बालेनलाई सुनिताको सुझाव : बोल्दा पदीय मर्यादा ख्याल गरौँ, अराजक टिप्पणी राम्रो होइन « Khabarhub

बालेनलाई सुनिताको सुझाव : बोल्दा पदीय मर्यादा ख्याल गरौँ, अराजक टिप्पणी राम्रो होइन


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


25.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मेयर बालेन साहलाई पदीय मर्यादाको ख्याल गरेर अभिव्यक्ति दिन सुझाएकी छन् ।

सोमबार बसेको नगर सभाको १५ औँ अधिवेशनको तेस्रो बैठकमा आफ्ना भनाइ राख्ने क्रममा उपप्रमुख डंगोलले यस्तो सुझाव दिएकी हुन् ।

डंगोलले सबै सदस्यले बोलिसकेपछि अन्तिममा बोल्दै यस्तो सुझाव दिएकी हुन् । उनीभन्दा अघि आफ्ना भनाइ राख्ने क्रममा काठमाडौं महानगरपालिकाकी नगर कार्यपालिका सदस्य अनिता कार्की ढोलीले काठमाडौं मेयर साहलाई सामाजिक सञ्जालमा अराजक टिप्पणी नगर्न चेतावनी दिइन् ।

उनले नगर सभाको १५ अधिवेशनको तेस्रो बैठकमा आफ्ना भनाइहरू राख्ने क्रममा मेयर साहले केही महिनाअघि सिंहदरबारमा आगो लगाउँछु भन्दै लेखेको स्ट्याटसप्रति संकेत गर्दै त्यस्तो अभिव्यक्ति नदिन चेतावनी दिइन् ।

‘तपाईं जुन कुर्सीमा बस्नु भएको छ, त्यो कुर्सीको अधिकार नेपालको संविधान २०७२ ले दिएको र स्थानीय सत्ता सञ्चालन २०७९ ले दिएको अधिकार अन्तर्गतको हो । जुन अधिकार सिंहदरबारले प्रदत्त गरेको अधिकार हो,’ उनले भनिन् ।

कार्की ढोलीले सिंहदरबारले प्रदत्त गरेको अधिकारको उपयोग गरिहेको व्यक्तिले सिंहदरबारमै आगो लगाउँछु भन्दै दिएको अभिव्यक्तिको खुलेर आलोचना गरिन् ।

‘अहिले सिंहदरबार जलाउँछु भन्दै गर्दा तपाईँलाई महानगरपालिकाले दिएको जुन दरबार छ । त्यो दरबार महानगरवासीले जलाए भने त्यसको अवस्था के–हुन्छ ?,’ उनले मेयर साहलाई प्रश्न गर्दै भनिन्, ‘जुन दरबारमा बसेर तपाईंले रजगज गरिरहनु भएको छ । त्यो दरबार काठमाडौं महानगरपालिकाले तिरेको राजश्वबाट बनेको दरबार हो । जुन दरबारलाई भोलि महानगरबासीले जलाए त्यसको अवस्था के–हुन्छ ?’

ढोलीका भनाइ र मेयर साहका अभिव्यक्ति दुवै उचित नभएको भन्दै डंगोलले पदीय मर्यादाको ख्याल गर्नुपर्नेमा जोड दिएकी हु्न्।

‘फरक मत सबैतिर हुन्छ । फरक मतलाई पनि हामीले सम्मान गर्नुपर्छ । राजनीतिमा युवा आउनुपर्ने उदाहरण दिइरहेका छौं । यो उदाहरण दिने सँगसँगै हाम्रो काँधमा जिम्मेवारी पनि रहेको कुरा सम्झनुपर्छ । प्रमुख ज्युलाई पनि म विशेष अनुरोध गर्न चाहन्छु,’ डंगोलले भनिन्, ‘तपाईं म जस्ता राजनीतिमा आउने व्यक्तिहरूले व्यक्तिभन्दा माथि उठेर पनि सोच्नुपर्छ ।’

डंगोलले आफूहरुले काम गरिरहँदा संस्थागत छविलाई कदापि बिगार्नु नहुनेमा पनि जोड दिइन्।

‘पदमा बसिसकेपछि पदको मयार्दलाई ख्यालमा राखेर अभिव्यक्ति राख्नुपर्छ । त्यो उदाहरण कसैले होइन तपार्इं म र हामी सबैले बनाउनुपर्छ’, उनले भनिन्, ‘हामी आफैंले उदाहरण बनाउन नसक्ने, मनमा जे–जे आयो बोल्ने हो भने कपोलकल्पित कुरालाई आफ्नो अभिव्यक्ति बनाउने हो भने त्यसले समाजमा अराजकता निम्त्याउँछ ।’

उनले पदको मर्म बुझेर अभिव्यक्ति दिनुपर्नेमा जो दिइन् । ‘सिंहदरबार जलाउछु भन्नु ठिक होइन भने काठमाडौंको दरबार जलाउनु भनेर बोलिनु पनि ठिक होइन । यस्ता अभिव्यक्ति कदापि दिनु हुँदैन’, उनले भनिन् ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ५ : ५६ बजे

नेपाल–चीन कृषि सहकार्यमा नयाँ सुरूवात : खोकनामा ‘छोङछिङ-नेपाल तरकारी तालिम केन्द्र’

काठमाडौं- नेपालको कृषि क्षेत्रलाई आधुनिक प्रविधि र वैज्ञानिक पद्धतिसँग जोड्दै

अध्यादेशबाट हटाइए पुराना, तर सरकारसँग छैन नयाँ ल्याउने नयाँ तरिका

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था

सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत सहमतिका लागि आयोगको सिफारिस

काठमाडौं- राष्ट्रिय योजना आयोगले विभिन्न आठ वटा सडक आयोजनाको बहुवर्षीय

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म २६ करोड बढी राजस्व सङ्कलन

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत

चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध

चितवन- भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन