काठमाडौँ- रङ्गमञ्चमा नाटकका दृश्यद्वारा भनिने कथा र परिवेशले केवल रङ्मञ्चीय दृष्टिकोण मात्र बनाउँदैन, त्यसले लैङ्गिकता, सीमान्तकृत समुदायको इतिहास, भूगोल र बहुलभाषी संस्कृतिको सौन्दर्यलाई समेत बलियो रुपमा भन्न सक्छ भन्ने चेतबारे रङ्गकर्मी किरण चाम्लिङ अनविज्ञ थिए ।
कवि एवं फिल्म निर्देशक उपेन्द्र सुब्बाको कथासङ्ग्रह लाटो पहाडमा सङ्ग्रहित दुई कथाहरु ‘प्रभु माइला’ र ‘मनमाया’मा आधारित नाटक ‘लाटोपहाड’ मार्फत चाम्लिङले २०७२ सालमा रङ्गमञ्चमा निर्देशन यात्रामा डेब्यु गरे ।
नाटकमा उनले पूर्वी किराती जीवन र मुन्धुमको लयलाई समेट्ने जमर्को गरेका थिए । नाटकका माध्यममा आदिवासी जीवनको लय र सौन्दर्यलाई खोतल्ने पहिलो श्रेय उनै चाम्लिङलाई मिल्यो ।
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भएको नाटकलाई दर्शकको माया त मिल्यो नै, चाम्लिङको रङ्गमञ्चमा यात्रामा समेत कोशेढुङ्गो बन्यो । त्यसपछि नाटकमा उनको निर्देशन यात्रा तीव्र गतिकै दौडमा छ।
‘जोखाना,’ ‘खुवालुङ’ र ‘बाखाम्मा’ सम्मका नाटकहरुमा चाम्लिङले निर्देशककै रुपमा दरिलो उपस्थिति जनाएका छन् । पछिल्ला यी नाटकहरुमा समेत उनले पूर्वेली आदिवासी सौन्दर्य र लयसँगै तिनको आदिम सृष्टि, सत्ताबाट किनाराकृत जीवन र भोगाइहरुमा पहिचानको आवाज बुलन्द गरेका छन् ।
रङ्गमञ्चमा नाटकका माध्यमबाट पनि समकालीन मुद्दा र युवापुस्ताका कतिपय अव्यक्त भावनाहरु पोखिँदा त्यो झनै प्रभावकारी हुन सक्छ भन्ने बलियो उदाहरण चाम्लिङले दिएका छन् । युवालाई आफ्नो कथा र परिस्थितिलाई बुझाउन समेत रङ्गमञ्च बलियो आधारस्तम्भ हुन सक्ने रहेछ भन्ने आभास अहिले चाम्लिङलाई भएको छ ।
‘नाटक लाटोपहाडमा आफूले खतरा अभिनय नै गर्न सक्छु भनेर त मैले आँट गरेको होइन,’ उनी भन्छन्, ‘नाटकमा काम गर्ने शैली र कथा भनिरहेकै तरिकामा गरेको थिएँ । तर शैली र कथा दर्शकलाई फरक लागेछ र मन पराउनुभयो ।’
उनका लागि पनि रङ्गमञ्च आफ्नो कथा भन्ने सबैभन्दा सजिलो र सहज माध्यम हो । नाटकको कथा र विषयवस्तुका अतिरिक्त प्रयुक्त सङ्गीत, प्रकाश, मञ्च, कस्ट्युम र संवादका ध्वनीहरुमा समेत आफ्नो भावनाहरु अभिव्यक्त गर्न सकिने उनी सुनाउँछन् ।
तथापि ती अभिव्यक्त गरिने कथाहरुमा इमान्दारिता र गुणस्तरमा भने उत्तिकै सचेत रहनुपर्ने उनको भनाइ छ । यसले गर्दा यो समयमा रङ्गमञ्च युवाका लागि अन्तक्र्रियाका गर्न सकिने गतिलो प्लेटफर्म भएको उनको ठम्याइ छ ।
रङ्गमञ्चमा नयाँ जोश र जाँगर बोकेर आउने युवा रङ्गकर्मीहरुमा चाम्लिङ मात्र नभएर अन्य युवाहरुको समेत उल्लेख्य उपस्थिति देखिन्छ ।
राजधानीमा भएका मण्डला, शिल्पी, कौशी, सर्वनाम, ओजस लगायत थिएटरहरुमा युवा रङ्गकर्मीहरुकै नाटक सिर्जनाहरु छाइरहेका छन् । नाटक सिर्जनाहरुमा युवाले आफ्नो कथा मार्फत यो समयको आवाजलाई उँचो स्वरमा उच्चारण गर्दै सत्ता र शक्तिलाई समेत सचेत बनाएका छन् ।
पछिल्लो समयमा रङ्गमञ्चमा समुदायको कथाले अझै विविधता थपेको छ । आदिवासी सौन्दर्यका ध्वनि र लयमा गुञ्जायमान बनेका नाटकघरहरुमा दर्शकका रुपमा तिनै आदिवासी अनुहारहरु थपिएका छन् ।
अनिल सुब्बा, सोनाम लामा जस्ता नयाँ पुस्ताका रङ्गकर्मीहरुले आदिवासी स्वर र सौन्दर्य मात्र नभएर पहिचानलाई समेत रङ्गमञ्चमार्फत उठान गरेका छन् ।
बुद्धि तामाङसँगै रङ्गकर्मी लामा निर्देशित तामाङ समुदायको उत्पीडनको कथालाई समेटिएको नाटक ‘मासिन्या’ मा दर्शकको निकै राम्रो उपस्थिति रह्यो । नाटकमा दर्शकको उपस्थिति त रह्यो नै नाटकले समुदायमाथि नै एक सिकिमको प्रभाव छोड्ने काम ग¥यो । जुन नाटक थापागाउँस्थित मण्डला थिएटरमा महिना दिनभन्दा बढी मञ्चन गरिएको थियो ।
मण्डलामै हालै मात्र मञ्चन सकिएको रङ्गकर्मी सुब्बा निर्देशित नाटक ‘मेषी दण्ड’ को पनि निकै चर्चा–परिचर्चा भयो । नाटकले झण्डै डेढ÷दुई शताब्दी अघिको हालको सोलुखुम्बु जिल्लाको राप्छा गाउँमा रहेका खालिङभाषीहरुको कथालाई टिपेको छ ।
तत्कालीन खालिङ राईभाषीहरुले खस नेपाली भाषा नजानेकै कारण श्री ३ सरकारलाई दण्ड तिर्नुपर्दा भोग्नुपरेको पीडा र उतारचढावहरु नाटकमा समेटिएका छन् ।
रङ्गकर्मी सुब्बाकै भनाइलाई आधार मान्ने हो भने यो समयमा युवाहरुका लागि हतियार नबोकी कलाको माध्यममा आफ्नै पहिचानका लागि आन्दोलन गर्ने गतिलो प्लेटफर्म रङ्ममञ्च पनि एक हो । आफ्नो भन्ने जताउने पक्षहरुलाई नाटकमार्फत खोजी गर्दा अझै सशक्त हुने उनको मत छ ।
सुब्बाका अनुसार आजका युवाले आफ्नो कुरा भन्न भौतिक रुपमै सडकमा उत्रन जरुरी छैन । कलाको माध्यममा आफ्ना अनुभूतिहरु र भोगाइहरुलाई समेट्न सके त्यो अझै शक्तिशाली हुने अनुभव उनलाई उनको सिर्जनाकर्मले दिएको छ ।
रङ्गकर्मीहरुले आफूले बाँचेको समयको बोध र चोटलाई समेत नाटकमै व्यक्त गरेका छन् । आकाङ्क्षा कार्की जस्ता रङ्गकर्मीहरुले लैङ्गिक चेतलाई थिएटरमा प्रस्तुत गर्दै महिलाको शरीर र व्यक्तित्वमाथि समाजले हेर्ने नजरियालाई आम मानिस समक्ष भनेकी छिन् ।
आफ्नो दक्षता, सीप र शैली भएर पनि एउटी महिला कार्यस्थलहरुमा महिला भएकै कारण कसरी उत्पीडनमा पर्छिन् भन्ने सन्देश बोकेको कार्की निर्देशित नाटक ‘प्ले द सिस्टम’ हालै मात्र टेकुस्थित कौसी थिएटरमा मञ्चन गरिएको थियो ।
त्यस्तै, जमलस्थित नाचघरमा हालै मात्र युवाहरु विहीन बन्दै गएको देशको परिस्थितिदलाई देखाउन रङ्गकर्मी राम केएसीको लेखन तथा निर्देशनमा नाटक ‘अनुत्तर’ मञ्चन गरिएको थियो भने प्रकृति र पर्यावरण संकटमा रहेको विषयलाई समेटेर सर्वनाम थिएटरमा आरुष मगरको निर्देशनमा नाटक ‘पूर्णविराम’ प्रस्तुत गरिएको थियो ।
युवाहरुमा रहेको मानवीय मात्र नभएर प्रकृतिप्रतिको चिन्ता समेत नाटककै माध्यममा आएका छन् भन्ने यी पछिल्ला नाटकहरुले इंगित गरेका छन् ।
अर्की रङ्गकर्मी संगीता थापामगर मगर समुदायको कथालाई लिएर नाटक ‘सोरठी’ लिएर आउँदै छिन् । भाद्र ७ गतेदेखि मञ्चन हुने नाटकका लागि अहिले तीव्र तयारी चलिरहेको छ ।
नयाँ पुस्ताको यो जोश र जाँगरलाई रङ्गकर्मी पशुपति राई उत्साह र स्वभाविक रुपमा लिन्छिन् । रङ्गमञ्चको स्तम्भलाई धान्ने खालका नयाँ पुस्ताहरु जन्मिरहेकोमा उनी निकै खुसी छिन् । ‘नयाँ पुस्ताले पुरानाहरुबाट सिक्दै लेखन देखि निर्देशनमा समेत अगाडि आइरहेका छन् । यसरी आउनु अपरिहार्य पनि हो । पुरानो मान्छे सधैं एकै क्षेत्र र अवस्थामा मात्र हुन्छ भन्ने छैन । रङ्गमञ्चको आधारस्तम्भलाई धान्न नयाँहरु आउनुपर्छ,’ उनी भन्छिन् ।
रङ्गमञ्चमा आउने नयाँ पुस्तामा यसै क्षेत्रको ज्ञान र सीपको क्षमता भएकोले अझै आशा राख्ने ठाउँ देखिएको रङ्गकर्मी आशान्त शर्माको भनाइ छ ।
युवा रङ्गकर्मी मुक्तिको लेखन रहेको नाटक ‘काँचो धागो’लाई निर्देशन तथा परिकल्पनाकारका रुपमा कौसीमा मञ्चनको तयारीमा उनी लागिरहेका छन् । नाटकको भदौ ६ गतेदेखि मञ्चन शुरु भएको छ ।
शर्माले युवापुस्तामा निकै सम्भावनाहरु देखेका छन् । उनका अनुसार युवाहरु रङ्गमञ्चको प्रविधिदेखि, मञ्च र कथासम्म सबैका लागि परिपक्व देखिएका छन् । उनी भन्छन्, ‘अहिलेका नाटकमा युवाका आफ्नै कथा र छटपटीहरु छन् । यसमा विविधता र सह्रानीय सिर्जनाहरु छन् । यसले गर्दा भोलिको रङ्गमञ्चको स्थान माथि उठ्ने सम्भावना छ ।’
राजधानी मात्र नभएर राजधानी बाहिरका नाटकघरहरुमा समेत युवा रङ्गकर्मीहरुको सक्रियता निकै देखिन्छ । पोखरास्थित ‘पोखरा थिएटर’मा परिवर्तन, दमकस्थित ‘कदम थिएटर’मा सिजन दाहाल, इलामस्थित ‘चुलाचुली रङ्गमञ्च’मा चेतन आङथुपो, पोखरामै केदारनाथ पौडेल लगायत रङ्गकर्मीहरुले नाटकलाई गाउँबस्तीसम्म पुर्याइरहेका छन् ।
नाटक घरमा नयाँ पुस्ता, नयाँ विषय, नयाँ कथा, नयाँ नै दर्शक थपिनु यो समय नाट्य क्षेत्रकै लागि उर्वर समयका रुपमा लिन्छन् अग्रज रङ्गकर्मी अशेष मल्ल । उनी भन्छन्, ‘नेपाली रङ्गमञ्चको लामो इतिहास छ । यो समयमा देखिएको युथहरुको उपस्थिति हेर्दा रङ्गमञ्चका लागि यो निकै उर्वरकाल हो । तर यो समयमा युवाहरुले जति फड्को मारेका छन्, त्यति नै रङ्गमञ्चको यथार्थतालाई समेत स्वीकार्नुपर्छ ।’
मल्लकै भनाइ अनुसार रङ्गकर्मी चाम्लिङ अहिलेको नाटक सिर्जनामा दर्शकको उपस्थितिलाई देखेर भोलिसम्म ढुक्क हुने अवस्था देख्दैनन् । युवाहरुले आफ्नो कथा भन्ने हुटहुटीमा नाटकको गुणस्तरलाई समेत ध्यान पु¥याउनुपर्छ भन्ने उनलाई लाग्छ ।
उनी जोड्छन्, ‘कथा त जसको भने पनि हुन्छ । तर, त्यसमा नाटकको पक्ष, तत्व र गुणस्तर चाहिँ हुनैपर्छ । यसलाई हामीजस्ता रङगकर्मीले भुल्नु हुँदैन ।’
इलाममै बसेर रङ्गकर्मलाई अगाडि बढाइरहेका आङथुपो युवापुस्ताको जोशलाई अझै विस्तारित र दिगो रुपमा टिकाउन अग्रज पुस्ताले जोड दिनुपर्ने मत राख्छन् । उनलाई लाग्छ, पछिल्लो समयमा रङ्गमञ्चमा देखिएका युवा र तिनका सिर्जनाहरुमा सपना र समर्पणहरु मिसिएका छन् । त्यसलाई अब कसरी हुर्काएर मलजल गर्ने भन्ने पाटोमा अग्रज पुस्ताले तत्कालै सोच्नुपर्छ ।
आङथुपोकै जस्तै धारणामा मल्ल निकै चिन्तित छन् । किनकि उनको पाँच दशकभन्दा लामो रङ्गमञ्चको यात्रामा कैयौं रङ्गकर्मीहरु जीविकोपार्जनकै लागि नाट्य क्षेत्र छोडेर दूर भएका छन् भने कतिले देशै छोडेर हिँडेका छन् ।
नाट्य क्षेत्र जति चलायमान देखिए पनि यसबाट आउने आर्थिक पक्ष अझै बलियो भएको छैन भन्ने कुरालाई युवा पुस्ताका रङ्गकर्मीले स्वीकार्नैपर्छ भन्ने उनको आग्रह छ ।
उनी अझै प्रस्ट्याउँछन्, ‘थिएटरहरुमा जति दर्शकको भिड बढे पनि आथिक रुपमा प्रतिफल आउने वातावरण बनेको छैन । यो नै रङ्गमञ्चको यथार्थता हो । यो पीडालाई हामीले स्वीकार्नैपर्छ ।’
उनी अगाडि भन्छन्, ‘यसलाई स्वीकारेर नयाँ पुस्ताले समय र खर्चको व्यवस्थापन गरेर नाटकलाई अगाडि बढाउनु आजको आवश्यकता हो ।’
युवा पुस्ताले नाटकलाई उत्कृष्ट बनाउने होडमा मञ्च झकिझकाउ गरेर खर्च गर्ने र समयको व्यवस्थापन नगर्ने हो भने यसमा होमिएका युवामा फ्रस्टेसन, डिप्रेसन जस्ता समस्या आउला कि भन्ने उनलाई ठूलो भय छ ।
रङ्गमञ्चलाई मितव्ययी बनाउँदै अभ्यास र प्रोडक्सनको समय व्यवस्थापन गरी अन्य आर्थिक उपार्जनको बाटोलाई समातेर यसलाई अगाडि लैजान सकिने मल्ल बताउँछन् । यो शैली अपनाएमा मात्र आज रङ्गमञ्चममा केही गर्छु भनेर देखिएको युवा जोश र जाँगर भोलिसम्म यथावत रहने उनको मत छ ।
(जोय नेपाल डटकम मा कार्यरत पत्रकार सुशीला तामाङ कला, मनोरञ्जन र सामाजिक विषयमा कलम चलाउँछिन् ।)
प्रतिक्रिया