लेकबाट बेँसी झर्न थाले भेडाका बथान « Khabarhub

लेकबाट बेँसी झर्न थाले भेडाका बथान


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

लमजुङ – चरनका लागि लेक तथा हिमाली भेग पुगेका भेडाका बथान लेकबाट बेँसी झर्न थालेका छन्। चिसो मौसम सुरु भएसँगै चरनमा समस्या आउन थालेपछि जिल्लाका घुम्ति गोठका गोठालाले आ–आफ्ना भेडाका बथान यतिबेला बेँसी झार्न थालेका छन्।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका निमित्त कार्यालय प्रमुख डा. सुनिल न्यौपानेका अनुसार जिल्लामा साना ठूला गरेर तीन सयभन्दा बढी घुम्ती भेडीगोठ रहेका छन्। ती सबै लेकबाट बेँसी झर्न थालेका छन्। सिउरुङ, घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायतका ग्रामीण क्षेत्रमा भेडीगोठ रहेका छन्।

गर्मीयाममा भेडाबाख्रा लेकतर्फ लैजाने गरेकामा चिसो मौसम सुरु भएसँगै बेँसीतर्फ पुनःफर्किएका भेडीगोठाला कमल अधिकारीले बताए। उनले भने, “गर्मीयाममा ६ महिना लेक र चिसोयामको ६ महिना बेँसीमा भेडीगोठ राख्ने गर्दछौँ। बेँसीमा झारिएका भेडाबाख्राका बथानको मल यहाँका खेतबारीमा प्रयोग हुने गरेको छ।”

क्व्होलासोथार गाउँपालिका–३ घलेगाउँका दिर्घराज घलेले गाउँका दुई वडाका भेडीगोठ रहेका र चिसो हुन थालेसँगै लेकबाट घलेगाउँतर्फ ल्याउन लागेको बताए।

त्यस्तै कास्कीको सिमाना डाँडा तिङ्जेमा रहेको पसगाउँको भेडीगोठ यतिबेला क्युबे–ल्हेदे हुँदै गाउँतर्फ फर्किन थालेको स्थानीयको भनाइ छ। जिल्लाको उत्तरी ताघ्रिङ्का भेडीगोठ यसअघि थुर्जुलेक पुगेकामा अहिले ठूलागी आइपुगेको र केही हप्तापछि गाउँमै ल्याइने छ।

विशेष गरी गुरुङ समुदायको पुर्खौँली चलन तथा पेसाको रुपमा भेडिगोठलाई लिइन्छ। लमजुङका भेडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना दूध पोखरीनजिकै थुर्जु तथा लमजुङ हिमालको काखलगायतका ठाउँसम्म लैजाने गरिन्छ। पसगाउँको भेडीगोठ लमजुङ र कास्कीको सिमाना डाँडा तिङ्जेमा पुग्ने गर्दछ। उत्तरी लमजुङको ताघ्रिङका बासिन्दाको भेडीगोठ लके थुर्जु पुग्ने गरेको छ।

बेँसीमा रहेको बेलामा भेडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग गर्ने गरिन्छ भने, भेडाको ऊन निकालेर राडीपाखी, बख्खुलगायत सामग्री बनाउन प्रयोग हुने गर्छ। जिल्लाभर २३ हजार भेडाबाख्रा रहेको तथ्याङ्क छ। वार्षिक १० हजार किलो ऊन उत्पादन हुने गरेको छ। ऊनको प्रतिकिलो तीन सयमा बिक्री हुने गरेको छ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ६ : १७ बजे

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत