सांसदको दिनचर्या : कुटपिटको मुद्दा हेर्नेदेखि कुद्‍नेसम्म ! | Khabarhub Khabarhub

सांसदको दिनचर्या : कुटपिटको मुद्दा हेर्नेदेखि कुद्‍नेसम्म !

कानून बनाउने सांसद भन्छन्– पढ्न भ्याइएन


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 11 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यतिबेला काठमाडौंको मौसम चिसो छ । संघीय संसद प्रतिनिधिसभामा पनि कुनै चर्काचर्की र गर्मागर्मी छैन । किनभने, संसदको बैठक चलिरहेको छैन । तैपनि कतिपय संसदीय समितिका बैठकहरु चलिरहेको सुनिन्छ । यो चिसो वातावरणमा सांसदहरु कहाँ के गर्र्दै होलान् ? काठमाडौंमै चिसो खाँदैछन् या आ–आफ्नो निर्वाचन क्षेत्रको दौडधूपमा छन् ?

संघीय सांसदको मुख्य काम नयाँ कानून निर्माण गर्ने वा भएकै कानूनहरुलाई संशोधन वा परिमार्जन गर्ने हो । कानून बनाउने जिम्मेवारी पाएका सांसदहरु अधिवेशन नचलेका बेला फुर्सदमा घाम ताप्दै पढिरहेको अवस्थामा भेटिनुपर्ने हो । तर, सिंहदरबारमा रहेको संसदको पुस्तकालय लगभग चकमन्न छ । सांसदहरु लेखाइ–पढाइमा भन्दा अरु नै काममा दत्तचित्त देखिन्छन् ।

आखिर एकजना सांसदको दैनिकी के गरेर बितिरहेको छ त ? कानून बनाउने जिम्मेवारी पाएता पनि संसदहरुले दैनिकरुपमा कस्ता–कस्ता काम गरिरहनुपरेको छ ? सांसदहरुलाई पुस्तकालयमा बसेर र अध्ययन गर्ने वातावरण कत्तिको छ?

यिनै प्रश्नहरुको सेरोफेरोमा हामीले विभिन्न दलका ६ जना सांसदलाई सोधेका छौं– माननीयज्यूको दिनचर्या कसरी बितिरहेको छ ?

सांसदलाई तीनखाले फोन आउँछन्

ज्ञानेन्द्रबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

संसद् नचल्दा के–के काम भन्नु ? बरु संसद् चल्दा काम गरेजस्तो हुँदैन । नचल्दा ज्यादा काम हुन्छ । किनभने संसद् नचलेपछि जिल्ला जानुपर्‍यो, जिल्लामा बस्नु पर्‍यो । जिल्लाका जनताको कुरा सुन्नु पर्‍यो ।

म संसद्को‍ अर्थ समितिमा छु । समितिका बैठक बसिरहेका छन् । बैठकमा सहभागी हुँदै आएको छु । अघिल्लो बैठकख म जिल्ला हुँदा राखियो, सहभागी हुन सकिएन । पुस ७ गते अर्को बैठक बस्यो ।

हामी अर्थ समितिमा विशेष गरी धितो सम्बन्धीको कानुन बनाइरहेका छौँ । वास्तवमा त्यो नामै गलत लेखिएको छ । सुरक्षित व्यापारी भनिएको छ, विधेयकको त्यो नाम नै भएन । भित्र कामचाहिँ सबै धितोको छ । त्यससम्बन्धी संशोधनलगायत काम भइरहेको छ ।

एउटा दुःख लाग्दो कुरो के हो भने पुस १५ भन्दा अगाडि नै हिउँदे अधिवेशन बोलाइसक्नु पर्ने हो । तर, माघभन्दा अगाडि अधिवेशन सुरु गर्न सकिन्छ कि सकिँदैन भन्ने लाइनमा अर्थमन्त्री हुनुहुन्छ । यसले गर्दा हामीलाई गाह्रो भइराखेको छ । अधिवेशनबारे सभामुखसँग पनि अस्ति मैले कुरो गरेको थिएँ ।

अघिल्लो अघिवेशन सकिएपछि अहिलेसम्म म तीनपटक आफ्नो निर्वाचन क्षेत्र (जुम्ला) गएँ । यसपटक क्षेत्रमै बसेँ । दसैं–तिहारभन्दा अगाडि दुईपटक गइसकेको थिएँ । म फेरि कात्तिक ३ देखि मंसिर ४ सम्म जिल्लामै बसेँ ।

सांसद भइसकेपछि सबै काम गर्नुपर्छ भन्ने जरी जनताका फोन आउँछन् । हामी गणतन्त्रका सांसदहरू हौँ, अधिकांश जनताको बुझाई अलिक फरक छ । उहाँहरू हामीलाई पञ्चायतकालकै सांसद जसरी फोन गरिराख्नुहुन्छ । बजेट मागी राख्नुहुन्छ । कहीँ दुःख पर्‍यो, गाह्रो–अप्ठ्यारो पर्‍यो भने पनि हामीलाई फोन आइरहेको हुन्छ ।

मेरो त मुख्य गरी तीनवटा मात्रै ज्यादा काम भइरहेको छ । एउटा– जिल्लाबाट विदेश गएर अलपत्र पारिएका हुन्छन्, उनीहरूलाई नेपाल ल्याउने काम भइरहेको छ । एक महिनामै हामीले जुम्ला जिल्लाका मात्रै विदेशमा दलालका कारण अलपत्र परेका ६ जनालाई नेपाल ल्याएका छौँ । उनीहरूलाई ठगी गरेका म्यानपावर व्यवसायी, एजेन्टबाट रकम असुल गर्न प्रहरीको सहयोग लिने काम पनि गरिरहनुपरेको छ ।

अर्को काम भनेको विशेष गरेर बिरामीसम्बन्धी हो । किनभने, बिरामी काठमाडौं ल्याइएपछि अस्पतालमा भन्दिनुपर्‍यो ।

यी दुईवटा काम त भइहाले, अर्को फोन आउने भनेको अन्यायमा परेका मान्छेहरूको हो । जस्तो– कसैलाई कुटपिट भयो, त्यसका लागि पनि फोन आउँछ । तर, त्यो हाम्रो अधिकारक्षेत्रभित्रको कुरो होइन । तर, जननिर्वाचित प्रतिनिधि भइसकेपछि सबैको कुरा त सुन्दिनुपर्छ । यस्ता फोनहरू नै सबैभन्दा बढी आउने गर्छन् ।

अहिले हामीले त्यहाँको बाटोघाटो सबै कुराको निगरानी गर्नुपर्ने हुन्छ । गणतन्त्रले हामीलाई अधिकार त दिएको छ । त्यो अधिकार नदिएर त हामीलाई जनताले भोट पनि नदिएको होइन फेरि । तर, साह्रै गाह्रो छ ।

अहिले हामी हराएका मान्छेहरू खोजी रहका छौँ । जनु नियम–कानुनअनुसार जानु पर्दा हाम्रो क्षेत्राधिकार भित्रै पर्दैन । तर, गर्नु पर्छ । जस्तो कि– भारतमा मेरो जिल्लाका एकजना मान्छे हराउनुभयो । उहाँलाई खोज्न भारत सरकारसँग गरेर त्यहाँ रहेका नेपालीसँग सहजीकरण गरेर उहाँलाई घर फिर्ता ल्यायौँ । अहिले पनि एकजना अर्का हराइरहनुभएको छ । उहाँको खोजीका लागि म लागिरहेको छु । यस्ता कामहरू महिनामा ३–४ वटा भइराखेका हुन्छन् ।

अर्को काम-जनताले धारो, पँधेरो मागेका हुन्छन् । हामीलाई संविधानले त्यो अधिकार दिएको छैन । तर, त्यो गरिदिनुपर्छ । कतै फोन गरेर हुन्छ कि, कोही निजी दाताबाट हुन्छ कि, गाउँपालिकालाई भनेर हुन्छ कि ।

संसद् नचलेको पछिल्लो समयमा म कृषि विधेयक लेखिरहेको छु । त्यो गैरसरकारी विधेयक हो, विधेयक दर्ता गर्नुपर्ने छ । संसद् खुल्नेबित्तिकै हामी त्यो दर्ता गर्छौँ  ।

संसदको लाइब्रेरीमा म अहिलेसम्म गएको छैन । किनभने हामीलाई पहिलाको जस्तो किताबबाट भन्दा पनि डिजिटलाइजेसनबाट बढी प्रभावकारी बन्दै गएको छ । जस्तो कि– कुनै विधेयक चाहियो भने अनलाइनमै पाइन्छ । अनलाइनमा भयो भने गाडीमा हिँड्दा हिँड्दै पनि पाइयो ।

पुस्तकालय बनाएर भौतिक संरचनामा खर्च गर्नुभन्दा डिजिटल लाइब्रेरी बनायो भने अझै प्रभावकारी हुन्छ । अस्ति सभामुखमार्फत् यो प्रस्तावलाई हामीले अगाडि बढाएका छौँ ।

उहाँलाई बैठकअघि कार्यसूची भनेर पेपर बाँडिन्छ नि, त्यो नबाँड्ने भनेका छौँ । विधेयकहरू छापेर संसद्मा नल्याउने भनेका छौँ । बरु त्यसलाई संसदको वेबसाइटमा राख्ने व्यवस्था गर्नुपर्‍यो भनेका छौँ । र, सबै सांसदलाई ह्वाट्स एपमा पठाइदिने । यसो गरे घरमा मजासँग अध्ययन गर्न पाइन्छ ।

झगडाका मुद्दासमेत आइपुग्छन्

हरि ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

विगत दुई वर्षको मेरो अनुभव अनुसार सदन नियमित रुपमा नै चल्यो । सरकारले कुनै गैर उद्देश्य राखेन । सदनहरू समय मै सञ्चालन भए । यसपल्टका लागि सरकारको उद्देश्य भरसक छिटो नखोल्ने नै देखिन्छ । बिजनेस छैन भनेर देखाइरहेको छ, बिजनेस त सरकारले ल्याउने हो नि ।

सरकारले कसरी काम गरिरहेको छ भने हामीलाई पानीजहाजको आवश्यकता हो र ? होइन नि । यो चैं समितिमा छलफल गराइन्छ । अति आवश्यक संघीयता कार्यान्वयनका पक्षमा अथवा लगायतका संविधान संशोधन गर्नुपर्ने कानुन ०१२ सालको प्रहरी कानुन छ, ०२९ सालको वन ऐन संशोधन नहुँदाका समस्याहरू यस्तै छन् । यस्ता कुरामा सरकार फोकस छैन ।

पछिल्लो समय सरकारका विपक्षमा उठाइने मुद्दाहरू थुप्रै छन् । सदन तात्ने मुद्दाहरू धेरै छन् । त्यही भएर सरकार विलम्ब गरिरहेको छ सदन खोल्नमा नै ।

म सार्वजनिक लेखा समितिमा हो । अरु समितिहरू चल्न चलिरहेका छन् । लेखा समिति चल्न सकेको छैन । बैठक नै बस्न सकेको छैन । अहिले अन्य समितिका बैठकहरू बसिरहेका छन् ।

म निर्वाचन क्षेत्र मै छु । हाम्रो पार्टीको महाधिवेशनको तयारी चलिरहेको छ । त्यही भएर पनि म महाधिवेशनको तयारी र निर्वाचन क्षेत्रमा हुने पार्टीका भेलाहरूमा बिजी छु ।

विधायकी कामका लागि मात्रै सांसद हुन् भन्नेखालको बुझ्ने आमनागरिक पनि हुनुहुन्न । हामी सांसदले विधायकी काममात्रै गर्नुपर्ने हो, तर सम्भव छैन । विकास निर्माणका काममा अघिल्लो वर्ष हाम्रो प्रयत्नले निर्वाचन क्षेत्रमा लगिएको बजेटको कार्यान्वयनको पाटोमा निगरानी गरिराखेको छु । त्यसमा लागिराखेको छु ।

आम नागरिकमा जनप्रतिनिधि कसको भूमिका के भन्ने बुझाइमा पनि कमी छ । जस्तो वडाध्यक्षले गर्न पर्ने काम सांसदसम्म, सांसदको सचिवालयमा आइपुगेको हुन्छ । स्थानीय तहका प्रमुखले गर्नुपर्ने काम पनि हामीसम्मै आइपुगेको हुन्छ ।

झगडाका मुद्दाहरू समेत पनि सांसद कहाँ आइपुगेको हुन्छ । कसको भूमिका के भन्ने कुराको नागरिकमा चेतना कमी छ । त्यसले गर्दा समग्रमा एउटा वडा सदस्य, वडा अध्यक्षको क्षेत्राधिकारमा पर्ने कामहरू पनि हामीबाटै अपेक्षा गरिराखेका हुन्छन् ।

अर्को, विकास निर्माणसँग सम्बन्धितका फोनहरू बढी आइरहेका हुन्छन् । बाटो, पुल, पुलेसा निर्माणमा नै बढी आमनागरिकले बजेट हाली दिनुप¥यो भनिरहनुभएको हुन्छ । उहाँहरूमा हाम्रो सांसद विकास निर्माण नै बढी क्रिय भइदिने हुन्थ्यो भन्ने खालको अपेक्षा हुन्छ ।

संसद् नचलेको समयमा पाइने फुर्सदमा गर्ने भनेको पहिलो मैले अलि अध्ययनको समय पाएको हुन्छु । दोस्रो भनेको आफ्नो क्षेत्रका कामहरू र पार्टी निर्माण र संगठनको काममा बढी व्यस्त भइरहेको हुन्छु ।

मैले पछिल्लो समय दर्शनसँग सम्बन्धित किताबहरू पढिरहेको छु । बीचमा आएका विधेयकहरूको पनि अध्ययन गरिरहेको छु । संसदको लाइब्रेरी अध्ययन गर्नेहरूका लागि ठीकै छ । अध्ययन नै नगर्नेहरूका लागि त्यस्तै हो । मैले लाइब्रेरी त्यतिविधि बिजी (व्यस्त) देखेको छैन ।

बिहे, ब्रतबन्धमा पनि सांसद आइदेओस् भन्ने चाहना हुन्छ

प्रतिमा गौतम, सांसद, नेपाली कांग्रेस

संसद चल्दा संसद्को जिम्मेवारी र संसद्को कामलाई नै मुख्य जिम्मेवारीका रुपमा हेरेर संसद्लाई नै समय दिने भएकाले हाम्रो क्षेत्रका जनताले अपेक्षा धेरै राख्ने, तर जिल्ला आएन, निर्वाचन क्षेत्र आएन भनेर धेरै गुनासो आइरहन्छन् । किनभने हामी संसदै बस्नुपर्ने हुन्छ ।

अब संसद् नहुँदा हामीले विशेषरुपमा चाडपर्वहरू यही बीचमा परे । यसबीचमा क्षेत्रसँग जोडिने प्रयत्न गर्दा, क्षेत्रका जनताका कुरालाई सम्बोधन गर्नतिर सबै माननीयहरू उन्मुख हुँदा फुर्सद नभएको देखिन्छ ।

त्यसपछि अहिले समितिका कामहरू भइरहेको हुँदा माननीयहरू फुर्सदमा हुनुहुन्न । हामीले क्षेत्रलाई पनि, अन्य सामाजिक कामहरूलाई पनि, हाम्रो पार्टीको कामहरू पनि, सबै जिम्मेवारीका लागि समय मिलाएर अगाडि बढ्नुपर्ने अवस्था छ ।

मेरो क्षेत्र काठमाडौंभित्रै पर्ने भएकाले यहाँ विशेष गरेर विकास निर्माणकै कुरामा मतदाताको जोड हुन्छ । हामी सामाजिक प्राणी पनि भएको हुनाले समाजिक कार्य विवाह, ब्रतबन्ध, मानिसहरूको दुःख–सुखमा जोडिने भएकाले सांसद त्यो दुःख–सुखमा आइदेओस् भन्ने चाहना पनि उहाँहरूको हुन्छ । विशेष गरी काठमाडौंमा, हामी त्यहाँ पुग्नै पर्ने हुन्छ । म जनताका घरमा पुग्ने प्रयत्न गरिरहेकेकै हुन्छु ।

मेरो निर्वाचन क्षेत्र काठमाडौं–२ हो । काठमाडौं भए पनि यो क्षेत्रमा विकासले पछि परेका ठाउँहरू छन् । विशेषगरी शंकरापुर नगरपालिका क्षेत्र । त्यो क्षेत्रमा अहिले पनि बाटोघाटोकै विकास निर्माणमा जनताको जोड छ । स्वास्थ्य सामग्रीहरू चाहियो भनेर मलाई फोनहरू आइरहेका हुन्छन् । अस्पतालमा रगत चाहियो भनेर पनि मेरो निर्वाचन क्षेत्रका नागरिकले सम्पर्क गरिराख्नुहुन्छ ।

धेरै कुरा अध्ययन भन्दा पनि हामी अहिले विधेयककै जोड दिएका छौँ । विधेयकहरू अन्तिम–अन्तिम चरणमा भएकाले यसलाई फाइनल गर्ने क्रममा समिति अगाडि बढेको हुँदा पनि अन्य विषय अध्ययनका लागि समय नमिलेको अवस्था छ।

संसद्को लाइब्रेरीमा खासै धेरै पुग्न पाएको छैन । व्यवस्थित त व्यवस्थित नै छ । तर, धेरै समय दिन सकिएको छैन ।

संसद् नचले पनि म समितिको बैठकमा व्यस्त नै छु । म भौतिक पूर्वाधार समितिमा छु । भौतिक पूर्वाधार समितिमा दुईवटा विधेयक छन् । एउटा जलस्रोत विधेयक, अर्को विद्युत विधेयक । हामी लगातार यी विधेयकमाथि छलफल गरिराखेका छौँ ।

हामीले विशेषज्ञहरूसँग, सरोकारवालाहरूसँग लामो समय छलफल गरेर अहिले संशोधनकर्ता मानानीयज्यूहरूसँग दैनिक छलफल भइरहेको छ । अहिले हामी छलफलमै छौँ । संसद् नचले पनि हामी खाली छैनौँ । व्यस्त नै छौँ । विधेयकहरू छिटोभन्दा छिटो पास गराएर संसद्तिर लैजाने हाम्रो ध्यान केन्द्रित छ ।

जनताका समस्या सुन्दा पढ्न भ्याइएन

तारा लामा तामाङ, नेकपा एमाले

अहिले हाउस चलेको छैन । धेरैजसो सांसदहरू जिल्लामा भएर होला, म भएको समितिको पनि बैठक प्रभावित भएको छ । म लेखा समितिमा छु । लेखा समितिका उपसमितिको बैठकहरू भने भइराखेका छन् भन्ने सुनेको छु ।

म अहिले आफ्नो निर्वाचन क्षेत्रबाटै तपाईंसँग कुरा गरिराखेको छु । यतिबेला म कञ्चनपुरको पुनर्बास नगरपालिका–९ बिचफाँटामा छु । यहाँको जिरो प्वाइन्टबाट मेरो पालामा सुरु भएको पिच बाटो हेर्न आएको छु ।

निर्वाचन क्षेत्रका जनताले विशेष गरी विकास निर्माणको कुराहरू मसँग गर्दै आउनुभएको छ । अहिले मेरो क्षेत्रमा विगतमा पनि हो हुन त, तर, यसपाली लालझाडी गाउँपालिका क्षेत्रमा जंगली हात्तीले साह्रै आतंकित गराएको छ ।

विगतमा भारतको उत्तर प्रदेशमा पर्ने दुधुवा नेशनल पार्कबाट निस्कने हात्तीले लालझाडी हुँदै भारतकै उत्तराखण्ड पग्ने र यही रुट भएर फर्किने थियो । योपालि विगत दुई महिनादेखि लालझाडी जंगलमा नै हात्तीको ठूलो झुण्ड बसेर दिानुदिन त्यहाँका जनतालाई दुःख दिइराखेको छ ।

स्थानीयको कुरा तत्काल त्यसको समाधानमा केन्द्रित छ । अर्को भनेको मेरो क्षेत्रमा दुईवटा चिनी मिलहरू छन् । ती मिलमा किसानले उखु बेच्न ३–४ दिन लग्नु परेको छ, यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, कसरी व्यवस्थित गर्न सकिन्छ, गरिदिनुपर्‍यो भनेर भन्नुभएको छ । मैले चिनी मिलका सञ्चालकहरूसँग बस्न खोजेको छु । तर सम्पर्कमा हुनुहुन्न । मैले चिनेका जति सञ्चालकहरूको मोबाइल अफ छ । म प्रयास गरिराखेको छु । समाधानका लागि प्रयासरत छु ।

मेरो निर्वाचन क्षेत्रमा दोदा नदीको कटानले गर्दा समस्या आएको हुनाले यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने छ । लोकतान्त्रिक मार्ग, बोर्डर करिडोरको समस्या छ । बाढीले बेलडाँडी क्षेत्रको झण्डै ८ सय मिटर नहर बगाएको छ । त्यसलाई चौधर नदीमा बाँध बाँधेर नहरलाई पक्की बनाउने भन्ने कुराहरू तत्कालका लागि निर्वाचन क्षेत्रका जनताबाट बढी आइराखेको छ ।

संसद् नचल्दा हामी सांसदहरू जनताका प्रतिनिधि हौँ । जनताकै कामहरू आइरहेका हुन्छन् । तर, संसद् चल्ने बेलामात्रै होइन, राज्यले खर्च गरेपछि संसद्लाई सरकारले बिजनेस दिनसक्नुपर्छ । संसद्लाई स्रोत, साधानको हिसाबले सुविधा सम्पन्न पनि बनाउनुपर्छ ।

जनताबाट निर्वाचित सांसदबाट हरेक कुरामा जनताले सहयोग गरेहुन्थ्यो भन्ने अपेक्षा राख्छन् । उनीहरूले गाह्रो पर्दा कुन अस्पताल जाने, कुन डाक्टर कहाँ जाने भनेर सोध्छन् । आर्थिक रुपमा समस्या पर्दा कसरी समाधान गर्ने भनेर सोध्छन् । अरु त अरु वैदेशिक रोजगारमा जानका लागि पनि सांसदलाई सोध्ने पनि छन् ।

अध्ययन आदिका लागि अहिलेसम्म आफूलाई व्यवस्थित गर्न सकेको छैन । जनताको प्रतिनिधि भएको हुनाले बिहानदेखि साँझसम्म जनताकै समस्या सुन्नुपर्ने, समाधानका लागि पहल गर्नुपर्ने भएकाले खासै अध्ययन गर्न सकिदैन । म प्रायः फिल्डतिरै हुन्छु । फिल्डतिर पुस्तकालय हुँदैनन् । त्यही इन्टरनेटको सहायतामा राति अध्ययन गर्नुबाहेक अरु त्यस्तो खासै केही छैन ।

संसद् भवनको लाइब्रेरीका बारेमा सबै सांसदलाई थाहा नहुन पनि सक्छ । यो व्यवस्थित छैन । फेरि जनताको समस्यामा नै सांसदहरूले बढी समय दिँदा आफैं अव्यवस्थित जस्ता भइसकेका छौँ । केही सांसदमात्रै हुनुहोला अलिकति व्यवस्थित ।

विषयगत समितिहरूका काम महत्वपूर्ण हुन्छन्

शेरबहादुर कुँवर, नेकपा एकीकृत समाजवादी

संसद् नचलेको बेलामा एउटा सांसद त्यत्तिकै बसेको हुँदैन । संसद् नभएको बेला जिल्लामा जाने, पार्टीका बैठकहरूमा सहभागी हुने, अरु भेटघाटका कार्यक्रमहरू गर्ने, आफ्ना व्यक्तिगत कामहरू पनि हुन्छन् ।

संसद् नभएको यो समयमा २–३ पटक म जिल्लामा पुगिसकेको छु । संसदीय समितिको अनुगमनमा मधेश प्रदेश पुगेँ । सुदूरपश्चिम पनि गएँ । सुदूरपश्चिमका केही सामाजिक संघसंस्थाले आयोजना गरेका कार्यक्रमहरूमा पनि सहभागी भएको छु । फुर्सदको समयमा काठमाडौंमा घाम तापेर बस्ने कुरा हुँदैन ।

विकास निर्माणको बारेमा, बाटोघाटोको बारेमा, खानेपानीका बारेमा, सिंचाईंका बारेमा जनताबाट सल्लाह, सुझाव, आग्रहआदि आउने गर्छन् । पहिलाजस्तो सामुहिकभन्दा पनि अहिले व्यक्तिगत कुराहरू बढी आउँछन् । पहिलाको र अहिलेको त फरक छ । पहिला स्थानीय तह थिएन, प्रदेश सरकार थिएन । सबै कुराहरू संघले हेथ्र्यो ।

अब अहिले तीनै तहलाई छुट्याइएको छ । ठूला योजनाहरू केन्द्रले हेर्छन । अरु साना कुराहरू स्थानीय र प्रदेशले हेर्छ । त्यसकारण पहिला सबै संघमा केन्द्रिकृत हुन्थ्यो, सानो खानेपानीदेखि सय मिटर पाइपको लागि पनि हामीलाई फोनहरू आउने गथ्र्यो । अहिले त्यस्तो छैन ।

स्थानीय पालिकाहरूले पनि अहिले जनताका धेरै समस्याहरू समाधान गर्छन् । केही प्रदेशले पनि गर्छ । बाँकी हामीले गर्ने ठूला कामहरू माथिबाट पनि प्रयत्न गरिराखेका हुन्छौँ ।

संसद् नचल्दा के गरिन्छ भन्दा संसद्मात्रै सबै कुरा होइन । संसद् त बिजनेस हुँदा चल्ने हो । संसद्मा अहिलेसम्म बिजनेस केही पनि छैन । विधेयकहरू पनि समितिले पास गरेका छैनन् । कोरम नपुगेर बैठक बसेका छैनन्, विधेयकहरू थन्किएर बसेका छन् ।

यो बीचमा हामीले समितिका केही बैठकहरू बसाल्यौँ । हामीले विधायन व्यवस्थापन समितिको विधेयक पास गर्‍यौँ । अब केही नेपाल ऐन संशोधन गर्ने गरी बनेको विधेयकलाई दफावार छलफलका रुपमा अगाडि बढिरहेको छ । केही मन्त्रालयका दफाहरू बाँकी छन् ।

संसद् नबस्दा पनि सांसदका धेरै कामहरू हुन्छन् । संसद्का विषयगत समितिहरू काम महत्वपूर्ण हुन्छन् । संसद् नभएको बेला ती समितिका काम गर्नुपर्ने हो । संसद् नबसेको लामो समय भइसकेको छ । यो बीचमा हामीले केही समितिका बैठकहरू बसाल्यौँ ।

बैठक बसाल्ने कुरामा हाम्रो अधिकार क्षेत्रभित्र रहेका कामहरू पनि हामीले गर्‍यौँ । जस्तै मानवअधिकार आयोगसँग हामीले अन्तरक्रिया गर्‍यौँ । त्यसैगरी हामीले कारागारको अनुगमन गर्‍यौँ । हामी लुम्बिनीका बाँके–बर्दिया, मधेस प्रदेश गएर कारागारको अवस्थाबारे बुझ्यौँ । सबै कुराको अध्ययन गरेर हामीले गृह मन्त्रालयलाई कारागारको अवस्थाका बारेमा सचेत गरायौँ । यो–यो सुधार गर्नुपर्छ भनेर हामीले प्रतिवेदन पनि दियौँ ।

म कानुन, न्याय तथा मानवअधिकार समितिमा छु । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक हामीले नै पास गरेका हौँ । यो अवधिको चर्चित विधेयक भनेको त्यही हो ।

संसद्मा विधेयकहरू आउँछन् । ती विधेयकहरू हामीलाई वितरण हुन्छन् । वितरण गरिएका विधेयकहरू अध्ययन गर्छौँ । विज्ञसँग परामर्श गर्छौँ । त्यसपछि दफावार छलफलमा जान्छ ।

छलफलमा जाँदा समितिमा जान्छ । समितिमा संशोधनको समय हुन्छ । ७२ घण्टाभित्र हामीले संशोधन हाल्छौँ । संशोधन हालिसकेपछि सम्बन्धित समितिले संशोधनकर्ताहरू लाई बोलाउँछ । संशोधनकर्ताहरूले आफ्नो राय–धारणा दिन्छन्।

संसद्को लाइब्रेरी छ । जति व्यवस्थित हुनुपथ्र्यो त्यति छैन । तर, भएको लाइब्रेरीको सदुपयोग सांसदहरुले गर्न सक्नुभएको छैन । म त पहिला नियमित जाने गर्थें । पछिल्लो समय केही पातलिएको छ । त्यहाँ पत्रपत्रिकाहरू राखेकै छन् दैनिक निस्कने । किताबहरू पनि छन् । तर, संसद र राष्ट्रसँग सम्बन्धित किताबहरू पनि ल्याउनुपर्‍यो भन्ने गरेका छौँ ।

मन्त्रीलाई समस्या राख्दा सुनुवाइ हुँदैन

रामप्रकाश चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)

मेरो निर्वाचन क्षेत्रमा कृषक दाइभाइहरू बढी बस्ने हो । उनीहरूको समस्या भनेकै कृषिसम्बन्धी हो । किसानलाई सिंचाईंको सुविधा छैन । मल, खाद्यको समस्या त्यस्तै छ । विद्युतीकरणको समस्या छ । बाटोघाटोको समस्या, पुल–पुलेसाको समस्या छ । सरकारले बजेट राखिदिएको छैन । पुल पास गरिएको छ, बजेट नै राखिदिन्नन् । वर्षौंअघि पास भएका पुलहरू अहिलेसम्म ठेक्का लगाएको छैन । धेरै समस्याहरू छन् ।

संसद नचल्दा हामी सांसदले आफ्नो क्षेत्रका जनताको समस्या राख्न पाउँदैनौँ । सांसद् लामो समयसम्म बन्दा हुँदा धेरै कुराहरू राज्यसम्म पुग्न सक्दैनन् । संसद्‍मार्फत् हामीले जनताका समस्या राज्यसम्म पुर्‍याउने हो । संसद् नै नभएपछि कसलाई भन्नु ?

एकल–दुकल गएर मन्त्रीलाई भेटेर समस्या राख्दा सुनुवाइ हुँदैन । संसदमा हामीले जनताका समस्या राख्दा सरकारको ध्यानाकर्षण हुन्छ । सबैले सुनिरहेका हुन्छन् । सबैको ध्यानाकर्षण हुन्छ । संसद् भएका बेलामा हामी डाइरेक्ट संसदमै जनताका समस्या रखने गरेका छौँ । बन्द हुँदा मार्का नै हुन्छ ।

म शिक्षा समितिमा छु । संसद नचले पनि हामी समितिको बैठकमा व्यस्त नै छौँ । अस्तिमात्रै शिक्षामन्त्रीलाई समितिको बैठकमा बोलाएर हामीले छलफल गर्‍यौँ । विद्यालय शिक्षा ऐनमा काम भइरहेको छ ।

संसद् चलेको समयमा निर्वाचन क्षेत्र गएको पनि छु । त्यहाँ गएर ठाउँ–ठाउँमा जनताका समस्या सुन्ने काम भएको छ । मेला–पर्वहरू पनि थिए । यस्तै त हो, जहाँ पनि बजेट छैन । थोरै बजेट छ । जनताका माग धेरै छन् । समस्या धेरै छन् ।

संसद्को लाइब्रेरी खासै व्यवस्थित छैन । लाइब्रेरी सिंहदरबारमा छ । संसद चलेको बेला हामी संसद् भवन मै बैठकमा हुन्छौँ । संसद् नहुँदा समितिका बैठकहरू मै व्यस्त भइन्छ । फेरि कार्यकर्ताहरू समस्या लिएर आइरहेका हुन्छन् । लाइब्रेरीमा सांसद्हरु जाने कमै हुन्छन् । आवश्यकै पर्‍यो भने मात्रै हो लाइब्रेरी गइने ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ७ : ४८ बजे

देउवाले भने- सात बुँदेमा कांग्रेस दृढ, सरकारले केही राम्रा काम गरेको छ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग गत असार

संविधान संशोधनबारे ओली – साझा धारणा बनाएरै प्रस्ताव आउँछ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्नुअघि साझा

विश्व बैंकबाट एक सय मिलियन अमेरिकी डलर ऋण सहयोग स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले हरित उत्थानशील तथा समावेशी कार्यक्रमका लागि विश्व बैंकबाट

संविधान संशोधन विधेयक ल्याउने काम भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बहस र छलफलको निष्कर्षबाट साझा

ओलीको दाबी- अध्यादेशमार्फत कानून संशोधन गर्दा देशले अभूतपूर्व सुधारको थालनी गर्छ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत कानून संशोधन गरिएपछि सुशासन