कबाड व्यवसायीको प्रश्न : अब हामीलाई बालेनले पाल्छन्‌ ? | Khabarhub Khabarhub

कबाड व्यवसायीको प्रश्न : अब हामीलाई बालेनले पाल्छन्‌ ?



काठमाडौं– यतिखेर कबाड व्यवसायी आन्दोलनमा छन् । घरघर पुगेर पुनःप्रयोगयोग्य फोहर सङ्कलन, निर्यात र प्रशोधन गर्ने व्यवसायीहरूले दुई दिनअघि ठूलै प्रदर्शन गरे ।

असुरक्षा र ध्वनि प्रदूषण कारण देखाउँदै काठमाडौं महानगरपालिकाले ३२ वटै वडाबाट कबाडखाना हटाउने निर्णय गरेपछि उनीहरू आन्दोलित भएका हुन् ।

महानगरको निर्णयले आफ्नो रोजीरोजी खोसिएको भन्दै सङ्कलकहरूलाई समेत समेटेर व्यवसायीहरू सडक आन्दोलन गरिरहेका छन् । प्रतिनिधि सभामा समेत केही सांसद्हरूले कबाड व्यवसायीका पक्षमा आवाज उठाइसकेका छन् ।

काठमाडौं महानगरपालिकाभित्र कबाड व्यवसाय सञ्चालन गरिरहेका केही व्यवसायीलाई हामीले प्रश्न गर्‍यौं– आफ्नो क्षेत्रभित्र स्थानीय कानूनअनुसार के राख्ने या नराख्ने भन्ने निर्णय महानगरले गर्दा तपाईंहरूलाई किन आपत्ति ? तपाईंहरूको खास समस्या के हो ?

जवाफमा उनीहरूले परिवारको लालनपालनदेखि व्यवसायमा खेप्नुपरेका दुःखका अनेक पोया फुकाए ।

यो सामग्री महानगरले गरेको निर्णयको पक्ष या विपक्षमा पैरवी गर्न तयार गरिएको होइन । कबाडखाना हटाउने निर्णयबाट कबाड व्यवसायीहरू आत्तिनुको कारणबारे केही प्रतिनिधिहरूको भनाइ समेटिएको छ ।

‘काम गर्न नदिने भए बालेनले पालुन्

सर्लाही घर भएका ३० वर्षीय मुकेश साहका बुवाआमा र दुई भाइबुहारी गाउँमा छन् । एक बहिनीको बिहे भइसक्यो । एसएलसीसम्म अध्ययन गरेका मुकेश वि.सं. २०६५ मा काठमाडौं आएका थिए ।

गरिबीकै कारण अध्ययन अघि बढाउन सकेनन् । ०६५ सालमा काठमाडौं आएर कबाडी उठाउने काम थाले । साथीभाइले यो काममा नगद आम्दानी हुन्छ, महिनामा राम्रै कमाइ गर्न सकिन्छ भनेर सुनाएपछि कबाड सङ्कलनमा लागेका थिए ।

घर घर पुगेर फोहोर उठाउँदै गर्दा उनले भित्रैदेखि अनुभव गरे– गरिबीले मान्छेलाई कताकता पुर्‍याएर अनेक गर्न बाध्य पार्दोरहेछ ।

मुकेशले पहिलो दिन ७०० रुपैयाँ कमाए । शुरू शुरूमा धेरैपटक यो काम छोड्न मन लाग्यो । मान्छेहरूले धेरै हेप्ने ! दोस्रो दर्जाको मान्छे जस्तो गर्ने !

‘हामीलाई अर्कै ग्रहबाट आएको जस्तो गर्ने गर्छन् । गरिबलाई जे जस्तो शब्दले बोल्न हुने जस्तो गर्छन्,’ मुकेशले भने, ‘मजबुरीले फेरि अर्को दिन काममा नगइ सुखै छैन । परिवार हेर्नुपर्‍यो । गाउँमै बसेर खेतीपातीबाट गुजारा गर्न जमिन छैन । कबाडी नउठाइ हातमुख जोर्ने उपाय छैन ।’

तीन वर्षसम्म साहुकहाँ कबाडीको काम गरेपछि आफैंले व्यवसाय शुरू गर्नुपर्छ भन्ने लाग्यो । साक्षी इन्टरप्राइजेज नाममा पाँच वर्ष अघि कम्पनी दर्ता गरे । सुरुमा ५ लाख रुपैयाँ ऋण लिएर लगानी गरे । बैंकबाट ऋण लिन धितो थिएन । गाउँको साहुकारसँग ३६ प्रतिशतमा त्यो रकम लिएका थिए ।

‘मलाई नपत्याएपछि आमाबुवा जमानी बसेर ऋण निकालिएको थियो, छोराले नतिरेपनि बाउआमाको एक सानो घर थियो । ऋण तिर्न सकेन भने त्यति जफत गर्ने भनेर साहुले ऋण दिएको थियो,’ मुकेशले सुनाए, ‘आमाबुवाले जोडेको सानो घर धितो राखेर ऋण लिँदा जस्तो डर मान्छेलाई अरू बेला नहुने रहेछ । केही गरी कमाउन सकिनँ भने ! यो पाँच लाख र ब्याज तिर्न सकिनँ भने के हालत होला भनेर निकै डराएँ । तर व्यापार गर्नु थियो ।’

अहिले उनको कबाडखानामा फलाम, सिसी, कागज, कार्टुन, पानीको बोटल, प्लाष्टिकको भाँडा, तामापित्तल लगायतबाट बनेका सबै सामान जम्मा हुन्छ । यस्ता सामान चाहिने पार्टीहरू कबाडखानामै किन्न आउँछन्‌ । उनको कबाडखानामा अहिलेहाल २० जनाले काम गर्छन्‌ । जसमा भारतीयहरू नै १० जना छन् ।

कामदारले जति सामान ल्याउन सक्छ- उसको कमाइ उत्ति नै हुन्छ । सङ्कलिन कबाडको मूल्य तत्कालै पाइन्छ । दिन या महिना कुर्नुपर्दैन । कमाइ राम्रै छ । अबलाई मुकेशले गरिबी र अभावका पहाड नाघ्नै लागेका छन्‌ ।

तर अहिले महानगरपालिका कति बेला आएर भत्काइदिन्छ भनी डरैडर भएको उनी बताउँछन्‌ । एक सामान्य कबाडखानामा ५० लाखदेखि ६० लाख रुपैयाँसम्मको सामान हुन्छ । आएर डोजर चलाइदिँदा त्यो सबै नष्ट हुन्छ ।

‘त्यसो नहोस्‌ भनी कामना गरेर बसिरहेका छौँ । महानगर काम गरेर खानेहरूप्रति धेरै निरकुंश नहोस् ! अब अर्को काम गर्न सकिँदैन । अरू कुनै सीप छैन,’ मुकेशले भने, ‘थोत्रा सामानमै हाम्रो मन बसिसक्यो । पहिलो काम नै साइकल लिएर कबाड उठाउन हिँडेको हो । अरू काम गर्दा खान पनि पुग्दैन जस्तो लाग्छ ।’

उनलाई विदेश जान मन कहिल्यै लागेन । आफूसँगै पढ्ने धेरै साथी विदेश गए । के काम गर्दा कमाउन सकिन्छ ? कमाउन के गरौँ ? सोच्ने उमेरमै पनि विदेश जान मन नलागेको उनी बताउँछन्‌ ।

‘कबाडको काम गरेर जीवन निर्वाह गर्छु, तर विदेश जान्न भनेर बसेको मान्छे हो । अब यतिखेर कसरी जाने ?’ उनी प्रतिप्रश्न गर्छन्‌ ।

वैदेशिक रोजगारीमा गएकाहरू शव बनेर दिनहुँ देश फर्कने गरेको उनले देखेका छन्‌ । त्यो भन्दा बरु देशमै कबाडकै काम किन नगर्ने ? विभिन्न कारणले पेसाप्रति वितृष्णा हुँदा यही यथार्थ मनन गरेर चित्त बुझाउने गरेको मुकेश सुनाउँछन्‌ ।

कबाडको काम आफ्नो काम हो । साहुकहाँ बसेर गरेपनि आज यति मात्रै किन गरिस् ? भन्ने हुँदैन । आफ्नो इच्छा लागे गर्ने र इच्छा छैन, आज काममा जान्न भन्न पनि पाइयो । ३०/४० हजार कमाउन कसैको कुल्ली बन्नुपर्दैन । स्टाफलाई दिएर र भाडा तिरेर महिनामा करिब ५० हजार रुपैयाँजति नाफा रहन्छ । त्यो नै उनको कमाइ हो । वर्षमा २५ हजार रुपैयाँ भन्दा बढी रकम  नेपाल सरकारलाई कर तिर्ने गरेको उनी सुनाउँछन्‌ ।

बिहान साढे सात बजेदेखि बेलुका सात बजेसम्म फिल्डमा जानुपर्छ । बिहानभर डुलेर उनी १२ बजेतिर खाना खान आउँछन् । खाना खाएर एकछिन आराम गरेर फेरि जान्छन् । कबाडखानामै बस्छन् । यहीँ साथीहरू मिलेर खाना पकाएर खान्छन् । कोठाभाडा तिर्न पर्दैन ।

‘महानगरको निर्णयपछि हामी यो देशको नागरिक नै होइनौं ? हामीले गरिखान पनि नपाउनु भन्ने प्रश्न छ,’ मुकेश भन्छन्‌, ‘कबाडी भन्ने बित्तिकै इण्डियन धोती भन्ने ? नेपालीहरू धेरै छन् नि कबाडको काम गर्ने !’

आन्दोलनमा प्रशासनले धरपकड गरेपछि उनी आक्रोशित छन्‌ । ‘कमाइ खाने बाटो रोकिदिएपछि बालेनको घरमा आश्रय लिन जाने हो, सडकमा जाँदा प्रहरीले टाउको फुटाइदिएको छ । अब सरकारले लगेर पाल्नुपर्‍यो हामीलाई ।’

‘सडकमा धेरै पैसा छ’
४५ वर्षीय श्याम यादवको गृहजिल्ला सर्लाही हो । उनी परिवारसहित काठमाडौंमा बस्दै आएको २० वर्ष भयो । १३ र १५ वर्षका छोराहरू ९ र १० मा पढ्दैछन् । २०६१ सालमा उनी काठमाडौं आएका थिए । श्यामले ८ कक्षासम्म अध्ययन गरेका छन् ।

सानी आमाको व्यवहार राम्रो नभएपछि मामाघरमा बसे । त्यहाँ पनि नानानानी (मामामाइजू) धेरै वृद्ध भइसेको र मामाले नसकेपछि उनको पढाइ रोकियो ।

गाउँको स्कूलमा आठ कक्षासम्म मात्रै पढाइ हुन्थ्यो । गाउँमै माध्यामिक तहसम्म स्कूल हुन्थ्यो भने उनको एसएलसी पास गर्ने सपना पूरा हुने थियो । गाउँ बाहिर पढ्न राख्न नसक्ने भएपछि उनी गोठालोमै बाँधिए ।

‘अक्षर चिन्न मात्रै पढाइ गर्नको लागि पनि धेरै दुःख भयो । एसएलसी पास गरेको जवान छोरा बितेको भएर मामाले मलाई पढाउन मन गर्नुभएन । आमाबुवाको साथ नभएपछि मान्छेले पढ्न पनि नपाउने रहेछ । बाल्यकाल निकै कष्टदायी बित्यो,’ श्यामले दुःख सुनाए ।

०६१ सालमा काठमाडौं आएर पहिलोपटक कबाड सङ्कलनकै काम थाले । पहिलो दिन निकै लाज लाग्यो । कसरी बोल्ने ? पुराना थोत्रा सामान उठाउन हिँड्ने काम नराम्रो जस्तो लाग्यो । सबैभन्दा तल्लो स्तरको काम जस्तो लाग्यो । महिना दिन काम गर्दा पनि पेट भर्ने रकम जुटाउन सकेनन्‌ ।

श्यामले भने, ‘मानिसहरूले अपशब्द गरे । मैले अपमान सहेर काम गर्न सकिनँ । तर पेट पाल्ने बाध्यताले नगरी सुखै थिएन । यो काम छोड्ने कुनै विकल्प थिएन । गर्दै गएपछि सिक्दै गएँ ।’

त्यसबीच उनी सिलाइकटाइ सिक्न पनि गए । तर, त्यो काम खासै सिक्न सकेनन्‌ । लाग्योः कबाड सङ्कलन नै उनको गरिखाने मेसो हो ।

स्कूल पढ्दैदेखि विदेश जाने सोच थिएन । कक्षामा सरले ‘के बन्छौ ?’ भनेर सोध्दा ‘आफ्नै व्यवसाय गर्छु’ भनी जवाफ दिएका थिए । पढाइ थिएन, तर पनि विदेश जाने सोच पनि आएन र जागिर गर्ने सोच पनि आएन ।

‘सडकमा धेरै पैसा छ । ए.के. ट्रेडिङ कन्सर्न कम्पनी दर्ता गरेर काम गरेको छु । मेरोमा १५ जनाले काम गरेका छन् । महिनाको २० हजार रुपैयाँ भाडा तिर्छु । अहिले ६ महिनादेखि आम्दानी गर्न गाह्रो भएको छ,’ श्यामले भने, ‘आज पनि आफैँ कबाड सङ्कलन गर्न हिँड्छु । महिनामा कम्तिमा ४० देखि ५० हजार रुपैयाँ कमाइ छ ।’

उनले कबाड व्यवसायबाट घरखेत नै त जोडेको छैनन्‌ । तर, दुई छोरालाई काठमाडौंमा राखेर निजी विद्यालयमा पढाएका छन्‌ । खान बस्न र छोराछोरी पढाउन खासै दुःख छैन ।

तर, उनलाई अब फेरि दुःखको उही भूमरीमा फर्कनुपर्ने हो कि भन्ने डर लाग्न थालेको छ । उनी महानगरलाई प्रश्न सोध्छन्‌, ‘नयाँ रोजगार दिने भनेर मेला गर्ने र काम गरिरहेकोलाई लखेट्ने ? कार्यविधि बनाएर वबाडखाना व्यवस्थित गर्न हाम्रो आग्रह हो ।’

‘कबाडखानाको ग्यास मात्रै असुरक्षित ?’
कबाड व्यवसायी संघर्ष समितिका संयोजक सञ्‍जय साहले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको निर्णयले लाखौं श्रमिक बेरोजगार हुने स्थिति पैदा भएको आरोप लगाएका छन् ।

उनी भन्छन्, ‘मेयरले धोती र टोपीको राजनीति गर्न खोजे । आजसम्म हामीले शान्त र सामान्य आन्दोलन गरिरहेका हौं । यो आन्दोलनले उग्र रूप लियो भने त्यसको क्षति ब्यहोर्न महानगर तयार होस् ।’

‘काठमाडौंको जुठो बोकेर अन्त बस्न कसले दिन्छ ? काठमाडौंले बस्न नदिने, अरू नगरपालिकाले किन दिन्छ ?‘ उनी प्रश्न गर्छन्, ‘हरेक घरमा ग्यास छ, कबाडखानाको ग्यास मात्रै असुरक्षित भयो ?’

उनले प्रश्न थपे, ‘एयरपोर्ट नजिक बस्नेलाई जहाजको ध्वनिले असर गरिरहेको हुन्छ । उनीहरूले गुनासो गरे भने एयरपोर्ट उठाउन सक्नुहुन्छ ? ३२ वडामै कबाडखाना राख्न नदिने निर्णय भैसकेको छ । मेयरले हामीसँग बसेर छलफल गरेर उचित समाधान दिनुपर्‍यो ।’

समितिका अनुसार महानगरमा ८०० कबाड व्यवसायी छन् । त्यस्तै, नेपाली र भारतीयसहित एक लाख जना साइकलमा कबाड उठाउने छन् ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  १ : १९ बजे

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने भएका

आज गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल साउन ६ गते आइतबार तदनुसार

आज २०८१ साल साउन ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन ६ गते आइतबार तदनुसार

जापानमा कीर्तिमानी गर्मी, कृषि क्षेत्रमा विशेष जोखिम

टोकियो – जापानमा आइतबार जापानका २०० भन्दा बढी स्थानहरूमा अत्यधिक