१४ वर्षमै मुम्बईमा बेचिएकी सुनिता : अल्पायुमै अस्ताइन् | Khabarhub Khabarhub

साहसी सुनिताको दु:खान्त

१४ वर्षमै मुम्बईमा बेचिएकी सुनिता : अल्पायुमै अस्ताइन्

मुम्बईको कोठीदेखि 'टिपहिरो' सम्मानसम्म


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानव बेचबिखनविरुद्धकी एकजना अभियन्ता सुनिता दनुवारको निधन भएको छ । जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा उनलाई पति नृप दनुवारले अचेत भेटाएका थिए ।

पारिवारिक स्रोतका अनुसार उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा निधन भएको हो । सुतेकै ठाउँमा अचेत भेटिएकी उनलाई परिवारका सदस्यले तत्काल अस्पताल लगेका थिए । सुनिताको निधन हृदयघातका कारण भएको खुलेको छ ।

सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरूको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्ष थिइन् । उनलाई अमेरिकाको ‘फर्च्युन म्यागेजिन’ ले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो । अमेरिकी विदेश मन्त्रालयले सुनितालाई सन् २०१८ मा ‘टिपहिरो’ का रूपमा सम्मान पनि गरेको थियो ।

दैलेखकी स्थायी बासिन्दा उनको बाल्यकाल अभाव, अशिक्षा र अन्धविश्वासमा बितेको थियो । उनको परिवार सहज जीवनयापनका लागि राम्रो विकल्प खोज्दै सुर्खेत बसाइँ झर्‍यो । त्यहाँ आएपछि आमाबुवाको सम्बन्ध झै बिग्रँदै गएपछि परिवारमा दुःखमाथि दुःख थपिँदै गयो । परश्रीसँग बुवाको निकटताले परिवार बिखण्डनमा गयो । आर्थिक अभावले मानसिक स्थिति पनि बिग्रँदै गयो ।

त्यसपछि उनीहरू त्यहाँबाट बसाइइँ सरेर भारतको जम्मु-काश्मिर पुगे । कश्मिरमा उनी १३ वर्षको उमेरमै घरमा बलात्कृत भइन् । १४ वर्षमा बलात्कारबाट गर्भमा बसेको बच्चा जन्माइन् । नाबालिगले बाबुको पहिचानबिनाको बच्चा जन्माउने कदम चालेर उनले यो समाजले कल्पनै गर्न नसक्ने काम गरिन् ।

कुनै निकृष्ट पुरुषले गरेको गल्तीको सजाय कोखमा रहेको बच्चालाई दिनु हुँदैन भनेर त्यो कलिलो उमेरमै उनले बच्चालाई जन्माउने आँट गरिन् । बच्चा जन्मिएपछि लालनपालनको जिम्मा पनि लिनु थियो ।

काम र अवसरको खोजीमा हिँड्दै गर्दा उनी दलालको फन्दामा परिन् । बच्चासहित मुम्बईको कोठीमा बेचिन पुगिन् । सुनितालाई अचेत बनाएर कोठीमा बेचिएको थियो । बेचिएपछि उनको परिचय फेरियो । सुनिताबाट उषा बनिन् ।

सुत्केरी शरीर लिएर उनी कोठीमा ग्राहक खुसी बनाउन विवश हुनु पर्‍यो । उनले लेखेको पुस्तकमा एकजना ग्राहकले उनको स्तनबाट बगिरहेको दूध आमा मानेर पिउँछु भनेको उल्लेख गरेकी छन् । ती ग्राहकले सानै छँदा आमाको मृत्यु भएपछि दूध खान नपाएको सुनाए । आमाको दूध कस्तो हुन्छ भनेर थाहा नभएको बताएका ती पुरुषले आमा मान्छु भनेको कुरा उनले किताबमा उल्लेख गरेकी छन् ।

एकदिन प्रहरीले छापा मार्दा उनलाई नाबालिगकारूपमा उद्धार गरियो । त्यसपछि खुसी र उत्साहले नेपाली भूमि टेक्न पाइन् । तर, आफ्नै परिवार र समाजको अवहेलना, दुव्र्यवहार सहनुपर्‍यो । बेचिएकी चेलीसँग संकीर्ण मानसिकता र पूर्वाग्रही व्यवहार खेप्नुको विकल्प थिएन । मुम्बईबाट फर्केपछिका दुई दशक उनले तिनै तिरस्कार र दुर्व्यवहारसँग जुधेर बिताइन् ।

तर उनले परिवार र समाजको यही अवहेलनालाई शक्तिमा बदलिइन् । उनले आफू जस्तै पीडित महिलाका लागि लड्ने निधोसहित ‘शक्ति समूह’ गठन गरिन् । जसमा १२ जनाको टिम थियो । त्यसपछि मात्रै सुनिताले स्वेच्छा र सन्तोषले बाँचेका पल भेटिन्छन् । शक्ति समूहमार्फत् संगठित रुपमा महिला बेचबिखनविरोधी अभियान छेडेकी उनको त्यसपछि पहिचान र ख्याति चुलिँदै गयो ।

शक्ति समूह दर्ताका क्रममा सरकारी अधिकारीहरूले पीएचडी गरेकाले मात्रै संस्था चलाउने सल्लाह दिएको उनले एक अन्तर्वातामा बताएकी थिइन् । अधिकारीहरूले ‘तिमीहरू त बिछट्टै राम्री, कलिला केटीहरू मसाज पार्लर, डान्स बार र क्याबिन रेस्टुराँतिर लागे टन्न पैसा कमाइन्छ’, भनेको उनी सुनाउँथिन् ।

सुनिताबाट उषा र उषाबाट सुनिता दनुवारको अस्तित्व र पहिचान स्थापित गरिनुको यात्रा सुरु भयो । पुनर्जीवन पाएकी सुनिताले आत्मकथा ‘आँसुको शक्ति’ प्रकाशन गरिन् । उनले २०७३ भदौ २८ मा पुस्तक विमोचन गराएकी थिइन् । पुस्तकमा बलात्कार र कोठीमा बेचिएपछि जन्मिएका अनगिन्ती असाधारण घटना र अवस्थाहरू झेल्दै अघि बढ्दै जाँदाको बेलीविस्तार पुस्तकमा छ ।

सुनिताले आफू बेचिनुमा मुख्यतः समाज, लैंगिक विभेद, अन्धविश्वास, विपन्न आर्थिक अवस्था, जीविकोपार्जनको राम्रो विकल्प खोजी, स्थायी बसोबास अभाव र सम्बन्धहरूजस्ता कारण दर्शाएकी थिइन् ।

पुस्तकमा पुरुषप्रधान समाजमा महिलाको यौनिकतामाथि परिवार, समाज, सञ्चार र राज्यको मानसिकता र व्यवहारको प्रतिबिम्ब छ ।
मानव बेचबिखनमा परेपछि मुम्बई लगायत विभिन्न देशमा महिलालाई कसरी प्रताडित बनाइन्छ ? मानव बेचबिखनको अवस्था कस्तो छ भन्ने सन्दर्भमा पुस्तक छ ।

सामाजिक न्याय, मानव अधिकार र लैंगिक समानताका लागि धेरै गर्न बाँकी रहेको उनी बताउँथिन् । मानव बेचबिखनको अवस्था, बेचबिखनपछि हुने पीडा, महिलामाथि हुने जघन्य हिंसा, राज्य र राज्यको भूमिका लगायतका विषयमा पुस्तकले समटेको छ ।

युनिसेफ र मानव अधिकार आयोगको तथ्याङ्कअनुसार नेपालबाट वार्षिक १२ देखि १७ हजार मानिस बेचबिखनमा पर्ने गरेका छन् ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ४ : ११ बजे

देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न

दमौली– जिल्लाको प्रसिद्ध देवघाट धाममा एक महिनासम्म सञ्चालित महामहोत्सव बुधबार

बाल विवाह सामाजिक समस्या : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल विवाह सामाजिक समस्या

ललिता निवास प्रकरण : माधव र बाबुरामविरुद्धको रिटमा १८ औँ पेशी, आदेश आउन सक्ने

काठमाडौं- काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय

निजी क्षेत्र संरक्षण हुने गरी विद्युत् विधेयक पारित गर्न माग

काठमाडौं– निजी क्षेत्रको लगानी संरक्षण हुने गरी विद्युत् विधेयक ल्याउनुपर्नेमा

संकटमा इजरायलसँगको युद्धविराम, हमासद्वारा नेताहरूलाई फोन बोक्न प्रतिबन्ध

गाजा- गाजाक्षेत्रस्थित विद्रोही संगठन हमासले इजरायलसँगको युद्धविराम सम्झौता जुनसुकै बेला