जनकपुरधामको अतिक्रमित वैभव कहिले फिर्ता ? | Khabarhub Khabarhub

जनकपुरधामको अतिक्रमित वैभव कहिले फिर्ता ?

गृहमन्त्रीको घोषणा कार्यान्वयन कुर्दै सर्वसाधारण



जनकपुरधाम– मिथिलाको प्राचीन र हाल मधेश प्रदेशको राजधानी जनकपुरधाम ‘५२ कुटी ७२ कुण्ड’को उपमाले प्रख्यात छ । विश्वका करोडौँ हिन्दुहरूको धार्मिक आस्थाको केन्द्रको रूपमा समेत जनकपुरलाई चिनिन्छ ।

कुटी भन्नाले मन्दिर बुझिन्छ । जनकपुरलाई ‘५२ कुटी र ७२ कुण्ड’हरूको नगर भनिए पनि यहाँ कुटी र कुण्डहरूको संख्या यसभन्दा निकै बढी रहेको पाइन्छ ।

जनकपुर राजर्षि जनकको राज्यभूमि एवम्‌ सतिशिरोमणी जगत जननी माता जानकी र उनका बहिनीहरू उर्मिला, माण्डवी र श्रुतकीर्तिको जन्म थलो हो । अनेकौँ धार्मिक तीर्थस्थलहरूमध्ये मिथिलाको राजधानी जनकपुरधाम त्रेता युगदेखि नै चर्चित रहेको धार्मिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ ।

वैदिक युगका महर्षि गौतम, शतानन्द, यज्ञवल्क्य एवम्‌ विशिष्ट दार्शनिक विभूति विदुषी गार्गी र मैत्रेयजस्ता ऋषिमुनिहरूको सन्दर्भ नै जनपुरधाममा जोडिएको छ । हिन्दुहरूको यो पवित्रस्थल प्राचीन महर्षिहरूको शिद्धपीठ एवम्‌ शक्तिपीठको रूपमा समेत पूज्य छ ।

यति विहङ्गम उपसभ्यताको केन्द्र जनकपुरधामको अवस्था पछिल्लो समय फेरिँदै गएको छ ।

मैथिलीमा एउटा भनाइ छ- ‘पग–पग पोखरी, माछ, मखान, सरस बोल मुस्की मुख पान, विद्या, वैभव, शान्ति प्रतीक, सरस क्षेत्र मिथिलाञ्चल !’ अर्थात्; पाइला–पाइलामा पोखरी, माछा, मखान, मीठो मुस्कान, विद्या, वैभव, शान्तिको प्रतीक र सरस क्षेत्र मिथिलाञ्चल !

यो पङ्क्तिले मिथिलाञ्चलको सम्पूर्ण वर्णन गर्दछ । प्राचीन मिथिलाको राजधानी एवम्‌ मधेस प्रदेशको राजधानी जनकपुरधामको पहिचान यहाँका पोखरीहरूले गराउँदै आएका छन् । जनकपुरधामका पोखरीहरूको विषयमा मिथिला महात्म्यमा समेत उल्लेख छ ।

कुण्ड नै कुण्डले सुशोभित भएर मैथिली भाषा, कला, र संस्कृतिको अनुपम सौन्दर्य प्रदान गरिरहेको मिथिलाको राजधानी जनकपुर यहाँकै वासिन्दाको अतिक्रमणमा पर्दा फोहरमैलाको दुर्गन्धमा ढाकिँदैछ । अव्यवस्थित सौन्दर्यविहीन बन्दै आफ्ना मौलिक परम्परा संस्कृति, पुरातात्त्विक ऐतिहासिक एवम्‌ पौराणिक धार्मिक अस्तित्व हराउने अवस्थाबाट गुज्रिरहेको छ ।

पौराणिक ऐतिहासिक धार्मिक तलाउहरू मास्ने क्रम जारी छ । पहिले तलाउ रहेका जमिनमा गगनचुम्बी अग्ला भवन ठड्याइएको छ । बाँकी रहेका छिटपुट पोखरी पनि अतिक्रममा पर्ने क्रम जारी छ ।

यहाँ कतिसम्म भएको छ भन्ने सौन्दर्यीकरणको नाममा कसैको निजी स्वार्थको लागि प्रदेश र स्थानीय सरकारबाटै तलाउहरूलाई साँघुरो पारी बाटो निर्माण त कतै पोखरीको किनारमा कङ्क्रिट ढलान गरी सौन्दर्य नै धरापमा पारिएको छ । त्यसको प्रत्यक्ष उदाहरण हो-कपाल मोचनी सर ।

जनकपुरधामको धार्मिक तथा ऐतिहासिक कपालमोचनी पोखरीमा घाट निर्माणको नाममा प्रदेश सरकारले निजी व्यक्तिलाई फाइदा पुग्नेगरी पोखरीमै बाटो बनाइसकेको छ ।

कपालमोचनी सर पश्चिमोत्तर कुनाको डिलमै सीतादेवी यादवको नाउँमा रहेको जग्गामा निर्माण गरिएको होटलसम्म आउन-जान बाटो बनाइएको छ । तत्कालीन मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले ‘मुख्यमन्त्री स्वच्छता अभियान’ अन्तर्गत पोखरी सौन्दर्यीकरणको नाममा पश्चिम डिलमा पोखरी पुरेर बाटो खनिएको हो ।

स्थानीय राजन झा भन्छन्, ‘जनकपुर बरबाद हुनुमा सबैभन्दा बढी दोषी सरोकारवाला निकाय नै छन् । गुठी र कुटीको जग्गामा भूमाफियाहरूले निर्माण गरेका ठूला भवनहरूमा सरोकारवालाहरू पनि उत्तिकै दोषी छन्‌ । सरकारले व्यक्तिको मतियार बनेर पछिल्ला समय काम गरेको प्रत्यक्ष प्रमाण हो- कपालमोचनी सर ।’

१५६ पोखरी गायब, भूमाफियाको चपेटामा जनकपुर

जनकपुर नेपालमै सबैभन्दा बढी पोखरीहरू भएको शहर हो । विगतमा यहाँ २०८ पोखरी थिए । एक-एक गर्दै १५६ पोखरी हराए । ती पोखरीहरूको अब कुनै अस्तित्व नै छैन । अहिले ५२ वटा मात्र अस्तित्वमा छन् ।

ती पोखरी भएका ठाउँमा समेत कतै सरकारी कार्यालय बनेका छन् त कतै घर ठड्याइएको छ । कसैले होटेल तथा पसल चलाउँदै आइरहेका छन् ।

जनक सरोवर, अमृत कुण्ड, गोपाल सर, पयस्विनी सर, बल्देव सर, धोवियाही पोखरी,  पापमोचनी सर अक्रुर कुण्ड, शिरध्वज कुण्ड, कौण्डील्य सर,लगायत कतिपय तलाउहरूको अस्तित्व नै मेटिइसकेको छ।

त्यसका अतिरिक्त जनकपुरधाममा कुन कुन पोखरीहरू थिए; त्यसको तथ्यांक पनि गुठी संस्थान जनकपुरधामसँग नै छैन ।

मिथिला महात्म्यमा उल्लेख भएअनुसार  जनकपुरका बृहत्तर तलाउहरू यी हुन्ः

१. पुरन्दर सर २. दशरथ सर ३. भार्गव सर ४. मण्डना सर ५. रिक्ष सर ६. बिडाल सर ७. रुक्मणी सर ८. जनक सर ९. प्रेम सागर सर १०. सुनेत्रा सर ११. बछदेब सर १२. गोपाल सर १३. धनुष सरोबर १४. पाद(प्रक्षालन) सर १५. विचित्रा सर १६. धुतपावन्ती सर १७. चंचुवाती सर १८. पयस्विनी सर १९. कुडवन्ती सर २०. तेलदिर्धिका सर २१. लक्ष्मण सर २२. गुनवती सर २३. विल्ववी सर २४. दीपिका सर २५. महापुण्या सर २६. इष्टवा सर २७. विध्नहारिणी सर २८. मत्स्योदरी सर २९. ब्याघ्रहरा सर ३०. स्थितिदा सर ३१. क्षत्रधारिणी सर ३२. गोव्रजा सर ३३. चित्रधारा सर ३४. वूणव्रता सर ३५. दुर्गम्या सर ३६. चित्रधारत्री सर ३७. खण्डोवरी सर ३८. सुधा सर ३९. पाकवती सर ४०. नगरदेवीका सर ४१. सनकादि सर ४२. मन्मथ सर ४३. मंथाज सर ४४. कौशल सर ४५. चक्र सर ४६. लोमश सर ४७. रामसागर ४८. सप्तवेध सर ४९. धुर्व सर ५०. गरुड सर ५१. अग्निकुण्ड सर ५२. मध्यमा कुण्ड सर ५३. जानकी कुण्ड सर ५४. कुम्भादेक सर ५५. बरुण सर ५६. सरस्वती सर ५७. चतुदीर्धिका सर ५८. कष्टहरी सर ५९. धात्री सर ६०. विषहरी सर ६१. मुरली सर ६२. गंगा सागर ६३. अगराज सर ६४. गौत्तम सर ६५. वशिष्ट सर ६६. गण्डमती सर ६७. तरणतारण सर ६८. बाल्मीकि सर ६९. कौण्डिन्य सर ७०. कपालमोचन सर ७१. केदार सर ७२. बह्मा कुण्ड सर ।

उल्लेखितमध्ये कतिपय तलाउहरूको नाम त धेरैले सुनेकै छैनन् । बाँकी रहेका अधिकांश पोखरीका जमिन पनि सन्त–महन्थ र गुठी संस्थानका प्रमुख मिलेर बिक्री गरेका छन् । केही लोप भइसके, बाँकी रहेका पोखरी पनि केही समयमा हराउने खतरा रहेको छ ।

राजनीतिक संरक्षणमा पोखरीको जग्गा अतिक्रमण भइरहेकोप्रति जनकपुरधाम उपमहानगरपालिका-८ का राविशेश्वर मण्डल गुनासो गर्छन् । जनकपुरका पोखरीहरूलाई यहाँका नेता, कर्मचारी तथा सन्त-महन्थले निजी आम्दानीको स्रोत बनाएको उनले आरोप लगाए ।

मण्डलले भने, ‘गुठी संस्थानले अन्तरराष्ट्रियस्तरको खेल मैदान, स्कूल, कलेज तथा संग्रहालय जस्ता संरचना निर्माण गर्न जग्गा दिन आनाकानी गर्छन् । तर, आपसी मिलेमतोमा निजी अस्पताल र धर्मशाला आदिलाई लामो समयका लागि लिजमा दिने गरेका छन् ।’

‘जनकपुर गुठीको जग्गा स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार, ठेकेदार मिलेर लुटे’ : सांसद झा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले जनकपुर गुठीको जग्गा स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार र ठेकेदारहरू मिलेर लुट गरिरहेको आरोप लगाएका छन् । उनले असार ५ गते बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै यस्तो आरोप लगाएका हुन् ।

उनले किश्वरदास र चर्तुभुज गिरीले जनकपुरको निर्माण प्रक्रिया सुरु गरी मकवानपुरको राजपरिवारबाट इन्द्रविधता सेनको तर्फबाट १४ सय बिघा जग्गा दान दिएर जनकपुरमा दुई कुटी र ७२ कुण्ड सहरको रूपमा निर्माण भएको, तर पछिल्लो समय अतिक्रमणमा परी ७२ कुण्ड ४० कुण्डमा झरेको उल्लेख गरे ।

उनले भने, ‘किश्वरदास र चर्तुभुज गिरीले जनकपुरको निर्माण प्रक्रिया सुरु गर्नुभयो । मकवानपुरको राजपरिवारबाट इन्द्रविधता सेनको तर्फबाट १४ सय बिघा जग्गा दान भयो । त्यसले जनकपुरमा ५२ कुटी र ७२ कुण्ड सहरको रूपमा निर्माण भयो । तर, अहिले आएर जनकपुरका सबै गुठी र कुटी तथा ७२ कुण्ड ४० कुण्डमा झरिसक्यो । स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार र ठेकेदार सबै मिलेर त्यहाँको जग्गा लुट्दैछन् ।’

जनकपुरधाम गुठीको ९ हजार बिघा जग्गा अतिक्रमणमुक्त गराइने
संघीय सरकारको सय दिने प्रगति विवरण सार्वजनिक गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले एउटा योजना सार्वजनिक गरे – ‘बृहत जनकपुर क्षेत्रभित्र अतिक्रमणमा परेको गुठीको ९ हजार बिघा जग्गा खाली गराइनेछ ।’

उनको यस निर्णयले जनकपुरधाम वासीलाई खुसी बनाएको छ । जनकपुरधामवासी अचेल गुठीको जग्गाबाट अतिक्रमण हट्ने दिन पर्खेर बसेका छन्‌ । यस्तो निर्णय गरेको दिनदेखि नै जनकपुरका चोक-चोकमा गृहमन्त्री लामिछानेको चर्चा छ ।

२८ माघ २०७५ मा अख्तियारको निर्देशनमा सरकारले उपसचिव विक्रमप्रसाद पाण्डेको नेतृत्वमा अध्ययन समिति गठन गरिएको थियो । समितिले जनकपुरको गुठी अन्तर्गतका जग्गा व्यक्तिको नाममा दर्ता भएको तथा अतिक्रमणमा परेको विषयमा अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो ।

प्रतिवेदन अनुसार; जनकपुरधाममा करिब १० हजार बिघा जग्गा अतिक्रमणमा परेको छ । २५ गुठीको ९ हजार ८४२ बिघा १२ कट्टा जग्गा अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ ।

सम्भवतः गृहमन्त्री लामिछानेले उल्लेख गरेका ९ हजार बिघा जग्गा उपसचिव विक्रमप्रसाद पाण्डे नेतृत्वको अध्ययन समितिको प्रतिवेदनको आधारमा हो ।

गृहमन्त्री लामिछानेको योजना सफल भए गुठी मातहातको हजारौं बिघा जग्गा अतिक्रमणमुक्त हुने अनि राज्यलाई आवश्यक पर्ने संरचना निर्माण गर्न सजिलो हुने जनकपुरवासी सर्वसाधारण बताउँछन्‌ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ७ : ५७ बजे

प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन

गण्डकी– प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको

नबिल बैंकद्वारा राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

सुर्खेत – नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

दिनेश त्रिपाठीमाथि कुटपिट गर्नेलाई कारबाही हुनुपर्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वरिष्ठ अधिवक्ता दिनेश

पेट दुखिरहन्छ ? खानुहोस् यी फाइबरयुक्त ५ चीज

काठमाडौं– पाचन क्रियालाई ठिक राख्न फाइबर चाहिन्छ। उच्च फाइबरयुक्त खानेकुराले

पुस महिनामा बढ्यो घरजग्गा कारोबार, मोरङमा सबैभन्दा धेरै

काठमाडौं– चालु आर्थिक वर्ष (आव) को पुस महिनामा मंसिर महिनाको