आज हिउँ चितुवा संरक्षण दिवस, जलवायु परिवर्तनले बासस्थानमा चुनौती | Khabarhub Khabarhub

आज हिउँ चितुवा संरक्षण दिवस, जलवायु परिवर्तनले बासस्थानमा चुनौती


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिउँ चितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज ११औँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइँदै छ । विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ ।

यस वर्ष यो दिवसको नारा ‘भविष्यका पुस्ताका लागि हिउँ चितुवाको बासस्थानको सुरक्षा’ रहेको छ । यस विषयले हिउँ चितुवाको प्राकृतिक बासस्थानको सुरक्षा र हिमाली पारिस्थितिकीय प्रणालीको स्वास्थ्य सुनिश्चित गर्नलाई महत्व दिएको छ ।

वन तथा वातावरण मन्त्रालयले यो दिवस आज विभिन्न कार्यक्रम गरी मनाउँदैछ । मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वनमन्त्री ऐनबहादुर शाही ठकुरीको उपस्थितिमा दिवसका अवसरमा कञ्चनजङ्घा संरक्षण क्षेत्रको हिउँ चितुवा सर्वेक्षण नतिजा सार्वजनिक गर्दैछ ।

डोल्पा राष्ट्रिय निकुञ्जभन्दा पूर्व (वन क्षेत्र)को हिउँ चितुवा अध्ययन प्रतिवेदन लोकापर्ण र डोल्पा राष्ट्रिय निकुञ्जभित्र खिचिएको जङ्गली याकको फोटो फ्रेम अनावरण गरिने विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले जानकारी दिए । विश्वमा हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ ।

जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा बढी असर गरेको र यसको प्रभावले हिउँ चितुवाको बासस्थानमा ह्रास आएको उनको भनाइ छ । महानिर्देशक कँडेलले बासस्थानमा आएको ह्रासले यसको आहारा प्रजातिमा कमी आएको बताए ।

‘हिउँ चितुवाको बासस्थानमध्ये झण्डै ६० प्रतिशत क्षेत्र निकुञ्ज बाहिर रहेको र त्यस्तो बासस्थान खण्डिकरण हुँदै गएको छ’, उनले भने, ‘यसबाहेक द्वन्द्वका कारण बदलाको भावनाले केही व्यक्तिले पासो थाप्ने, आहारमा विष मिसाउने, भौगोलिक कठिनाइ, उचित प्रविधि, जनशक्ति र बजेटको कमीका कारण प्रभावकारी अनुगमन गर्न नसक्नुलगायत चुनौती पनि छन् ।’

हिउँ चितुवा संरक्षणमा लागि तीनै तहका सरकारबीच सहयोग र समन्वयको आवश्यकता औँल्याउँदै महानिर्देशक कँडेलले विभागले स्थानीय समुदायमा चेतना फैलाउने, अनुगमन गर्ने तथा यसको अवस्था, स्थिति, चुनौती र समाधानका उपाय बारेमा थाहा पाउन सर्वेक्षण गर्ने गरेको बताए ।

विभागले हिउँ चितुवाबाट स्थानीयका भेडा, बाख्रा र च्याङ्ग्रा जोगाउन सुरक्षित खोर बनाउन सहयोग गर्दै आएको छ । हिउँ चितुवा सामान्यतया समुद्री सतहबाट पाँच सय ४० देखि पाँच हजार मिटर उचाइमा पाइन्छ । हिउँ चितुवालाई आइयुसिएनले रातो सूचीमा विश्वव्यापी जोखिमको रूपमा सूचीबद्ध गरेको छ ।

हिउँ चितुवाको सङ्ख्या तीन सयदेखि पाँच सयसम्म

हिउँ चितुवा उच्च हिमाली क्षेत्रको स्वास्थ्य परिस्थितिकीय प्रणालीको महत्त्वपूर्ण हिस्सा हो । हिउँ चितुवा नेपालमा करिब तीन सयदेखि पाँच सय र विश्वमा करिब चार हजारदेखि ६ हजार पाँच सयको सङ्ख्यामा रहेको अनुमान छ । बिरालो प्रजातिको हिउँ चितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्छ ।

विभागका सिनियर इकोलोजिष्ट हरिभद्र आचार्यले उच्च हिमाली र कठिन भौगोलिकताका कारण हिउँ चितुवाको राष्ट्रियस्तरमा एकसाथ गणना गर्न सम्भव नभएकाले भूगोललाई विभिन्न क्षेत्रमा विभाजन गरी गणना गर्न सुरु गरिएको बताए । पूर्वको कञ्चनजङ्घाबाट गणेश हिमालसम्म, मनास्लुबाट धवलागिरि हिमालसम्म र कालीगण्डकी नदीबाट अपीनपा संरक्षण क्षेत्रसम्मका भाग रहेका छन् ।

मन्त्रालयले यसअघि सार्वजनिक गरेको तथ्याङ्कअनुसार डोल्पा क्षेत्रमा ९० हिउँ चितुवाको सङ्ख्या रहेको छ । यसको गणना ‘क्यामेरा ट्रयाप’बाट गर्ने गरिएको छ । ‘तराईमा स्वस्थ पारिस्थितिक प्रणालीको सूचक बाघ भएजस्तै उच्च हिमाली क्षेत्रको स्वस्थ पारिस्थितिक प्रणालीको सूचक हिउँ चितुवा हो’, सिनियर इकोलोजिष्ट आचार्यले भने, ‘यसलाई हिमालकी रानी पनि भनिन्छ । हिउँ चितुवा लजालु प्रकृतिको हुन्छ । त्यसैले यसलाई भेट्न गाह्रो पनि हुन्छ ।’

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १० : १२ बजे

अर्घाखाँचीमा कार दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नरेश श्रेष्ठ स्मृति क्रिकेट स् सुदूरपश्चिम फाइनलमा प्रवेश

विराटनगर – सुदूरपश्चिम प्रदेश मोरङको विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृति

पाकिस्तानको लाहोरमा प्रदूषणका कारण विद्यालय बन्द

लाहोर – पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरले लाखौं बालबालिकालाई खतरनाक

इन्टरपोलको महासभामा भाग लिन प्रहरी महानिरीक्षक बेलायत प्रस्थान

काठमाडौं – भोलिदेखि आगामी बिहीबारसम्म संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने

बङ्गलादेशमा डेङ्गुका कारण एकै दिन १० जनाको मृत्यु

ढाका – बङ्गलादेशमा डेङ्गुका कारण शनिबार एकै दिन यो बर्षको