यक ज्ञानको थालनी गर्छ । र, ०८४ मा पहिलो पार्टी हुने गरी रास्वपाले चुनाव लड्छ ।

राजनीतिक मुद्दा र समाज परिवर्तनको ठुलो मुद्दा सहित रास्वपा चुनावमा उभिन्छ र ८४ को चुनावले रास्वपा नेतृत्वदायी भूमिकामा रहन्छ ।

रास्वपाले वर्ग र समुदायलाई पार्टीमा कसरी समेटेको छ ?

यो मूलतः नेपाली समाजको नै समस्या हो । हाम्रो पार्टीमा पनि केही सुधार गर्नुपर्ने छ । उपेक्षित र उत्पीडनमा परेका समुदायबाट कम छौं तर, हामी यसबारे सजक पनि छौं । अब प्रतिनिधित्व बढेर जान्छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  २ : २५ बजे

गन्तव्य पहिल्याउन बागलुङ बजारमा ‘स्टेट नम्बर’

बागलुङ – बागलुङ बजारलाई पर्यटनमैत्री बनाउन बागलुङ नगरपालिकाले पहिलोपटक ‘स्टेट

‘कोरा भक्तपुर साइकलिङ च्यालेञ्ज’ सम्पन्न

भक्तपुर – भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उदेश्यले

आगामी निर्वाचनसम्म कांग्रेस–एमालेको गठबन्धन कायम रहन्छ : प्रदीप ज्ञवाली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक

क्रोएसियाको नर्सिङ होममा गोली चल्दा पाँच जनाको मृत्यु

क्रोएसिया – क्रोएसियाको एक नर्सिङ होममा सोमबार एक बन्दुकधारीले गोली

अख्तियारमा उजुरी परेपछि नगर प्रमुखले फिर्ता गरे पैसा

सिरहा – सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट