नेकपा माओवादी केन्द्र नेपालमा १० वर्ष सम्म चलेको सशस्त्र युद्धबाट संसदीय राजनीतिमा स्थापित भएको ठूलो कम्युनिष्ट शक्ति हो । २०६३ सालपछिको राजनीतिक घटनाक्रममा २०६४ सालको निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दल भएकोमा ८० सालको चुनाव सम्म आइपुग्दा निकै कमजोर शक्तिका रूपमा देखा परेको छ । निरन्तर नेपालको कम्युनिस्ट आन्दोलनमा विचलन आयो, नेपालका कम्युनिस्ट पार्टीहरू संगठित हुन सकेनन् । नेपालमा अर्को क्रान्ति आवश्यक रह्यो भन्ने आवाज उठिरहँदा माओवादी पनि पछिल्लो समय संसदीय राजनीतिमा आएपछि त्यो आरोपबाट अछुतो रहन सकेन । काँग्रेस किन माओवादीसँग टाढिँदै छ ? सत्ता साझेदारी संकटमा परेको हो ? नेकपा माओवादी केन्द्रका नेता हिमाल शर्मासँग रेडियो क्यान्डिडका लागि कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :
माओवादीको ओरालो यात्रा पार्टीकै लागि रक्षात्मक भएर छलफल गर्नुपर्ने गम्भीर एजेण्डा कसरी बन्न पुग्यो ?
हामीले धेरै समीक्षा गर्यौं । अरुको कारण नभई आफ्नै गतिविधि कार्यशैलीको कारण विचार परिष्कृत गरेर अगाडि जान नसक्दा पनि हामीमा केही समस्या आयो । यसबाट शिक्षा लिएर अब अगाडि बढ्न सकिन्छ र माओवादी पार्टी नेपालको पहिलो पार्टी बन्न सक्छ भन्ने हेतुले गएको महाधिवेशनबाट हामीले एउटा निष्कर्ष निकालेका हौं ।
त्यसो भए पार्टीको नेतृत्व तहमा पुगेकाहरू पार्टीको सिद्धान्तमा नचलेका हुन ?
हामीमाथि जनताले ठूलो अपेक्षा गरेका थिए त्यो पुरा गर्न सकेनौँ । मौका पाउँदा जे गर्नु पर्थ्यो त्यो गर्न सकेनौँ । समयले पर्खँदैन भन्ने पनि बुझ्न सकेनौँ । त्यस कारण हाम्रा कार्यशैलीहरू पनि बिग्रेर गए, त्यसबाट अब नयाँ नयाँ तरिकाले हामी अगाडि बढ्छौँ ।
पार्टीभित्र प्रभुत्व कसको भन्ने प्रश्न पनि आउला नि ?
पार्टीको आफ्नो संरचना हुन्छ । पार्टीको आफ्नो तहमा नेतृत्वको प्रभुत्व होला । यसलाई आम रूपमा हेर्नुपर्छ । आम जनतामा सबै पार्टी उस्तै रहेछन् भन्ने माओवादी किन चाहियो, भयो भन्ने भएको हाम्रो एउटा निष्कर्ष छ । यसलाई हामीले विचारमा पनि अप गर्न सकेनौं किनकि ०७२ सालसम्म संविधान निर्माण हुँदै गर्दा अब अगाडि कसरी बढ्छ त माओवादी भन्ने भन्दा पनि संसदीय राजनीतिमा नै रुमलियो ।
हामीले समाजवाद उन्मुख भनेर संविधानमा लेख्यौँ तर कार्यदिशामा देखाउन सकेनौँ । पुरानो कार्यदिशाले हामीलाई काम गरेन । कार्यदिशा अप गर्न नसक्नु पनि एउटा माओवादीमा एउटा समस्या हो भन्ने निष्कर्ष निकालेका छौँ ।
संसदीय व्यवस्थाबाट पार्टी नचल्ने रहेछ भन्ने निष्कर्ष हो ?
हो, अहिले भइरहेको तौरतरिका हेर्दा यो संसदीय राजनीतिबाट जनताले मुक्ति पाउँदैनन् । यो पुरानो परम्परागत संसदीय व्यवस्था त हैन तर त्यस्तै बनाउन खोजियो ।
अब यसलाई थोरै माथि राखेर जनताबाट निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था नगरेसम्म हामी अरु दलहरू यहीँ रुमलिँदा त्यसले स्थायित्व नपाउने, विकास र समृद्धिको बाटो पनि नखुल्ने, यही गन्जागोल हुने स्थिति देखिन्छ । त्यसमा स्वरूप पनि परिवर्तन गर्नुपर्छ भन्नेमा हामी लागेका छौँ ।
संसदीय राजनीतिमा तालमेल गरेर साम्यवादको बाटो निर्धारण गर्ने बनिबनाउ गफका भरमा माओवादीले कहिलेसम्म राजनीति चलाउने ?
हामीले संघीय संरचनाहरू जसरी थाल्यौँ, त्यहाँ अधिकार प्रत्यारोपण गर्न नसक्दा गणतन्त्र र संघीयता पनि के भयो र भन्ने मान्छेमा पर्यो । मुलुकमा संघीयता ल्यायौँ तर त्यसले पनि तल अधिकार, विकासका मूलहरू जसरी फुट्नु पर्ने हो त्यसरी भएन । केन्द्रबाट मुट्ठी नै फुकेन, मुट्ठी बाँधेर नै बसियो । यो भएको अधिकारलाई सही तरीकाले प्रत्यारोपण गरौँ र संविधानमा भएका मौलिक अधिकार लगायतका विषयलाई राम्रोसँग कार्यान्वयन गर्ने हो भने जनताले विकासको प्रत्याभूति गर्छन् ।
पार्टीभित्र दुई चार जना व्यापारी, ठेकदार र पारिवारिक सदस्य भन्दा बाहिर पार्टी नेतृत्व निस्किन सकेन भनेर बेला बखतमा आलोचना भइरहँदा नेतृत्वले त आफूलाई समीक्षाको कसीमा राख्न आवश्यक किन ठानेन ?
हामीले आन्तरिक रूपमा छलफल गरेका छौँ । पार्टी नेतृत्व देखि तल सम्म हामी बहकियौं । तलदेखि माथिसम्मको वर्गले धरातल छोड्यो । हाम्रो पूजीँपति वर्गलाई पनि धेरै वर्ष शासन सत्तामा बसिन्छ भन्ने लाग्यो । तर त्यो भएन र अरु वर्गले पनि पत्याएनन् । त्यस कारण आफ्नो धरातलमा टेकेर पार्टीको नेतृत्व गर्नुपर्छ ।
माओवादीमा त्याग र तपस्या गरेर आएको पुस्ता विधिको शासन सिद्धान्तको राजनीति भन्दाभन्दै राजनीतिबाट पलायन भयो । पैसा र शक्तिमा उदाएका व्यक्तिहरू पार्टीमा हाबी भए हैन ?
त्यसलाई अब सच्याउनु पर्छ । त्यस्ता प्रवृत्तिहरू हाम्रोमा पनि प्रशस्तै घुसेका छन् । हामीले दलाल पूँजीवादसँग लड्नु पर्छ भन्ने छ अहिले । राष्ट्रिय पूँजीको विकास गर्ने हाम्रो उद्देश्य हो तर त्यो अनुसारको नीति व्यवहारहरू निर्माण गर्नु पर्ने हो । हामी जसको विरुद्ध लड्ने भनिरहेका छौँ, त्यसैसंग घाँटी पनि जोड्छौं भने कसरी विकास हुन्छ भनेर पनि लागेका छौं ।
अब गठबन्धनका बारेमा पनि समीक्षा गर्ने बेला भएको हो ?
अहिले हामीले समीक्षा गर्दा माओवादीलाई नेपाली कांग्रेससँगको गठबन्धनले फाइदा गरेन । किनकि हामीले निर्वाचनमा पनि कांग्रेससँग मिलेर जितेको भनेको १८ सिट हो । आम रूपमा सबै क्षेत्रमा उम्मेदवार उठाएको भए पनि समानुपातिक मत बढ्थ्यो होला, सांसद्हरु बढ्थे होलान । उहाँहरूले पनि त्यही सोच्नु पर्छ र अहिलेको महासमिति बैठकमा पनि रुखमा बाहेक अन्त भोट नहाल्ने भन्ने प्रस्ताव स्पष्ट भएर आउनु प¥यो । अब हामीले पनि बरु हार्न तयार हुनु पर्छ तर एक्लै चुनाव लड्न तयार हुनु पर्छ भन्ने भन्ने हो ।
नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएको सत्ता मोह विचलनको प्रमुख कारण हो, तपाईँहरूको भोगाइ यात्रा त्यस्तै देखिँदै छ । के भन्नुहुन्छ ?
संसदीय राजनीतिमा प्रवेश गरिसकेपछि यस्तो बनाउने रहेछ । यसलाई पार्टीको मुख्य लिडरसिपहरू सत्तामा नजाने र पार्टीलाई वैचारिक तरिकाले नेतृत्व गर्ने शैली भयो भने चेक एण्ड ब्यालेन्स जस्तो हुने रहेछ । सत्ता र पार्टीका नेतृत्वहरू एक ठाउँमा हुँदा अलमलिएको अवस्था जस्तो हो ।
दलाल पूँजीवादका विरुद्धमा लड्ने हो भने तपाईँको जस्तो पुस्ता वा विचार भएकाले पार्टीभित्र नै लड्नुपर्ने बाध्यता होला नि ।
मल्टिपार्टी सिस्टममा दल कस्तो बन्छ र दलका नेतृत्व कस्ता बन्छन् भन्ने कुरासँग जोडिन्छ । पोलिसि लेबलमा पनि दलहरू नै छन् । त्यस कारणले दलमा राम्रोसँग अभ्यास भएन दलभित्र लोकतन्त्र दिन सकेन भने दुनियाँलाई दिन सक्दैन । त्यस कारण हामीले अहिलेको विधान अधिवेशनमा अध्यक्ष प्रचण्ड देखि सबै जना प्रत्यक्ष निर्वाचित हुनुप¥यो सबै जना कार्यकर्ताबाट चुनिनु पर्छ भनेर हामीले धेरै प्रयास गरेका छौँ । सम्भवत यसले सकारात्मक परिणाम देला ।
बाम विचारकहरू मिल्नुपर्छ भन्दै गर्दा हिजोका दिनमा पनि न्यूनतम तालमेल अधिकतम एकता भनेर एकता गरेको हो । नयाँ बहस थाल्दा इतिहासको पनि समीक्षा गर्नुपर्ला कि कसो ?
त्यसको पनि समीक्षा हामीले गरेका छौँ । जसका विरुद्ध लड्ने भन्ने हिसाबले जुन एकता भएको थियो, त्यो अनुसार हुन सकेन । उही दलाल पूँजीवादीहरुलाई पक्षपोषण गर्ने काम हुँदै आयो । तर वामपन्थी ध्रुवीकरण एकताको लागि यो विषय सकिएको छैन । किनकि यो सन्दर्भ अझै छ । लिडरहरूको एउटा व्यक्तिगत टकराबको कारण समस्या आएको हो । यसमा कार्यकर्ताको कुनै भूमिका छैन ।
कांग्रेससँगको सत्ता साझेदारीमा समस्या आएपछि विकास भएको विचार त हैन यो ?
यो एउटा बाध्यताको उपज थियो । संविधान नै खारेज हुन्छ कि भन्ने शंका भयो र अहिले त्यसलाई बचाउन पनि नेपाली कांग्रेससँग सहकार्य भयो । अब हामीले कसरी समाजवादी व्यवस्था ल्याउन सक्छौँ अथवा कसरी समृद्धि हासिल गर्न सक्छौँ भन्ने कुराहरू आयो भने त्यसको निम्ति छलफल हुनसक्छ ।
अहिलेको कार्यशैलीका कारण उब्जिएको असन्तुष्टि हो जस्तो लाग्दैन ?
अहिलेको नयाँ पुस्तालाई हामीले त्यो बेलाको अवस्था कस्तो थियो । त्यो बेला राजदरबारका मानिसहरू कानून भन्दा माथि थिए भनेर बुझाउन सकेका छैनौँ । अब पछाडि फर्किने हैन अगाडी बढ्दै जाने हो । माओवादीले आफ्नो वर्गीय हिसाबले जुन पंक्ति हाम्रो साथमा रहनुपर्ने हो, त्यसलाई हामीले नजर अन्दाज गर्यौँ ।
अबको माओवादीको सिंगो राजनीतिक यात्राको सम्भावित चित्र के देख्नु हुन्छ ।
हामीले पहिला आन्तरिक रुपमा विचारमा विकास गर्छौँ । सांगठनिक रुपमा पनि विकास गरेर जान्छौँ र अब विशेष महाधिवेशन गरेर विचारमा नै विकास गर्छौँ ।
समाजवादी क्रान्तिलाई आर्थिक र रोजगारीसँग जोडेर विकास गर्दै आम जनता र कार्यकर्तालाई स्पष्ट एउटा विचार निर्देशन गरेर जसरी जनयुद्धकालमा राजतन्त्र फ्याँकेर जनयुद्ध ल्याउने भनेको थियौँ, त्यसरी नै सुधार गर्छौँ । अब विशेष महाधिवेशन गरेर माओवादी पार्टी आफ्नो लयमा फर्किन्छ जस्तो लाग्छ ।
एमालेसँग राजनीतिक कार्यगत एकता हुने आधार छन् भन्ने लाग्छ ?
अहिले त्यस्तो लाग्दैन । समाजवादी क्रान्ति गर्ने हो भने एकताको अस्तित्व हुन्छ । यही सत्ता राजनीतिको दाउमा मात्र वरिपरि हुने हो भने किन एकता गर्नु ? एउटा लक्ष्य र उद्देश्यको लागि हो भने त्यसले सान्दर्भिकता ल्याउँछ ।
प्रतिक्रिया