देश/प्रदेश

गुल्मीमा सुख्खा पहिरोमा परी एक महिला बेपत्ता

By खबरहब

September 23, 2024

गुल्मी – सुख्खा पहिरोमा परी मालिका गाउँपालिका–२ जुनाम सिम्लेस्थित एक महिला बेपत्ता भएकी छन् । ६९ वर्षीया टनि पुन आईतबारदेखि बेपत्ता भएकी हुन् ।

घर नजिकै रहेको मनकामना सामुदायिक वनमा गोरु चराउन गएको बेला सुख्खा पहिरो झरेको थियो । त्यसपछि उनी बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरो गएको ठाउँमा आज खोजतलास गर्ने क्रममा दुइवटा गोरू मरेको भेटिएको प्रहरीले जनाएको छ । उक्त सामुदायिक वनको छ सय मिटर माथिबाट सुख्खा पहिरो गएको छ ।

उनी अझै सम्पर्कमा नआएकोले पहिरोमा पुरिएको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीय र प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शंकरप्रसाद पोख्रेलले जानकारी दिए ।