अन्तर्राष्ट्रिय

हिजबुल्लाहले लियो इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन आक्रमणको जिम्मेवारी

By खबरहब

October 22, 2024

एजेन्सी – हिजबुल्लाहले मङ्गलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घरलाई लक्षित गरी गत हप्ता गरिएको ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ। साथै उसले इजरायली सेनाले आफ्ना केही लडाकूलाई पक्राउ गरेको स्वीकार गरेको छ ।

बेरुतको दक्षिणी उपनगरमा इजरायलले खाली गर्ने चेतावनी दिएको केही समयअघि हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफले उक्त स्थानमा आयोजित पत्रकार सम्मेलनमा यी कुराहरू बताए ।

एएफपीका एक भिडियो पत्रकारका अनुसार पत्रकारहरूले छोडेको केही मिनेटपछि सम्मेलन स्थलबाट सयौँ मिटर टाढाको लक्ष्यमा इजरायली आक्रमण भएको थियो ।

‘हिजबुल्ला नेतान्याहूलाई लक्षित गरी गरिएको कैसरिया अभियानको पूर्ण, सम्पूर्ण र एकल जिम्मेवारी घोषणा गर्दछ’, अफिफले भने । शनिबार नेतन्याहूले केन्द्रीय शहर कैसरियामा रहेको आफ्नो निवासतर्फ एउटा ड्रोन प्रक्षेपण गरिएपछि आफू र आफ्नी पत्नीको हत्या गर्ने प्रयास गरेको आरोप हिजबुल्लामाथि लगाएका थिए ।

अफिफले सङ्ख्या उल्लेख नगरी समूहका केही लडाकूहरू इजरायली सेनाद्वारा पक्राउ परेको पनि स्वीकार गरे । ‘हाल शत्रुको कब्जामा रहेका बन्दीहरूको विषयमा मलाई थाहा छ कि शत्रु युद्धको नैतिकता र अन्तर्राष्ट्रिय सम्झौताहरूप्रति प्रतिबद्ध छैन तर बन्दीहरूको जीवन संरक्षण गर्ने जिम्मेवारी उसको हो’, उनले भने ।

यसअघि इजरायली सेनाले लेबनानमा आफ्नो स्थल आक्रमणको सुरुआतदेखि जम्मा चार हिजबुल्लाह लडाकूलाई पक्राउ गरेको बताएको थियो र तीमध्ये एक जनाले प्रश्नहरूको जवाफ दिएको देखाउने भिडियो फुटेज जारी गरेको थियो ।

अफिफले समूहको माइक्रो–फाइनान्सिङ कम्पनी अल–कर्द अल–हसनले गत हप्ताको इजरायली आक्रमणअघि सबै आवश्यक सावधानीहरू अपनाएको र निक्षेपकर्ताहरूप्रति आफ्नो ‘दायित्व पूरा गर्ने’ प्रतिबद्धता जनाए ।

उनले भने, ‘यस्तो… आक्रमणको पूर्वानुमान गरेको थियो र सबै सावधानीहरू अपनाएको छ र निक्षेपकर्ताहरूप्रति आफ्नो दायित्व पूरा गर्न आवश्यक सबै काम गर्नेछ ।’