समाचार

उपद्रो गर्ने आशंकमा झापाबाट दुर्गा प्रसाईंका दुईजना समर्थक पक्राउ

By खबरहब

September 22, 2024

झापा– बीएण्डसी हस्पिटलका सञ्चालक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेपछि उपद्रो गर्न सक्ने भन्दै दुई जनालाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरूमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राई छन् ।

आइतबार साँझ ५ः५ बजे बिर्तामोड –३, बिर्ताबजारस्थित निजी निवासबाट मैनालीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो ।

उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको डीएसपी प्रकाश विष्टले बताए ।

त्यस्तै साँझ ५ बजे कमल-४, सीतापुरीस्थित निजी निवासबाट दुरेन राईलाई इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक निशान थापाको कमान्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय दमकमा प्रहरी निगरानीमा राखिएको छ । प्रसाईं पक्राउपछि झापामा अराजक गतिविधि हुनसक्ने भन्दै सुरक्षाकर्मीहरूलाई सतर्क राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाकी निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दिइन् ।