केजरीवालको (अ)सफलताको कथा : म्यागासेसेदेखि हिरासतसम्म ! | Khabarhub Khabarhub

केजरीवालको (अ)सफलताको कथा : म्यागासेसेदेखि हिरासतसम्म !

आम आदमी पार्टी न वामपन्थी, न दक्षिणपन्थी


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा नयाँ वैकल्पिक राजनीतिक शक्तिको चर्चा हुँदा दिल्लीका मुख्यमन्त्री  अरविन्द केजरीवालको पनि बेलाबखत चर्चा हुने गर्छ । दिल्लीमा पार्टी गठन गरे लगत्तै सन् २०१३ मा कसरी केजरीवाल मुख्यमन्त्री बन्न सफल भए र लगातार तेस्रोपटक मुख्यमन्त्री बने भन्ने सफलताको चर्चा नेपालमा हुने गरेको छ । पछिल्लो विधानसभा चुनावमा दिल्लीका ७० सिटमध्ये ६२ सीट आम आदमी पार्टीले जितेको छ, जुन केजरीवालको चानचुने सफलता होइन ।

दिल्ली सरकारले गरेको आयकरसम्बन्धी नीतिगत निर्णयका कारण मदिरा व्यापारीलाई अनुचित लाभ भएको र राजस्वमा हिनामिना भएको दुई वर्षदेखिको आरोपकै सिलसिलामा बुधबार राति बहालवाला मुख्यमन्त्री केजरीवाल पक्राउ परेका छन् ।

जसले भ्रष्टाचारको विरोधमा दशकौं आवाज उठायो, उही व्यक्ति अहिले भ्रष्टाचारकै अभियोगमा पक्राउ परेपछि भारतीय राजनीति तरंगित बनेको छ । यो घटनाले आगामी लोकसभा चुनावमा केजरीवालको आम आदमी पार्टीको अवस्था के हुन्छ भन्ने आकलन पनि भइरहेको छ ।

त्यसो त नेपालमा पनि अहिले भ्रष्टाचारको अभियोगमा कृष्णबहादुर महरा, विनोद चौधरीजस्ता हाई प्रोफाइलमाथि गिरफ्तारी, सोधपुछ र वयानबाजी चलिरहेको छ । तर, महरा र चौधरीको पक्षमा न सडकमा कोही उभिएको छ, न सामाजिक सञ्जालमा कसैले उनीहरुमाथि सहानुभूति दिएको छ । तर, केजरीवाल गिरफ्तार हुँदा सिंगै दिल्ली आन्दोलित बनेको छ । मोदी सरकारले राजनीतिक पूर्वाग्रह साँधेको भन्दै केजरीवालको पक्षमा आवाज उठिरहेको छ ।

केजरीवालको निवासमा ईडीका सुरक्षाकर्मीले बुधबार राति दुई घण्टा लगाएर छापा मार्दा ७० हजार नगद फेला परेको थियो, जुन परिवारलाई फिर्ता गरियो । केजरीवालको मोबाइल भने प्रहरीले कब्जा गरेको छ । निवासबाट अन्य कुनै गैरकानूनी कागजात वा सामग्री फेला नपरेको जनाइएको छ ।

गिरफ्तारीको भोलिपल्ट प्रहरीले ईडी मुख्यालय र केजरीवालको निवास आसपास प्रदर्शन र हिँडडुलमा समेत रोक लगाएको छ । तथापि ठाउँ–ठाउँमा झडपका घटनाहरु भएका छन् ।

आपका कार्यकर्ताले केजरीवाल निर्दोष रहेको र लोकसभा चुनावको मुखमा मोदी सरकारले पूर्वाग्रह साँधेर लोकतन्त्रको हत्या गरेको आरोप लगाएका छन् । बीजेपीका कार्यकर्ताले भने भ्रष्टाचारको अभियोगलाई राजनीतिमा जोड्न नमिल्ने जिकिर गरेका छन् ।

बीजेपी बाहेक विपक्षी दलका देशैभरिका नेताहरुले केजरीवालको गिरफ्तारीको विरोध गरेका छन् । भारतीय सञ्चार माध्यमले जनाए अनुसार कांग्रेस नेता राहुल गान्धी, प्रियंका गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे, आरजेडीका नेता लालुप्रसाद यादव र तेजस्वी यादव, समाजवादी पार्टीका नेता अखिलेश यादव, एनसीपी (एससीपी) का नेता शरद पवार, तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिन, शिवसेना उद्धव ठाकरे गुटका प्रवक्ता आनन्द दुबे, केरलाका मुख्यमन्त्री पिनाराई विजयन, जम्मू कश्मीरका पूर्वमुख्यमन्त्री महबूबा मुफ्ती, कम्युनिष्ट पार्टीका महासचिव सीताराम येचुरी र तृणमूल कांग्रेसका नेता कुणाल घोषलगायतका नेताहरूले अरविन्द केजरीवालको गिरफ्तारीको निन्दा गरेका छन्।

आखिर केजरीवालले मदिरा घोटाला प्रकरणमा कुनै गडबडी गरेकै हुन् त ? या मोदी सरकारले उनीमाथि शत्रुता साँधेको हो ? यो विषयमा पक्कै पनि सम्बन्धित निकायले अनुसन्धान गर्ला, त्यहाँको अदालतले कुनै निचोड निकाल्ला । यहाँ चाहिँ हामीले केजरीवाल को हुन् र उनी कसरी राजनीतिमा उदाए भन्ने विषयमा मात्र चर्चा गर्न खोजेका छौं ।

को हुन् केजरीवाल ?

सामाजिक क्षेत्रमा नेतृत्व क्षमताका लागि म्यागासेसे पुरस्कार बिजेता केजरीवाल राजनीतिमा आउनुअघिसम्म सामाजिक कार्यकर्ता थिए । त्यो भन्दा पहिले उनी सरकारी जागिरे थिए । सरकारी कार्यालयमा हुने भ्रष्टाचारबाट दिक्क भएर उनले सरकारी जागिर छाडेका थिए ।

हरियाणामा जन्मेका केजरीवालले आईटी पढेका छन् । राजस्व विभागमा समेत काम गरेका उनले आयकर आयुक्त कार्यालयमा समेत काम गरे । त्यहाँ भ्रष्टाचार देखेपछि उनी त्यसको विरोधमा लागे । सन् २००६ देखि सरकारी जागिर छाडेर उनी सामाजिक अभियानमा लागे । उनकै आन्दोलनको प्रभावबाट भारत सरकारले सूचनाको हक (आरटीआई) सम्बन्धी कानुन कार्यान्वयनमा ल्यायो ।

केजरीवालले सन् १९९५ मा सुनीतासँग विवाह गरे । सुनीता सन् १९९३ कि ब्याचकी आईआरएस अधिकारी हुन् । विश्पश्यना ध्यान गरेका केजरीवाल शाकाहारी हुन् । उनीहरुका दुई सन्तान छन् ।

अन्ना हजारेको आन्दोलनदेखि आपको उदयसम्म

केजरीवालले नेतृत्व गरिरहेको आम आदमी पार्टी लोकपाल आन्दोलनबाट जन्मिएको हो । लोकपाल आन्दोलन भ्रष्टाचारीमाथि कारवाही गर्न जनलोकपाल विधेयकको माग गर्दै सन् २०११ मा अन्ना हजारेको नेतृत्वमा ‘इण्डिया अगेन्स करप्सन’ शुरु गरेको थियो ।

अन्ना हजारे भ्रष्टाचारविरोधी आन्दोलनलाई राजनीतिबाट अलग राख्न चाहन्थे । तर, पार्टी बनाउनुपर्छ भनेपछि केजरीवालसँग हजारेको मतभेद भयो । यही क्रममा क्रममा सन् २०१२ नोभेम्बर २६ मा भारतीय संविधानको ६३ औं वार्षिक उत्सवको अवसर पारेर केजरीवालले दिल्लीको जन्तरमन्तरबाट केजरीवालले आम आदमी पार्टीको औपचारिक घोषणा गरे ।

सन् २०१२ देखि नै जनलोकपाल आन्दोलनसँग जोडिएका मनीष सिसोदिया, बरिष्ठ अधिवक्ता प्रशान्त भूषण र विश्लेषक योगेन्द्र यादव लगायतले केजरीवाललाई साथ दिए । पूर्वप्रहरी अधिकारी किरण वेदी, सन्तोष हेगडे लगायतले भने हजारेलाई साथ दिए । केजरीवालले २ अक्टोबर २०१२ मा पार्टी बनाए ।

अन्ना हजारेसँग केजरीवाल

सन् २०१३ मा केजरीवालको पार्टीले झाडू चुनाव चिन्ह लिएर दिल्ली विधानसभा चुनावमा भाग लियो । पार्टी बनाएको वर्षदिन नपुग्दै आपले विधानसभाका ७० मध्ये २६ सिट जित्यो । त्यसबेला बीजेपी २८ सिट जितेर पहिलो पार्टी बनेको थियो । कांग्रेसकी मुख्यमन्त्री शीला दीक्षितको दल ८ सिटमा खुम्चियो । अन्ततः कांग्रेसको समर्थनमा केजरीवाल भारतकै सबैभन्दा कम उमेरको (४५वर्ष) मुख्यमन्त्री बने ।

तर, मुख्यमन्त्री बनेको ४९ दिनपछि विधानसभाले लोकपाल विधेयक प्रस्तुत गर्ने प्रस्ताव अस्वीकार गरेपछि केजरीवालले राजीनामा दिए ।

केजरीवालको कब्जामा दिल्ली

अन्ना हजारेसँगै भ्रष्टाचार विरोधी अभियानबाट राजनीतिमा उदाएका केजरीवालले भूइँमान्छेको विश्वास जितेर ९ वर्ष दिल्ली सरकारको मुख्यमन्त्री चलाइसकेका छन् । अहिले पनि दिल्लीमा उनको पार्टीको बलियो पकड छ । राष्ट्रिय मिडियाले केजरीवाललाई साथ नदिए पनि उनले जनस्तरबाट राम्रो समर्थन पाउँदै आएका छन् । यसैको परिणााम स्वरुप उनको गिरफ्तारीपछि दिल्ली आन्दोलित भएको छ ।

केजरीवालको गिरफ्तारीपछि अब दिल्लीको मुख्यमन्त्री को बन्ला भन्ने चर्चा शुरु भएको छ । आपका ठूला नेताहरु पक्राउ परेको अवस्था छ । यसअघि नै आपका शीर्ष नेता एवं पूर्व स्वास्थ्यमन्त्री सत्येन्द्र जैन, पूर्वउपमुख्यमन्त्री मनीष सिसोदिया र राज्यसभाका सांसद सञ्जय सिंह पक्राउ परिसकेका छन् ।

दिल्ली विधानसभाको सिट संख्या ७० छ । यसमध्ये अरविन्द केजरीवालको आम आदमी (आप) पार्टीले ६२ सिट जितेको छ भने भारतीय जनता पार्टी (बीजेपी) ले ८ सिट जितेको छ । उपमुख्यमन्त्री पद यसअघि नै रिक्त छ । आम पार्टीका एकाध नेताहरु पक्राउ पर्ने र केजरीवाल पदमुक्त हुने अवस्था आयो भने पनि आप पार्टीको बहुमत गुम्ने र बीजेपीले मुख्यमन्त्री पाउने सम्भावना छैन ।

केजरीवालको गिरफ्तारीपछि उनकी पत्नी सुनीता केजरीवाल, मन्त्री अतिशी र सौरभ भारद्वाजको नाममा भावी मुख्यमन्त्रीका रुपमा चर्चामा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, आपका नेताहरुले केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् । मन्त्री अतिशीले भनेकी छन्, ‘आवश्यक प¥यो भने उहाँले जेलबाटै सरकार चलाउनुहुन्छ ।’

लोकसभा र राज्यसभामा आपको उपस्थिति

भारतमा बीजेपी, कांग्रेस र ममता बनर्जीको तृणमूल कांग्रेसपछि केजरीवालको आम आदमी पार्टीले पनि राष्ट्रिय दलको मान्यता पाएको छ । यो पार्टीले पञ्जावमा समेत संगठन विस्तार गरेको छ भने हरियाणा र गुजरातमा पनि आफ्नो उपस्थिति जनाउन थालेको छ ।

दिल्लीमा २०१३ मा २९ प्रतिशत मत पाएको आपले २०१५ मा ५४ प्रतिशत र २०२० मा ५३ प्रतिशत मत पाएको छ । विधानसभामा अप्रत्याशित जित हात पारेको आपले सन् २०१४ को लोकसभा चुनावमा दिल्लीबाट ३२.९ प्रतिशत भोट पाए पनि ७ सिटमध्ये एउटा पनि जितेन । केजरीवाल वाराणसी गएर मोदीसँग चुनाव लडे तर २० प्रतिशतभन्दा बढी मतान्तरले हारे । त्यसपछि पार्टीभित्र केही खटपट पनि भयो । लगत्तै केजरीवाल ‘मिसन विस्तार’ अभियान लिएर अरु राज्यमा पनि पुग्न थाले ।

लोकसभामा आपले पञ्जावबाट २०१४ मा ४ सीट जितेको थियो । सन् २०१९ मा १ सीट मात्र जितेको छ । तर, पञ्जावको मुख्यमन्त्रीमा भने आपकै नेतृत्व छ । पञ्जावमा दुई वर्षयता आम आदमी पार्टीका नेता भगवंत सिंह मुख्यमन्त्री छन् ।
सन् २०१७ को पञ्जाव विधानसभा चुनावमा आपले लोक इन्साफ पार्टीसँग मिलेर २२ सीट जित्यो, इन्साफले २ सीट जित्यो । गोआमा भने आपले सुरुमा जित्न सकेन तर, २०२२ को विधानसभामा २ सिट जितेको छ ।

पञ्जाव विधानसभामा २०१७ मा २० सीट जितेको आपले २०२२ मा ९२ सिट जितेको छ ।

मोदीको पकड मानिने गुजरातमा पनि आपले २०२२ मा ५ सिट जितेर विधानसभामा खाता खोलेको छ ।

राज्यसभामा हालसम्म आपका १० सांसद बनिसकेका छन् । जसमध्ये तीनजना गत जनवरी २९ मा हटेका छन् । बाँकी ७ जनाको कार्यकाल सन् २०२८ सम्म छ ।

अन्तरराष्ट्रिय त्रिकेट खेलाडी हरभजन सिंहदेखि पञ्जावका ‘हिरो अफ इन्भारयोमेन्ट’ बलबीर सिंह सिचेवालसम्म राज्यसभामा आपका सांसद छन् ।

लोकसभामा पञ्जावको जालन्धर निर्वाचन क्षेत्रबाट सुशील कुमार रिंकु आपका सांसद छन् । भगवन्त पनि लोकसभा सदस्य थिए तर मुख्यमन्त्री बन्ने क्रममा उनले राजीनामा दिए ।

मध्यमार्गी लाइन

दिल्लीका सामान्य जनताका मुद्दा, जस्तै– बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात र सरकारी सेवालाई जनमैत्री बनाउने नीति लिएको आम आदमी पार्टी न वामपन्थी दल हो, न त दक्षिणपन्थी नै ।

आम आदमी पार्टीको धारणा छ कि ऊ कुनै पनि विचारधाराबाट निर्देशित हुँदैन । केजरीवालको भनाइ नै छ, ‘हामी आम जनता हौं । यदि वामपन्थी विचारबाट समाधान हुन्छ भने हामी त्यहाँबाट विचार उधारो लिन्छौं । दक्षिणपन्थी विचारबाट समाधान मिल्छ भने त्यहाँबाट पनि खुशीसाथ विचार उधारो लिन्छौं ।’

( विभिन्न भारतीय सञ्चार माध्यमको सहयोगमा)

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ७ : २७ बजे

इलाम अपडेटः एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य