पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध करिब २७ करोड रुपैयाँ बराबरको बिगोसहित कास्की जिल्ला अदालतमा आइतबार सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दर्ता भएको छ ।
मुद्दाको प्रकृति हेर्दा उनी अब पुर्पक्षका लागि थुनामा जान सक्ने सम्भावना बढेको छ । लामिछानेलाई अदालतले पुर्पक्षका लागि थुनामा पठायो भने उनको सांसद पद के हुन्छ भन्ने जिज्ञासा धेरै मानिसहरुमा उत्पन्न भएको छ ।
लामिछानेविरुद्ध २७ करोड रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालत कास्कीमा सम्पत्ति शुद्धीकरणको मुद्दा पुगेसँगै सांसद पद स्वत: निलम्बनमा पर्ने सम्भावना बढेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले रविविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी तीनवटा कसुरमा मुद्दा अघि बढाइसकेको छ । अब उनलाई थुनामा पठाउने/ नपठाउनेबारे अदालतले थुनछेक बहस गर्ने छ र निर्णय सुनाउने छ ।
सम्पत्ति शुद्धीकरण ऐनअनुसार हेर्ने हो भने लामिछानेको सांसद पद स्वतः निलम्बन हुने देखिन्छ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा (२७) ले सार्वजनिक ओहोदामा रहेको व्यक्तिविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएमा पदबाट स्वत: निलम्बन हुने स्पष्ट रुपमा लेखेको छ । यसबमोजिम मुद्दा दर्ता हुनासाथ चितवन क्षेत्र नम्बर २ बाट दुई पटक निर्वाचित भइसकेका लामिछानेविको सांसद पद स्वतः निलम्बनमा जाने देखिन्छ ।
‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नलागेसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ,’ ऐनमा ब्याख्यासहित भनिएको छ ।
सम्पत्ति शुद्धीकरण ऐनको व्यवस्था-
पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेर कात्तिक ३ देखि रवि कास्की प्रहरीको हिरासतमा छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार रविसहित आज ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।
रविविरुद्धका तीन मुद्दामध्ये सम्पत्ति शुद्धीकरणले उनको सांसद पद स्वत:निलम्बनमा जाने भएको हो । यससँगै लामिछानेको सांसद पद दोस्रो पटक निलम्बन हुन लागेको हो ।
२७ करोडभन्दा बढीको बिगो दाबी
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीकी सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माले पूर्वगृहमन्त्री लामिछानेविरुद्ध २७ करोडभन्दा बढीको बिगो मागदाबीसहित सम्पत्ति शुद्धीकरण मुद्दा अगाडि बढाइएको बताइन् ।
लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दातर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको निष्कर्षसहित मुद्दा लगिएको हो ।
गोर्खा मिडिया नेट्वर्कमा उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीको ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँको स्रोत नखुलेको सम्पत्ति भेटिएको निष्कर्षसहित मुद्दा लगिएको छ। उनी गत असोज ६ गते काठमाडौंबाट पक्राउ परेयता ९१ दिनदेखि प्रहरीको हिरासतमा छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले रवि र छविसहित हाल फरार रहेका गितेन्द्रबाबु राई (जीबी) राईको पनि सम्पत्ति जफत गर्न माग गरेको छ।
प्रतिनिधिसभा नियमावलीको दफा २४८ को उपदफा ३ मा सांसदको पक्राउसम्बन्धी प्रावधान उल्लेख छ । यो दफा अनुसार कुनै पनि सांसदलाई तीन वर्ष वा सोभन्दा बढी कैद सजायँ हुने मुद्दामा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेमा अनुसन्धान अवधिभर सांसद पदबाट निलम्बित हुने भनिएको छ ।
हेर्नुहोस् प्रतिनिधिसभा नियमावलीको व्यवस्था-
प्रतिक्रिया