मकैखेतीमा किसानको आकर्षण बढ्दो « Khabarhub

मकैखेतीमा किसानको आकर्षण बढ्दो


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

टीकापुर– पछिल्लो समय कैलालीका किसान मकैखेतीमा आकर्षित हुन थालेका छन् । तोरी बाली टिपेपछि तेस्रो बालीका रूपमा यस क्षेत्रका किसानले मकै खेती गर्ने गरेका हुन् ।

मकैखेती खाद्यान्नका साथै बस्तुभाउलाई दाना र घाँसका रूपमा प्रयोग गर्न सकिने भएकाले किसानको रोजाइमा पर्न थालेको स्थानीय बताउँछन् । सिँचाइ सुविधा भएका ठाउँका अधिकांश किसानले मकैखेती गरिरहेका छन् ।

यस वर्ष टीकापुर र जानकीका एक सय १५ किसानलाई मकैखेतीका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यान्वयन इकाइले सहयोग गरेको छ । यसबाहेक आफ्नै लगानीमा खेती गर्ने किसानको सङ्ख्या पनि बढिरहेको इकाइ कार्यालयले जनाएको छ ।

टीकापुरका परम रेग्मीले पाँच कट्ठा जमिनमा खेती गरेका छन् । दुईवटा भैँसी पालेका परमलाई मकै खेती गर्दा पशुपालनमा सहज भएको छ । ‘तोरीपछि मकै लगाएको छु । बारीबाट भैँसीका लागि घाँस, दानाको समेत जोहो भइरहेको छ’, उनले भने, ‘बचेको मकै बिक्री हुन्छ । अब गर्मी मौसममा हरियो घोगा बारीबाटै बिक्री हुन्छ ।’

मकैको बजार सहज, खाना तथा पशुका दाना बनाउन, हरियो घोगा बेचेर नगद आम्दानी गर्न सकिने भएकाले किसानको रोजाइमा पर्न थालेको इकाइका वरिष्ठ बाली विकास अधिकृत कमल तामाङले बताए । ‘दानाका रूपमा पशुलाई खुवाउन अत्यधिक प्रयोग हुन थालेको छ’, उनले भने, ‘पहिला रु २० देखि रु २५ मा बिक्री हुनेमा अहिले रु ३५ देखि रु ४० सम्म पर्छ ।’

यस वर्ष रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सहयोगमा एक सय तीन हेक्टर जमिनमा मकै खेती भइरहेको छ । बाह्र हेक्टरमा हाइब्रिड जातको र ९१ हेक्टरमा वसन्ते जातको मकै खेती गरिएको इकाइका बाली विकास अधिकृत तामाङले बताए । प्रतिकिसानले न्यूनतम १५ कट्ठादेखि छ हेक्टरसम्म खेती गरेका उनले जानकारी दिए । ‘दुई बाली स्याहारिसकेपछि मकैखेतीमा किसान लागिरहेका छन्’, तामाङले भने, ‘उत्पादित मकै बिक्रीका लागि बजारको अभाव छैन । भारतमा समेत निर्यात हुने भएकाले किसान आकर्षित हुन थालेका छन् ।’

मकैखेती गर्नका लागि किसानलाई आयोजना कार्यालयले बीउ, पोषक तत्व र यान्त्रिकीकरणमा सहयोग गरिरहेको बाली विकास अधिकृत तामाङले जानकारी दिए । बीउ रोप्ने मेसिन (प्लान्टर), गोड्मेल गर्ने मिनी टिलर र दाना छोडाउने मेसिन सहयोग गरिएको उनले बताए ।

‘उत्पादन प्रयोजनार्थ प्रयोग हुने सामग्री तथा आवश्यक उपकरण, परामर्शलगायत सहयोग गरिरहेका छौँ’, उनले भने, ‘किसानको मागअनुसार मकै गोडमेल गर्ने मिनी टिलर उपलब्ध गराउँदै आएका छौँ ।’ राम्रो आम्दानी हुने भएकाले किसानले अनुदान सहयोग र आफ्नै लगानीमा अरुण, रामपुर कम्पोजित, राजकुमार पाइनेरियमलगायत जातका मकैखेती गर्ने गरेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ३ : ४१ बजे

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको