कांग्रेस सांसदको माग- उपसभामुखले पदबाट राजीनामा दिनुपर्छ | Khabarhub Khabarhub

कांग्रेस सांसदको माग- उपसभामुखले पदबाट राजीनामा दिनुपर्छ


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भिसाका लागि अमेरिकी दूतावासमा पत्र लेखेपछि विवादमा परेकी उपसभामुख इन्दिरा राना मगरले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुवातमै बोल्ने क्रममा सांसद खतिवडाले उपभासमुख राना मगरले अब नैतिकताका आधारमा पदमा बसिरहनु उचित नहुने बताएका हुन् ।

‘उपेन्द्र गौतमसहित चारजनालाई भिसाका लागि उपसभामुखले पत्र लेख्नु भएको कुरा आइसकेको छ । यसलाई सञ्चारमाध्यमले मानव तस्करीसँग जोडेर समाचार प्रकाशित गरिरहेका छन्’, उनले भने, ‘यसअघि अमेरिकामा मानिस पठाएको प्रकरणमा मन्त्रीले राजीनामा दिएका थिए । उपसभामुखले पनि अब राजीनामा दिनु उचित हुन्छ।’

उनले संसद्‍सँग साइनो नै नभएका पाँचजना मान्छेलाई मानव तस्करले प्रयोग गरेर अमेरिका पठाउन अन्तर्वार्ताका लागि पत्र लेखेको तर्क उनले गरे।

‘संसद्सँ‍ग कुनै साइनो नभएका पाँचजना मान्छे मानव तस्करले प्रयोग गरेर अमेरिकामा भिसाका लागि अन्तर्वार्ताका लागि प्रयोग भएको पत्र प्राप्त भयो । यस्तो अवस्थामा उपसभामुखले अब संसदको कमाण्ड गर्न सुहाउँछ कि सुहाउँदैन ?’, उनले भने, ‘संसद्मा कुनै पत्र प्राप्त भयो सभामुखले तोक लगाउने वा राष्ट्रिय सभाका अध्यक्षकहाँ आयो भने तोक लगाउने, महासचिवकहाँ जाने, महासचिवले अन्तरराष्ट्रिय समन्वय तथा सम्पर्क महाशाखामा पठाउने, त्यहाँका उपसचिवले टिप्पणी उठाउने, सहसचिवले सदर गर्ने, त्यो भन्दा माथि महासचिवले सदर गरेर परराष्ट्र मन्त्रालयलाई पठाउने प्रचलन भएको हामीले थाहा पाएका छौं ।’

उनले त्यो पत्र के प्रयोजनका लागि लेखेको हो भनेर जवाफ मागे । ‘कसैलाई पनि थाहा नदिई, चिन्दै नचिनेका, संसद्सँग साइनो नभएका, सुन्नमा के आएको छ भने उपसभामुखसँग पनि एक जनाको मात्र चिनजान रहेछ, त्यस्ता मानिसको सिफारिस भएको छ, यो कसले किन के प्रयोजनका लागि गरेको हो ? यो संसदको मात्र होइन, देशकै अपमान भयो । यसमा छानबिन हुनुपर्छ’, उनले भने, ‘यस्तो बेलामा प्रतिरक्षाको तुरुप देखाएर जग हँसाउनुभन्दा संसदभन्दा बाहिर बसेर सहयोग गरेर यसलाई छानबिन गरेर सहयोग गर्नुपर्छ ।’

उनले उपसभामुखको कार्यालय र संसद भिसा सहजीकरणको कन्सल्टेन्सी हुन नसक्ने बताए ।

‘उपेन्द्र गौतम, सुष्मा लामा, राजेश तामाङ, राजेश लामा, सुजन घर्तीमगर, धनप्रसाद गुरुङ महिला अधिकारको कार्यक्रममा जाने भनेर उल्लेख गरिएको रहेछ’, उनले भने, ‘जसको महिला अधिकारसँग कुनै साइनो सम्बन्ध छैन, उपसभामुखले नै मैले एकजनाभन्दा बढीलाई चिनेको छैन भन्नुभएको छ । चिन्दै नचिनेको मानिसलाई सिफारिस कसरी गरियो ? त्यो छानबिन हुनुपर्छ ।’

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १ : २९ बजे

सरकारको प्राथमिकतामा गुणस्तरीय र जीवनोपयोगी शिक्षा : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा

अर्थ समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार सन्

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं – ऋषिपञ्चमी पर्व आइतबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको