सिँधुवा–शुक्रबारे डबल लेन सडक वैभव (तस्बिरहरू) | Khabarhub Khabarhub

सिँधुवा–शुक्रबारे डबल लेन सडक वैभव (तस्बिरहरू)



तेह्रथुम– तेह्रथुम शुक्रबारेका लीलबहादुर कार्की गत बुधवार निकै उत्साही देखिन्थे । ७१ वर्षीय उनी उत्साही हुनको कारण थियो– तेह्रथुमको सिँधुवादेखि शुक्रबारेसम्मको डबल लेन सडक सञ्चालनमा आउनु !

उनी विगत सम्झिएर भन्दै थिए, ‘मेरो बाल्यकाल यही भीरको बाटो हिँडेर बित्यो । धरानबाट नुन बोकेर हिँडेको त्यो कष्टकर यात्रा अहिले पनि मेरो मानसपटलमा ताजै छ । मेरो जीवनकालमै बाटो पक्की भएको छ । अब त हामीजस्ता पहाडमा बस्नेको पनि दिन खुलेजस्तै लागेको छ ।’

सिँधुवा–शुक्रबारे सडक कालोपत्रे भएपछि नागरिक त्यस क्षेत्रमा नागरिक हर्षित छन् । करिब तीन दशकअघि ट्रयाक खोलिएको सडक कालोपत्रे भएको हो ।

सरकारले सडक पक्की बनाइदिएपछि जिल्लाको छथर क्षेत्रका साथै छिमेकी जिल्ला धनकुटा र पाँचथरका नागरिकहरूले सहज सडक सुविधा पाएका छन् ।


यो सडक छथर गाउँपालिकाको प्रमुख मेरुदण्ड भएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए । ‘सडक बनेपछि गाउँपालिकाको युवा फर्क भन्ने अभियानले पनि सार्थकता पाउने विश्वास गरेका छौं,’ उनले भने ।

गाउँपालिकाले गाउँमै शिक्षा, स्वास्थ्य, सडक र विद्युतसहितका सुविधा पुगेको भन्दै ‘गाउँ फर्क अभियान’ सञ्चालन गरेको छ ।

सुविधा नभएको भन्दै युवाहरू शहर पसेर गाउँ रित्तिन थालेपछि पालिकाले अभियान नै सञ्चालन गरिरहेको हो । पालिकाले गाउँ फर्कनेलाई सहुलियतसमेत घोषणा गरेको छ । सडकले गाउँपालिकाको अभियानलाई साथ दिएको छ । छथरबाट तेह्रथुमको सदरमुकाम म्याङलुङ पुग्नभन्दा धनकुटा पुग्न नजिक छ ।

प्रवक्ता नेपालीका अनुसार पहिले धनकुटाको सिँधुवा पुग्न पनि ३ घन्टा लाग्थ्यो । बर्खामा हिलाम्मे भएर ट्रयाक्टर कुदाउन समेत समस्या हुन्थ्यो । हिउँदमा धुलोले सडक र आसपासको क्षेत्र पुरिएको हुन्थ्यो । सडक राम्रो नभएकै कारण बिरामी अस्पताल पुग्न ढिला भएर ज्यान गुमाउनुपर्ने बाध्यतामा थिए । अहिले धेरै सहज भएको नेपालीले बताए ।

कोशी प्रदेश सरकारकाको लगानीमा सिँधुवादेखि शुक्रबारेसम्मको डबल लेनको सडक बुधबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका हुन् ।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय संखुवासभाले ८९ करोड ९० लाख रुपैयाँको लागतमा १७ किलोमिटर लामो उक्त निर्माण सम्पन्न गरेको हो ।

धनकुटा र तेह्रथुम जिल्लालाई जोड्ने यो सडकले पहाडी जिल्लाको ग्रामीण क्षेत्रका बासिन्दा लाभान्वित हुने सरकारको भनाइ छ । मुख्यमन्त्री कार्कीले सडक निर्माणले स्थानीय बजार प्रवद्र्धन र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले पहाडी जिल्लामा भइरहेको बसाइँसराइ रोक्न, कृषि र पर्यटर्न प्रवद्र्धन गर्न उक्त सडक महत्वपूर्ण हुने दाबी समेत गरे ।

उनले भने, ‘अहिले पहाडबाट बसाइँसराइ बढ्दै गएको छ, यो रोक्न नीतिगत व्यवस्था गर्दै शिक्षा र स्वास्थ्यमा पनि सरकारले काम गर्ने छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘नयाँ संरचना हो । हामी राम्रा र देखाउन हुने काम गर्नेछौँ ।’

सडक निर्माणमा फड्को !

प्रदेश सरकार गठन भएयता कोशीमा प्रादेशिक स्तरका आधादर्जन सडक निर्माण गरिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले यी प्रादेशिक सडक लगायतका गरी कुल प्रदेश भरी ५२७ दशमलव ९२ किलोमिटर सडक कालोपत्रे भएको जनाएको छ ।

१५ दशमलव ७६९ किलोमिटर सडक आरसीसी सडक४३ दशमलव ५७९ किलोमिटर सोलिङ, १ हजार ३५ किलोमिटर सडक मर्मत, १ हजार २७८ दशमलव९०१ किलोमिटर ग्राभेल र १ हजार ७६ किलोमिटर कच्ची सडक निर्माण गरेको प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले हालसम्म ७७ वटा मोटरेबल पुल निर्माण गरेको छ । यस्तै, २६ दशमलव५३ किलोमिटर सडकको ट्रयाक ओपन गरेको छ भने बहुवर्षे सडक आयोजनामध्ये अहिलेसम्म २२ वटा सम्पन्न गरेको सरकारले जनाएको छ ।

बहुवर्षे सडकअन्तर्गत २९८ दशमलव ११ किलोमिटर सडक कालोपत्रे गरिसकेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी आयुश जोशीले बताए ।

गौरवका आयोजना समापन चरणमा

कोशी प्रदेश सरकारको पहिलो गौरवको आयोजनाका रूपमा अघि सारेको विराटनगरको घिनाघाट–विराटचोक चार लेन सडकको केही महिना अघि निर्माण सम्पन भएको छ । तर सडक उद्घाटन हुन भने बाँकी छ ।

विराटचोक सडक तीन प्याकेजमा विभाजन गरी २०७६ सालदेखि बनाउन शुरू गरिएको थियो । सडकको विराट चोकदेखि नेता चोकसम्मको पहिलो प्याकेज र नेता चोकदेखि मिलन चोकसम्मको दोस्रो प्याकेज निर्माणको ठेक्का श्रेष्ठ–रमन–एपेक्स जेभीले पाएको थियो ।

घिनाघाट–विराटचोक सडकअन्तर्गत मिलनचोकदेखि पुष्पलाल चोकसम्मको तेस्रो प्याकेजअन्तर्गत सिङ्घीया खोलामा पुल निर्माणको काम भइरहेको छ । तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७६ भदौ २३ गते शिलान्यास गरेको विराटचोक–घिनाघाट सडकलाई विराटनगर प्रवेश गर्ने कोशी राजमार्गको विकल्पका रूपमा हेरिएको छ ।

एक अर्ब ३० करोड रुपैयाँ लागतमा निर्माण सम्झौता भएको यो सडकले विराटनगर र प्रदेशको पूर्वी क्षेत्रको दूरीमात्र छोटो बनाएको छैन, त्यस क्षेत्रको शिक्षा, स्वास्थ्य र रोजगार अभिवृद्धिमा मद्दत गरेको छ ।

प्रदेश सरकारको कूल ६७ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको अर्को प्रदेशिक सडक किसानचोक–टाँडी–आइतबारे–रवी अन्तिम चरणमा पुगेको छ ।

कुल १९ किलोमिटर सडक भेडेटारदेखि राँके हुँदै पाँचथर सदरमुकाम फिदिम जोडिनेछ । सडक बनेसँगै स्थानीयले यातायात सुविधा पाएका छन् । जसकारण स्थानीयले उत्पादन गरेका खाद्यवस्तुले उचित बजार पाउन थालेका छन् भने त्यस भेगका बासिन्दा प्रादेशिक सडक हुँदै प्रदेश राजधानी विराटनगर आवतजावत गर्न पनि सहज भएको मिक्लाजुङ गाउँपालिका कार्यालयका उपाध्यक्ष दिनेश पौडेल बताउँछन् ।

पौडेलका अनुसार प्रदेश सरकारको पहिलो प्रादेशिक सडकका रूपमा निर्माण भइरहेको किसानचोक–टाँडी–आइतबारे रवि सडकका कारण त्यस क्षेत्रको पर्यटकीय विकासमा समेत मद्दत पुगेको छ ।

प्रदेश सरकारले २०७६ असोजमा पहिलो प्रादेशिक सडकका रूपमा यो सडकको योजना अघि सारेको थियो । सडकको शिलान्यास तत्कालीन प्रदेश सरकारका अर्थमन्त्री इन्द्र आङ्बोले गरेका थिए ।

पूर्वाधार विकास कार्यालय मोरङका सिनियर डिभिजन इन्जिनियर सुशील श्रेष्ठका अनुसार कोरोना महामारीका कारण सडक निर्माण केही ढिला भए पनि अहिलेसम्म ९४ प्रतिशत काम पूरा भइसकेको छ ।

त्यसैगरी सिँधुवादेखि शुक्रबारेसम्मको डबल लेनको सडक सकड बनेपछि शुक्रबारे, छथर र पाँचथरका पूर्वी भेगका स्थानीयको जनजीवनमा आमूल परिवर्तन ल्याइदिने अपेक्षा छ ।

तेह्रथुमको छथर गाउँपालिका तरकारी खेतीका लागि उत्कृष्ट मानिन्छ । दूध उत्पादन पनि यो क्षेत्रको प्रमुख आम्दानीको स्रोत हो । किसानले उत्पादन गरेका वस्तु तराईका जिल्लामा पुर्‍याउन प्रदेश सरकारले निर्माण गरेको सडकले सहजता भएको छथर गाउँपालिकाका किसान वीरबहादुर लामाले बताए । सडक बनेपछि गाउँको उत्पादन विराटनगर पु¥याउन समेत सहज भएको किसानहरू बताउँछन् ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ७ : ३० बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन