लैनो गाईको फाँचोमा पुगेको किर्नोलाई रगतकै रस | Khabarhub Khabarhub

लैनो गाईको फाँचोमा पुगेको किर्नोलाई रगतकै रस

अन्नको गीत, भोकको संगीत



कथा यसरी शुरु हुन्छ- एक अति जिद्दी बालकले बाबुआमासँग छेपारो खाने अड्डी कस्यो। बाउआमाले लाख सम्झाए अहँ, मानेन। हार मानेर बच्चाको शिक्षकलाई बोलाइयो, शिक्षक आएर लाख सम्झाए। कसैको दाल नगलेपछि उसकै आदेशअनुसार छेपारो मगाइयो। प्लेटमा राखिएको छेपारो बच्चालाई दिँदै शिक्षकले भने- ‘लौ खाऊ’। उल्टो बालहठ दोहो-याउँदै भन्छ- ‘यस्तो काँचो त खान्न, तारेको खान्छु’। उसकै मागअनुसार तत्काल तारेर ल्याइयो। बच्चा झन्झन् कहालिएर उफ्रदै कराउँछ- ‘सिङ्गो खान्न, आधा मात्रै खान्छु’ फेरि आधा पारेर ल्याएको छेपारो बालकलाई दिइयो। त्यति गर्दा पनि उसको माग पूरा नभएर भुईंमा लडीबुडी गर्दै बालकले अर्को शर्त राख्दै भन्यो- ‘पहिला सर आधा खानुस् , त्यसपछि आधा बाँकी रहेको म खान्छु’। बालकको हठबाट आजित शिक्षकले नाक र आँखा थुन्दै आधा छेपारो निले। मास्टरले छेपारो निलेपछि बालक सन्तुष्ट होला भनेको त झन् ऊ खुट्टा बजार्दै उफ्रिन थाल्यो। ‘अब के भो ?’ शिक्षकले सोध्दा उसले भन्यो- ‘जुन टुक्रा मलाई खान मन थियो, त्यो सरले खाइदिनु भयो। अब म के खाने ?’ विद्यार्थीको कार्यशैलीबाट आजित शिक्षक त्यहाँबाट टाप ठोके।

यो बालकको चरित्र कहिँ कतै मुलुकका कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीसँग मेल खाएमा त्यो संयोग नभएर यथार्थ हुनेछ। कुनैबेला ओली र पुष्पकमल दाहालले राज्यको ककपिटमा बसेर मुलुक निर्माणको ताला साँचो धुर्मुस-सुन्तलीलाई जिम्मा लगाउँदा नै ‘समृद्ध नेपाल र सुखी नेपाली’ नाराको चीरहरण भएको थियो। धुर्मुस-सुन्तलीसँगै सपना पनि बेपत्ता भयो। नौटंकी जोडीलाई विकासको एउटा पाटो जिम्मा लगाउँदै गर्दा प्रधानमन्त्री ओली पानीजहाज, चुच्चे रेलको अर्को प्रहसनमा लागे। मुलुककै कार्यकारीको रहरसँगै विषयगत कार्यालय खुल्ने नै भयो। आखिर लहडी व्यक्तिका लागि पानीमा हस्ताक्षर गरेसरह भयो, तर राज्यले भने थामिनसक्नु सकस व्यहोर्नु प-यो। जनताले तिरेको ट्याक्सको करोडौं रुपियाँ ती निकाय र कर्मचारी पाल्न खर्च भइरहेको छ। राज्यको जीवनमा बसेर एक रुपियाँको ख्याल ठट्टाले तीन करोड क्षति हुन्छ भन्ने विवेक नराख्दा यस्ता धोका नियमित बन्दै आएका छन्। अनि त ओम्नी, जलहरी, गिरीबन्धु चिया बगान, दमक टावर, बतास, यति समूह हुँदै चलेको कुशासनको आँधी भाटभटेनीको दाने जग्गामा पुगेको छ। यस्ता श्रृंखला अझ कति विस्तार हुँदै जालान, त्यो समयले बताउँछ।

नेपाल यस्तो धर्ती हो, जहाँका हरेक पेशाका मानिस आफ्नो पेशाबाहेकका विषयमा दिग्गज छन्। ठूलाबडालाई आफ्नो पदीय काम, कर्तव्य, अधिकार के हो पत्तो हुन्न। मुलुकको कार्यकारी प्रधानमन्त्री र सामाजिक सन्जालमा फन्टुस गफ गर्ने बीच राज्यलाई पु-याउने योगदानमा कुनै तात्विक भिन्नता छैन्।

यस पृथ्वीलोकमा नेपाल यस्तो धर्ती हो, जहाँका हरेक पेशाका मानिसहरु आफ्नो पेशाबाहेकका विषयमा दिग्गज छन्। यहाँका ठूलाबडालाई आफ्नो पदीय काम, कर्तव्य, अधिकार के हो पत्तो हुन्न। मुलुकको कार्यकारी प्रधानमन्त्री र सामाजिक सन्जालमा फन्टुस गफ गर्ने बीच राज्यलाई पु-याउने योगदानमा कुनै तात्विक भिन्नता छैन्। न्यायाधीश न्याय दिन चुकेको छ, अरु विषयमा अब्बल छ। लेख्न कमजोर पत्रकार राजनीतिमा लागेको दाइको झोला बोक्नमा माहिर छ। सूचना बेचेर खानेहरु अनुसन्धानका दिग्गज छन्। एआई र च्याट जिपीटीले दिएको सूचनामा चल्नेहरु रिसर्च फेलोमा क्रियाशील छन्। नेपाल सरकारको सचिव भइसकेका भीम उपाध्याय र त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक भएर निवृत्त डा. सुरेन्द्र केसीहरुले जीवनरस कुण्ठा ओकल्नुमा भेटेका छन्।

एक समय प्रजा परिषद् पार्टीको चकचकी थियो। त्यो पार्टीबाटै लोकतन्त्रका लागि चार अमर शहीद भए। शहीदमध्येका एक धर्मभक्त माथेमा त राजा त्रिभुवनका जिम मास्टर थिए। त्यो पार्टीका नेताहरु राजाबाटै बेतन बुझ्थे। घरको खरखाँचो राजाले टारिदिन्थे। ब्रिटिसको काँधमा चढेको भारतीय व्यवस्थापनले उहिबेला नै यताको चाँजोपाँचो मिलाउँथ्यो। राणा शासन अन्त्यका सम्पूर्ण तालिका उतै तयार भए। ०७ सालको क्रान्ति हाँकेको कांग्रेसले काठमाडौंबाट राजा त्रिभुवनलाई पाल्पा लैजाने निधो ग-यो। तर त्यसअघि नै वर्षौंदेखि एरिका ल्युकट्याग नामकी नर्स दरबार छिराएर राजाको पखेटा अर्कैतिर हालेको कांग्रेसले पत्तै पाएन। दरबारबाट भारतीय काठमाडौं दूतावास पु-याइएका राजा एकैपटक दिल्लीमा अवतरित भए। ०७ सालको क्रान्ति नेपालको राजनीतिमा ‘माईलस्टोन’ भनेर व्याख्या त हुन्छ तर राणा विरुद्ध गरिएको आन्दोलनको सम्झौताले अन्ततः राणालाई नै नेतृत्वमा ल्यायो।

विवेकको ढोका बन्द गरेर निर्देशित काममा रमाउनु जानी नजानी हाम्रो विरासतले देखाएको बाटो हो। जनताको सेवा गर्ने व्रत लिएर राजनीतिमा लागेका दाजुभाइ मातृका-बीपी पदका लागि लडे।

विवेकको ढोका बन्द गरेर निर्देशित काममा रमाउनु जानी नजानी हाम्रो विरासतले देखाएको बाटो हो। जनताको सेवा गर्ने व्रत लिएर राजनीतिमा लागेका दाजुभाइ मातृका-बीपी पदका लागि लडे। व्यक्तिगत महत्वाकांक्षा सन्तुलित गर्न नसक्दा राजा महेन्द्र र बीपीलाई पालैपालो प्रयोग गरेर जवाहरलाल नेहरुले नेपालमा राजनीतिक, कुटनीतिक, आर्थिक हुँदै सामाजिक न्यायमा समेत प्रयोगशाला बनाए। राज्य संयन्त्रमा रोपिएको खराब बीउ बृक्ष बन्दा त्यसको सेपले पुस्तौं पुस्ता फक्रिन पाउँदैन। भारतको नोयडामा त्यहाँकै सरकारको सुरक्षामा बसेर माओवादी प्रचण्डले वर्षौं हिंसाको राजनीति गरेको इतिहाससँग त जोकोही परिचित छन्।

सुत्केरी पत्नीलाई अघाउन्जेल भात खान दिन नसक्दा पत्नी वियोग खेपेको एउटा लाछी पुरुष कालान्तरमा जंगबहादुरका नाममा उदायो। उसको योग्यता भनेको त्यो बेलाको उद्दण्ड राजकुमार राजेन्द्रविक्रम शाहका रहर पूरा गर्नु थियो। पत्नीको मृत्युपछि साली माग्न जाँदा ससुराबाट अपमानित त्यही पात्र जंगबहादुरले श्री ३ मा आफूलाई उकालेर राजपरिवारसंग पारिवारिक साइनो गाँस्न पुग्यो।

कुनै कालखण्डमा टंकप्रसादबाट राजनीति सिकेका गणेशमान बीपीका भक्त भए। आफ्नै राजनीतिक दीक्षामा हुर्केका विश्वबन्धु थापा, सूर्यबहादुर थापा, श्रीभद्र खनाल, सूर्यप्रसाद उपाध्याय, तुलसी गिरी राजाको मतियार भएर भित्रभित्रै पञ्चायत नामको भव्य घर बनाइसकेको बीपीले पत्तै पाएनन्। लोकतन्त्र मासेर राजाले देखेको पञ्चायत घर तिनै पञ्चको बेमेलले पानी चुहिने टहरो बन्यो। राजा महेन्द्रले जीवनको उत्तरार्द्धमा आफ्नो सपना चकनाचुर भएको चाल पाए। वीरेन्द्रका पालामा चौतारीमा राजा, भन्ज्याङीमा रानी भेटिएको गीत घन्किए, विकासको मूल जताततै फुटाइए पनि जनताको औकात झन्झन् दयनीय बन्दै गयो। कांग्रेस-माले पार्टी पञ्चायतको ‘बाई प्रोडक्ट’ मात्र बने। राजा महेन्द्रले जन्माएको दरबारिया कम्युनिष्टले कम्युनिष्ट आन्दोलनलाई भुत्ते बनायो। पञ्चले गाडीघोडा चढेर ग्ल्यामरस बटुलेको दृश्यबाट लोभिएका उनीहरुको अन्ततः जीवन दर्शन त्यही बन्यो।

माओवादी द्वन्द्व न्यायिक समाज स्थापनाका लागि नभएर राजनीतिको आवरणमा लुटतन्त्रको भद्दा नमूना थियो। उनीहरुले भाषणमा बोल्ने कथित जनपक्षीय आवाज गर्धन छिनाउन ठीक पारेको बोकालाई पर्सिएजस्तै थियो। फस्वरुप माओवादीले आन्दोलन र सत्ता दुवैलाई धन्दाको माध्यम बनायो। माओवादीको कुकर्मलाई वैधानिकता दिन कांग्रेस-एमालेले चरु थपे। सत्ता फाइदाको बिलो लगाएर खाने साधन बन्यो। व्यभिचार सत्ता प्राप्तिको सरल बाटो बन्यो।

सिंहदरबार सेता रंगका धर्मशाला भए। दलालको एजेण्डामा सरकारको आयु निर्धारण हुन थाल्यो। सरकारमा नानीहरु अघि बाहरु पछि पर्दै गए। राष्ट्रपति रामचन्द्र पौडेल, पुष्पकमल दाहालका छोरीहरु र केपी ओलीका नजन्माएका सन्तानहरुको स्वार्थ राज्य संयन्त्रका गहना बने।

सिंहदरबार सेता रंगका धर्मशाला भए। दलालको एजेण्डामा सरकारको आयु निर्धारण हुन थाल्यो। सरकारमा नानीहरु अघि बाहरु पछि पर्दै गए। राष्ट्रपति रामचन्द्र पौडेल, पुष्पकमल दाहालका छोरीहरु र केपी ओलीका नजन्माएका सन्तानहरुको स्वार्थ राज्य संयन्त्रका गहना बने। उनीहरुको अनुहार उज्यालिँदा लोकतन्त्र संस्थागत भएको, अँध्यारो हुँदा लोकतन्त्र खतरामा परेको परिभाषालाई संस्थागत गर्ने प्रयास भयो। गल्लीमा मिल्किएको कुकुर तिहारको एकदिन मालाको हकदार भएजस्तै चुनावका दिन जनतालाई पूज्य बनाउने नाटकको प्रहसन बर्षौंदेखि चल्दै आएको छ। जनताको विवेक पनि अन्ततः म्युजिकल चियरको खेलभन्दा माथि जान सकेन।

कागभन्दा कोइली चंख भन्ने आहान छ। तर हाम्रो देशका नेता कागको फूल चोरेर अम्लेट बनाएपछि कागलाई नै बेचेर हुर्मत लिने क्षमताका छन्। जुनसुकै मौसममा पनि नेताहरुको दम्भ सय डिग्रीको औसतमा रहनुको कारण यही नै हो। कोही वडा सदस्यमा चुनिएको हुँदैन, तिनका भजनमण्डली आधा क्वीन्टलको माला लिएर मैदानमा उत्रिहाल्छन्। अरु अरु अपराध कर्मको सजाय भोगेर निस्किएका कैदी समेत फूल र अविरले पुरिन्छन्। हो यही बेथितिको परिणाम त हो- विद्यार्थीलाई पुस्तक, जनतालाई सिटामोल, सुत्केरीलाई उपचार, किशोरीलाई प्याड, पखाला लागेकालाई जीवनजल नपुगेका ठाउँमा बियर, भोडका, चाउचाउ, चिसो पेय पदार्थको छिचोली नसक्नुको व्यापार हुन्छ।

विमानघाटदेखि आर्यघाटसम्म ठूला मानिसका ठेलमठेल छ। राजनीति यस्तो गज्जब जागिर भएको छ कि नाना, खाना र छानाको प्रबन्ध त्यही शब्दको प्रतापले जोहो गरिदिन्छ। राजनीति गर्नेका लागि नेपाल भूमि नै एउटा डिलक्स अतिथि गृह हो। आरोप हैन, जेलमा रहेका रेशम चौधरीले बाउ, पत्नी र दुई भाइलाई एकैपटक सांसदको जागिर दिलाए। टीभीमा गाली गरेकै भरमा रवि लामिछाने नेता भए।

महालेखापरीक्षकको प्रतिवेदन घोकेर युटुबमा चम्किने ज्ञानेन्द्र शाही केही वर्षमै माननीय भएर आए। हामीले जीवन पाएको माटो र हामीले निर्वाह गरेको भूमिका दुवैमा छारस्ट संशय छन्। असल हुने भन्दा, असल देखिने प्रतिस्पर्धा छ।

महालेखापरीक्षकको प्रतिवेदन घोकेर युटुबमा चम्किने ज्ञानेन्द्र शाही केही वर्षमै माननीय भएर आए। हामीले जीवन पाएको माटो र हामीले निर्वाह गरेको भूमिका दुवैमा छारस्ट संशय छन्। असल हुने भन्दा, असल देखिने प्रतिस्पर्धा छ। पुजारीमा भगवान पुजेर नभई मूर्ति बेचेर धनी हुने चाह अधिक छ। देशका ठूलाभन्दा ठूला मुखियालाई संविधान प्रदत्त अधिकारभन्दा जग्गा दलाली, बालुवाको ठेकेदारी, हाइड्रोको कमिसनमा चाख छ।

संसारमा बनेका साँचो सज्जनका लागि हो। नियम कानुन र संविधानका ठेली जतिसुकै आकर्षक बनाए पनि त्यसको सौन्दर्य पालनामा हुन्छ। लैनो गाईको फाँचोमा पुगे पनि किर्नोले खाने रगत नै हो, दूध हैन। कानुन मान्ने र नमान्नेको भिन्नता पनि यही नै हो। शास्त्र भन्छ- क्रोधले बुद्धि, अहंकारले ज्ञान, चिन्ताले आयु, लोभले इमान, घुसले इन्साफ, प्रायश्चितले पाप, याचनाले स्वाभिमान र अकर्मण्यताले भविष्य सिध्याउँछ। त्यसैले अरुका लागि हैन, आफ्नै अन्तरचक्षुको अग्निपरीक्षामा खरो उत्रिनेहरु कहिल्यै पराजय हुँदैनन्।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ९ : ४२ बजे

पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा

पोर्चुगल – पोर्चुगलमा सञ्चालित घुम्ती सेवा शिविरबाट तीन हजारभन्दा बढी

स्नेक प्लान्टमा कुन समयमा पानी हाल्ने ?

काठमाडौं– मानिसहरूका घरहरू बाहिरी र भित्री बिरुवाहरूले हरियो देखिन्छन् । वास्तवमा,

मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प

एजेन्सी – आगामी ट्रम्प प्रशासनका महत्त्वपूर्ण पात्र एलन मस्क कुनै

इटहरीमा ७४ करोड लागतमा साइकल लेनसहितको सडक बन्दै 

इटहरी– लामो समयदेखि लथालिङ्ग रहेको र पटक-पटक आलोचना खेपेको इटहरी

कोशी प्रदेश : डीपीआरमा करोडौं स्वाहा, सरकारी कार्यालय र मन्त्रालयबाटै फाइल गायब

विराटनगर – कोशी प्रदेश सरकार स्थापना भएपछि भौतिक पूर्वाधार विकास