तस्बिर : रोयटर्स

अन्तर्राष्ट्रिय

अलाबामामा गोली चल्दा चार जनाको मृत्यु, दर्जनौँ घाइते

By खबरहब

September 22, 2024

वासिङ्टन-अमेरिकी राज्य अलाबामामा एक सशस्त्र समूहले भीडमा गोली चलाउँदा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको प्रहरीले जनाएको छ ।

‘बर्मिङगमको फाइभ पोइन्ट्स साउथ जिल्लामा राति ११ः०० बजेपछि बन्दुकधारीले मानिसहरूको भीडमा गोली प्रहार गरेका हुन्,’ प्रहरी अधिकारी ट्रुम्यान फिट्जजेराल्डले स्थानीय सञ्चारमाध्यमलाई बताए ।

सुरक्षा अधिकारीहरूले दुई वयस्क पुरुष र एक वयस्क महिला गोली लागी फुटपाथमा लडेको फेला पारेको फिट्जगेराल्डले बताए । तिनै जनालाई घटनास्थलमा नै मृत घोषित गरिएको थियो भने घटनामा घाइते भएका चौथो व्यक्तिको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको उनले बताए ।

घटनामा दर्जनौँ मानिसहरू घाइते भएको फिट्जगेराल्डले बताए ।

‘प्रहरीले उक्त घटनासँग सम्बन्धित कसैलाई हिरासतमा लिएको छैन,’ प्रत्यक्षदर्शी नागरिकलाई अनुसन्धानमा मद्दत गर्न सक्ने कुनै पनि जानकारी प्रदान गर्न आग्रह गर्दै उनले भने ।

सङ्घीय अनुसन्धान विभाग र मादक पदार्थ, सुर्ती, बन्दूक र विष्फोटक पदार्थ नियन्त्रण विभागसहित धेरै विभागहरू अनुसन्धानमा खटिएका छन् । शनिबार राति घटनास्थलमा अग्नि नियन्त्रण अधिकारीको एक टोली त्यहाँ पुगेको थियो र त्यस क्षेत्रलाई घेराबन्दी गरिएको थियो।

‘गन भायोलेन्स आर्काइभ (जीवीए)’ का अनुसार यस वर्ष अमेरिकाभरि कम्तीमा ४०३ वटा  सामूहिक बन्दूक आक्रमणका घटना भएका थिए । अमेरिकामा यस वर्ष बन्दुक आक्रमणमा कम्तीमा १२ हजार ४१६ जनाको मृत्यु भएको जीवीएले जनाएको छ ।