मुग्लिङ–पोखरा सडक विस्तारका नाममा यात्रुलाई साढे चार वर्षदेखि सास्ती | Khabarhub Khabarhub

मुग्लिङ–पोखरा सडक विस्तारका नाममा यात्रुलाई साढे चार वर्षदेखि सास्ती

ठेक्का तोड्नुभन्दा फकाउनेतिर सरकार



काठमाडौं – चिनियाँ ऋण लगानीमा विस्तार अघि बढेको मुग्लिङ–पोखरा सडक आधा दशकयता अस्तव्यस्त छ । मुग्लिङ बजारदेखि त्रिशुली पारी मध्यपहाडी लोकमार्ग समेत रहेको उक्त सडक खण्ड विस्तारमा चरम ढिलाइ हुँदा यात्रुलाई सकस परिरहेको छ ।

मुलुकको पर्यटकीय राजधानी पोखरा पुग्ने मुख्य मार्ग नै भद्रगोल हुँदा पर्यटन क्षेत्रमै असर परिरहेको छ । सडक विस्तारमा देखिएको ढिलाइप्रति सरकार भने बेपर्बाह बनेको छ । ठेकेदार कम्पनीले निर्माणमा आलटाल गरिरहँदा समेत निर्माण चाँडो गराउन सरकार कठोर बन्न सकेको छैन ।

नेपालका सरकारी अधिकारी र चिनियाँ ठेकेदारको हेल्चेक्र्याइँका कारण सर्वसाधारण भने धुँवा, धुँलो, हिलो र खाल्डाखुल्डी ब्यहोर्दै कष्टकर यात्रा गर्न बाध्य छन् । सडक विस्तारकार्यमा निरन्तर ढिलासुस्त गर्दा सवारीसाधन सञ्चालन गर्न निकै सकस परिरहेको चालकहरू बताउँछन् ।

सडक विस्तारको लक्ष्य चौडाइ बढाउने, डेडिकेटेड लेन निर्धारण गर्ने र कालोपत्रे गर्ने हो । विस्तारकार्य शुरू भएदेखि नै यो खण्डमा निर्माणले भने गति लिन सकेन । जसका कारण, उक्त सडकखण्डको हालत अत्यधिक खाल्डाखुल्डीसहित जीर्ण हुन पुगेको छ ।

सडक दूरावस्थाकै कारण पोखरादेखि काठमाडौंसम्म बसमा यात्रा गर्दा १६/१७ घण्टासम्म लाग्ने गरेको छ । शुरूमा आयोजना पूर्वतयारीको काम गर्न नै लामो समय लागेकाले विस्तारमा ढिलाइ भएको निर्माण कम्पनीको तर्क छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ मा यो सडक आयोजना विस्तारका लागि सरकारले साढे नौ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । मुग्लिङ–नारायणगढ सडक खण्ड विस्तार निम्ति अन्तरराष्ट्रिय दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण लगानी रहेको छ 

सडक विभागले कुल ८० किलोमिटर लम्बाइ रहेको उक्त सडकलाई दुई खण्डमा बाँडेर वि.सं. २०७७ देखि नै विस्तार थालेको हो । पूर्वीखण्ड आबुँखैरेनी–जामुने (४१ किलोमिटर) विस्तारको ठेक्का चाइना कम्युनिकेसन कन्ट्रक्सन सकारेको छ ।

पूर्वीखण्डको सडक विस्तारको काम २०७७ बैशाखदेखि शुरू भएको थियो । साढे तीन वर्षमा सडक विस्तारको काम सक्ने सम्झौता भए पनि हालसम्म सडक विस्तारको काम आधा पनि सम्पन्न हुन सकेको छैन । पूर्वीखण्डको सडक विस्तार प्रगति हालसम्म ५० प्रतिशतमात्र छ । सो सडक विस्तार शुरू भएकै साढे चार वर्ष नाघिसक्यो । तर, काम अहिलेसम्म अधुरै छ ।

सो सडकखण्ड विस्तार सम्झौता अवधि घर्किसक्दा समेत सडक विस्तारकार्य पूरा हुन नसकेपछि आयोजनाले एक वर्ष म्याद थप गरेको थियो । तर, थपिएको म्यादभित्र पनि सडक विस्तार सकिनेमा आयोजनाकै अधिकारीहरू निश्चिन्त छैनन् । उक्त खण्डको सडक विस्तारको सम्झौता अवधि २०८१ साउन मसान्तसम्म मात्र थियो । म्याद थपको समयसीमा आगामी २०८१ माघ मसान्तमा सकिँदैछ ।

आँबुखैरेनीदेखि जामुनेसम्म सडक छेउछाउको घरटहरा हटाउनुपर्ने, पोल सार्नुपर्ने, पाइप, बिजुलीका तार व्यवस्थापन गर्नुपर्नेलगायतका कारणले विस्तारमा ढिलाइ भएको सडक विभागले जनाएको छ ।

पोखरा खण्डमा सुस्त, ठेकेदारलाई फकाएर काम गराइँदै

पूर्वीखण्डको तुलनामा पश्चिमखण्डमा सडक विस्तारको गति निकै सुस्त छ । खासगरी तनहुँको जामुनेदेखि कास्कीको पोखरा सेतीपुलसम्म पर्ने ३९ किलोमिटरको उक्त सडकखण्ड विस्तारको काम हालसम्म २५ प्रतिशतमात्र सकिएको हो ।

साढे तीन वर्षभित्र काम सम्पन्न गर्ने सम्झौता भएको सडक विस्तारको ठेक्का चीनकै कम्पनी आनहुई काइयुयान हाइवे एन्ड ब्रिज कम्पनीले सकारेको छ । कुल सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का पाएको सो ठेकेदार कम्पनीले सन्तोषजनक काम गर्न सकेको छैन । निर्माण कम्पनीले २०७८ भदौदेखि सडक विस्तार थालेको थियो ।

उक्त सडकखण्ड विस्तारको सम्झौता आगामी २०८१ माघ मसान्तमा सकिँदैछ । तर, भौतिक प्रगति भने निकै न्यून छ । सडक विस्तार थालिसक्दा समेत उक्त खण्डमा बिजुलीका पोल सार्ने, जग्गा अधिग्रहण र अनाधिकृत संरचना हटाउने लगायतका काम गर्न नै एक वर्षको समय लागेको थियो ।

अहिले पनि उक्त सडक खण्डमा पूर्वतयारीको काम गर्नै बाँकी छ । विगतमा निर्माण कम्पनीले सडक विस्तार कार्यमा सन्तोषजनक प्रगति हासिल नगर्दा सडक विभागले ठेक्का नै तोड्न खोजेको थियो ।

ठेक्का तोडिने डरले निर्माण कम्पनीले जसोतसो सडक विस्तार कार्य सुस्त गतिमा अघि बढाएको छ । सडक दूरावस्थाको सबैभन्दा बढी पीडा चाहिँ यात्रुले भोगिरहेका छन्  

नयाँ ठेक्का प्रक्रियामा जाँदा सडक विस्तारमा थप ढिलासुस्ती हुने हुँदा काम गरिरहेकै निर्माण कम्पनीलाई फकाएर काम गराउने पक्षमा विभाग पुगेको छ ।

विभागले ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कम्पनीले पछिल्लो समय सडक विस्तारको गति केही बढाएको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले खबरहबलाई जानकारी दिए । सडक विस्तार गर्न आवश्यक ढुंगा, गिटी र बालुवालगायत निर्माण सामग्री अभावले पनि सडक विस्तारमा ढिलाइ भएको उनको तर्क छ ।

उनका अनुसार अहिले भने मुग्लिङ–पोखरा सडक आयोजना अन्तर्गत पश्चिम खण्डको सडक विस्तारले पनि गति लिन थालेको छ । यसअघि ठेकेदारले काम नै नगरेकाले ठेक्का तोड्ने कि भनेर विभागले तयारी गरेको थियो ।

सडक विस्तारको गति अघि नबढाए ठेक्का तोड्ने चेतावनीपछि अहिले सडक विस्तारको कामले केही गति लिन थालेको पोखरेलको भनाइ छ । विगतमा कोरोना महामारीलगायत कारणले पनि सडक विस्तारमा ढिलाइ भएको उनको भनाइ छ ।

एक वर्षभित्र ‘मेन लेन’ को कालोपत्रे गरिने

सडक विभागका अनुसार आगामी एक वर्षभित्र राजमार्गको पूर्वीखण्डको सडक विस्तारकार्य सकेर कालोपत्रे गर्ने लक्ष्य छ । दोस्रो खण्डको सडक विस्तारको कार्य भने केही सुस्त रहेको विभागले जनाएको छ ।

‘एक वर्षभित्र कम्तीमा मूख्य लेनको कालोपत्रेको काम गरिसक्ने लक्ष्य लिएका छौं,’ महानिर्देशक पोखरेलले भने, ‘मेन लेनको कालोपत्रे काम गरेर यातायात सञ्चालनमा सहजीकरण गर्दैछौं ।’

उनका अनुसार पश्चिम खण्डमा निर्माण सामग्रीको करको विवाद, पोल सार्ने, पाइप हटाउने लगायतका काम गर्न अझै बाँकी छ । ‘पश्चिम खण्डमा पूर्वतयारीको काम करिब अन्तिम चरणमा पुगेको छ,’ पोखरेलले जानकारी दिए ।

सडक आयोजनाअन्तर्गत दुवै खण्डमा गरी हालसम्म ३५ किलोमिटरमात्र कालोपत्रे भएको छ । बाँकी खण्डमा सडक विस्तार कार्य भइरहेको आयोजनाले जनाएको छ । मध्यपहाडी राजमार्ग समेतले चिनिने उक्त खण्डमा २८८ स्थानमा कल्र्भट बनाउनुपर्नेछ । हालसम्म ३० स्थानमा मात्र कल्र्भट निर्माण भएको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ मा यो सडक आयोजना विस्तारका लागि सरकारले साढे नौ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । मुग्लिङ–नारायणगढ सडक खण्ड विस्तार निम्ति अन्तरराष्ट्रिय दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण लगानी रहेको छ ।

उक्त राजमार्ग विस्तारकार्य दुवै खण्डमा गरी कुल १३ अर्ब ६० करोडको ठेक्का सम्झौतामा अघि बढाइएको हो ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  २ : ३५ बजे

कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त

काठमाडौं–  कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त भएका छन्

विश्वले गम्भीर चुनौतीको सामना गरिरहेको छ : चिनियाँ राष्ट्रपति

एजेन्सी – चिनियाँ राष्ट्रपति सी जिङपिङले बिहीबार ब्रिक्सका नेताहरूलाई विश्वले

पुटिनसामु सी–मोदीले हात मिलाउँदा चीन र भारतमा उत्साह

काठमाडौं- नेपालका दुई निकट छिमेकी भारत र चीनबीच लामो समयदेखिको

लोसपाका उपाध्यक्ष चन्द्रकान्त चौधरी राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश

काठमाडौं– सत्ता साझेदार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उपाध्यक्ष चन्द्रकान्त

स्वास्थ्यमन्त्रीका सय दिन -कर्मचारी व्यवस्थापन कार्यको प्रारम्भ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा केही सुधार