महिलामा पिसाबको संक्रमण किन बढी हुन्छ ? | Khabarhub Khabarhub

महिलामा पिसाबको संक्रमण किन बढी हुन्छ ?


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

मिर्गौलाबाट पिसाबको थैली हुँदै मुत्रनलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा हुने किटाणुको संक्रमण नै पिसाबको संक्रमण हो। यौनाङ्गको सरसफाइ नगर्दा पिसाबको संक्रमण हुने जोखिम हुन्छ। शरीरको कुनै भागमा भएको संक्रमण पिसाब नलीमा पुग्यो भने पनि पिसाबको संक्रमण हुन्छ। चिसो मौसममा पिसाबको संक्रमण बढी हुने चिकित्सक बताउँछन्। चिकित्सकका अनुसार पुरुषमा भन्दा महिलामा यो समस्या धेरै देखिने गरेको छ। महिलाको शारीरिक बनावट कै कारण यो समस्या उनीहरुमा बढी देखिने गरेको चिकित्सकको भनाइ छ। पिसाबको थैली, महिनावारी हुने ठाउँ र दिसा गर्ने ठाउँ एउटै लाइनमा भएकाले महिलामा यो समस्या धेरै हुन्छ। महिलामा किन धेरै पिसाबको संक्रमण हुन्छ ? कस्तो लक्षण देखियो भने ‘इन्फेक्सन’ भयो भनेर बुझ्ने ? समयमा नै उपचार भएन भने यसले कस्तो असर गर्छ ? भन्ने विषयमा स्त्री रोग विशेषज्ञ डा. विमला मल्लसँग खबरहबका लागि गरिएको कुराकानीः

महिलामा हुने पिसाबको संक्रमणलाई कसरी बुझ्ने ?
महिलामा चिसो मौसममा पिसाबको संक्रमण धेरै हुने गरेको छ। अहिले उपचारको लागि आउने १० जना बिरामीमा पाँच जना पिसाबकै समस्या लिएर आउने गरेका छन्।

यौन कार्यमा सक्रिय हुने भएकाले विवाहित महिलामा पिसाब संक्रमणको सम्भावना धेरै हुन्छ। श्रीमानमा पिसाब सम्बन्धी समस्या छ भने पनि त्यो श्रीमतीमा सर्ने सम्भावना हुन्छ।

चिसो मौसममा किन बढ्छ पिसाबको संक्रमण ?
पानी कम खाने, गुम्सिएर भित्रै बस्ने, बाक्लो लुगा लाउने, महिनावारीको समयमा राम्रोसँग सरसफाइ नगर्ने बानीका कारण चिसो मौसममा पिसाब संक्रमण धेरै हुन्छ।

अविवाहितमा भन्दा विवाहित महिलामा यो समस्या धेरै हुन्छ भनिन्छ, के कारणले हुन्छ ?
विवाहित महिला यौनिक रूपमा सक्रिय हुन्छन्। यौन कार्यमा सक्रिय हुने भएकाले विवाहित महिलामा पिसाबको संक्रमणको सम्भावना धेरै हुन्छ। श्रीमानमा पिसाब सम्बन्धी समस्या छ भने पनि त्यो श्रीमतीमा सर्ने सम्भावना हुन्छ। त्यस्तै, धेरै समयसम्म पिसाब रोकेर राख्दा पनि इन्फेक्सन हुने सम्भावना हुन्छ। स्वच्छ र सफा शौचालयको प्रयोग गरिएन, पिसाब फेरेपछि राम्रोसँग सफा नगरेमा महिलामा पिसाबको सङ्क्रमण हुन्छ। त्यस्तै सुत्केरीमा पिसाबको संक्रमण हुन्छ। महिलाहरुको शारीरिक बनावटकै कारण पनि उनीहरुमा पुरुषको तुलनामा बढी संक्रमण हुन्छ। पिसाबको थैली, महिनावारी हुने ठाउँ र दिसा गर्ने ठाउँ एउटै लाइनमा भएकाले महिलामा यो समस्या धेरै हुन्छ।

कस्तो लक्षण देखियो भने इन्फेक्सन भयो भन्ने थाहा पाउन सकिन्छ ?
पिसाबको सङ्क्रमण भएको अवस्थामा कुनै बेलामा लक्षण देखिन्छ कुनै अवस्थामा लक्षण नै नदेखिने हुनसक्छ। पिसाबको सङ्क्रमण हुँदा तल्लो पेट दुख्ने, पिसाब फेरेपछि दुख्ने वा पोल्ने, ज्वरो आउने हुन्छ। कतिपयलाई पिसाब फेरेपछि फेरि जान मन लाग्ने, छोटो छोटो समयमा पिसाब फेर्नुपर्ने तर पिसाब फेर्दा थोपा थोपा मात्र आउने हुनसक्छ। कहिलेकाहीँ पिसाबमा रगत देखा पर्ने, राति तीन चार पटक पिसाब गर्न मन लाग्ने भयो भने पिसाबको सङ्क्रमण भयो भनेर शंका गर्नुपर्छ। पिसाब फेर्न लागेको बेलामा कटक्क पेट दुख्ने, कसैकसैलाई पिसाब फेर्नु भन्दा अगाडि पनि धेरै दुख्ने हुन्छ। कसैलाई पिसाब फेरेपछि दुख्ने हुन्छ। यदि धेरै नै इन्फेक्सन भएको छ भने धेरै दुख्ने हुनसक्छ।

पिसाबको सङ्क्रमण हुँदा तल्लो पेट दुख्ने, पिसाब फेरेपछि दुख्ने वा पोल्ने, ज्वरो आउने हुन्छ। कतिपयलाई पिसाब फेरेपछि फेरि जान मन लाग्ने, छोटो छोटो समयमा पिसाब फेर्नुपर्ने तर पिसाब फेर्दा थोपा थोपा मात्र आउने हुनसक्छ।

इन्फेक्सन एक व्यक्तिबाट अर्कोमा सर्छ कि सर्दैन ?
यो सर्ने रोग होइन। तर सफा पानी प्रयोग गरिएन भने त्यो पानी इन्फेक्सन भएको व्यक्तिले प्रयोग गरेको छ र बाथरुम सफा भएन भने माध्यम बन्नसक्छ। त्यस्तै श्रीमान या श्रीमती कसैमा पिसाबको इन्फेक्सन छ भने यौनसम्पर्कको माध्यमबाट सर्नसक्छ।

पहिलेको तुलनामा पिसाब संक्रमण सम्बन्धी समस्या घटेको छ ?
पछिल्लो समय चेतनामा भएको वृद्धिले यो समस्या घटिहरहेको छ। अहिले विद्यालयमा प्रजनन स्वास्थ्यका विषयमा धेरै जानकारी दिइन्छ। जसका कारण प्रजनन अंगको सरसफाइमा विद्यार्थीले ध्यान दिन्छन्। पहिले ग्रामीण क्षेत्रमा सरसफाइमा ध्यान नदिँदा यो समस्या बढी थियो। महिलाले भित्री वस्त्रहरु लगाउने चलन नै थिएन। जसले गर्दा संक्रमण धेरै देखिन्थ्यो। अहिले संक्रमण देखिए पनि समयमा उपचारमा आउने गर्दछन्। त्यसले समस्या विस्तारै समाधान हुँदै गएको मान्न सकिन्छ।

समयमा नै उपचार गरिएन भने कस्तो असर गर्छ ?
समयमै उपचार गरिएन भने पत्थरी, टीबीलगायत रोग लाग्ने सम्भावना रहन्छ। बारम्बार समस्या दोहोरिँदा मानसिक स्वास्थ्यमा पनि असर पर्नसक्छ। इन्फेक्सन सर्दै गएर मिर्गौलामा गएर असर गर्छ। संक्रमण बढ्दै गएको समयमा थाहा नभए पछिपछि ज्वरो आउने, कोख दुख्ने हुन्छ। त्यसैले यसको समयमा नै उपचार गर्नुपर्छ। त्यसैले लक्षण देखिएपछि यसको उपचार गरिएन भने अरु समस्या निम्त्याउँछ।

पिसाब संक्रमणको समयमै उपचार गरिएन भने पत्थरी, टीबीलगायत रोग लाग्ने सम्भावना रहन्छ। बारम्बार समस्या दोहोरिँदा मानसिक स्वास्थ्यमा पनि असर पर्नसक्छ।

पिसाबको सङ्क्रमणबाट कसरी बच्ने ?
पिसाबको सङ्क्रमणबाट बच्नको लागि सबैभन्दा पहिला महिला पुरुष दुवैले सरसफाइमा विशेष ध्यान दिनुपर्छ। पिसाब धेरै समयसम्म रोक्नु हुँदैन। डेढ दुई घण्टाको फरकमा पिसाब फेर्नुपर्छ। पानी प्रशस्त मात्रामा पिउनुपर्छ। एकै पटक धेरै पानी पिउनु हुँदैन। पटकपटक गरेर एक दिनमा तीन लिटर पानी पिउने गर्नाले सङ्क्रमणबाट बच्न सकिन्छ। आफूले प्रयोग गर्ने शौचालय सधैँ सफा राख्ने, महिनावारीको समयमा प्रयोग गर्ने कपडा, प्याड समय समयमा फेर्ने, पिसाबमा केही समस्या हुने बित्तिकै अस्पताल गएर परीक्षण गरेर पिसाबको सङ्क्रमणबाट जोगिन सकिन्छ।

ठुलो मान्छे मात्रै होइन बच्चालाई पनि पिसाब संक्रमणको विषयमा जानकारी दिनुपर्छ। जसले गर्दा उनीहरु समयमै यो समस्याको विषयमा सचेत हुन्छन्।

संक्रमण र यसको उपचारको विषयमा यहाँको सुझाव के छ ?
पिसाबमा संक्रमण भइहाल्यो भने छिटो उपचार गराउनु राम्रो हुन्छ। खानपिन र सरसफाइमा ध्यान दिनुपर्छ। ठुलो मान्छे मात्रै होइन बच्चालाई पनि पिसाब संक्रमणको विषयमा जानकारी दिनुपर्छ। जसले गर्दा उनीहरु समयमै यो समस्याको विषयमा सचेत हुन्छन्।

स्त्री रोग विशेषज्ञ डा. विमला मल्लसँगको कुराकानीः

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ७ : ०२ बजे

विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा गाजा

काठमाडौं– गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि

बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 

बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १

सुपला भट्टराई : दर्शकको मन जित्न सफल बालकलाकार

काठमाडौं– बालविवाह र बोक्सी कुप्रथाको विषयमा बनेको चलचित्र ‘बोक्सीको घर’

वेस्ट इन्डिज’ए’ ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो

फाकफोकथुम : एमाले–कांग्रेसको पुरानो गढ

इलाम- प्रतिनिधिसभाको उपचुनावको मतगणना फाकफोकथुम गाउँपालिकाको वडा नम्बर–१ बाट सुरु