‘नेपालमा लैंगिक हिंसाको अवस्था र न्यूनिकरणका उपाय’ | Khabarhub Khabarhub

‘नेपालमा लैंगिक हिंसाको अवस्था र न्यूनिकरणका उपाय’



नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । विविधतायुक्त समाजमा सामाजिक समस्याहरू पनि विविध प्रकृतिका छन्, र तीमध्ये लैंगिक हिंसा गम्भीर समस्या बनेको छ । लैंगिक हिंसाले महिला, पुरुष, तेस्रोलिंगी र अन्य लैंगिक पहिचानका व्यक्तिहरूलाई प्रभावित पार्दछ । विशेषगरी, महिला र बालिका यस समस्याबाट बढी प्रभावित हुने गरेका छन् । लैंगिक हिंसाले व्यक्तिको शारीरिक, मानसिक र सामाजिक जीवनलाई मात्र नभई सम्पूर्ण समाजको संरचना र विकासलाई प्रत्यक्ष रूपमा प्रभावित पार्दछ ।

नेपालमा लैंगिक हिंसाको समस्या ऐतिहासिक, सांस्कृतिक र सामाजिक रूपमा जरा गाडेर बसेको छ । महिलालाई दोस्रो श्रेणीको नागरिकका रूपमा हेर्ने परम्परागत सोच, अशिक्षा, गरिबी, र लैंगिक असमानताको कारण यस समस्याले अझ गहिरो रूप लिएको छ । नेपालमा हुने लैंगिक हिंसाहरुलाई विभिन्न रुपमा हेर्न सकिन्छ ।

  • शारीरिक हिंसाः यसमा कुटपिट, शोषण र हत्या पर्दछन् ।
  • यौन हिंसाः बलात्कार, यौन दुव्र्यवहार र यौन शोषण ।
  • मानसिक हिंसाः गालीगलौज, धम्की र अपमानजनक व्यवहार ।
  • आर्थिक हिंसाः सम्पत्तिमा अधिकार नदिने, काम गर्न रोक लगाउने ।
  • प्रणालीगत हिंसाः जात, धर्म र लिंगका आधारमा भेदभाव ।

लैंगिक हिंसा नेपालमा जरा गाडेर बसेको पितृसत्तात्मक सोच, असमान सामाजिक संरचना, र आर्थिक तथा सांस्कृतिक कारकहरूको परिणाम हो । महिला र पुरुषबीचको असमानता, शिक्षाको अभाव, बेरोजगारी, र गरिबीले यस समस्यालाई थप जटिल बनाउँछ । ग्रामीण क्षेत्रहरूमा छाउपडी, बालविवाह, र दाइजो प्रथा जस्ता हानिकारक परम्परागत प्रथाहरू पनि लैंगिक हिंसाका कारण हुन् । साथै, कानुनी प्रणाली र सुरक्षा संयन्त्रहरू प्रभावकारी नभएका कारण पीडितहरूले न्याय पाउन नसक्ने समस्या पनि देखिन्छ ।

तथ्यांक र घटनाः
नेपालमा हरेक वर्ष सयौँ लैंगिक हिंसाका घटना दर्ता हुने गरेका छन् । प्रहरीको तथ्यांक अनुसार, घरेलु हिंसा, बलात्कार र यौन दुव्र्यवहारजस्ता घटनाहरू बढ्दो क्रममा छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा महिलामाथि तीन हजार ४८९ यौन हिंसा भएका छन्, जसमा दुई हजार २५५ बालिका छन् । कुल संख्याको यो ६४ प्रतिशत हुन्छ । प्रहरीमा परेको उजुरी अनुसार उनिहरुमाथि सबैभन्दा बढी यौन हिंसा भएको देखिन्छ । प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार यौन हिंसाअन्तर्गत बलात्कार, बलात्कार प्रयास, अप्राकृतिक मैथुन, सार्वजनिक स्थलमा यौनजन्य दुव्र्यवहार तथा बालयौन दुव्र्यवहारजस्ता अपराध पर्दछन् ।

यस बाहेक एक वर्षमा बलात्कारका दुई हजार ५०७, बलात्कार प्रयासका ४६०, बालयौन दुरुपयोग र दुव्र्यवहारका ३६३ र बलात्कार गरी हत्याका ६ घटना भएको प्रहरीको तथ्याङ्क छ । जसममा पनि ५४ जनालाई बन्धक बनाएर बलात्कार भएको छ भने १९ जनालाई मानव बेचबिखन गरी बलात्कार भएको छ । यौनजन्य हिंसाका घटना सबैभन्दा धेरै कोशी प्रदेशमा दर्ता भएको तथ्याङ्क छ । कोशीमा ७३६, लुम्बिनीमा ५८४, मधेशमा ४६६, काठमाडौं उपत्यकामा ४६२, बागमतीमा ४११, सुदूरपश्चिममा २८९, कर्णालीमा २५७ तथा गण्डकीमा २३६ घटना दर्ता भएका छन् ।

प्रहरीको तथ्याङ्क अनुसार घरेलु हिंसाका घटना भने सबैभन्दा धेरै मधेश प्रदेशमा दर्ता भएका छन् । कुल १६ हजार ४३४ घटनामध्ये पाँच हजार ५९६ मधेश प्रदेशका छन् । त्यसपछि धेरै लुम्बिनी प्रदेशमा दुई हजार ७९६, काठमाडौं उपत्यकामा दुई हजार २५८, कोशीमा एक हजार ६३३, बागमतीमा एक हजार ३३८, सुदूरपश्चिममा एक हजार २१४, कर्णालीमा ८८० र गण्डकीमा ५०१ घटना दर्ता भएका छन् । महिला पुर्नस्थापना केन्द्र (ओरेक) का अनुसार, सन २०२३ मा मात्र ३००० भन्दा बढी महिलाले घरेलु हिंसाको उजुरी गरेका थिए । बलात्कारका घटना बढ्दो क्रममा छन्, जसमा अधिकांश पीडित बालिका र किशोरी नै हुने गरेका छन् ।

लैंगिक हिंसाको प्रभाव
लैंगिक हिंसाले पीडितहरूको शारीरिक, मानसिक, र भावनात्मक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । यसले उनीहरूको आत्मसम्मान, विश्वास, र जीवनयापन क्षमतामा ठूलो असर गर्छ । परिवार र समुदायमा हिंसाको चक्र चलिरहँदा समग्र समाज अस्थिर बन्ने खतरा रहन्छ । साथै, यस्ता समस्याले महिलाहरूलाई आर्थिक र शैक्षिक अवसरहरूबाट वञ्चित गर्ने गर्दछ ।

लैंगिक हिंसाले पीडित र समाज दुवैलाई असर पार्छ । जसलाई व्यक्तिगत प्रभाव, समाजिक प्रभाव र आर्थिक प्रभाव गरि तीन खण्डमा विभाजित गरेर हेर्न सकिन्छ । व्यक्तिगत प्रभाव अन्तर्गत शारीरिक चोटपटक, मानसिक तनाव, आत्महत्या, र दीर्घकालीन स्वास्थ्य समस्या हुन सक्छन् । त्यस्तै सामाजिक प्रभाव अन्तर्गत परिवारभित्रको असमझदारी, सामाजिक असमानता, र सांस्कृतिक द्वन्द्व निम्तन सक्छ । त्यसैगरी आर्थिक प्रभाव अन्तर्गत महिलाहरूको उत्पादकत्वमा गिरावट, उपचार खर्चको बढोत्तरी, र आर्थिक अवसरको ह्रासको समस्या देखिन सक्छ ।

नेपालमा लैंगिक हिंसा न्यूनिकरणः चुनौती र समाधान
नेपालमा लैंगिक हिंसा एउटा गम्भीर सामाजिक समस्या हो, जसले महिला, बालिका र कतिपय अवस्थामा पुष तथा अन्य लैंगिक अल्पसंख्यक समुदायलाई समेत प्रत्यक्ष रूपमा प्रभावित गर्छ । लैंगिक हिंसाले व्यक्तिगत जीवन, पारिवारिक संरचना, र समग्र समाजमा गहिरो प्रभाव पार्ने गर्दछ । लैंगिक हिंसा न्यूनिकरणका लागि व्यक्तिगत, सामाजिक, र कानुनी तहमा सुधार आवश्यक छ । जसलाई बुँदागत रूपमा यसरी हेर्न सकिन्छ ।

शिक्षा र चेतना अभिवृद्धिः लैंगिक समानताको मर्म बुझाउन शिक्षालाई प्राथमिकता दिनुपर्छ । विद्यालय तथा समुदायमा लैंगिक शिक्षाका कार्यक्रम सञ्चालन गरिनुपर्छ । सञ्चारमाध्यमहरूबाट जनचेतना फैलाउनुपर्ने हुन्छ ।

कानुनी संरचनाको सुदृढीकरणः महिला तथा बालबालिकासम्बन्धी ऐनहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्छ । द्रुत न्याय प्रणाली तथा पीडित मैत्री सेवा केन्द्रहरू स्थापना गरी हिंसा प्रभावित व्यक्तिलाई तत्काल सहयोग उपलब्ध गराउनुपर्छ ।

आर्थिक सशक्तीकरणः महिलाहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्छ । रोजगारका अवसरहरू सिर्जना गरी महिलाहरूलाई सीपमूलक तालिमहरू प्रदान गर्नुपर्छ ।

सांस्कृतिक रूपान्तरणः लैंगिक हिंसासँग सम्बन्धित परम्परागत सोच र हानिकारक अभ्यासहरूलाई हटाउन समुदायस्तरमा काम गर्नुपर्छ । धार्मिक नेता र समुदायका अगुवाहरूलाई संलग्न गराई सकारात्मक सोचलाई प्रवद्र्धन गर्न सकिन्छ ।

सरकारी र गैरसरकारी संस्थाको सहकार्यः सरकारी निकाय, स्थानीय तह, र गैरसरकारी संस्थाहरूले समन्वय गरेर हिंसा न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

प्रविधिको उपयोगः हिंसा प्रतिकार गर्न सहायक एप्स र हटलाइनहरूको व्यवस्था गर्न सकिन्छ । त्यसैगरी अनलाइन अभियानहरू र डिजिटल मिडियाको सदुपयोग गर्न सकिन्छ ।

लैंगिक हिंसा नेपालमा गम्भीर सामाजिक समस्या बनेको छ, जसले व्यक्तिको मात्र नभई सम्पूर्ण समाजको विकासलाई बाधा पु¥याएको छ । यस समस्याको समाधानका लागि सबै तहका नागरिक, समुदाय, सरकार र संस्थाहरू मिलेर अघि बढ्नुपर्ने आवश्यकता छ । शिक्षा, कानूनी सुधार, आर्थिक सशक्तीकरण र सामाजिक रूपान्तरणका माध्यमबाट लैंगिक हिंसाको समाधान खोज्न सकिन्छ ।

लैंगिक हिंसा न्यूनिकरणका लागि दीर्घकालीन योजना, समाजमा सकारात्मक सोचको विकास, र कानुनी तथा प्रशासनिक सुधार अपरिहार्य छ । नेपालमा लैंगिक समानता सुनिश्चित गर्न सबै पक्षबाट प्रयास आवश्यक छ । यसका लागि हामी सबैको सहकार्य र प्रतिबद्धता अनिवार्य छ । लैंगिक समानताको सपना साकार पार्न हामी सबैले आफ्नो स्थानबाट योगदान दिनुपर्छ । मात्र चेतना फैलाउने होइन, व्यवहारमा परिवर्तन ल्याउनु नै दीर्घकालीन समाधानको आधार हुनेछ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ९ : ५८ बजे

रामेछापमा जुनारको उत्पादन बढ्यो, किसान खुसी

रामेछाप– मन्थली र रामेछाप नगरपालिकाकाका विभिन्न वडामा जुनार पाकेर पहेँलपुर

मुग्लिन–काठमाडौं सडक दैनिक तीन घण्टा बन्द हुने

चितवन– मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको

पाको क्योकुशिनकी प्रमुख प्रशिक्षक सञ्जु महर्जनले पाइन अन्तर्राष्ट्रिय पाँचौँ डान

काठमाडौं – पाको क्योकुशिन कराते डो संघ नेपालको आयोजनामा बेल्ट

पर्वत अस्पतालमा फिजियोथेरापी सेवा सुरु

पर्वत– स्थापना भएको साढे तीन दशकपछि पर्वत अस्पतालमा ‘फिजियोथेरापी’ सेवा

साबिक विजेता सिटीको खराब प्रदर्शन जारी

काठमाडौं – इङ्लिस प्रिमियरसिपको खेलमा साबिक विजेता म्यानचेस्टर सिटीको खराब