पहिलो रंगीन फिल्म निर्देशकको यात्रा : राजा वीरेन्द्रको १० हजार बक्सिस ! | Khabarhub Khabarhub

पहिलो रंगीन फिल्म निर्देशकको यात्रा : राजा वीरेन्द्रको १० हजार बक्सिस !


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


921
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्म क्षेत्रका लागि इतिहास हुन्- प्रेमबहादुर बस्नेत । उनी वि.सं. २०३४ सालमा प्रदर्शनमा आएको पहिलो रंगीन फिल्मका निर्देशक हुन् ।

८९ वर्षअघि काठमाडौंको ठमेलमा जन्मे-हुर्केका बस्नेत अग्रगामी सोचका कारण अमेरिका छोडेर भारतमा फिल्म पढ्न गएको बताउँछन्। उनी भन्छन्, ‘मलाई अरुले नगरेको केही काम गर्न मन थियो।’

अहिले उनी उमेरले वृद्ध भइसके। उमेरसँगै अशक्ता र दृष्टिले समेत धोका दिँदै गएको उनलाई महसुस हुन थालेको छ। तर आफूले निर्माण गरेको फिल्मबारे उनलाई एक-एक घटना आज पजि ताजै छ। तर बस्नेतले निर्देशन गरेको पहिलो फिल्म ‘कुमारी’ हेर्न राजा वीरेन्द्रले हुकम दिए उनलाई आजसम्म पनि पत्तो छैन। अर्को कुनै फिल्म राजाले मन पराएर उनलाई दश हजार बक्सिस दिएको प्रसंग भने यसको अन्त्यमा उल्लेख गरिएको छ।

‘कुमारी’ फिल्ममा हिरोमा दोस्रो विकल्पको मान्छे छान्नुपर्ने बाध्यात्क परिस्थितिबारे उनले खबरहबसँग सेयर गरेका छन्।

५ वर्ष उमेर घटाएर विद्यालय भर्ना भएका बस्नेत कसरी बने निर्देशक ? जानौं उनको यात्रा :

बाल्यकालका रोचक कुरा
उमेरले ८९ वर्ष टेकेका बस्नेत नागरिकताभन्दा ५ वर्ष जेठा हुन्। नागरिकतामा उमेर घटाउने जुक्ति दिने व्यक्तिको नाम बिर्सिए पनि प्रसंग भने याद छ।

ठूलै भएपछि जुद्दोदय पब्लिक हाइ स्कुलमा भर्ना हुन जाँदा उमेर घटाएको प्रसंग सुनाउँदै उनी भन्छन्, ‘भर्ना गर्नेले उमेर कति भनेर सोधे। छेउमा भएका व्यक्तिले, ‘बाबु तिमीहरु जागिर खाने जात हो चाँडै रिटायर्ड भयो भने झ्याउँ हुन्छ’ भने। अनि मैले ५ वर्ष उमेर घटाएँ।’

त्यसबेला बस्नेतखाललाई राजाले टोपी लगाइदिएर आर्मीमा भर्ति गराउने चलन रहेको उनलाई टड्कारो याद छ। उनी थप्छन्, ‘जागिर पनि विवाह भएपछि राजाले बोलाएर टोपी लगाइदिन्थे। माथिल्लै पद दिन्थे। कप्तान बुवा खसेको रहेछ भने कप्तान नै दिन्थे।’

‘जुद्दोदय पब्लिक हाइ स्कुलमा भर्ना गर्नेले उमेर कति भनेर सोधे। छेउमा भएका व्यक्तिले, ‘बाबु तिमीहरु जागिर खाने जात हो चाँडै रिटायर्ड भयो भने झ्याउँ हुन्छ’ भने। अनि मैले ५ वर्ष उमेर घटाएँ।’

समकक्षीका न्वारन र बोलाउने नाम फरक भए पनि आफ्नो नाम एकमात्र भएको प्रसंग उनलाई रोचक लाग्छ। ‘म ठूलो हुँदासम्म काजी भनेर बोलाउँथे। एकदिन मुमालाई नाम सोधेँ । उहाँल तेरो नाम चिनामा प्रेमबहादुर हो तर बोलाउने नाम अर्कै राख्नुपर्छ, दुईवटा नाम हुन्छ भन्नुभयो,’ बाल्यकालमा आमासँगको संवाद स्मरण गर्दै उनी भन्छन्, ‘तर मलाई दुई नाम राख्न मन लागेन। बेलाउने विद्यालयमा पनि नाम प्रेमबहादुर नै लेखेँ।’

त्यस्तै, उनलाई बाल्यकालको रोचक लाग्ने घटना पहिलो पटक फिल्म हेर्दाको हो। अग्नि शमशेरको घरमा भारतीय चलचित्र ‘सिन्दूर’ हेर्दा आफूलाई पनि फिल्म बनाउन इच्छा जागेको उनी सुनाउँछन्।

‘त्यो बेलामा मलाई यस्तो फिल्म नेपालमा त बन्दैन भन्ने लाग्यो। तर मैले बिर्सिएँ फिल्म बनाउनुपर्छ भनेर। त्यही इच्छाले फिल्ममा लागेको भने होइन।’ उनी भन्छन्।

अमेरिका छोडेर भारत
२१ वर्षको उमेर एसएलसी पास गरेपछि शिक्षक बन्ने इच्छाले शिक्षा रोजेको बस्नेत बताउँछन्। सन् १९६२ सालमा स्नातक गरेपछि संयोगले पाँच महिना शिक्षक बनेको समेत अनुभव उनीसँग छ।

‘स्नातकपछि पोखरा जान हिँडेको थिएँ। त्रिशूलीमा चिनेका मास्टर शारदा श्रेष्ठसँग भेट भयो। सामाजिकको शिक्षक चाहिएकाले मलाई पढाउ भनेँ अनि त्यही बसेँ। सबै पढाउने भएकाले बढुवा भएर सहायक प्रध्यानाध्यापकसम्म भएँ।’ उनी पहिलो पटक जागिर खाँदाको अनुभव स्मरण गर्छन्। परिवारले राम्रो पढ्ने छोरा शिक्षकमा सीमित भएको रुचाएनन्। अमेरिकामा हवाइसम्बन्धी विषय र भारतमा फिल्म पढ्ने छात्रवृति आएकाले एउटा विकल्प रोज्न परिवारले दबाब दिएको उनी सुनाउँछन्।

पुनामा पढ्ढा साथी गम्भीर सिंहले खिचिदिएको फोटो………………..

उनी भन्छन्, ‘त्यसबेला अमेरिका पढ्न धेरै जान्थे। मलाई केही अग्रगामी काम गर्नुपर्छ भन्ने थियो। फिल्म पढ्न भारत गएँ। त्यहाँ फिल्म लेखन र निर्देशन पढेँ।’

भारतबाट फर्किएपछि पहिलो काम ‘प्रेरणा’ नामको वृत्तचित्र बनाएको उनी बताउँछन्। त्यपछि प्रचार विभागमा सेक्सन अफिसरमा जागिर खाएपछि कलाकारिता अगाडि बढेको उनको बुझाइ छ। उनी भन्छन्, ‘वि.सं. २०२० सालमा जागिर खाएको हुँ। मेरो तलब चार सय थियो। पैसा महँगो हुने त्यो समयमा राम्रो तलब हो।’

रंगिन फिल्म निर्देशन गर्ने अवसर
शाही नेपाल चलचित्र संस्थानको स्थापनापछि रंगिन फिल्म बनाउने निर्णयले आफूले नेपालको पहिलो रंगिन चलचित्रको निर्देशन गर्ने अवसर पाएको निर्देशक बस्नेत बताउँछन्। बस्नेत भन्छन्, ‘मैले जागिर खाएको हो। संस्थानको नै रंगिन फिल्म बनाउने निर्णय हो। मैले दिएको जिम्मेवारी मात्रै पूरा गरेको हो।’

थोरै प्राविधिक र सीमित प्रविधिमा फिल्म निर्माण गर्न बडो सकस परेको उनी सम्झन्छन्।

‘क्यामेरामेन श्याममोहन श्रेष्ठ भारतमा पढेर आएका थिए। भारतमा पढेर आएका तपननाथ शुक्ला र इङ्ल्यान्डमा पढेर आएका गंगालाल पिखा साउन्ड पढेर आएका थिए। उनीहरुले मिलेर साउन्डको काम गरे। मसँग यही प्रविधिक टिम थियो।’ उनी सम्झन्छन्।

स्टुडियोको अभावले घरबाटै सामान लगेर जुगाड सेट बनाए पनि रेकर्ड, मिक्सिङ र सम्पादन भारतमा भएको उनी बताउँछन्।

उनी भन्छन्, ‘घरबाटै सामान लगेर सेट बनाउँथेँ। इनडोर सुटिङमा अफिसमा नै हुन्थ्यो। साँघुरो भएकाले क्यामेरा मोमेन्ट गर्न एकदमै सकस हुन्थ्यो। फेरि रिलबाट खिच्ने भएकाले कस्तो खिचियो हेर्न पनि भारत पठाउनुपर्ने अवस्था थियो। प्रविधिको एउटा दायरा थियो।’

सरकारले बनाएको फिल्म भएर बजेटको पाटो भने सहज भएको र ५० दिनभित्रै सुटिङ सकिएको उनी बताउँछन्।

राजाले दिएको हुकुम
०३३ सालमा कुमारी निर्माण भएपनि ०३४ सालमा प्रदर्शनमा आएको हो। त्यसबेला राजाले फिल्म हेरेर दरबारका सबैलाई हेर्ने हुकुम दिनुको कारण भने बस्नेतले अझै पत्तो पाएका छैनन्।

उनी भन्छन्, ‘किन हुकुम भयो थाहा छैन। तर दरबारका सबैले हेरे।’ नेपालको एकमात्र रंगिन फिल्म भएकाले विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘कुमारी’ले स्थान पाएको उनी बताउँछन्। आफूलाई विश्व भ्रमण गराउने जश पनि यही फिल्मलाई दिन्छन्।

नेपालको एकमात्र रंगिन फिल्म भएकाले विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘कुमारी’ले स्थान पाएको उनी बताउँछन्। आफूलाई विश्व भ्रमण गराउने जश पनि यही फिल्मलाई दिन्छन्।

उनी भन्छन्, ‘धेरै देशमा यो फिल्म लिएर गएँ म। अमेरिका र चीन भने जान पाइनँ। तर फिल्म त्यहाँ पनि देखाइएको थियो।’

कलाकार छान्न स्वतन्त्रता


त्यसबेला अन्य निर्देशक तुलनामा कलाकार छान्ने स्वतन्त्रता अलि बढी आफूले पाएको निर्देशक बस्नेतलाई महसुस हुन्छ।

यद्यपि मन्त्रीहरुले कलाकारका लागि सुझाव भने नदिएका होइनन्। तर आफूले स्क्रिप्टअनुसार कै कलाकार खोजेको उनी बताउँछन्।

उनी थप्छन्, ‘नेवार समुदायमा आधारित कथा थियो। त्यो समुदायसँग मिल्ने अनुहार भएकोले चैत्यदेविलाई नायिका बनाएँ। अभिनय पढेको ऊ चलचित्र संस्थानमा मसँगै जागिर पनि गर्नुहुन्थ्यो।’

नायकको हकमा भने दोस्रो विकल्प लिन बाध्य भएको किस्सा उनीसँग छ। उनी सुनाउँछन्, ‘हिरो सल्यान केसीलाई लिएँ। ऊ पहिलो रोजाइ भने थिएन। उसलाई मैले पहिला पनि देखेको थिएँ तर दोस्रो विकल्पमा थियो। अर्कै हिरोलाई लिने तयारी थियो त्यो केटाले काण्ड गरेर प्रहरीमा उजुरी पर्‍यो।’

किन बनाउनु भएन दोस्रो फिल्म ?

सरकारको बजेटमा फिल्म बनाउँदा प्रक्रियागत झन्झटले दोस्रो फिल्म निर्देशनतर्फ इच्छा नभएको निर्देशक बस्नेत अनुभव सुनाउँछन्। कुमारी निर्माणपछि अन्य व्यक्तिले निजी लगानीमा बनेका फिल्म निर्देशनका लागि आग्रह गर्दा पनि आफूले काम नगरेको उनी बताउँछन्। ‘एक त मलाई व्यवसायिक फिल्ममा मोह थिएन। दोस्रो पैसा भएका र फिल्मबारे ज्ञान नभएका व्यक्ति मात्रै मसँग आए’, उनी भन्छन्।

ठूलो लगानी लाग्ने भएकाले फिल्मबारे ज्ञान नभएको पैसा खर्च गर्नु हुँदैन भन्ने सिद्धान्तले आफूले उनीहरुको फिल्म निर्देशन नगरेको उनी बताउँछन्। उनी थप्छन्, ‘फिल्म निर्देशन गरिदे भनेर कति आए आए। जनशक्ति थिएन त्यो बेला तर भोलि उनीहरुको लगानी उठेन भने त घर खेत नै जान्छ नि। ज्ञान नभएको मान्छेलाई खर्च गर्न लगाउनुहुँदैन भन्ने भयो।’

कुमारी फिल्म कुनै फिचर फिल्म बनाएपछि वृतचित्र र विभिन्न सरकारी संस्थाको प्रचारमुखी भिडियो सामग्री निर्माण गरेको उनी बताउँछन्।

राजाको बक्सिस
तत्कालीन राजा वीरेन्द्र विकासक्षेत्रको भ्रमण जाँदा खिचेको भिडियोलाई फिल्मका रुपमा देखाउने प्रचलन आफूले हटाएको बस्नेत बताउँछन्।
यस विषयमा राजाका मुख्यसचिवसँग आफैले दरबारमा मिटिङ गरेको उनी स्मरण गर्छन्। ‘त्यो प्रोजेक्ट मेरो हातमा आयो। हाकिमको सट्टामा म आफैँ दरबारमा मिटिङमा गएँ,’ उनी थप्छन्, ‘राजा त बहुमूल्य पद हो। जहाँ जानुभयो त्यही खिचेर फिल्म बनाउनु हुँदैन। यो राम्रो हुँदैन भने। राजाका मुख्य सचिवले मेरो कुरा चित्त बुझाउनुभयो।’ त्यसपछि राजा भ्रमणको दृश्य कम र स्क्रिप्ट राखेर फिल्म बनाएको उनी बताउँछन्।

उनी भन्छन्- २०३८ सालमा सुर्खेतमा राजाको सवारी हुँदा ‘सुर्खेत हिजो र आज’ बनाएँ। ०४२ सालमा पोखरमा भ्रमण हुँदा ‘पोखरा प्रकृतिको बरदान’ बनाएँ। यसरी निर्माण गरिएका फिल्म विशेष दिवसको मौका पारेर प्रदर्शन गरिने प्रचलन रहेको उनी स्मरण गर्छन्।

यसरी निर्माण गरेको पहिलो फिल्म ‘सुर्खेत हिजो र आज’बाट राजा खुसी भएर दश हजार बक्सिस दिएको बस्नेतको अविस्मरणीय क्षण हो। तर दश हजार पूरै पैसा आफूलाई राख्न नैतिकताले नदिएको उनी बताउँछन्। उनी थप्छन्, ‘मेरै लागि मात्र दिएको थियो त्यो पैसा तर फिल्म टिमले बनाउने हो। एक्लै राख्न मन लागेस टिमका सबैलाई बाँडे। मेरो भागमा २५ सय बचेको थियो।’

यसरी काम गर्दै जाँदा ०४९ सालमा रिटायर्ड भने पनि फिल्म सम्बन्धी कामले आजको मितिसम्म पनि व्यस्त रहेको उनी बताउँछन्।‘जागिरपछि विदेशी अवार्ड कार्यक्रमले व्यस्त भइयो। अहिले पनि फिल्मबारे नै कामहरु आउँछ।’ उनी मुस्कुराउँदै भन्छन्, ‘जे होस् आइ एम हेप्पी।’

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  १ : ३९ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न