तस्बिर : एएनआई

अन्तर्राष्ट्रिय

मणिपुरमा म्यानमाबाट सन्दिग्ध आतंकवादी भित्रिएको सूचना, सीमाक्षेत्रमा उच्च सतर्कता

By खबरहब

September 21, 2024

नयाँ दिल्ली– युद्धग्रस्त म्यानमाबाट नौ सय सन्दिग्ध आतंकवादी भारतको मणिपुर राज्यमा प्रवेश गरेको खबरपछि भारतको उत्तरपूर्वी सीमामा सुरक्षा बललाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको एक सुरक्षा अधिकारीले बताएका छन् ।

मणिपुरलाई जातीय परिक्षेत्रमा विभाजन गर्दै मुख्यतया हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबिच एक वर्षभन्दा बढी समयदेखि आवधिक झडपले अशान्त बनाएको छ । 

पहाडमा बसोबास गर्ने कुकीहरूको म्यानमाका आदिवासी जनसङ्ख्यासँग सांस्कृतिक, पारिवारिक र धार्मिक सम्बन्ध रहेको छ  जहाँ सन् २०२१ मा सत्ता कब्जा गरेदेखि दर्जनौँ सशस्त्र समूहहरूले सेनासँग लडिरहेका छन् । 

मणिपुर सरकारका सुरक्षा सल्लाहकार कुलदिप सिंहले शुक्रबार स्थानीय गुप्तचर निकायबाट सन्दिग्ध आतंकवादीहरूले सम्भावित सीमा पार गरेको सूचना प्राप्त गरेको पुष्टि गरेका छन्। 

सिंहले सीमा चौकीलाई सतर्क गरिएको र सुरक्षा बलले दुर्गम क्षेत्रमा ‘कम्बाइङ अपरेसन’ सञ्चालन गर्ने बताए। 

महिनौँको सापेक्ष शान्तिपछि, यस महिना मणिपुरमा विद्रोही समूहबीच रकेट र ड्रोन आक्रमण हुँदा ११ जनाको मृत्यु भएको छ ।

गत हप्ता मेइतेई प्रदर्शनकारीहरूले कुकी समुदायलाई पछिल्लो आक्रमणको दोषी ठहराउदै उनीहरु विरुद्ध कारबाहीको माग गर्दै राज्यको राजधानी इम्फाल हुँदै विरोध प्रदर्शन गरेका थिए ।  

मेइतेई र कुकी समुदायबीच भूमि र सार्वजनिक रोजगारीको विषयमा लामो समयदेखि तनाव चलिरहेको छ  । 

सरकारी तथ्यांकअनुसार दुई समुदायबीचको द्वन्द्वका कारण लगभग ६० हजार  मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् भने कम्तिमा दुई सय जनाको मृत्यु भएको छ ।