सहकारीका नटवरलालको काइदा : बचत फिर्ता माग्दा सल्लाहकारको पगरी ! | Khabarhub Khabarhub

सहकारीका नटवरलालको काइदा : बचत फिर्ता माग्दा सल्लाहकारको पगरी !


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारी पीडितहरूले बचत फिर्ता माग गर्दै काठमाडौं माइतीघरमा शुक्रबार प्रदर्शन गरे । यसअघि दुई चरणका आन्दोलनमा आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन्‌ ।

प्रदर्शनमा सहभागी हुन आएकामध्ये एक हुन्‌ – ललितपुरमा केन्द्रीय कार्यालय रहेको लालीगुराँस सहकारीका बचतकर्ता राकेश खड्का । उनले सो सहकारीमा लामो समयदेखि बचत गरेको ठूलो बचत रकम फिर्ता नै पाएका छैनन्‌ ।

आफूले बचत गरेको रकम माग्न सहकारीको कार्यालयमा जाँदा भुक्तानी नदिएर सहकारीले उल्टै सल्लाहकारमा नियुक्त गरेको खड्काले सुनाए ।

उनले झण्डै ८ वर्ष पहिले काठमाडौंमा रहेको आफ्नो जग्गा बेचेर सहकारीमा रकम जम्मा गरेका थिए । ब्याज धेरै आउने र त्यसले नै खर्च चलाउन पुग्ने आशमा आफूले सहकारीमा १ करोड २१ लाख रुपैयाँभन्दा बढी रकम राखेको खड्काले बताए ।

आफन्तबाटै फसे
खड्कालाई लालीगुराँस सहकारीसम्म आफन्तले नै पुर्‍याएका हुन्‌ । समस्याग्रत सहकारी व्यवस्थापन समितिमा हालै लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट सात अर्ब ४० करोडभन्दा धेरै बचत रकम फिर्ता माग्दै उजुरी परेको छ ।

‘मलाई आफन्तले नै यो सहकारीमा रकम राख्नुस्‌, ब्याज धेरै दिन्छ भने । त्यो बेला राम्रै देखेर रकम जम्मा गरेँ, आर्जन गरेको रकम बचत पनि हुने र खर्च धान्न ब्याज पनि आउने देखेर त्यहाँ रकम जम्मा गरेको हुँ’, उनले भने ।

तर, पछि रकम आवश्यक परेर सो सहकारीमा जाँदा उनले बचत फिर्ता पाएनन्‌ । धेरै पटक धाउँदा पनि उनी रित्तै हात फर्कनुपर्‍यो  । उनलाई पैसा नदिएर सहकारीले उल्टै सल्लाहकार नियुक्ति गरिदियो ।

‘पैसा दिन्छु दिन्छु भनेर कयौँ दिन टार्‍यो, पछि तपाईं हाम्रो सहकारीको इमान्दार मान्छे हो, तपाईंलाई हामीले सल्लाहकारमा नियुक्त गर्ने निणर्य गरेका छौं भन्यो, म पनि छक्क परेँ, पछि थाहा भयो – पैसा तिर्न सक्ने अवस्था नै रहेनछ सहकारीको,’ खड्काले भने ।

उनी जस्ता धेरै बचतकर्ताहरूको रकम सो सहकारी सञ्‍चालकले हिनामिना गरिदिएका छन्‌ । ‘म सँगै रकम माग्न गएका ८० वर्षका पिसाबको नली लगाएका बुबाले मलाई संचालक भनेर सास फेर्न नसकी-नसकी घिसार्न खोजेको सम्झँदा मन कटक्कै खान्छ,’ खड्काले सुनाए ।

 

ठूला भनिने सहकारी ठगीमा सरकारी पक्षको मिलेमतो भएको उनको खड्काको बुझाई छ । उनी धेरै पटक समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा गए । तर, त्यहाँको व्यवहार र काम गर्ने शैलीले उनीहरू पनि त्यसमा संलग्न भएको भएको जस्तो लागेको उनले बताए ।

जब ६५ वर्षीया वृद्धाले भाँडा माझेर जोगाएको बचत गुमाइन्‌
बल्खुकी ६५ वर्षीया कुमारी गुरुङ पनि श्रम गरेर कमाएको रकम गौतमश्री सहकारीमा डुबेपछि आन्दोलनमा सहभागी हुन आएकी हुन् ।

लामो समय अरूको भाँडा माझेर र विभिन्न उद्योगहरूमा काम गरेर उनले गौतमश्री सहकारीमा १० लाख रुपैयाँ बचत गरेकी थिइन । जुन रकम अब उनलाई चाहिएको छ, तर फिर्ता नहुने अवस्था छ ।

उमेरले ६५ वर्ष भएकी गुरुङलाई आफैँले मिहेनत गरेर जम्मा गरेको रकमले सबैभन्दा बढी पीडा दिएको छ । उनले २०४५ सालदेखि नै सहकारीमा पैसा जम्मा गर्न थालेकी थिइन् । तर, अहिले गौतमश्रीका सञ्चालक फरार भएपछि उनी निकै निराश बनेकी छन् ।

‘मैले कति दुःख गरेर सहकारीमा पैसा जम्मा गरेकी थिएँ, मेरो श्रीमानले पनि बचत गर्न सहयोग गरेका थिए, पछि मेरो श्रीमान बिरामी पर्नुभयो, उपचार गर्नलाई पैसा झिक्न जाँदा पैसा नै दिएन, मेरो श्रीमानको उपचार नै नभई मृत्यु भयो,’ आँशु खसाल्दै गुरुङले दुःख व्यक्त गरिन्‌ ।

सहकारीमा बचत गरेको पैसा नउठेपछि छोराबुहारीले समेत नहेरेको गुरुङले दुखेसो पोखिन्‌ । ‘आफैँलाई भविष्यमा काम देला भनेर जम्मा गरेको पैसाले नै आज मलाई मर्नु न बाँच्नु पारेको छ’, गुरुङले भनिन् ।

गाडीचालक महर्जनको १७ लाख झ्वाम !
गाडी चलाएर कमाएको र जग्गा बेचेर लिएको १७ लाख रुपैयाँ स्वर्णलक्ष्मी सहकारीमा जम्मा गरेका थिए राजु महर्जनले । तर, अहिले बचत कुम्ल्याएर सञ्‍चालक जीबी राई फरार भएपछि सो सहकारी नै बन्द छ ।

त्यहाँका कर्मचारीहरूले बचत केही वर्षमै डबल हुने बताएपछि राजुले आफूसँग भएको सबै रकम सहकारीमा राखेका थिए । पहिला आफूलाई केही थाहा नभएको र अरूको लहलहैमा लाग्दा अहिले दुःख पाएको उनी बताउँछन् ।

उक्त सहकारीको सञ्चालकमा जीबी राई छन् । उक्त सहकारीको विषयमा विभागमा कयौंपटक निवेदन दिँदा पनि समस्याग्रस्त घोषणा नभएको महर्जनले बताए । कमाएको रकम सहकारीमा फसेपछि अहिले उनलाई छोराछोरी पढाउन समेत धौ-धौ परेको छ ।

आफूले गाडी चलाएर कमाएको पैसाले घरखर्च धान्न पनि हम्मेहम्मे पर्ने र छोराछोरीको पढाई रोकिने अवस्था आएको महर्जनले बताए ।

‘छोराछोरीको इच्छालाई पनि मारेर भविष्यलाई उनीहरुको पढाईमा काम लाछ भनेर पैसा जम्मा गरेको आज सहकारीले नै बेहाल बनाईदियो,’ महर्जनले भने ।

बचत र आफन्तको माया नै गुम्यो
अस्वस्थ हुँदाहुँदै पनि आन्दोलनमा माक्स लगाएर सहभागी हुन आएकी छिन् गोपी राई । उनका हातखुट्टा सुन्निएका छन् । हिँडडुल गर्न पनि सक्दिनन् । उनलाई क्षयरोग (टिबी) लागेको छ ।

उमेरले ३० वर्ष पनि नपुगेकी राई यतिखेर जीवनमै कठोर पीडा भोग्दैछिन्‌ । श्रीमानले विदेशमा श्रम गरेर पठाएको रकम उनले केही वर्ष अघिदेखि लालीगुराँस सहकारीमा जम्मा गर्दै आएकी थिइन् । बचत ५ लाख रुपैयाँ पुगेको थियो ।

तर, अहिले सहकारीका सञ्चालक नै फरार भएपछि उनलाई आफ्नाहरूले पनि माया गर्न छाडेका छन्‌ । ‘म अहिले धेरै बिरामी परेको छु, म सँग औषधी खानेसम्म पैसा छैन, श्रीमानले पनि किन पैसा सहकारीलाई दिइस्‌, त्यही उठाएर खर्च गर, म पठाउँदिन भन्नुहुन्छ, अब कसरी म चल्ने भन्ने थाहा छैन,’ उनी भन्छिन् ।

सहकारीले गर्दा घरबार नै बिग्रिने अवस्थामा पुगेको भन्दै राईले पीडा पोखिन् । पाँच वर्षीय छोरा र आफ्नो जीवन धान्न नै गाह्रो भएको सुनाउँदै उनले श्रीमानले खाडी मुलुकको तातो घाममा ज्यानको बाजी थापेर कमाएको सबै रकम सहकारीले खाएर भागेपछि अब के गर्ने भन्ने नै थाहा नभएको बताइन् ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ७ : ४९ बजे

आज २०८१ साल असार ३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार ३ गते सोमबार तदनुसार

विश्वकपको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा फिल्डिङ गर्ने

काठमाडौं – आसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले अहिले अन्तिम खेल

भारी वर्षाका कारण दक्षिण चीन क्षेत्रका २२ नदीमा बाढी

नानिङ – भारी वर्षाका कारण दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त

टरुवा ताल संरक्षणमा जुटे स्थानीय

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीका स्थानीय टरुवा ताल

पेट्रोल पम्पमा बढ्न थाल्यो लाइन (तस्बिरहरू)

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै आन्दोलन