आजदेखि चीनतर्फको टिप्ताला नाका खुल्यो « Khabarhub

आजदेखि चीनतर्फको टिप्ताला नाका खुल्यो


११ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङको टिप्ताला नाका आजदेखि खुला गरिएको छ । नेपाल–चीनको सीमानामा रहेको यो नाका कोरोना महामारीयता बन्द थियो ।

लामो प्रयासपछि आजदेखि नाका खुलेको फक्ताङलुङ गाउँपालिका-७ वडाध्यक्ष तथा चीनको तिब्बत डिङजी काउन्टी जानकार छेतेन लामाले बताए ।

लामाका अनुसार नाका खुला गरिएसँगै नेपालबाट ३० जना व्यापारी चीन प्रवेश गरेका छन् । उनीहरुले नेपालमा उत्पादित  गलैँचा, दूधजन्य पदार्थ घ्यू, छुर्पीलगायका सामग्री लगेका छन् । उनीहरु करिब १० दिनसम्म तिब्बतमा रहनेछन् ।

गत वैशाख अन्तिम साता प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकायलगायतको एक टोली टिप्ताला नाका पुगेको थियो ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार चीनतर्फबाट तिब्बतको डिङजी काउन्टी सरकारका अधिकारीसँगको समन्वयमा गत वैशाख २५ गते नाका खुलाउने सहमति भएको थियो । चीनतर्फबाट तयारी पूरा गरेर आजबाट नाका खुलाएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।

नेपालबाट व्यापार अध्ययनका लागि पहिलो चरणमा ३० जना व्यापारी तिब्बतको रिउ प्रवेश गरेका हुन् । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने एक सय १५ जनाले तिब्बत प्रवेशका अनुमति लिएका छन् ।

जिल्ला प्रशासन ताप्लेजुङका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप र ७ ओलाङचुङगोलाबासीले अनुमतिपत्र लिएका छन् । त्यस्तै मिक्वाखोला गाउँपालिका–५ पापुङका नागरिकले समेत अनुमति पाएका छन् । टिप्ताला नाका कोरोना महामारीयता बन्द थियो ।

आचार्यले टिप्ताला नेपाल–तिब्बतको महत्वको व्यावसायिक नाकासमेत भएकाले द्विदेशीय व्यापार प्रवद्र्धनमा समेत यो नाकालाई भरपूर उपयोग गर्नुपर्ने बताए। ‘व्यावसायिक हिसाबले यो नाका महत्वको छ, यसलाई उपयोग गर्ने गरी सबै पक्षबाट सहयोग र समन्वय जरुरी छ’, उनले भने ।

हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको प्रमुख पुर्खौली पेसा पशुपालनमा(याक) निर्भर हुँदै आएको छ । चीनका बजारमा चौँरी याकहरुको माग राम्रो छ । यहाँका चौँरी याक चीन निर्यात गर्नका लागि चौँरी याक गोठलाई मुख्य पेसाको लिएका छन् । चौँरी याक निर्यात हुन नसक्दा किसानलाई आर्थिकरुपमा समेत सङ्कट बेहोर्नुपरेको मिक्वाखोला गाउँपालिका–५ का चौँरी याक पालक मिलन दोर्जेको भनाइ छ ।

पाँच हजार दुई सय मिटर उचाइमा रहेको टिप्ताला भञ्ज्याङमा दुई साता अगाडि मात्र पहिलोपटक नेपाली गाडी (ट्र्याटर) पुर्‍याइएको थियो । सडक निर्माण कम्पनीका ठेकेदार पेम्बा ठिले शेर्पा छ वर्षदेखिको मेहनत सफल भएको बताए । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट टिप्ताला भञ्ज्याङको दूरी ८५ किलोमिटर छ । आयोजनाका म्यानेजर राजीव लामिछानेका अनुसार ट्र्याक्टर सदरमुकाम फुङलिङबाट सीमानासम्मै पुग्छ ।

सडक निर्माणमा द्विदेशीय सिमाना नजिकैको बस्ती ओलाङचुङगोलाबासीहरुको पनि त्यतिकै योगदान छ । यहाँ जन्मेर देश विदेशमा रहेकाबाट प्राप्त रु दुई करोडभन्दा बढी रकमबाट सिमानादेखि बस्तीसम्मको २४ किलोमिटर सडक निर्माण गरिएको थियो ।

तमोर नदीको उद्गमस्थलसमेत रहेको टिप्ताला भञ्ज्याङदेखि तमोरको किनारै किनार धनकुटाको मूलघाट, भेँडेटार हुँदै विराटनगरको रानी भन्सारसम्मको दूरी करिब तीन सय मिटर रहेको सडक कार्यालयले जनाएको छ । त्यसैले यो सडकलाई उत्तरतर्फको सबैभन्दा छोटो दूरीको सडक भएको सडक कार्यालयको दाबी छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ७ : ०६ बजे

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु