माओवादीलाई कांग्रेससंगको गठबन्धन फापेन | Khabarhub Khabarhub

माओवादीलाई कांग्रेससंगको गठबन्धन फापेन



नेकपा माओवादी केन्द्र नेपालमा १० वर्ष सम्म चलेको सशस्त्र  युद्धबाट संसदीय राजनीतिमा स्थापित भएको ठूलो कम्युनिष्ट शक्ति हो । २०६३ सालपछिको राजनीतिक घटनाक्रममा २०६४ सालको निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दल भएकोमा ८० सालको चुनाव सम्म आइपुग्दा निकै कमजोर  शक्तिका रूपमा देखा परेको छ । निरन्तर नेपालको कम्युनिस्ट आन्दोलनमा विचलन आयो, नेपालका कम्युनिस्ट पार्टीहरू संगठित हुन सकेनन् । नेपालमा अर्को क्रान्ति आवश्यक रह्यो भन्ने आवाज उठिरहँदा माओवादी पनि पछिल्लो समय संसदीय राजनीतिमा आएपछि त्यो आरोपबाट अछुतो रहन सकेन । काँग्रेस किन माओवादीसँग टाढिँदै छ ? सत्ता साझेदारी संकटमा परेको हो ? नेकपा माओवादी केन्द्रका नेता हिमाल शर्मासँग रेडियो क्यान्डिडका लागि कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश : 

माओवादीको ओरालो यात्रा पार्टीकै लागि रक्षात्मक भएर छलफल गर्नुपर्ने गम्भीर एजेण्डा कसरी बन्न पुग्यो ?

हामीले धेरै समीक्षा गर्‍यौं । अरुको कारण नभई आफ्नै गतिविधि कार्यशैलीको कारण विचार परिष्कृत गरेर अगाडि जान नसक्दा पनि हामीमा केही समस्या आयो । यसबाट शिक्षा लिएर अब अगाडि बढ्न सकिन्छ र माओवादी पार्टी नेपालको पहिलो पार्टी बन्न सक्छ भन्ने हेतुले गएको महाधिवेशनबाट हामीले एउटा निष्कर्ष निकालेका हौं ।

त्यसो भए पार्टीको नेतृत्व तहमा पुगेकाहरू पार्टीको सिद्धान्तमा नचलेका हुन ?

हामीमाथि जनताले ठूलो अपेक्षा गरेका थिए त्यो पुरा गर्न सकेनौँ । मौका पाउँदा जे गर्नु पर्थ्यो त्यो गर्न सकेनौँ । समयले पर्खँदैन भन्ने पनि बुझ्न सकेनौँ । त्यस कारण हाम्रा कार्यशैलीहरू पनि बिग्रेर गए, त्यसबाट अब नयाँ नयाँ तरिकाले हामी अगाडि बढ्छौँ ।

पार्टीभित्र प्रभुत्व कसको भन्ने प्रश्न पनि आउला नि ?

पार्टीको आफ्नो संरचना हुन्छ । पार्टीको आफ्नो तहमा नेतृत्वको प्रभुत्व होला । यसलाई आम रूपमा हेर्नुपर्छ । आम जनतामा सबै पार्टी उस्तै रहेछन् भन्ने माओवादी किन चाहियो, भयो भन्ने भएको हाम्रो एउटा निष्कर्ष छ । यसलाई हामीले विचारमा पनि अप गर्न सकेनौं किनकि ०७२ सालसम्म संविधान निर्माण हुँदै गर्दा अब अगाडि कसरी बढ्छ त माओवादी भन्ने भन्दा पनि संसदीय राजनीतिमा नै रुमलियो ।

हामीले समाजवाद उन्मुख भनेर संविधानमा लेख्यौँ तर कार्यदिशामा देखाउन सकेनौँ । पुरानो  कार्यदिशाले हामीलाई काम गरेन । कार्यदिशा अप गर्न नसक्नु पनि एउटा माओवादीमा एउटा समस्या हो भन्ने निष्कर्ष निकालेका छौँ ।

संसदीय व्यवस्थाबाट पार्टी  नचल्ने रहेछ भन्ने निष्कर्ष हो ?

हो, अहिले भइरहेको तौरतरिका हेर्दा यो  संसदीय राजनीतिबाट जनताले मुक्ति पाउँदैनन् । यो पुरानो परम्परागत संसदीय व्यवस्था त हैन तर त्यस्तै बनाउन खोजियो ।

अब यसलाई थोरै माथि राखेर जनताबाट निर्वाचित  कार्यकारी प्रमुखको व्यवस्था नगरेसम्म हामी अरु दलहरू यहीँ रुमलिँदा त्यसले स्थायित्व नपाउने, विकास र समृद्धिको बाटो पनि नखुल्ने,  यही गन्जागोल हुने स्थिति देखिन्छ । त्यसमा स्वरूप पनि परिवर्तन गर्नुपर्छ भन्नेमा हामी लागेका छौँ ।

संसदीय राजनीतिमा तालमेल गरेर साम्यवादको बाटो निर्धारण गर्ने बनिबनाउ गफका भरमा माओवादीले कहिलेसम्म राजनीति चलाउने ?
हामीले संघीय संरचनाहरू जसरी थाल्यौँ, त्यहाँ अधिकार प्रत्यारोपण गर्न नसक्दा गणतन्त्र र संघीयता पनि के भयो र भन्ने मान्छेमा पर्‍यो । मुलुकमा संघीयता ल्यायौँ तर त्यसले पनि तल अधिकार, विकासका मूलहरू जसरी फुट्नु पर्ने हो त्यसरी भएन । केन्द्रबाट मुट्ठी नै फुकेन, मुट्ठी बाँधेर नै बसियो । यो भएको अधिकारलाई सही तरीकाले प्रत्यारोपण गरौँ र संविधानमा भएका मौलिक अधिकार लगायतका विषयलाई राम्रोसँग कार्यान्वयन गर्ने हो भने जनताले विकासको प्रत्याभूति गर्छन् ।

पार्टीभित्र दुई चार जना व्यापारी, ठेकदार र पारिवारिक सदस्य भन्दा बाहिर  पार्टी नेतृत्व निस्किन सकेन भनेर बेला बखतमा आलोचना भइरहँदा नेतृत्वले त आफूलाई समीक्षाको कसीमा राख्न आवश्यक किन ठानेन ?

हामीले आन्तरिक रूपमा छलफल गरेका छौँ । पार्टी नेतृत्व देखि तल सम्म हामी बहकियौं ।  तलदेखि माथिसम्मको वर्गले धरातल छोड्यो । हाम्रो पूजीँपति वर्गलाई पनि धेरै वर्ष शासन सत्तामा बसिन्छ भन्ने लाग्यो  । तर त्यो भएन र अरु वर्गले पनि पत्याएनन् । त्यस कारण आफ्नो धरातलमा टेकेर पार्टीको नेतृत्व गर्नुपर्छ ।

माओवादीमा त्याग र तपस्या गरेर आएको पुस्ता विधिको शासन सिद्धान्तको राजनीति भन्दाभन्दै राजनीतिबाट पलायन भयो । पैसा र शक्तिमा उदाएका व्यक्तिहरू पार्टीमा हाबी भए हैन ?

त्यसलाई अब सच्याउनु पर्छ । त्यस्ता प्रवृत्तिहरू हाम्रोमा पनि प्रशस्तै घुसेका छन् । हामीले दलाल पूँजीवादसँग लड्नु पर्छ भन्ने छ अहिले । राष्ट्रिय पूँजीको विकास गर्ने हाम्रो उद्देश्य हो तर त्यो अनुसारको नीति व्यवहारहरू निर्माण गर्नु पर्ने हो । हामी जसको विरुद्ध लड्ने भनिरहेका छौँ, त्यसैसंग घाँटी पनि जोड्छौं  भने कसरी विकास हुन्छ भनेर पनि लागेका छौं ।

अब गठबन्धनका बारेमा पनि समीक्षा गर्ने बेला भएको हो ?

अहिले हामीले समीक्षा गर्दा माओवादीलाई नेपाली कांग्रेससँगको गठबन्धनले फाइदा गरेन । किनकि हामीले निर्वाचनमा पनि कांग्रेससँग मिलेर जितेको भनेको १८ सिट हो । आम रूपमा सबै क्षेत्रमा उम्मेदवार उठाएको भए पनि समानुपातिक मत बढ्थ्यो होला, सांसद्हरु बढ्थे होलान ।  उहाँहरूले पनि त्यही सोच्नु पर्छ र अहिलेको महासमिति बैठकमा पनि रुखमा बाहेक अन्त भोट नहाल्ने भन्ने प्रस्ताव स्पष्ट भएर आउनु प¥यो । अब हामीले पनि बरु हार्न तयार हुनु पर्छ तर एक्लै चुनाव लड्न तयार हुनु पर्छ भन्ने भन्ने हो ।

नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएको सत्ता मोह विचलनको प्रमुख कारण हो, तपाईँहरूको भोगाइ यात्रा त्यस्तै देखिँदै छ । के भन्नुहुन्छ ?

संसदीय राजनीतिमा प्रवेश गरिसकेपछि यस्तो बनाउने रहेछ । यसलाई पार्टीको मुख्य लिडरसिपहरू सत्तामा नजाने र पार्टीलाई वैचारिक तरिकाले नेतृत्व गर्ने शैली भयो भने चेक एण्ड ब्यालेन्स जस्तो हुने रहेछ । सत्ता र पार्टीका नेतृत्वहरू एक ठाउँमा हुँदा अलमलिएको अवस्था जस्तो हो ।

दलाल पूँजीवादका विरुद्धमा लड्ने हो भने तपाईँको जस्तो पुस्ता वा विचार भएकाले पार्टीभित्र नै लड्नुपर्ने बाध्यता होला नि ।

मल्टिपार्टी सिस्टममा दल कस्तो बन्छ र दलका नेतृत्व कस्ता बन्छन् भन्ने कुरासँग जोडिन्छ । पोलिसि लेबलमा पनि दलहरू नै छन् ।  त्यस कारणले दलमा राम्रोसँग अभ्यास भएन दलभित्र लोकतन्त्र दिन सकेन भने दुनियाँलाई दिन सक्दैन । त्यस कारण हामीले अहिलेको विधान अधिवेशनमा अध्यक्ष प्रचण्ड देखि सबै जना प्रत्यक्ष निर्वाचित हुनुप¥यो सबै जना कार्यकर्ताबाट चुनिनु पर्छ भनेर हामीले धेरै प्रयास गरेका छौँ । सम्भवत यसले सकारात्मक परिणाम देला ।

बाम विचारकहरू मिल्नुपर्छ भन्दै गर्दा हिजोका दिनमा पनि न्यूनतम तालमेल अधिकतम एकता भनेर एकता गरेको हो । नयाँ बहस थाल्दा इतिहासको पनि समीक्षा गर्नुपर्ला कि कसो ?

त्यसको पनि समीक्षा हामीले गरेका छौँ । जसका विरुद्ध लड्ने भन्ने हिसाबले जुन एकता भएको थियो, त्यो अनुसार हुन सकेन  । उही दलाल पूँजीवादीहरुलाई पक्षपोषण गर्ने काम हुँदै आयो । तर वामपन्थी ध्रुवीकरण एकताको लागि यो विषय सकिएको छैन । किनकि यो सन्दर्भ अझै छ । लिडरहरूको एउटा व्यक्तिगत टकराबको कारण समस्या आएको हो । यसमा कार्यकर्ताको कुनै  भूमिका छैन ।

कांग्रेससँगको सत्ता साझेदारीमा समस्या आएपछि विकास भएको विचार त हैन यो ?

यो एउटा बाध्यताको उपज थियो । संविधान नै खारेज हुन्छ कि भन्ने शंका भयो र अहिले त्यसलाई बचाउन पनि नेपाली कांग्रेससँग सहकार्य भयो । अब हामीले कसरी समाजवादी व्यवस्था ल्याउन सक्छौँ अथवा कसरी समृद्धि हासिल गर्न सक्छौँ भन्ने कुराहरू आयो भने त्यसको निम्ति छलफल हुनसक्छ ।

अहिलेको कार्यशैलीका कारण उब्जिएको असन्तुष्टि हो जस्तो लाग्दैन ?

अहिलेको नयाँ पुस्तालाई हामीले त्यो बेलाको अवस्था कस्तो थियो । त्यो बेला राजदरबारका मानिसहरू कानून भन्दा माथि थिए भनेर बुझाउन सकेका छैनौँ । अब पछाडि फर्किने हैन अगाडी बढ्दै जाने हो । माओवादीले आफ्नो वर्गीय हिसाबले जुन पंक्ति हाम्रो साथमा रहनुपर्ने हो, त्यसलाई हामीले नजर अन्दाज गर्‍यौँ ।

अबको माओवादीको सिंगो राजनीतिक यात्राको सम्भावित चित्र के देख्नु हुन्छ ।

हामीले पहिला आन्तरिक रुपमा विचारमा विकास गर्छौँ । सांगठनिक रुपमा पनि विकास गरेर जान्छौँ र अब विशेष महाधिवेशन गरेर विचारमा नै विकास गर्छौँ ।

समाजवादी क्रान्तिलाई आर्थिक र रोजगारीसँग जोडेर विकास गर्दै आम जनता र कार्यकर्तालाई स्पष्ट एउटा विचार निर्देशन गरेर जसरी जनयुद्धकालमा राजतन्त्र फ्याँकेर जनयुद्ध ल्याउने भनेको थियौँ, त्यसरी नै सुधार गर्छौँ । अब विशेष महाधिवेशन गरेर माओवादी पार्टी आफ्नो लयमा फर्किन्छ जस्तो लाग्छ ।

एमालेसँग राजनीतिक कार्यगत एकता हुने आधार छन् भन्ने लाग्छ ?

अहिले त्यस्तो लाग्दैन । समाजवादी क्रान्ति गर्ने हो भने एकताको अस्तित्व हुन्छ । यही सत्ता राजनीतिको दाउमा मात्र वरिपरि हुने हो भने किन एकता गर्नु ? एउटा लक्ष्य र उद्देश्यको लागि हो भने त्यसले सान्दर्भिकता ल्याउँछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ३ : ३८ बजे

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल