प्रधानमन्त्रीले मागे त्रिवि समस्या समाधानको प्रस्ताव « Khabarhub

प्रधानमन्त्रीले मागे त्रिवि समस्या समाधानको प्रस्ताव


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयमा देखिएका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज करिब तीन घण्टा भएको अनौपचारिक सिनेट बैठकमा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी, पब्लिक क्याम्पसलगायत क्षेत्रका प्रतिनिधिले क्षेत्रगत समस्या र समाधानका उपाय सुझाएका छन् ।

प्रधानमन्त्री ओलीले सबै क्षेत्रका समस्या र मागलाई समेटेर सरोकारवाला पक्षसँग थप छलफल गरी समाधानका उपायसहित निर्णय गर्नुपर्ने विषयहरू प्रस्तावका रूपमा ल्याउन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिए ।

गत मङ्सिर २७ गते कीर्तिपुरमा भएको विश्वविद्यालयको सिनेट बैठकमा प्रस्तुत कार्यसूचीमा पदाधिकारी र सिनेट सदस्यबीचको दूरी बढेको महसुस भएपछि कुलपति ओलीले विस्तृत छलफल गर्न आजका लागि समय निर्धारण गरेका थिए । सिनेट सदस्यहरूले कुलपतिस्तरबाट यस प्रकारको बैठक पहिलो पटक राखिएको र आफ्ना कुराहरू खुलेर राख्न पाइएको बताएकामा धन्यवाद दिएका थिए ।

सिनेट सदस्यका सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले पर्याप्त गृहकार्य र एक प्रकारको सहमति भएपछि औपचारिक बैठकमा प्रस्ताव ल्याउन आग्रह गरे । गत मङ्सिर २७ गतेको सिनेट बैठकका छलफललाई बङ्ग्याएर सामाजिक सञ्जालमा प्रस्तुत गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सिनेटरहरू सार्वजनिक खपतका लागि नभई समस्या समाधान र सुधारको मुख्य मुद्दामा तर्कपूर्णरुपमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले आफूलाई विश्वविद्यालयबाट व्यक्तिगतरुपमा लिनु दिनु (लाभहानी) केही नभएको स्पष्ट गर्दै त्रिविको विकास, रक्षा, प्रवर्द्धन र प्रगति नै साझा चिन्ता हुने भएकाले यसको मर्यादा, गरिमा र साखलाई जोगाउन आग्रह सबैलाई गरे ।

कुलपति ओलीले त्रिविको वेवसाइटमा यसका जनशक्ति, गरिएका काम र लक्ष्यहरूलाई सार्वजनिक गर्न आग्रह गर्दै यस खालको पवित्र संस्थामा पारदर्शिता कायम गर्न स्मरण गराए । ‘विश्वविद्यालयको शैक्षिक क्यालेण्डर पालना हुनुपर्छ । अनौपचारिक बैठक भए पनि यसलाई निर्देशन नै मान्दा हुन्छ । विश्वविद्यालयमा पारदर्शिता हुनुपर्छ । मेरिटोक्रेसी कायम हुनुपर्छ । उत्कृष्ट भएकालाई उत्कृष्ट नम्बर दिइनुपर्छ । फेल भएकालाई फेल गराइनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘मेरो भनाइ साँच्चैको मेरिटोक्रेसी होस् भन्ने हो । मलाई कुन डीनको कति मेरिटोक्रेसी छ मलाई थाहा छैन । को नियुक्त हुन्छ, त्यो मेरो रुचिको विषय होइन, मेरो रुचिको विषय यो विश्वविद्यालय सबल होस्, सक्षम जनशक्ति उत्पादन हुन् भन्ने हो । नियुक्तिहरूमा मेरो कुनै हस्तक्षेप हुँदैन । निर्णय गर्ने पदाधिकारीले हो, त्यसकारण सफलता र असफलताको जस तपाईँहरूले लिनुपर्छ । कुलपतिका हैसियतले राम्रो गर्नुस् भन्ने मात्रै मेरो चासो हो । यसलाई पनि हस्तक्षेप मानिए त आश्चर्यबाहेक अरु के मान्न सकिन्छ र ?’

उनले त्रिविको चल–अचल सम्पत्ति खोज बिन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयनका लागि कार्यदल बनाउनुपर्ने र प्रतिवेदन पर्याप्त नभएकाले थप अध्ययन गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले त्रिवि सेवा आयोगले नियमित परीक्षा लिने काम नगर्ने हो भने यसको औचित्यमा पुनः विचार गर्न आग्रह गरे ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराई, उपकुलपति प्रा डा केशरजङ्ग बराल, शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ४ : १५ बजे

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं मङ्गोलियन चेस

उपनिर्वाचनमा भाजपालाई धक्का : अध्यक्ष नीतिन नविनकै क्षेत्रमा जनसुरजका प्रशान्त किशोरको अग्रता

पटना- भारतका बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा क्षेत्रमा

पलको ‘आबाट आमा‘लाई उछिन्न सफल ‘गौँथली’, बन्यो सर्वाधिक व्यापार गर्ने १२ औँ फिल्म

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले कीर्तिमानी

कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

काठमाडौं- कोशी प्रदेश सरकारलाई लिएर नेकपा एमालेभित्रको विवाद पेचिलो बन्दै

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम– धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत