'मेरो छोराले झैं जातकै कारणले अरुले ज्यान गुमाउन नपरोस्' | Khabarhub Khabarhub

‘मेरो छोराले झैं जातकै कारणले अरुले ज्यान गुमाउन नपरोस्’



काठमाडौं – छुवाछुतको विरुद्ध कानुन बनेको धेरै वर्ष बितिसक्यो । तर समाजमा आज पनि जातकै कारणले ज्यानसम्म गुमाउने पर्ने अवस्था छ । २०७७ साल जेठमा जाजरकोटमा नवराज विक सहित ६ जनाको हत्या भएको घटनाले जोकोहीको मंथिङगल हल्लिन्छ । अझ उनका बुवाआमाको अवस्थाअनुमान नै लगाउन सकिन्न ।

दिनरात छोराको यादले छटपटीले हुने उनका बुवा मुनलालले दुखेसो पोख्छन् । खबरहबसँग कुरा गर्दै उनले भने, ‘त्यो कहालीलाग्दो दिन सम्झेर मुटु काप्छ । यो संसारमा छोरो छैन भनेर मनलाई सम्झाउँदा–सम्झाउँदा मानसिक रुपमा निकै कमजोर भएको छु । उमेरले म जम्मा ४७ वर्षको भएँ तर निकै वृद्ध भएको महसुस हुन्छ । उसकी आमाको अवस्था निकै नाजुक छ ।’

उनी थप्छन्, ‘आफ्नै दैनिकीमा फर्किनैपर्‍यो । तर जब समय सुनसान हुन्छ । बुढाबुढी भक्कानिन्छौं ।’

नवराज खेलाडीसमेत भएको सम्झँदै पिता मुनलाल भन्छन्, ‘कमाएर घर धान्ने छोरो मारिदिए । एथलेटिक्स निकै राम्रो खेल्थ्यो । बाँच्न दिएका भए परिवारसँगै देशको नाम राख्ने थियो ।’

मुनलालले भने, ‘मेरो छोरोले प्रेम गरेको थियो , उसको गल्ती यत्ति हो । अल्लारे केटाकेटी थियो, गाउँका पाका मान्छेले सम्झाएर बुझाएर पठाइदिएको भए हुन्थ्यो  तर कथित ठुला जातकाले मारेरै फाल्दिए ।’

जिल्ला अदालतले न्याय दिएको महसुस भएता पनि मुनलालको मनमा डर हटेको छैन । उनी भन्छन्,’अपराधीहरुलाई सजाय दिएर अदालतले न्याय दियो । छोरोसहित उसका साथीहरुको आत्माले शान्ति पाएको छ । तर तिनीहरु पुनरावेदन लिएर उच्च अदालतमा जाँदैछन् भन्ने सुनेको छु ।’

उनी अदालतले फेरि पनि न्याय दिने विश्वासमा छन् । भन्छन्,’जातीय विभेद विरुद्ध तथा ज्यान मुद्दाको केसमा अदातलले फेरि पनि अन्याय गर्ने छैन भन्ने विश्वासमा छु ।’

यसरी भएको थियो सामूहिक हत्या

जाजरकोट जिल्लाको भेरी नगरपालिका–४, राना गाउँका नवराज विक सहित १८ जना युवा ०७७ जेठ १० गते  रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८स्थित सोती गाउँमा पुगे ।

उनीहरु मल्ल थरकी नवराजकी प्रेमिकासँग बिहेको कुरा गर्न त्यहाँ गएका थिए ।

नवराज र मल्ल थरकी एक युवतीबीच ०७५ सालमा जाजरकोटको कुदुमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पहिलो भेट भएको थियो । त्यसयता उनीहरूबीच नियमित सम्पर्क थियो । उनी त्यस दिन प्रेमिकाको परिवारसँग आफ्नो विवाहको कुरा गर्न त्यहाँ पुगेका थिए ।

साँझ साढे पाँच बजेतिर नवराज र उनका साथीहरु करीब पौने ३ घण्टा हिंडेर सोती गाउँ पुगेका थिए । युवतीकी आमाले नवराजलाई चिनेपछि गाली गर्न थालिन् ।

त्यसपछि नवराज र उनका साथीहरु फर्किए । उनीहरूले बाटोमा पर्ने बालकुमारी विश्वकर्माको घरको धारामा पानी खाए ।

सोही क्रममा सोती गाउँका एक अपरिचित स्थानीयले ‘कहाँबाट आयौ बाबु हो, काफल खाएर जाओ’ भनी केहीबेर अल्मल्याए ।

काफल खाने  अनुरोध अस्वीकार गरेर उनीहरु बन्चरे भन्ने ठाउँमा पुगे । मध्यपहाडी लोकमार्गको माथिल्लो भागमा बसिरहेका बेला ५०/६० जनाको समूहमा घरेलु हतियारसहित आएका स्थानीयले नवराज र उनका साथीहरूलाई घेरा हालेर आक्रमण गर्न थाले । उनीहरु ज्यान जोगाउन भेरी नदीको बगरतिर भागे ।

वडाध्यक्ष डम्बरबहादुर मल्लसहितको ठूलो समूहले लखेट्दै उनीहरुलाई भेरी नदीको किनारमा पुर्‍यायो । त्यहाँ कुटपिट गरेर नवराजसहित ६ जनाको हत्या गरी सबैलाई भेरी नदीमा फालियो ।

स्थानीयको आक्रमणबाट नवराज विक, टीकाराम सुनाम, सञ्जु विक, गणेश विक, लोकेन्द्र सुनार, गोविन्द शाहीको ज्यान गयो । उनीहरूको शव भेरी नदीमा भेटिएको थियो ।

दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै युवतीका परिवार र सोतीका स्थानीयले नवराजसहित उनका साथीहरूलाई लेखेटेर हत्या गरेको अदालतको ठहर छ ।

करीब आधा घन्टापछि घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय, चौरजहारीको टोलीले १२ जना युवालाई घाइते अवस्थामा उद्धार गरेको थियो । उनीहरूमध्ये सुदीप खड्काको टाउको र छातीमा तथा अन्य सबैको शरीरका विभिन्न भागमा   गम्भीर  चोटपटक थियो ।

पीडित पक्षले २०७७ जेठ १३ गते जिल्ला प्रहरी कार्यालय, जाजरकोटमा २० जना विरुद्ध किटानी जाहेरी दियो । जाहेरीपछि ३४ जना पक्राउ परे । उनीहरूमध्ये थुनछेक बहसका क्रममा दुई जना बालकसहित ११ जना तारेखमा छुटे ।

कसुरमा कारागारमा रहेका २३ जनालाई जिल्ला अदालत जाजरकोटले जन्मकैदको फैसला सुनायो।

नवराजकी प्रेमिकासहित उनको परिवारका तीनजनालाई जातीय विभेदको मुद्दामा दुई वर्ष कैद र ५० हजार रुपियाँ जरिवाना तोकियो । घटनाका आरोपित ८ जनाले भने सफाइ पाए।

नेपाल अधिराज्यको संविधान २०४७ ले विभेद विरुद्धको अधिकारका साथै सकारात्मक विभेदको नीति अपनाउन सक्ने व्यवस्था गरेको थियो । त्यसलाई नेपालको अन्तरिम संविधान, २०६३ ले पनि निरन्तरता दियो ।

जन्मकैदको सजायँ पाउनेहरुमा डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सविन पुन, तिलक चन्द, इन्द्र बहादुर ठकुरी, लिपेन्दकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनाराज राना, नवीनकुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन, रमित पुन मगर, विष्णु मल्ल र परिवर्तित नामहरु रुकुम पश्चिम ९३६०१, रुकुम पश्चिम ९३६०३ र रुकुम पश्चिम ९३० छन् ।

एक्काइसौं शताब्दीमा कल्पना पनि गर्न नसकिने यस्तो घटनाले सि‌ंगै नेपाली समाजलाई गिज्याइरहेको छ ।

नवराजका पिता मुनलाल भन्छन्, ‘मेरो छोराले झैं जातकै कारणले अरुले ज्यान गुमाउन नपरोस् ।’

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  १२ : ४३ बजे

लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता

लमजुङ– लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गएराति पहिरोले तीन घर

पाकिस्तानमा भयानक बन्दै बालविवाह

काठमाडौं– पाकिस्तानमा बालविवाहका घटना बढ्दै गएको पाइएको छ । संयुक्त

‘माड’को नाममा ‘जाँड’को व्यापार

एउटा गाउँमा एकजना बुद्धिचालका प्रकाण्ड खेलाडी रहेछन् । उनको प्रसिद्धि

नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीबाट बधाई, गितार उपहार (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आइडलका विजेता करण परियारलाई बधाइ

पहिलो सेमिफाइनल : अफगानिस्तानलाई दक्षिण अफ्रिका कति सहज ?

सन् १९९९ को विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका सानदार लयमा थियो।