नेप्सेमा एकैदिन ७३ अङ्कको उतारचढाव, के भन्छन् लगानीकर्ता ? « Khabarhub

अर्थ

नेप्सेमा एकैदिन ७३ अङ्कको उतारचढाव, के भन्छन् लगानीकर्ता ?


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार प्रिओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे २४ अङ्कले बढ्दा लगानीकर्तामा उत्साह देखियो । ११ बजे बजार खुल्नासाथ त्यस्तो उत्साह देखिन थालेको थियो ।

पाँच मिनेटमै लगानीकर्ताले आक्रामक ढङ्गले शेयर खरिद थाले । नेप्से यसरी बढ्यो कि केही मिनेटमै सकारात्मक सर्किट हानिहाल्छ जस्तो लाग्थ्यो ।

तर; परिसूचक २६४३.५१ विन्दुमा पुग्नसाथ बजार एकाएक ओह्रालो लाग्न थाल्यो । बिक्रीकर्ताले ६ मिनेट अवधिमै अत्यधिक शेयर बेच्न थाल्दा ६ मिनेटको अन्तरालमा ३३ अङ्कले घटेर २६१० बिन्दुमा झर्‍यो ।

त्यसपछि बजारले लामो समयसम्म बुलको गति लिन सकेन । १२ः०८ बजे २५९५ विन्दुमा रहेको नेप्से त्यसपछि केही माथि जान खोजेको देखिएको थियो । तर, २६०७ विन्दुमा पुगेपछि भने निरन्तर ओह्रालो लाग्यो ।

निरन्तर ओह्रालो लागेको बजार दिउँसो २ः२६ सम्म आइपुग्दा परिसूचक २५७० विन्दुमा पुग्यो । त्यसपछि भने बजारले युटर्न लियो । २ः४१ मा बजार बढेर २५९१ विन्दुमा पुग्यो । त्यपछि फेरि बिक्रीकर्ता सक्रिय हुँदा २ः५० मा २५७३ विन्दुमा पुग्यो ।

२ः५० बजेसम्म पनि राताम्मे रहेको नेप्से १० मिनेटको अवधिमा बढेर २५८८.३५ विन्दुमा पुग्यो । यसरी एकै कारोबार दिनमा बजारले ७३.२४ अङ्कको उतारचढाव देखायो ।

अहिले लगानीकर्ताको मनोबल कमजोर भएका कारणले गर्दा बजारमा यस्तो उतारचढाव देखिएको लगानीकर्ता दीपेन्द्र अग्रवाल बताउँछन् । ‘बजार २–४ दिन जति हरियो भने भने लगानीकर्ताको मनोबल उच्च हुन्छ’, अग्रवालले भने, ‘त्यसपछि बजार माथि जान्छ ।’

सरकारले मौद्रिक नीतिको पहिलो समीक्षामा व्यक्तिगत मार्जिनमा लगाएको क्याप हटाउनसाथ लगानीकर्ताको मनोबल उच्च हुने अग्रवालको भनाइ छ ।

शेयर बजारमा दिनहुँ हुने उतारचढावलाई सामान्य रूपमा लिनुपर्ने शेयर प्रशिक्षक सुवासचन्द्र भट्टराई बताउँछन् । ‘शेयर बजारमा हुने उतारचढावलाई सामान्य रूपमा लिनुपर्छ’, भट्टराईले भने, ‘अगाडी किनेका व्यक्तिले अहिले प्रफिट बुक गरेकाले पनि बजारमा दैनिक रूपमा उतारचढाव आएको हो ।’

यसरी बजारले उतारचढाव देखाउँदा ३ हजार विन्दुमा नेप्से पुग्दा यताको सबैभन्दा कम कारोबार भयो । साउन ३१ गते नेप्सेले ३ हजारको विन्दु पार गर्दा २९ अर्ब ३० करोड रुपैयाँको शेयर कारोबार भइ नयाँ रेकर्ड बनेको थियो ।

त्यसयता आज सबैभन्दा कम ५ अर्ब ९ करोड २९ लाख रुपैयाँ बराबरको मात्र शेयर कारोबार भयो । ३ हजार विन्दुबाट बजार जसरी घटिरहेको छ – कारोबारमा पनि त्यसरी नै कमी आएको छ ।

अहिले दशैँको माहोल भएकाले गर्दा पनि कारोबारमा पनि कमी आएको हुनसक्ने शेयर विश्लेषक राजु पौडेल बताउँछन् । ‘शेयर बेचेरै दशैँ मनाउने भन्ने त नहोला’, पौडेलले भने, ‘तर, विगतका वर्षहरूमा पनि चाडबाडका बेला बजार घट्ने गरेको थियो ।’

अहिले विद्यार्थीहरूले पनि आफूसँग भएको शेयर बेचर गाउँ जाने तयारी थाल्ने, उद्योगी–व्यापारीहरूले पनि शेयर बेचेर दशैँका लागि सामान किनेकाले बजार घटेको पौडेलको तर्क छ । ‘अब दशैँअघि धेरै दिन कारोबार हुने समय छैन’, पौडेलले भने, ‘त्यसले गर्दा पनि चाडवाड सकिएपछि मात्र कारोबार रकम बढ्ला ।’

नेपाल शेयरधनी संघका उपाध्यक्ष कमल अधिकारी भने फरक मत राख्छन् । दशैँअघि नै बजार र कारोबार रकम दुबै बढ्ने उनको दाबी छ ।
‘अहिले माहोल राम्रो छ, बैंकमा पैसा थुप्रेको छ, बैंकको ब्याजदर घट्दो छ’, अधिकारीले भने, ‘दशैँका बेला रेमिट्यास पनि आउँछ, त्यसो हुँदा बजार र कारोबार दुबै बढ्छ ।’

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : ३३ बजे

फिशिङ लिंकयुक्त एसएमएसप्रति सतर्क रहन दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट आउने

चितवनबाट अपहरणमा परेका बालक काठमाडौंमा, पाँच भारतीय पक्राउ

काठमाडौं । चितवनबाट अपहरणमा परेका बालकको सकुशल उद्दार गरिएको छ

संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको

मुस्ताङका होटल-पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन